–दीपेन्द्र दोङ तामाङभक्तपुरको नयाँ बस्ती । एक दशक अघिसम्म निकै पातलो देखिने बस्तीमा धेरै पछि पुग्नेहरुले अब बाटो बिराउन सक्छन् । बस्ती विकास भएर घना बसोबास छ । नयाँ बस्तीको अर्को विशेषता हो कि लगभग चौधै अञ्चलका मानिस छन् ।यही नयाँबस्तीमा छिन् निशु चौधरी । मूलघर कैलालीको भर्तापुर । नयाँबस्तीमा डेरा सरेको झण्डै ६ महिना भयो । शहरिया जीवन धान्न कहाँ सजिलो छ र ? काटिएका ६ वर्षे अनुभवमा निशुका लागि राजधानी बसाई काँडैकाँडाको फूलको पलंगमा सुतेसरह भएको छ । यता पल्टे’ नि घोच्ने, उता पल्टे’नि बिझाउने । तर बाहिरी दुनियाँले देख्दा सुन्दर र भव्य ।राजधानीमा टिकिरहन उनले के मात्र गरिनन् ? अर्काको घरमा जुठो भाँडा माँझ्ने, लुगाफाटा धुनेदेखि खोला किनारामा गिट्टी कुट्नेसम्मका सबै काम भ्याइसकेकी छिन् । एउटै कामलाई निरन्तरता दिन नसक्नु उनको आफ्नै रुप र यौवन नै मुख्य कारण बन्यो । बाइस वर्षकी हुँदा शहर पसेकी उनी २८ लाग्दैछिन् ।गहुँगोरी वर्णकी ‘टिपिकल’ थरुनी उनको अनुहार र शारीरिक बनोट औसतभन्दा निकै सिनित्त परेको छ । त्यसैले गाउँमा उनले ‘हिरोनी’को उपमा पाएकी छिन् ।जहिल्यै हाँसेर बोल्ने उनको बोलीमा आइमाइ मान्छे त लठ्ठिन्छन्, लोग्नेमान्छेका के कुरा । त्यसमाथि ‘तट’ र ‘मट’ मिश्रित उनको थारु लवजले जोसुकैलाई आकर्षित गरिहाल्छ । त्यसैले उनीमाथि गिद्देनजर लगाउनेको के कमी हुन्थ्यो र ? त्यसमाथि यो महानगरमा ।‘गरिबलाई त आफ्नै रुप र यौवन पनि सराप सरह रहेछ ।’कुनैबेला त निशुलाई आफ्नै रुप र यौवनसँग रिस उठ्छ । रिस उठेका बेला उनी अनुहारमा केही लगाउँदिनन् । तर विना मेकअप पनि उनको ‘अग्र्यानिक सौंन्दर्य’ धपक्क बलिरहेकै हुन्छ ।भर्तापुरदेखि भक्तपुरसम्मको निशुको यात्रा कहानी बेग्लै छ । उनलाई यहाँसम्म डो¥याएर ल्याइपु¥याउने अरु कोही होइनन्, उनकै बालसखा सियाराम चौधरी हुन् ।केटाकेटी छँदा सखासँग बेहुलाबेहुली खेल्दाखेल्दै उनको मनभित्र सियाराम बसिसकेको थाहा पाउन जवान हुनुप¥यो । त्यहीबेला सियारामले पहुरा (सगुन) राखेर घरमै आमाबुबासँग हात माग्न आएपछि उनले ‘नाइँ’ भन्न सकिनन् । उल्टै उनी त मनपर्ने पियासँग सिंगो जीवन बिताउन पाउने कुराले हावामा सुकाइएको रुमाल झैँ फुरुङ्ग भएकी थिइन् ।गाउँभरमै रुपवती निशुलाई आफ्नो बनाउन चाहने केटाको तँछाडमछाड नै हुन्थ्यो । उनीहरु सबैको मुखमा झुण्डिएको थियोः‘मैं तुहीन् रानी बनाके राखम्, मान जा’रे निशु !’(तँलाई म रानी बनाएर राख्नेछु, मान जा’रे निशु । )तर सियाराम त्यसको ठीक विपरीत थियो । ऊ सधैँ भन्थ्योः‘मैं तुहीन्के देना अमूल्य चिज कुछ् नहीं हो, निशु ।’(तँलाई दिनसक्ने मसँग त्यस्तो अमूल्य चिज केही छैन निशु ।)यसमा निशुको सधैँ एउटै उत्तर हुन्थ्योः‘तुहार मायासे बढ्कर मोरला और कुछ नहीं हो ।’