काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६० वर्षे इतिहासलाई समेटेर परिचयात्मक ग्रन्थ प्रकाशन गरेको छ । ‘नेपाल प्रज्ञा–प्रतिष्ठानका गौरवमय साठी वर्ष’ नामक उक्त ग्रन्थ प्रज्ञा–प्रतिष्ठानले आफ्नो हीरक महोत्सवका अवसरमा प्रकाशनमा ल्याएको हो ।
जम्मा ४७२ पृष्ठको ग्रन्थमा वि.सं. २०१४ सालदेखि २०७४ सम्म प्रतिष्ठानले गरेका प्राज्ञिक गतिविधि तथा अनुसन्धनात्मक लगायतका कार्यहरूको चर्चा गरिएको छ । प्रतिष्ठानको स्थापना वि.सं. २०१४ सालमा तत्कालीन राजा महेन्द्रले गरेका थिए । यस वर्ष प्रतिष्ठानले ६० वर्ष पूरा गरेको छ ।
प्राज्ञ तथा प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा. कुमारप्रसाद कोइराला, ज्ञानु अधिकारी र रमेश शुभेच्छुद्वारा लिखित उक्त ग्रन्थलाई चार खण्डमा विभाजन गरिएको छ । जसअनुसार ग्रन्थको पहिलो खण्डको लेखन प्रा. ‘प्रेक्षित’ले गरेका छन् । यस खण्डमा प्रज्ञा–प्रतिष्ठानको गठन र स्वरुप, प्रतिष्ठान स्थापनाको पृष्ठभूमि र यसको विकासक्रममा बारेमा उल्लेख गरिएको छ ।
दोस्रो खण्डमा अध्ययन–अनुसन्धान र प्रकाशनका बारेमा प्रा.डा. कोइरालाले लेख्नु भएकाे छ । ग्रन्थको तेस्रो खण्डमा अधिकारीले गोष्ठी, प्रतिष्ठानले गरेका विविध सहयोग र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा लेखेकी छन् भने चौथो खण्डमा प्रज्ञा पुरस्कार, कविता महोत्सव, नाटक महोत्सव, कला प्रदर्शनी आदि गतिविधिका बारेमा शुभेच्छुको लेखन समावेश गरिएकाे छ ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त ग्रन्थबाट ‘प्रज्ञाको इतिहास झल्किने’ दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘यस ग्रन्थले प्रज्ञा–प्रतिष्ठानका समग्र पाटोबारे एकमुस्ट जानकारी प्रदान गर्छ ।’ प्रज्ञा–प्रतिष्ठानका दर्शन विभाग प्रमुख प्राज्ञ प्रा. दिनेशराज पन्तको संयोजकत्वमा उक्त ग्रन्थ तयार भएको हो ।