-खेम बमकाठमाडौं । कैलाली जिल्ला जानकी गाउँपालिका मुनुवाका रामबहादुर कठरीयाको एउटा सानो चिया पसल थियो । चिया पसल ठीकठाक चलेकै थियो । तर उनलाई त्यो चिया पसल अझै राम्रो र ठूलो बनाउन मन लाग्यो । तर साथमा पैसा भने थिएन ।गाउँमा पैसा हुने व्यक्ति भनेका कुवरबहादुर रावत थिए । रावत नाताले रामबहादुरको भिनाजु पर्थे । रामबहादुरले उनैसँग पैसा ऋण मागे । कुवरबहादुर रावत रामबहादुरलाई पैसा दिन त तयार भए, तर ऋण दिँदा जग्गा बन्धकी राख्नुपर्ने शर्त राखे । ऋण उठाउने स्रोत न हो र ऋण तिरेपछि त जग्गा फिर्ता पाइहालिन्छ नि भनेर रामबहादुरले आफ्नो जग्गा बन्धकी राखेर रावतसँग २०७२ वैशाखमा १ लाख रुपैयाँ ऋण लिए, त्यो पनि वार्षिक ३६ प्रतिशत ब्याजदरमा ।त्यो पैसा उनले त्यही चिया पसलको मर्मतसम्भार र सरसामान किन्नमा खर्चिए । तर चिया र नास्तापसल अझै उनले सोचेको जस्तो भएन । उनको पसल पहिलेभन्दा सफा र राम्रो भयो । ग्राहक पनि थपिन थाले । उनलाई पसल अझै राम्रो बनाउन मन लाग्यो । त्यसपछि थप ऋण गरेर भएपनि पसल राम्रोसँग चलाउने सोच बनाए ।पहिले ऋण लिएको ६ महिनापछि उनले थप २ लाख ऋण मागे । तर पहिले बन्धकीमा राखिएको जग्गाले थप ऋण दिन नसक्ने रावतले बताए । रावत थप ऋण दिन त तयार भए तर अब जग्गा बन्धकीमा राखेर नहुने बरु जग्गा करारमै दिनुपर्ने बताए ।थप ऋण चाहिए जग्गा करारमै दिनुपर्ने बताएपछि रामबहादुरले २०७२ साल असोजमा नगद थप दुई लाख गरी कुल ३ लाख ऋण लिएर आफ्नो जग्गा रावतको नाममा करार गरी भोगचलनका लागि दिए । तर कपडा व्यापारी समेत रहेका कुवर बहादुर रावतले कठरियालाई ३ लाख ऋण लिएको भएपनि उनलाई २०७२ सालको अन्त्यसम्मको सावाँ र ब्याज भनी ४ लाख ३७ हजार ५ सय रुपैयाँको कागजमा सहि गर्न लगाएको ऋणी रामबहादुरको गुनासो छ ।
खासमा रामबहादुरले ऋण लिँदा धरौटीका रुपमा मात्रै उक्त जग्गा राखेका थिए । जग्गा करार गर्दा रामबहादुरले रावतलाई त्यतिबेलै जग्गा बेचेको नभई बन्धकी मात्रै राखेको र ऋण तिरेपछि जग्गा फुकुवा गर्नुपर्ने शर्त राखेका थिए ।रामबहादुरलाई लागेको पनि थिएन कि कुवरसँग लिएको ऋणले उनलाई कुनै दिन घरबारबिहीन नै बनाउन पनि सक्नेछ । तर अहिले अवस्था त्यस्तै बनेको छ । करार सकिने मिति अर्थात् २०७५ को अन्त्यमा ४ लाख ३७ हजार ५ सयको सावाँब्याज सहित ऋण चुक्ता गर्नका लागि गए । रामबहादुरको हिसाब अनुसार ७ लाख २९ हजार रकम हुन आउँथ्यो र उनले त्यो रकम बुझाए । अनि रकम बुझाएको भरपाई माग गरे ।