(तिम्रो माया भन्दा अमूल्य मेरो लागि अरु केही हुनै सक्दैन । )निशुको यस्तो जवाफले सधैँ मौन बनाइदिन्थ्यो सियारामलाई ।०००००‘मैं तुहीन्हे रानी बनाइ नाइराखसकेम् । तर दुःख कबो नहीं देम् ।’(तँलाई रानी त बनाउन सक्दिनँ, तर दुःखी हुन पनि कहिल्यै दिन्नँ म निशु ।)विवाहको पहिलो रात निकै भावुक हुँदै सियारामले भनेको कुरा सम्झेर निशु अहिले पनि पग्लिन्छिन् बेलाबेला । हृदय पग्लेर आँसुमा बदलिँदै गालाभीर हुँदै बग्न थालेपछि उनी सम्हाल्छिन् ।त्यो समय मुलुकमा चलिरहेको सशस्त्र जनयुद्ध पराकाष्ठामा पुग्दै थियो । गाउँगाउँबाट जवान तन्नेरी मात्र होइन बालबालिकालाई समेत जबर्जस्त युद्धमा होमिन बाध्य पारिन्थ्यो । त्यो अभियानको मसाल छिमकी गाउँ हुँदै भर्तापुर छिर्यो।भर्तापुरका सियारामलगायत अरुसँग दुई वटा बाटा बाँकी थिए, ‘कि युद्धमा होमिने कि त गाउँबाटै पलायन हुने ।’भर्खरै घरजम शुरु गरेका सियारामले दोस्रो विकल्प उपयुक्त ठाने । र, गाउँ छाडेर केही दौंतरीसँगै भारत पलायन हुने सोच बनाए ।‘आखिर जहाँ रहलेसे फेन् दुःख गरी खैन हो । वही नते हाम्रे फेन इन्डिया जैना हो ।’(आखिर जहाँ भए पनि गरिबले दुःखै गरिखाने हो । त्यसैले अब हामी पनि भारततिरै जाने हो । )एकदिन सियारामले आफ्नो योजना बालसखीबाट पत्नी बनिसकेकी निशुलाई सुनायो ।तर गाउँ छाड्ने सियारामको निर्णयमा सहमत भए पनि भारत जाने कुरामा निशुको विमति रह्यो । त्यसैले उनले ठाडै अस्वीकार नगरेर भारतको साटो नेपालकै कुनै शहर जाने प्रस्ताव राखिन् ।पत्नीको प्रस्ताव सुनेपछि सियारामलाई आफ्नो पूर्व निर्णयमा पुनर्विचार गर्न बाध्य बनायो । र, अन्ततः यी थारु जोडीले काठमाडौंलाई भविष्य देख्दै नयाँ गन्तव्य बनाए ।काठमाडौं आएको केही दिनसम्म त उनीहरुलाई स्वप्ननगरीमै आएको महसुस भयो । तर विस्तारै बाँच्न आइपरेको चुनौतिसँग संघर्षमा होमिनुपरेपछि राजधानीमा उनीहरुको “शहर रोमान्स” फिक्का बन्दै गयो ।कुनै क्षेत्र र पेशामा पनि दक्षता र अनुभव नभएका सियारामले भक्तपुरको इँटा कारखानामा भरिया काम गर्न थाले । स्वाबलम्बी स्वभावकी निशुले पनि एकजना नेवारको घरमा सरसफाइ गर्ने र लुगाफाटा धोइदिने काम पाइन् ।यसैगरी बित्दै गयो सियाराम र निशुको राजधानी बसाई । त्यति सुखद नभए पनि उति सारो दुःख थिएन । समग्रमा ठीकठाक र सामान्य दैनिकी चल्दै थियो । त्यहीबीच उनीहरुको प्रेमको निशानीका रुपमा छोरी लक्ष्मीको जन्म भइसकेको थियो । छोरीको आगमनले उनीहरुको जीवनमा अरु बहार थपिदियो ।०००००‘अब में फेन् मलेसिया जाइन् । विदेश नगएल सुखका दिन नाइ आएठ ।’ (अब म पनि मलेसिया जान्छु । मुग्लान नपसी सुखका दिन नआउने रहेछ ।)अकस्मात एकरात सियारामले निशुलाई निर्णय एकतर्फी सुनायो । उसको निर्णय शुरुमा त कुनै बज्रपात भन्दा कम्ती लागेन निशुलाई । महानगरको बसाई, त्यसमाथि ६ महिनाकी छोरी र एक्ली जवान महिला । कल्पना गर्दा पनि निशुलाई कहाली लागेर आयो ।