नयाँ कपडा,मिठो खाना, परिवारजन तथा इष्टमित्रसँगको भेटघाट लगायत दशैंमा गरिने अनेकन सांस्कृतिक कृयाकलाप उत्सवलाई उल्लासमय र माधुर्य बनाउने कौतुक हुन् । बडादशैं सांस्कृतिक उत्सवले सिंगो जीवनशैलीलाई वृन्दावनको रासमय आनन्द प्रदान गर्छ । प्रकृतिमा छाएको शारदीय आभा र मनोहर सुन्दरताले पुलकित मानवीय मन दशैंको बहुविध लालित्यमा रम्छ । यो आवरणमा देखिने बडादशैंका छटा हुन् ।
दशैंको मीमांसित मर्म हो ‘असत्यमाथि सत्यको जीत ।’ त्यसकारण दशैंमा अन्याय, अत्याचार, शोषण दमन र उत्पीडनको प्रतीक अर्थात् आसुरी प्रवृत्तिका रावणको पुतला दहन गर्दछौं । शास्त्रमा वर्णित रावणको उहिल्यै वध भयो । यसर्थमा हामी बाहिरी रावणको खोजीमा हुन्छांै । आफैँभित्र रहेको रावणसँग मनुष्य प्रायः पराजित हुन्छ । बाह्य जगतको रावणलाई पराजित गर्न सजिलो छ । संगठन निर्माण, फौज गठन वा जनविद्रोह निम्त्याएर दानवीय प्रवृत्तिका शासन वा शक्तिशाली आतातायीलाई नामेट पार्न सकिन्छ । तर मनुष्य आफैँले आफूलाई जित्न सक्दैन । आफ्नै अन्तस्करणमा सुशुप्त रहेको दानवी प्रवृत्तिको वशिकरणमा पर्छ । अन्तर मनको रावणसँग प्राय पराजित हुन्छ मनुष्य ।
परपीडक चित्तभित्र रावणीय बीज छुपेको हुन्छ । अन्तर मनको सुक्ष्मातिसुक्ष्म निरीक्षण बिना अगम्य अन्तस बोध हुँदैन अत्यन्त दुरुह छ । मनुष्य मध्यमा छन् । मनुष्य अग्रगामी भयो भने बुद्धत्वतर्फ उक्लिन्छन् । पश्चगमनमा गयो भने पशुतामा पतन हुन्छ । झट्ट हेर्दा समाजमा अपराध बढेको जस्तो देखिन्छ तर एकमुष्ट परिणाम भनेको मानवताको पतन र समाजको क्षयीकरण हो ।
सुसंस्कृत, संस्कारित र सभ्य समाज निर्माणको महान अभियानमा हाम्रा सांस्कृतिक चाड पर्वको निर्माण भएको हो । सांस्कृतिक छटा सामाजिक र सामूहिक जीवन पद्धति पनि हुन् । सत्मार्ग र मानव कल्याणलाई मानवीय जीवन दर्शन र सामाजिक मूल्यको आधारशीला बनाउन दशैं जस्तो चाड पर्वको महत्वपूर्ण भूमिका छ । दशैंको टीका र जमरासहितको अग्रजको आसिक दिने परम्पराभित्र असत्यमाथि सत्यको जीतको मर्म अंकित छ ।
दुर्गा,देवी,रावण,सुर असुर दशैंका यी सबै पात्रहरु मिथ हुन् । यो पर्वको महत्व बढाउने विम्वहरु हुन् । सधैं राम्रो कर्म गर्न र सत्यपथ अवलम्बन गर्न मनुष्य जातिलाई प्रेरित गर्न दशैंका यी कथाहरु कथेका हुन सक्छन् ,कथालाई रोचक र यथार्थपरक बनाउन विभिन्न पात्रहरु विम्वका रुपमा आउनु स्वभाविक हो ।
यस सत्यलाई नजरअन्दाज गर्दा अहिले पनि दशैं तिहार मात्र होइन हरेक चाडपर्वहरु कुनै धर्म,समुदाय र जाति विशेषको हुन थालेका छन् । चाडपर्वहरुलाई समेत विभाजित गरिन थालेका छन् । चाडपर्वलाई विशुद्ध धर्म वा आस्थाको घेराभित्र संकुचित पार्दै लैजादा त्यसभित्र अन्तरनिहीत सामाजिक र सांस्कृतिक महत्व विराट हुँदा हुँदै पनि साँघुरो बन्दै गएको छ । त्यसैले दशैंमा वर्णन गरे झैं अब हामीले आफ्नै अन्तर मनको आसुरी प्रवृत्तिको वध गर्ने आत्मबल जगाउने प्रेरणा बटुल्नु छ । बडादशैंले मानवीय अचेतनाभित्रको रावण वध गरोस् । पारिवारिक सम्बन्ध प्रगाढ बनाउनुको साथै सामाजिक सद्भाव कायम राख्न मद्धत पु¥याओस् । विजया दशमीको मंगलमय शुभकामना ।