तर जग्गा नै कब्जा गर्ने सोचमा रहेका कुवर रावतले विभिन्न बहाना गर्दै भरपाई दिन मानेनन् । बरु ऋणको सावाँ र ब्याजको रकम अपुग भएको भन्दै अहिले रामबहादुर बस्दै आएको घरको भाडा भन्दै कुवर बहादुर रावतले रामबहादुरसँग मासिक १३ हजार १ सय २५ रुपैयाँका दरले लिने गरेको छन् ।रामबहादुरले चलाएको चिया पसल राम्रोसँग चल्न नसकेपछि उनले त्यो चिया पसलपनि २०७५ मै बेचे । तर उनले बेचेको चिया पसलले साहुको ऋण तिर्न पुग्ने रकम थिएन । उनले आफ्नो साढे सात कठ्ठा जग्गा बेचे अनि साहु कुवर बहादुर रावतलाई ७ लाख २९ हजार बुझाए । तर त्यही समयमा बिरामी परेकी आफ्नी आमाको उपचार गर्न उनले चन्दा नै उठाउनुप्यो । चन्दाबाट उठेको केही रकमले उनले आमाको उपचार गरे । आफूले हिसाबकिताब गरेर पूरै ऋण तिर्दा पनि उनले आफ्नो जग्गा फिर्ता पाउन सकेनन् ।अत्याधिक महङ्गो चक्रवर्ती ऋणको साँवा र ब्याजवापत ३ लाख ऋणको ३ वर्षपछि ७ लाख २९ हजार रुपैयाँ बुझाउँदा पनि रामबहादुरको ऋण अझै चुक्ता भएको छैन । बरु अहिले आफ्नै घरको मासिक भाडा नै १३ हजार १ सय २५ रुपैयाँका दरले कुवर बहादुर रावतलाई बुझाइरहेका छन्, रामबहादुरले । ३ लाख ऋणको वार्षिक ३६ प्रतिशत ब्याज जोड्दा पनि ३ वर्षको हिसाब मात्रै ६ लाख २४ हजार रुपैयाँ हुन आउँछ । तर कपडा ब्यापारी कुवरले ७ लाख २९ हजार रुपैयाँ बुझ्दा पनि रामबहादुरको ऋण सकिएको छैन, बरु आफ्नै घरमा शरणार्थी जीवन बाँच्न बाध्य छन् । साहु कुवर बहादुर रावतले अझै ६ लाख १२ हजार ८ सय ५० रुपैयाँ तिर्न बाँकी रहेको भन्दै रकम माग गरिरहेको रामबहादुर बताउँछन् ।अहिले रामबहादुरको जग्गा कुवर बहादुर रावतकै नाममा दर्ता भइसकेको छ । करारनामा गर्दा कुवर बहादुर रावतको नाममा नामसारी गर्नुपर्ने भएकाले उनकै नाममा नामसारी गरिदिएका थिए । तर ऋण तिरेपछि जग्गा फिर्ता गर्ने अर्को आन्तरिक करारनामा नहुँदा उक्त जग्गा अहिल पनि कुवर बहादुर रावतकै नाममा रहेको छ र रामबहादुर घरजग्गाबिहीन बनेका छन् ।
३० हजारको ऋणमा १० लाखको ल्याप्चे !आफूलाई खाँचो पर्दा आपसी समझदारीमा ऋण लिनेदिने गरिन्छ । विश्वास हुँदा बिना कागजात नै ऋण लिने दिने गरिन्छ । विश्वास भएन भने कागज बनाएर र राजीनामा पास नै गरेर पनि ऋण लिनेदिने गरिन्छ ।तर कुवर बहादुर रावत यस्ता व्यक्ति हुन्, जो ऋण दिँदा राजीनामा पास वा कागज मात्रै गराउँदैनन्, साक्षीसमेत राखेर ऋणीले नतिरे आँफैले तिर्नुपर्ने भन्दै अड्को थाप्छन् ।