के भनेको त्यस्तो ? दुःखसुख जे भए पनि ठीकठाकै चलिरहेको छ हाम्रो जिन्दगी । भो यो भन्दा बढी हामीलाई केही चाहिएन । त्यसैले हामीलाई छाडेर जाने कुरै नगर छोरीका बाबु ।पत्नी निशुको अनुरोधले रोकिनेवाला थिएनन् सियाराम । किनभने उसले म्यानपावर कम्पनीमार्फत भिसा लगाएर पैसासमेत बुझाइसकेका थिए ऋणपान गरेर ।सियारामले छोरीको भविष्यलाई भर्याङ बनाएर निशुलाई विश्वस्त गराएरै छाड्यो । त्यसको दुई हप्तापछि सियाराम मलेसिया उड्यो ।मलेसिया पुगेर सियारामले दिनहुँ नसकेपनि हप्तामा एकपटक फोन गरिरहन्थ्यो । यसले निशुलाई खुशी त बनाउँथ्यो नै एक्लै भए पनि यो महानगरमा नाबालिका छोरीसहित संघर्ष गर्न थप हिम्मत बढाइदिन्थ्यो ।तर समयसँगै क्यालेन्डरका पृष्ठ जति फेरिँदै जान्थ्यो, सियारामको फोन आउने क्रम उति नै पातलिँदै गयो । हप्ताबाट महिना हुँदै कहिलेकाहिँ त एक कल फोनका लागि तीन महिना नै कुर्नु पथ्र्यो । गुनासो गर्दा सियारामले काममा व्यस्तता देखाउँथ्यो । विचरी सोझी निशुसँग पतिको कुरा पत्याएर चुपचाप बस्नुभन्दा अर्को कुनै विकल्प थिएन ।हरेक फोन कल टुङ्ग्याउनु अघि निशु एउटै वाक्य दोहोर्याउँथीः‘बेटीके बापु, चाँडै लौटके आव रे ।’ (छोरीका बाबु चाँडै फर्कनु है !)फोन राखिसकेर निकैबेर रोइरहन्थी निशु । त्यो रुवाईले उनको गह्रौँ मन हलुका बनाइदिन्थ्यो ।तर कालान्तरमा सियारामको फोन आउन एकाएक बन्द भइदियो । आज आउला, भोलि आउला भन्दै निशु बडो अधैर्य र अज्ञात शंका उपशंकाको पिङमा हुत्तिएर सियारामको फोन पर्खाइमा बस्थिन् । तर उनको फोन आएन, खबर पनि आएन ।सियाराम अचानक बेखबर र लापत्ता भएको तीन वर्ष बित्यो । थरिथरिका खबर त आइपुग्थ्यो तर सबै विनापुष्टिका । कसैले दुर्घटनामा मरिसकेको खबर सुनाउँथ्यो । तर लाश नआइञ्जेल आश भनेजस्तै भएको थियो निशुलाई । कसैले सुनाउन आउँथ्यो, ‘सियाराम त मलेसियामै भेटिएकी एउटी फिलिपिनो केटीको मायाप्रेममा फसेर उनकै देशमा घरज्वाइँ बस्न गा’को छ ।’लोग्ने बेपत्ता हुनुको पीडा त छँदैछ । त्यसमाथि थरिथरिका खबरले शुरुमा त विक्षिप्तजस्तै बनेकी थिइन् निशु । यो महानगरमा नाबालिका छोरी च्यापेर बाँच्न मामुली थिएन फेरि । तर जति नै पीडा भए पनि एकमुठी सास भइञ्जेल बाँच्न पर्दोरहेछ । हो, बाँच्नकै लागि बाटो खोज्दै जाने क्रममा निशुले चियापसल खोलेकी थिइन् । हरियो पर्दा लगाएको उनको यो चिया पसल रक्सी पिउनेका लागि भने भट्टी पसल थियो । जहाँ हरेक साँझ थरुनी साहुनीको हातले बनाएको सुकुटी, भुटुन, भटमासको सितनसँग लोकल रक्सीको चुस्की लगाउन आउनेहरुको मेला नै लाग्थ्यो । आउनेहरु धेरैको भित्री आसय राम्रो छैन भन्ने निशुलाई पनि राम्रै थाहा छ । तैपनि हरेक ग्राहकसँग स्वभाविक र उनीहरुका मुडअनुसार प्रस्तुत भइदिनु उनको व्यापारिक धर्म थियो ।