-जयदेव भट्टराईवि.सं १९९९ साउन १९–वि.सं २०७४ माघ १९ देखिसाध्य छैनन सहरमा मान्छे । ओहोर दोहोर, आवत जावत छिचोलिनसक्नु नयाँसडकको बाटो नटेक्ने कमै होलान । त्यतिबेलाको नयाँसडकको पहिचान नै अलग थियो । साहित्यकार, कलाकार, पत्रकार, राजनीतिमा लागेकाहरू सबका सबै भेला हुने थलो थियो नयाँसडकको पिपलबोट ।साँझ नपर्दै जम्मा हुँदै जान्थे र आ–आफ्ना समूहमा बाँधिदै गफिन थाल्थे । नयाँ छिमलका र बाहिरबाट आएकाहरूका लागि सहज थियो वातावरण आफन्त, इष्टमित्र भेट्ने र नाम चलेका साहित्यकार चिन्ने । नजीकै रहेको गोरखापत्र संस्थानका प्रकाशनहरूमा पनि प्राय भेटिन्थे अनेक थरी साहित्यकार । त्यतिबेलाको समय नै बेग्लै प्रत्यक्ष भेटघाट र चिनाजानी, अहिलेजस्तो फेसबुक र इमेलको चलन पनि त थिएन । भेटेपछि मनप¥यो भने मनले नै लाइक गर्यो, नाम सुनेर पनि अनुहार नचिनिएका अनेकौँ साहित्यकार हुन्थे । जसको रचनामात्र पढेर अनुहार कल्पना गर्नुपथ्र्यो । कसैले फलानो साहित्यकार भनेको उहाँ नै हो भनेर टाढैबाट चिनाइदिदा पनि ठूलै कुरो हुन्थ्यो ।त्यतिखेरको समय नै फरक । वातावरण पनि बेग्लै थियो बढी आत्मीय लाग्थ्यो । साहित्यकारहरूलाई प्राय भेट्ने थलो हुन्थ्यो–नयाँसडक पिपल बोट, गोरखापत्र संस्थान, साहित्यकार विमल निभाको पुस्तक पसल साहित्यघर, भोटाहिटीको किताब पसल, मदन पुरस्कारगुठीको कार्यालय, रत्नपुस्तक भण्डारआदि । चालीसको दशकको मध्यतिर मधुपर्कको कार्यकक्षमा सम्पादक कृष्णभक्त श्रेष्ठसँग गफिरहेका एकजना नपत्याउँदो अनुहारका मान्छेलाई कृष्णभक्त दाइले सम्मानसाथ कुराकानी गरिरहेको देख्दा आश्चर्य लागेको थियो । एकतमासले नौलो मान्छेलाई हेरिरहेको देखेपछि कृष्णभक्त दाइलाई अप्ठेरो लागेपछि सोध्नुभयो–‘चिन्नुभएन उहाँलाई ? उहाँ मनु ब्राजाकी ।’ लामो समयदेखिको जिज्ञासा त्यतिखेर शान्त भयो, मनमनै धन्यवाद दिएँ लामो समयदेखि सुन्दै आइरहेको र चिन्न खोजिरहेको एउटा प्रिय साहित्यकारलाई प्रत्यक्ष भेट्न पाउँदा । महोत्तरीको औरहीमा बसेर लामो समयदेखि निरन्तर लेखिरहने धेरैका प्रिय र मेरा पनि प्रिय लेखक, अझ भनौं कथाकार मनु ब्राजाकीसँगको पहिलो साक्षात्कार थियो मेरो ।थप आश्चर्यको कुरा त के भने पहिलो भेटमै मनु ब्राजाकीले भनिहाल्नुभयो, एकैछिन बसौं सँगै बाहिर निस्कौँला । केहीबेरमा उहाँकै पछि लागेर बाहिरिन्छु । जहाँ नपहुँचे रवि उहाँ पहुँचे कवि भनेजस्तै काठमाडौँको घाम(रवि) पनि नछिर्ने गल्लीको बाटो हुँदै एउटा भट्टीमा आसन जमाएपछि थप परिचय र भलाकुसारी थालिन्छ ।