राम बहादुर कठरीयालाई आइलागेको अर्को समस्या भनेको अर्को ऋणीले ऋण नतिरिदिनु पनि हो ।राम बहादुरले लिएको ऋण सबै चुक्ता गरिसके । तर पनि उनले अझै आफ्नो जग्गा पाएका छैनन् । किनकी राम बहादुर कठरीयासँगै तिनै साहुबाट ऋण लिएका मान बहादुर रानाले ऋण नतिरिदिँदा कुवर बहादुर रावतले राम बहादुरको जग्गा फिर्ता नगरेका हुन् ।मान बहादुर रानाले पनि कपडा व्यापारी कुवर बहादुर रावतसँग ऋण लिएका थिए । तर मान बहादुरले ऋण पनि नतिरेको र जग्गा पनि कुवर बहादुर रावतको नाममा नामसारी नगरिदिएको भन्दै जग्गा आफ्ना नाममा ल्याउन सहयोग गरेमात्रै जग्गा फिर्ता गर्ने शर्त राखेका छन् ।त्यसो त मान बहादुर रानाले ऋण लिएका पनि होइनन् । तर कुवर बहादुर रावतले मानबहादुरसँग ‘तिम्रो बुवा मधु रानाले म सँग ३० हजार ऋण लगेको हो’ भन्दै मान बहादुरको ५ कठ्ठा जमिन लामो समयदेखि भोगचलन गर्दै आएका छन् ।
१ लाख भन्दै १० लाखको कागजमा ल्याप्चेमान बहादुर आँफै पनि मानसिक स्वास्थ्यसँग जुधिरहेका बिरामी हुन् । यद्यपि उनले मेरो बुवाले लगेको रकम कति हो म तिर्छु भन्दा कुवर बहादुर रावतले २०६८ सालमा सावाँ र ब्याज गरी एक लाख पुगेको बताए । अनि मान बहादुरसँगै १ लाखको कागज गर्ने भन्दै कागज बनाएर ल्याए र मान बहादुरको ल्याप्चे लगाए । तर अहिले त्यो कागजमा एक लाख नभएर १० लाख लेखिएको छ ।मनुवा बजारमै कपडा पसल सञ्चालन गरिरहेका साहु कुवर बहादुर रावत सोझा मान्छेलाई पैसा सापटी दिने पछि त्यही पैसामा विभिन्न शीर्षकको ब्याज र हर्जाना जोडेर उनीहरुको पैतृक सम्पत्ति नै हडप्दै घरवारविहीन बनाउने गरेको पाइएको छ ।शुरुमा केही हजार रुपैयाँ सापटी वा ऋणको रुपमा दिने र त्यसको एक दुई वर्षमै उक्त रकमलाई लाख बनाउने गरेका छन् । कतिपय ऋणीसँग रावतले दुई वर्षमै सावाँभन्दा ब्याज बढी लिएको पाइएको छ ।कुवर बहादुर रावतका केही त्यस्ता ऋणी छन्, जसको मृत्यु भइसकेको छ । एकजना ऋणीले आत्महत्या समेत गरेका थिए । तर जो व्यक्तिहरु जिउँदो नै थिए, त्यतिबेलासम्म चुपचाप बस्ने रावत ऋणीको मृत्यु भएपछि भने पैसा असुल्न भन्दै कागज बोकेर आउने र उनीहरुको घरजग्गा नै हडप्ने गरेको स्थानीयको गुनासो छ । मृत्यु भइसकेका एकजना व्यक्तिले आफूसँग ३ हजार ५ सय रुपैयाँ ऋण लगेको भन्दै रावतले मृतकका परिवारसँग १० हजार रुपैयाँ असुल गरेका थिए ।