‘अनि साहुनी, काखमा छोरी त देखिन्छ तर साहुजीचाहिँ कहिल्यै देखिन्न नि ?’निशुलाई धेरै ग्राहकहरुले सोध्ने प्रश्न एउटै छ ।‘उहाँ सेक्युरिटी गार्डमा काम गर्नुहुन्छ । त्यसैले सधैँ राति मात्र कोठा फर्कनुहुन्छ ।’अनि निशुले ती सबैलाई दिने एउटै जवाफ हो यो ।उनको यो जवाफले निशुलाई ग्राहकरुपी ती यौनपिपासुको गिद्देदृष्टिबाट बच्न सहयोग गरे पनि सत्य त आखिर तीतो र अन्धकारमय नै थियो । राति नौ दश बजे होटल बन्द गरेर चिसो बिछ्यौनामा छोरीलाई काखी च्यापी आफ्नै भाग्य सम्झेर हरेक रात रोएरै बिताउँथिन् निशु ।००००‘साहुनी यहाँ चिया पाइन्छ ?’एउटा पुरुष आवाजले होटल साहुनी निशुको तान्द्रा भंग गरिदियो । सपनाबाट ब्युतिएँजसरी झसँग हुँदै उनले आवाज आएतिर नजर पु¥याइन् । सामुन्ने एक जोडी युवक र युवती उभिरहेका थिए । बाहिर बेतोडले पानी परिरहेको थियो । सँगै चलेको बतासले खुल्ला सटरभित्र लगाएको हरियो पर्दा चुँडिएला जसरी उडिरहेको थियो निशुको मनमा मच्चिरहेका जिज्ञासा झैँ ।‘साहुनी यहाँ चिया पाइन्छ ?’युवकले फेरि सोध्यो ।‘पाइन्छ । हजुर बस्नुस् न । कालो कि सेतो ?’मुडाबाट उठ्दै आफूलाई सम्हाल्दै साहुनी निशुले सोधिन् ।‘सेतो चिया एक कप । बरु अलि छिटो गरिदिनुस् है । निकै जाडो भयो ।’पछाडि भित्तानिर टेबुलमा बस्दै युवक बोल्यो ।‘हस्’ भन्दै निशुले चियाको भाँडो बसालिन् ।बिहान नौ बजेको समय भएकाले निशुको होटलमा अरु ग्राहक कोही थिएनन् । त्यसमाथि बाहिर बेतोडले असारे वर्षा भइरहेको थियो । निशुले छोरीलाई किन्डर गार्डेनमा बिहानै छाडेर आइसकेकी थिइन् ।ती युवक र युवती आपसमा गफिँदै थिए । यता निशु चिया उमाल्ने ध्याउन्नमा थिइन् । ती युवक युवतीको गुन्गुन सुनिए पनि उनले कुराको मेसो पाउन सकिनन् । होटलमा आउने हरेक ग्राहकको कुराकानीमा चासो दिइरहन आवश्यक पनि थिएन ।चिया राम्रोसँग उमालेपछि एउटा ग्लासमा हालेर दिइन् निशुले । युवक र युवतीले पालैपालो गिलास उठाएर चिया पिउन थाले । त्यो दृश्य निशुलाई बिल्कुल नौलो लाग्यो । उनीहरुको हर्कतले ती प्रेमजोडी हुन् भन्ने अन्दाज लगाउन निशुलाई कुनै गाह्रो परेन । तर एउटै गिलास चिया आधा आधा बाँडेर पिउने उनीहरुको शैली भने साँच्चिकै प्रेमिल लाग्यो निशुलाई ।करिब ४५ मिनेटको बसाईमा दुई कप चिया त्यसैगरी आधा आधा बाँडेर पिए जोडीले ।‘ओहो ! अब हाजिर गर्ने बेला भैसकेछ जाउँ ।’युवतीको कुराले उनीहरु यतै कतै नजिकका कुनै अफिसका स्टाफ रहेछन् भन्ने अन्दाजसम्म लगाउन भ्याइन् निशुले ।दुई कप चियाको पैसा तिरेर ती युवक र युवती हाँस्दै सँगै निस्किए । बाहिर अझै पानी परिरहेको थियो । त्यसैले युवतीले छाता खोलिन् र युवक त्यही छातामा ओत लागेर युवतीसँगै हिँड्यो । थाहा नपाउने गरी निकै परसम्म अनौठा ग्राहकहरु गइरहेको हेरिरहिन् साहुनी निशुले ।