मदन ढुङ्गानाकाठमाडौं । नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तको पार्किङस्थलमा विभिन्न कम्पनीका मोटरसाइकलहरु लस्करै पार्किङ गरि राखिएका छन् । ती मोटरसाइकल सेवाग्राही वा प्रहरी कार्मचारीका होइनन् ।नयाँ बानेश्वरमा मात्र होइन काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालयमा विभिन्न अवस्थामा ल्याइएका मोटरसाइकलहरुको लावालस्कर देख्न पाइन्छ । यीमध्ये कतिपय नयाँ मोडलका मोटरसाइकलहरु छन् भने कतिचाहिँ वर्षौदेखि प्रहरी कार्यालयमा कवाडी बनेर बसिरहेका छन् । तर यी मोटरसाइकलहरु न लिलाम प्रक्रियामा लैजान सकिएका छन्, न त सवारीसाधनको धनी नै लिन आएका छन् । कतिपय मोटरसाइकलको धनी वा चालक विभिन्न मुद्दामा परेकाले पनि ती मोटरसाइकलहरु अहिले प्रहरी कार्यालयमा डम्पिङ बनेर बसेका छन् ।महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेत यी मोटरसाइकलहरु तीन कारणले प्रहरी कार्यालयमा आउने बताउँछन् । पहिलो वेवारिसे अवस्थामा भेटिएका मोटरसाइकलहरु, दोस्रो विभिन्न दुर्घटनामा संलग्न भएका मोटरसाइकलहरु र तेस्रो मुद्दा प्रक्रियामा रहेका मोटरसाइकलहरु ।त्यसो त केही केही मोटरसाइकलहरु तेस्रो मुलुकबाट नै चोरी वा भन्सार छली गरेर समेत ल्याइने गरिएको छ । त्यस्ता मोटरसाइकलहरु भने भन्सार विभाग वा कार्यालय र राजश्व अनुसन्धान विभागलाई बुझाउने गरिएको डीएसपी बस्नेतले बताउनुभयो ।
प्रहरी कार्यालयहरुमा थुप्रिने अधिकांश मोटरसाइकलहरु वेवारिसे अवस्थामा फेला परेका मोटरसाइकलहरु हुन्छन् । बेवारिसे अवस्थामा फेला परेका यस्ता मोटरसाइकलको नम्बर प्लेट समेत परिवर्तन गरी चलाइएको हुन्छ । किनभने यस्ता अधिकांश मोटरसाइकलहरु चोरी गरी चलाइएको हुन्छन् । नम्बर प्लेट नै परिवर्तन गरी चलाइएको कारण इञ्जिन र च्यासिस नम्बरबाट सवारी धनी पत्ता लगाउन लामो समय लाग्छ । तर यसरी हराएका अधिकांश मोटरसाइकल धनीले इन्सुरेन्सबाट भुक्तानी लिइसकेको हुनाले धनी पत्ता लागेपनि मोटरसाइकल लिन आउँदैनन् । जसका कारण यस्ता मोटरसाइकलहरु प्रहरी कार्यालयमै कुहिने गरेको डीएसपी बस्नेतको भनाइ छ ।
यसरी हराएका अधिकांश मोटरसाइकल धनीले इन्सुरेन्सबाट भुक्तानी लिइसकेको हुनाले धनी पत्ता लागेपनि मोटरसाइकल लिन आउँदैनन् ।
प्रहरी कार्यालयमा सवारीसाधन थुप्रनुको अर्को कारण दुर्घटना पनि हो । दुर्घटना भएपछि सवारीसाधन प्रहरी कार्यालयमा ल्याइन्छ । तर दुर्घटनाबाट घाइते वा मृत्यु भएर तिर्नुपर्ने क्षतिपूर्तिभन्दा सवारीसाधनको मूल्य कम आउने भएको खण्डमा पनि यस्ता सवारीसाधन लिन आउँदैनन् । जसको कारण प्रहरी कार्यालयमा यसरी मोटरसाइकलहरु थन्कने गरेका छन् ।लागूऔषध, डकैती, तस्करी जस्ता मुद्दा प्रयोग भएका सवारीसाधन पनि प्रहरी कार्यालयमै थन्किएका छन् । यस्तो अपराधमा संलग्न सवारीसाधन पनि अदालतमा मुद्दा दायर गरेसँगै बुझाउनुपर्ने हुन्छ । तर अदालतले आफ्नो प्राङ्गणमा राख्ने स्थान नभएको भन्दै प्रहरी कार्यालयमै राखिदिन आग्रह गर्छ । जसका कारण वर्षौदेखि प्रहरी कार्यालयहरुमा मोटरसाइकल थन्कने गरेका छन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वर मात्रै होइन, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा पनि वर्षौदेखि मोटरसाइकलहरु घाम र पानीको राप र ताप खेपिरहेको छ । विभिन्न अवस्थामा प्रहरी कार्यालय ल्याइएका यस्ता मोटरसाइकलहरु न धनीको जिम्मामा जान सकेको छ, न त लिलामी गरी सरकारी राजश्वमा नै रकम आएको छ । बरु प्रहरी नयाँ नयाँ मोडलका मोटरसाइकलहरु यसरी घाम र पानीको असरबाट खिया लाग्दै काम नलाग्ने हुने गरेको छ ।महानगरीय प्रहरी परिसर ललितपुर अन्तर्गतको ट्राफिक प्रहरी प्रभाग सातदोबाटोको अवस्था पनि उस्तै छ । प्रभाग परिसरमा सैयौं मोटरसाइकलहरु फलामे साङ्लोले बेरिएका छन् । तर यी मोटरसाइकलहरु न धनीको जिम्मा लाग्न सकेको छ, न त लिलामी प्रक्रियामा नै गएका छन् । महङ्गा महङ्गा मोटरसाइकलमा पनि बिस्तारै खिया लाग्दै छ र बेकम्मा बन्दै छ ।
यी मोटरसाइकलहरु न धनीको जिम्मा लाग्न सकेको छ, न त लिलामी प्रक्रियामा नै गएका छन् । महङ्गा महङ्गा मोटरसाइकलमा पनि बिस्तारै खिया लाग्दै छ र बेकम्मा बन्दै छ ।
उपत्यकाका सबैजसो प्रहरी कार्यालयहरुमा यसरी मोटरसाइकलहरुको थुप्रो देख्न सकिन्छ । केही केही नयाँ मोटरसाइकल पनि प्रहरी कार्यालयमा थन्किएका छन् र बिस्तारै थोत्रो र बेकम्मा बन्दै गइरहेको छ । पुरानो मोटरसाइकलहरु पनि मोटरसाइकलको मूल्यभन्दा बढी करको मूल्य तिर्नुपर्ने भएकाले लिन नगई छाडिएका छन् । र, प्रहरी कार्यालयहरुमा कुहिँदै गइरहेको छ ।प्रहरी कार्यालयहरुमा यसरी सयौं मोटरसाइकल कुहिँदै गइरहे पनि वार्षिकरुपमा हजारौं थान मोटरसाइकल नेपाल भित्रिरहेको छ । जसका कारण देशबाट वार्षिक अर्बौ रकम बाहिर गइरहेको छ । यदि सरकारले सही नीति बनाउन सके यस्ता मोटरसाइकल पनि लिलामी प्रक्रियामा लगी धनीलाई रकम दिने वा सरकारी राजश्वमा दाखिला गर्न सकिन्छ ।
हेर्नुहोस् पूरा भिडियोसहितको कार्यक्रम 'बाइलाइन' : https://www.youtube.com/watch?v=PHsqhuTn_vk