‘तपाई त सानो हुनुहुन्छ, लिनुहुन्न होला, आफ्नो त बानी नै परिसक्यो’ भन्दा नभन्दै झोल र ठोस पदार्थ टेबुलमा आइसक्छन्, नियमित ग्राहकले के खान्छन् भन्ने कुरा अर्डर नलिइकनै थाहा पाइहाल्छन् साहुजी–साहुनीहरू भन्ने कुरा शायदै त्यतिखेरै जानें मैले । म उहाँको अगाडि आफ्नो फाइल तेस्र्याउदै भन्छु– दाइ मैले साहित्यकारहरूको विवरण सङ्कलन गर्दै आइरहेको छु, तपाईंकै हस्ताक्षरमा तपाईको विवरण र मन्तव्य लेखिदिनुस भनें । हो यही भेटबाट शुरु भयो हाम्रो निकटता, उमेर, लेखनले धेरै फरक भए पनि उहाँको सरलता र निकटताले यतिसम्म भनेको हुँ । गोरखापत्र संस्थानसँग उहाँको निकट सम्बन्ध थियो, उहाँको मन मिल्ने र दिउसो साँझ एउटै टेबुलमा बसेर पिउने साहित्यकार मित्र सन्तोष भट्टराईको कार्यालय पनि यही थियो, त्यसमा पनि मधुपर्क, गोरखापत्रमा छापिएका र छापिन बाँकी रहेका रचनाको एकमुष्ठ पारिश्रमिक बैनाको रुपमा पाउने सुबिधा थियो उहाँका लागि । साहित्यकारहरूसँग भेट हुने र नयाँसडकको चक्कर लगाएर हरियो पर्दामा आसन जमाउन उपयुक्त थलो थियो ।२०४५ सालको मंसिर २३ गतेको दिन मनु ब्राजाकीसँग प्रत्यक्ष भेटेको दिन अलि ‘विशेष’ नै लाग्यो र घर फर्केपछि साँझ डायरीमा लेखें उहाँसँगका भेटबारे । डायरीमा टिपेको यत्ति हो नटिपेका तर मनमा रहिरहेका अनेकौँ संस्मरण छन् जसलाई चाहेर पनि बिर्सिन सकिदैन । लेखन र व्यवहारमा दरिलो लाग्ने उहाँ खाने पिउने कुरामा कमजोरै हुनुहुन्थ्यो । यही बानीले उहाँलाई धेरै बाँच्न दिएन । आफैंले पनि यस सन्दर्भमा धेरै पटक उल्लेख गरिसक्नुभएको छ । पढ्दा रक्सी खाने बानी लागेको उहाँलाई पछि रक्सी पिउने बानी लाग्यो । र यही पिउने बानी नै पछि प्रिय हुन थाल्यो र साथमा चुरोटको अम्मलले पनि छाडेन । यही अम्मल र लतले गर्दा नै होला डेढ दशकको अस्वस्थता (मस्तिष्कघात र उच्च रक्तचाप) ले ७५ वर्षको उमेर पनि पूरा नहुँदै २०७४ सालको माघ १९ गते उहाँको निधन भयो । दिन बित्दै धेरै वर्ष भएछ, उहाँलाई भेटेको तीन दशक भएछ, समय प्रवाहमा उहाँलाई पहिलोपटक भेटेको उही मधुपर्कको कक्षमा बसेर उहाँकै स्मृतिमा कलम चलाइरहेको छु । गोरखापत्र संस्थानको परिसरमा पहिलोपटक भेटिनुभएका उही मान्छेलाई तीन दशकपछि सोही ठाउँमा भेट हुँदा मनु ब्राजाकी धेरै गलिसक्नुभएको थियो । कसैको साथ लिएर गोरखापत्रको चार तला उक्लिदा थकित भइसक्नुभएको उहाँ यति छिटै जानु होला भन्ने पटक्कै लागेको थिएन र यो पनि लागेको थिएन त्यति बेलैको भेट नै अन्तिम हुनेछ भनेर । भरेङ्गमै छेउ लागेर उहाँको भैसेपाटीस्थित घरमा भेटेर कुराकानी गर्ने र उहाँको बारेमा लेख्ने कुराको तय पनि भएको थियो । सोचेजस्तो कहाँ हुँदो रहेछ र चाहे जस्तो कहाँ हुँदोरहेछ र ?