००००त्यसदिनदेखि ती युवक र युवती हरेक दिन निशुको होटल आउन थाले । उनीहरुको आउने समय बिहान नौ बजे आसपास हुन्थ्यो भने उनीहरुले बिताउने समय पनि निर्धारित जस्तै थियोः लगभग ४५ मिनेट ।उनीहरु नियमित आउन थालेको केही दिनपछि निशुलाई थाहा भयोः युवकको नाम रेशम र युवतीको नाम श्वेता रहेछ । अनि अर्को कुरा पनि पत्ता लाग्योः उनीहरु दुवै नजिकै रहेको वाणिज्य बैंकमा स्टाफ रहेछन् ।निशुको होटल नयाँबस्ती टोलकै सबैभन्दा बढी चलेको होटलमा पथ्र्यो । उनको होटलमा ग्राहकको भीड लागेको देखेर कतिले होटलवालीले टुनामुना मन्त्र जानेको आरोप लगाउथे भने कतिले उनको चरित्रमाथि आशंकाको वाण हान्थे । शुरुमा मन कुँडिए पनि पछि विस्तारै अभ्यस्त बन्दै गइन् निशु । सायद एकनाशको प्रहारपछि फूल पनि पत्थर बन्छ महानगरमा ।यति धेरै ग्राहक आउने होटलमा सबैको चासो राखेर साध्य पनि हुँदैन । त्यो आवश्यक पनि होइन । तर निशुका लागि रेशम र श्वेता फरक र विशेष ग्राहक भए । किनभने उनीहरु हरेक दिन केही पल भए पनि प्रेमिल समय बिताउन निशुकै चिया पसल आउँथे । एउटै गिलासमा आधा आधा चिया पिउँदै गफिन्थे । बेला बेलामा निशुलाई पनि उनीहरुको गफमा मिसाइदिन्थे । यसले निशुलाई आत्मीयता महसुस गराउँथ्यो । कतिसम्म भने एकदिन मात्र उनीहरु चियापसल आएनन् भने निशुको मनमा एककिसिमको बेचैनी बढ्थ्यो । त्यो दिन उनका लागि भारी बन्थ्यो ।एकदिन रेशमले ख्यालख्यालमा भने, ‘साहुनी । तपाईं त कैलालीकी पक्का थरुनी हुनुहुँदो रहेछ । मैले सुनेको छु थरुनीहरुले पकाएको घोंगी खूब मीठो हुन्छ रे ! हामीलाई पनि चाख्ने मौका दिनुस् न कहिलेकाहिँ ?’त्यतिखेर निशुको जवाफ थियो, ‘यो शहरमा घोंगी कहाँबाट ल्याउनु मैले ? हजुरलाई चाख्नै मन छ भने हिँड्नुस् न हाम्रो थारु गाउँ । दिनदिनै खुवाउँछु । जानुहुन्छ ?’रेशमले थप्यो, ‘जान त मन थियो नि । तर यी बाहुनीले जानै दिन्नन् ।’आफूलाई उनीहरु दुईबीचको ख्यालठट्टामा मिसाएको सुनेर श्वेता रिसाएझैँ गरी ठुस्किइन् ।‘गल्ती भयो मिस बाहुनी, तातो चियाको सगुन राख्छु,’ भन्दै रेशमले अर्को कप चिया मगाए ।चियाको गिलाससँगै श्वेताको रिसको पारो पनि रित्तियो ।‘वाह । कस्तो प्रेम !’थरुनी साहुनीको तरुनी मन लोभियो । तर अर्थहीन ।त्यो दिनभर निशुको मनमा छटपटि चलिरह्यो । उनको छटपटिको कारण थियो रेशम । ख्यालख्यालमै भए पनि उसले थरुनीले पकाएको घोंगी चाख्ने इच्छा व्यक्त गरेको थियो । त्यसैले उनी जसरी भए पनि रेशमको त्यो इच्छा पूरा गराउन चाहन्थिन् । किनभने रेशमको खुशी र सन्तुष्टिमा निशुले आफ्नो पनि खुशी र सन्तुष्टि महसुस गर्न थालेकी थिइन् ।निशुले काठमाडौँमा रहेका सम्झेजतिका आफ्ना सबै आफन्तलाई फोन गरिन्, कतै घोंगी पाइन्छ कि भनेर ।