२८ हजारको ५ वर्षको ब्याज नै ३ लाख ५० हजार !कुवरबहादुर रावतसँग लुटिनेहरुको सङ्ख्या यतिमै सीमित छैन । मनुवा आसपासका कैयन् सोझा गरीबहरुका साहु हुन्, रावत । सानो सानो रकम चक्रीय ब्याजमा लगाउने, दिएको रकमभन्दा बढीको कागज बनाउने र सम्पत्तिसमेत हडप्ने धन्दामा सक्रिय रावतका अर्का ऋणी हुन् स्थानीय सीताराम चौधरीका बुवा ।सिताराम चौधरीका बुवाले २०६८ सालमा रावतसँग २८ हजार रुपैयाँ लगेका थिए । कुवर बहादुर रावतले त्यही २८ हजारका लागि जमानत भन्दै उनको एक बिगाहा भन्दा बढि जग्गा ५ वर्ष सम्म भोगचलन गरे । पछि २०७३ सालमा २८ हजारको सावा, ब्याज र हर्जाना समेत गरी ३ लाख ७८ हजारभन्दा बढी रकम बुझाए । त्यसपछि मात्रै सीतारामले आफ्नो जग्गा फिर्ता पाए । २८ हजार ऋणको ३६ प्रतिशत ब्याज लिँदा पनि ५ वर्षमा ब्याज रकम ५० हजार ४ सय भन्दा बढी हुँदैन । ३६ प्रतिशत ब्याज हिसाब गर्दा पनि सावा र ब्याज गरी जम्मा ७८ हजार ४ सय मात्रै हुन्छ । तर रावतले सोझा गरीबसँग ३ लाख ७८ हजार बुझेका थिए ।रावतका अधिकांश ऋणीहरु स्थानीय थारु समुदायका ऋणी हुन् । मुख्यतः थारु समुदायलाई नै बढी ऋण दिने रावतले त्यही ऋणको ब्याज र नक्कली कागजात र छालछामबाटै करोडौंको सम्पत्ति जोडिसकेको स्थानीय बताउँछन् ।कुवर बहादुर रावत धनसम्पत्ति जोड्नमा यती उद्धत छन् की, सम्पती हडप्ने मात्रै होइन, गाउँमा हुने साना साना झै झगडा मिलाउन पनि पैसा लिने गर्छन् । गाउँमा हुने साना साना विषयहरुलाई पनि मुद्दा लगाईदिन्छु भन्दै पैसा लिने गरेको स्थानीय गुनासो गर्छन् ।२ वर्ष अगाडिको होलीमा गाउँमा एएटा झगडा भयो । झगडापछि उनीहरु प्रहरी कार्यालयमा पुगे । प्रहरीले दुबै पक्षलाई राखेर छलफल गरायो र अब झगडा नगर्ने र मिलेर बस्ने भन्दै उनीहरु घर फर्किए । प्रहरीले कोही कसैसँग आर्थिक कारोबार वा लेनदेन नगर्नुहोला समेत भनेको थियो । तर प्रहरी कार्यालयबाट घर फर्किसकेपछि स्थानीय साहु कुवर बहादुर रावतले मुद्दा अदालत पुराइदिने धम्की दिए । यदि मुद्दा नचलाउने हो भने आफूलाई ६० हजार दिन भने । त्यसपछि आफूहरुले रावतलाई ६० हजार रुपैयाँ दिएको बुजकुमार चौधरी बताउँछन् ।ऋणको मार सहनेहरुको यी कथा प्रतिनिधि मात्र हुन् । यस्तो समस्या अन्य धेरै ठाउँमा पनि छन् । बैंक तथा वित्तीय संस्थाको ऋण प्रकृया सरल र सहज नहुँदा निम्न वर्गीय परिवार जीवकोपार्जनका लागि अझै साहुमहाजनकै शरण पर्न बाध्य छन् ।
हेर्नुहोस् कार्यक्रम 'बाइलाइन'https://www.youtube.com/watch?v=XNHmc6i4yAo