उहाँको सरलताका कुराका अनेकौँ अनुभव सँगाल्न पाएको छु । महोत्तरीको एउटा कुनामा बसेर राजधानीमा चर्चाको शिखर चढ्ने क्षमता थियो उहाँमा, लेखनको बलले नै हो शिखर आरोहण गरेको । हामी त राजधानी बाहिरका मान्छे हाम्रो रचना कसले छाप्छ, कसले चिन्छ ? जस्ता कुरा नगरी लेखनको बलले नै राजधानीलाई चुनौती दिदै लेखेरै शिखर चढ्नुभएको हो उहाँले । लेखन कलमले चिनिने कुरा हो भूगोलले होइन भन्ने कुराको राम्रो उदाहरण हो उहाँ । बरु यत्तिसम्म भन्दा हुन्छ मनु ब्राजाकीको साहित्यिक जग र चुलिएको चर्चा महोत्तरीको भूमिमै हो । पछिल्ला समय काठमाडौँ, ललितपुर अमेरिका उहाँका वासथलो भए ।अञ्चल साप्ताहिक पत्रिकामा वि.सं २०१९ सालमा उहाँको पहिलो रचनाको रुपमा ‘भर्याङ’ शीर्षकको कथा छापिएको इतिहास नै सफल र सशक्त कथाकार मनु ब्राजाकीको आरम्भिक इतिहास बन्नपुग्यो । त्यहीबाट थालिएको यात्रा देशविदेशसम्म फैलिदै गयो । कथासँगै गजल विधामा पनि पछि त्यत्तिकै चर्चित बन्नुभयो । कथाकारकै रुपमा बढी चर्चा र नाम कमाउनुभएका उहाँका २०३८ सालमा अवमूल्यन, २०४२ मा आकाशको फल, २०४६ मा तिम्री स्वास्नी र म, २०५२ मा भविष्य यात्रा, २०६० मा पारदर्शी मान्छे, २०७० मा मनु ब्राजाकीका कथाहरू, अनि अन्नपूर्णको भोज जस्ता कथाका सङ्ग्रह प्रकाशित भए । गजल सङ्ग्रहहरूमा काँडाका पूmलहरू, के हो र जिन्दगी र गजलगङ्गा प्रकाशमा आइसकेका छन् ।‘तिम्री स्वास्नी र म’ का लागि ‘साझा पुरस्कार’, ‘अन्नपूर्णको भोज’का लागि को ‘पद्मश्री पुरस्कार’लगायत मैनाली कथा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पाण्डुलिपि पुरस्कार, गंगालक्ष्मी पुरस्कारआदिबाट सम्मानित मनु ब्राजाकी नेपाली साहित्यमा धेरैले रुचाएका कथाकार र गजलकार हुनुहुन्थ्यो, सम्मानित हुनुहुन्थ्यो । वि.सं २०६० देखि स्वास्थ्य त्यति अनुकूल नभएपछि लेखनबाट टाढिदै जानुभएको थियो, यही स्वास्थ्यले दिन प्रतिदिन दुःख दिदै आखिर २०७४ सालको माघ १९ गते ७५ वर्षको उमेरमा उहाँको निधन भयो ।०००(लेखक भट्टराईको स्मृतिमा छाडेर जानेहरु कृति जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट प्रकाशित भएको छ )
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७ ०१:४०