धेरैजनालाई सोधेपछि बल्ल एक ठाउँबाट सकारात्मक संकेत पाइन् । नातामा काकी पर्नेले पाँच दिनपछि कैलालीबाट मान्छे आउने र उसले अलिकति घोंगी पनि ल्याइदिने खबर सुनाइन् । त्यसैबाट केही भाग निशुलाई पनि दिने आश्वासन दिइन् ।नभन्दै छैटौँ दिन निशुलाई काकीको फोन आयो, ‘गाँवमन्से घोंगी आयलवा, लेहे आव ।’ (गाउँबाट अलिकति घोंगी आएको छ । लिन आऊ ।)खबर सुन्नेबित्तिकै तुफान गतिमा काकीकहाँ पुगिन् निशु । काकीले छुट्याइदिएको भाग घोंगी बोकेर उनी होटल फर्किन् । धोइ पखाली सफा गरी जानेसम्मको सीप लगाई घोंगी पकाइन् । मीठो भयो कि भएन भनेर चाख्दै मसला थप्दै गरिन् ।अब उनलाई हतारो थियो, ‘कतिखेर नौ बज्ला र रेशम आइपुग्ला ?’ नभन्दै सधैँका समयमै रेशम र श्वेता आइपुगे ।देवताकै साक्षात् दर्शन पाएजसरी उजेलियो निशुको मुहार । हतारहतार चिया उमालेर टेबलमा राखिदिइन् उनले र भनिन्, ‘आज तपाईंहरुको लागि मसँग एउटा सरप्राइज छ ।’‘कस्तो सरप्राइज हो थरुनी साहुनी ? ठूलै हो भने त यो सानो मुटुले थाम्नै नसक्ला कि ?’ रेशमले अघिपछि जस्तै जिस्किएर भन्यो ।निशुभन्दा अघि श्वेता बोलिन्, ‘त्यो सानो मुटुमा पनि कहाँ तिम्रो अधिकार छ र ?’श्वेताको त्यो वाक्यले निशुले आफ्नो मुटुमा च्वास्स घोचेजस्तो महसुस गरिन् । तर तुरुन्तै सम्हालिइन् ।उज्यालो अनुहारमा मुस्कान भर्दै बोलिन्, ‘मैले हजुरको चाहना पूरा गरिदिएको छु ।’‘कुन चाहना ? कस्तो चाहना ?’ रेशम उत्सुकतामा पग्लियो ।निशुले प्लेटमा पस्केर तात्तातो घोंगी ल्याएर टेबुलमा राखिदिँदै भनिन्, ‘थरुनीको हातले पकाएको मीठो घोंगी खाने चाहना नि !’हेर्दै लोभलाग्दो वाफिलो घोंगी सामुन्ने देखेर रेशम दंग पर्यो। उसले घोंगीको स्वाद र महिमाबारे साथीहरुबाट धेरै पटक सुनिसकेको थियो । त्यसैले ऊ नितान्त फरक परिकार चाख्न आतुरियो ।‘मैले त जिस्किएर पो भनेको थिएँ । साहुनीले त साँच्चिकै पो ठान्नुभएछ,’ वाणिज्य बैंकका ग्राहकसँग पेश हुँदाहुँदा रेशमले थुप्रै बनावटी औपचारिकता देखाउन जानिसकेको थियो ।साहुनी निशु पनि के कम, भनिन्, ‘तपाईंको सन्तुष्टि नै मेरो खुशी हो । किनभने हजुर मेरो भगवान हुनुहुन्छ । मेरो मतलब ग्राहक हुनुहुन्छ, ग्राहक भगवानसरह ।’प्रशंसा, सन्तुष्टि, खुशीभित्र के के लुकेको हुन्छ कुन्नि ? निशुको कुराले श्वेतालाई कता कता ननिको लागे झैँ भयो । व्यक्त नभए पनि पीडाको बादल मुहारमा दौडिसकेको सात चट्याङमा परेकी निशुले महसुस गरिसकिन् । तर उनलाई त्यसको कुनै मतलब थिएन । किनभने यी सब प्रपञ्च उनले सिर्फ रेशमका लागि गरेकी थिइन् ।रेशमले निकै स्वादिलो मानेर घोंगी चबायो ।श्वेताले घिन मानिन्, खाइनन् ।‘यो घोंगीको स्वादले त मलाई तपाईंको दिवाना नै बनाइदियो ।’