पुष्पा भण्डारी
कुरा अलि वर्ष अगाडिको हो । दशैँ आयो ! खाउला पिउला कहाँ पाउला ? चोरी ल्याउँला धत् पाप म त छुट्टै बसाैँला ! (आँगनमा बिस्कुन् सुकाएको छ, बच्चाहरु पिडीमा खेलिरहेका छन् । धने बारीमा गोरु जोतेर थकित् भएर घर आइपुग्यो ।) बच्चाहरु –“बाबा बाबा दशैंको नयाँ लुगा किन्न कैले जाने ?” . “भोलि जाउला है?” “मलाई त घाँगर चाइन्छ” “मलाई त जिन्सको पाइन्ट अनि भेस्ट् चाइन्छ” “मलाई तै ते तिन्ने ?”
दुई छोरा अनि एउटी छोरी खेल्दा खेल्दै आएर धनेको छेउमा बस्छन् । धने आफ्नै सुरमा आफैंसँग बोल्दै– “एक वर्ष पनि कति चाँडै बितेको । अस्ति भर्खर पोहोरको ऋण तिरी सकेको जस्तो लग्छ, कति चाँडै आइ सकेछ दशैँ । पोहोर त बल्ल बल्ल पल्लोघरे मानेले पैसा दिएथ्यो,यसपालि त उसको पनि भर्खरै छोरीको बिहा भएको छ । उसैको ऋण होला । मैले कसरी गर्जो टार्नु होला ?
बच्चाहरुको रमाइलो गर्ने बेला सँगैका मान्छेले नयाँ नौलो लगाएका मिठोमसिनो खाएका देखेर इच्छा पनि लाग्दो हो नि । आफ्नो टोपी फाटेर सिलाएर लगाको छु,पातलीलाई पनि बिहामा किनेको धोति बाहेक गतिलो केहि दिन सकेको छैन । बिहा गरेको नि ७ वर्ष भइसकेछ । आफू एक्लै काम गरेर खान नि धौधौ छ, गरिबको घरमा त दशा बनेर आउछ यो दशैँ पनि ।
आफू त जसरीतसरी चित्त बुझायो, यी लाउ लाउ खाउ खाउ भन्ने उमेरका बच्चाहरुको पो इच्छा कसरी पूरा गर्नु ? अस्ति गोरुले डिठ्ठा साहुको खेति नाश गरेर हर्जना तिर्न राखेको पैसा छ । अब त्यसैले गर्जो चलाउनु पर्ला । अनि भैचालोमा मर्केको खुट्टा पनि पछि उपचार गरौंला । के गर्नु खाउ भने दिनभरीको शिकार नखाउ भने आफ्नै कान्छो बाउको अनुहार...उफ्फ् ” उसले टोपी खोल्यो र पसिना पुछयो । फेरि बच्चाहरु बोले– बाबा !
यसपालि दशैंको पैसाले त म इन्स्ट्रुमेन्ट बक्स किन्छु ! म त परीको कथा भएको किताब किन्छु ! म त बाबालाई दिन्थु ! “हुनेखाने पो जसो गर्न नि सक्छन् , हामी भए खानेलाई किन हेप्या होला भगवानले पनि , दैब पनि एकै चोटी लाग्छ भुइचालोले बनाएको घाउ अझै आलै छ, त्यो माथि दशैँ ।
देशमा पनि अनेक बखाडा गर्या छन् रे । खै के दशैँ मनाउनु ? नयाँ नेपाल भन्थे यस्तै रैछ क्यारे, हामी भोका दीनदुखीलाई अझै दुख थपिने ति आलिशान महलमा बसेर पैसा धुत्न पाएका ब्वाँसोहरुलाई चाहिं मस्ती । के थाहा ती पिपासुहरुलाई गरिबको घरमा के पाक्छ कि पटुकी बाँधेर सुत्छन् भन्ने । खै ! कसलाई दोष दिनु आफ्नै पुर्पुरो समायो बस्यो ।”
त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम बम फुट्यो मनमा । अनि अवाक भए, बोलि फुटेन । ऊ हेरेको हेर्यै भयो । बाबा संविधान बन्यो रे । अब यसपालि त हामीले नयाँ लुगा लाएर मिठो खान पाउँछौ होला नि है? मलाई चाहिं अस्ति न शहर जाँदा खाको मिठाइ दे भन्दिनु है ? बाबा भन्नु न खान दिन्छ नि संविधानले ? नाबालक छोराको प्रश्नले धने निरुत्तर बन्यो ....