लोग्ने मान्छेले ढिलोचाँडो हर्कत जनाइहाल्छ । मुखमा सुरुप्प घोंगी तान्दै रेशमले भन्यो, ‘मेरो मतलब तपाईंको घोंगी पकाउने सीपको दिवाना ।’मुखको घोंगी निलिसकेर रेशम आफैंले आफ्नो भनाइको आशय प्रष्ट पा¥यो ।‘म सबथोक स्वादिलो पकाउँछु ।’फूर्ति लगाउने पालो निशुको । फुर्ति मात्र किन, काउकुति नै लाग्यो होला नि रेशमलाई ।यसरी नै त्यसदिन ४५ मिनेट बित्यो । हाजिरी गर्न ढिला भयो भन्दै रेशम र श्वेता जर्याकजुरुक उठे ।आज निशुले धेरै समयपछि आत्मसन्तुष्टि महसुस गरिन् ।किनभने माछाका सौखिन उनका सियारामले निशुले पकाएको माछाको झोल सधैँ यसैगरी प्रशंसा गथ्र्यौ । आत्मगौरवले पुलकित हुन्थिन् निशु ।०००००रेशम र श्वेताको जोडीले निशु चौधरीको हरियो पर्दावाला होटललाई प्रेमिल अखडा बनाइरहे । तर अचानक पछिल्लो तीन दिनदेखि यो जोडी बेखबर भयो । जसरी मलेसिया गएका सियाराम अचानक बेखबर र बेपत्ता बनेको थियो ।साहुनी निशाको मन बेचैन बन्दै गयो ।के भयो होला ?कहाँ गए होलान् ?के अब उनीहरु कहिल्यै मेरो होटलमा आउँदैनन् ?के अब मैलै उनीहरुको अनुहार फेरि देख्न पाउँदिनँ ?के मैले पकाइदिएको चियाबाट उनीहरु अघाइसके ?एकैपटक यस्ता दर्जनौँ प्रश्नले निशुलाई घेरिरह्यो, घोचिरह्यो ।कतिसम्म भने रेशम र श्वेताको जोडी आउन छाडेको दिनदेखि सबै रात लगभग अनिदो जस्तै रह्यो निशुको ।उनी हरेक बिहान नौ बजेको प्रतीक्षामा हुन्थिन् । उनका आँखा रेशम र श्वेताको पर्खाइमै हुन्थ्यो । तर हरेक दिनको उनको पर्खाइ व्यर्थ बन्थ्यो ।चौथो दिनको साँझ । निशुको ज्यानले सञ्चो महसुस गरिरहेको थिएन । त्यसैले उनले सटर आधा मात्र खुल्ला गरिराखेकी थिइन् । त्यसको मतलब आज होटल बन्द छ भन्ने बुझ्थे उनका नियमित ग्राहक ।सानी छोरी निदाइसकेकी थिई । निशु भने बेचैनी मनमा अनेकौँ कुरा खेलाउदै बसिरहेकी थिइन् ।अचानक सटरलाई कसैले घर्याक्क गरेको आवाजले उनी झस्किइन् । उनले सटरतिर नजर पुर्याइन् । त्यहाँ रेशम थियो । रेशमलाई देखेर एकाएक निशुको मन हलुङ्गो भयो । अघि भर्खरमात्र अन्धकार लागेको परिवेशमा उज्यालो पोतिएको देख्न थालिन् उनले ।तर सधैँ बिहान आउने रेशम आज यसरी साँझ आएको देखेर खुल्दुली बढ्यो उनको मनमा । त्यसमाथि आज रेशम एक्लै आएको थियो । उसको मुहारको स्वभाविक कान्ति खुइलिसकेको थियो ।रेशम सरासर गएर भित्तानिरको त्यही टेबुलमा बस्यो, जहाँ हरेक दिन श्वेता र ऊ बस्ने गथ्र्यो ।टेबुलमा बसिसकेपछि उसको मुहारको कान्ति अझ क्षीण बनेको महसुस गरिन् । उसलाई अघिदेखि नियालिरहेकी निशु ।‘साहुनी खै, मलाई रक्सी दिनुस् त ।’सधैँ चिया माग्ने रेशमले आज रक्सी माग्यो । त्यसैले निशु अक्क न बक्क भइन् ।‘खै, सुन्नुभएन तपाईंले ? मलाई रक्सी ल्याइदिनुस् भनेको ।’दोहोर्याएर त्यसमाथि आदेशात्मक स्वरमा मागेपछि निशुले रक्सी नदिई धरै पाइनन् । रेशमले आज रक्सी पिएर आएको निशुले ऊ अघि होटलभित्र पस्ने बित्तिकै थाहा पाइसकेकी थिइन् ।एक गिलास रक्सी एकै सासमा सिनित्त पारेपछि रेशम बर्बराउन थाल्यो ।‘मान्छेहरु यतिसम्म बैगुनी किन हुन्छन् ? अर्काको भावनासँग किन खेल्छन् ? के हाम्रोचाहिँ मुटु होइन ? मेरो यो छातीमा ढुक्ढुक ढुक्ढुक गर्ने मुटु ढुंगाको हो ?’रेशम बर्बराउदै टेबुलबाट उठ्न खोज्दा लड्न थाल्यो । हत्तपत्त निशु गएर सम्हालिदिइन् ।‘के भयो आज तपाईंलाई ? किन यस्तो गर्नुहुँदैछ ?’निशुले सोधिन् ।‘मेरो मुटु फुटाएर गइन् । मलाई जिउँदै जलाएर गइन् । त्यति गहिरो हाम्रो सम्बन्धलाई साथीमा सीमित पारेर बोइङ चढेर गइन् । मेरी श्वेताले आज मेरो दिल खरानी बनाएर गईन् ।’निशुले बल्ल कुराको मेसो पाइन् । यतिका दिन रेशम र श्वेता लापत्ता हुनुको कारण र यस्तो अवस्थामा आज रेशम उनको होटलमा आउनुको कारण ।यसमा उनले के बोल्नु ? के भन्नु ? के चाहिँ नभन्नु ? त्यसैले निःशब्द रहिन् निशु ।‘तर म पनि मेरो मायाको परीक्षा दिएरै छाड्छु साहुनी, बुझ्नुभो ? उनको नाममा सुसाइड नोट लेखेर आजै राति आत्महत्या गर्छु । अनि मेरो मृत्युको खबरले उनलाई पनि त जीवनभर पोलिरहला ।’बेहोसीमै दृढता देखाउँदै बोलिरह्यो रेशम ।उसको पछिल्लो वाक्य कुनै पनि मन परेनन् निशुलाई । किनभने त्यो उनको मनलाई छेड्ने वाक्य थिए ।‘ए हजुर, जिन्दगीका हरेक पीडाको औषधि मर्नु हो भने–आधा मानिस त पहिल्यै मरिसक्थे ।’ पीडा कसलाई हुँदैन ? धोका कसले खाँदैन ? तपाईंको जस्तो भावना बोकेको भए म तपहिले नै मरिसक्थें । म एक्ली आइमाइ मान्छे भएर त यत्रो शहरमा संघर्ष गरेर बाँचिरहेकी छु ।’अब रुने पालो निशुको थियो ।‘हुन त तपाईं र मेरो सम्बन्ध ग्राहक र साहुनीको हो । तर तपाईं यहाँ आउन छोडेदेखि कुनै रात पनि म निदाएकी छैन । यस्तो किन भयो ? भनेर दिने चित्तबुझ्दो जवाफ पनि मसँग छैन ।’आँखाबाट बगिरहेको आँसु हातको मुठ्ठीले पुछ्दै निशुले फेरि थपिन्, ‘तपाईंलाई’नि पीडा, मलाइ’नि पीडा । त्यसैले आउनुस् हामी दुवै सँगै आत्महत्या गरौँ । कमसेकम मर्ने बेला त यो निशु चौधरीले कसैको साथ पाइछिन् भनेर दुनियाँले भनून् ।’निशुको कुरा सुनेर रेशमले अचानक उनलाई अंगालोमा कसिदियो । र, दुवैजना एक अर्काको अंगालोमा त्यसैगरी बेरिएर रोइरहे, मनभित्रको सबै पीडा आँसु बनेर बगेर नगइञ्जेलसम्म ।एउटा बिन्दुमा पुगेर उनीहरुको रुवाइ पनि थामियो । तब दुवैले आआफ्नो मन निकै हलुङ्गो भएको महसुस गरे । त्यसरात नजिकका छिमेकीहरुले निकै अबेर मात्र थरुनी साहुनीको होटलको सटर तानेको आवाज सुने ।००००भोलिपल्ट । सधैँको विहानी जस्तै आज पनि समयमै होटलको सटर खुल्यो । तर फरक यति थियो, पूरानो हरियो पर्दाको ठाउँमा नयाँ र सफा बुट्टेदार पर्दा फेरिएका थिए ।००००
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७ ०१:५६