काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि गृहजिल्ला चितवनमा भएको दुर्व्यवहारबारे नेकपाका नेताहरुले विभिन्न ढंगबाट प्रतिक्रिया दिने क्रम रोकिएको छैन । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नेताहरुले घटनाप्रति दु:ख व्यक्त गर्दै दोषीमाथि कारबाही हुनुपर्ने माग समेत गरिरहेका छन् ।संघीय सांसदसमेत रहनुभएका पाण्डेका विरूद्द चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर कार्यकर्ताले गरेको व्यवहारलाई लिएर नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालले फरक फरक वक्तव्य जारी गर्नुहुँदै सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी गरिएको घटनाबारे स्थानीय पार्टी कमिटीले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ । वरिष्ठ नेताद्धय खनाल र नेपाल घटना निन्दनीय भएको भन्दै भत्र्सनासमेत गर्नुभएको छ ।नेता खनालले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको समाधानका लागि उपायहरु खोजी भइरहेका बेला यस्ता घटनाले स्थितिलाई झनै उत्तेजक बनाउने उल्लेख गर्नुभएको छ भने नेपालले यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि नसुहाउने भएकाले दोषीलाई कडा कारबाहीका लागि स्थानीय कमिटीको ध्यानाकर्षण गराउनुभएको छ ।नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायण काजी श्रेष्ठ ‘प्रकाश’ ले नेता पाण्डेमाथि भएको सनियोजित दु्र्व्यवहारको घटना अति निन्दनीय एवं भत्र्सनायोग्य भएको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता श्रेष्ठले भन्नुभएको छ, ‘यस प्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्रै होइन, कसैको पनि हित गर्दैन । चेत होस् ।’
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले पनि नेता पाण्डेमाथिको दु्र्व्यवहारलाई अराजकताको पराकाष्ठा भनेको छ । अध्यक्ष प्रचण्डको प्रमुख स्वकिय सचिव गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘नेकपाका स्थायी समिति सदस्य कमरेड सुरेन्द्र पाण्डेद्वारा आफ्नो क्षेत्र चितवनको राप्तीमा पार्टी बैठकलाई भद्र शैलीमा सम्बोधन गर्ने क्रममा एक समुहबाट अराजनीतिक गतिविधि गरि दुर्व्यवहारको प्रयास भएको छ, यो गैर राजनीतिक कार्यसँग सम्लग्न व्यक्तिमाथी छानबिन गरि कारबाही होस्।’
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहनुभएका नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले चितवनको हुलहुज्जत जनताको बहुदलीय जनवादको कोर्स हुन नसक्ने बताउनुभएको छ । स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको बिरोध गर्दै भट्टराईले विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता भएको पनि उल्लेख उल्लेख गर्नुभएको छ । ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन, विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो ।’ भट्टराईको ट्विटमा उल्लेख छ ।
नेकपाका नेता डा. विजयकुमार पौडेलले पनि नेता पाण्डे कार्यक्रममा बोलिरहेको बेला केही मानिसहरुले हुलहुज्जत गरी ज्यादै निकृष्ट ब्यवहार गरेको घटना जुनसुकै आवरणमा भए पनि पार्टी र लोकतन्त्र विरोधी भएको र यस्तो कृयाकलाप अशोभनीय हुने बताउनुभएको छ । उहाँले पनि सामाजिक सञ्जालमै लेख्नुभएको छ, ‘ नेकपा स्थायी समितिका सदस्य, गत एमाले महाधिवेशनमा महासचिवका उमेदवार एवं पूर्व अर्थमन्त्री माननीय सुरेन्द्र पाण्डेमाथि आज चितवनको राप्ति नगरपालिकामा आयोजित कार्यक्रममा बोलिरहेको बेला केही मानिसहरुले हुलहुज्जत गरी ज्यादै निकृष्ट व्यवहार गरेका छन् । यस्ता मानिसहरु जुनसुकै आवरणमा भए पनि पार्टी र लोकतन्त्र विरोधी हुन् । यस्तो कृयाकलाप अशोभनीय छ ।’
नेकपाका केन्द्रीय सदस्य बलराम बाँस्कोटाले स्थायी कमिटी सदस्य पाण्डेमाथि भएको व्यवहारबारे घटनाको पछिल्लो दिन सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘नेकपा नेता कमरेड सुरेन्द्र पाण्डे प्रति आज चितवनमा दु्र्व्यवहार भयो। यस्तो कार्यलाइ प्रोत्साहन नगरौं।कतै दोहोरिन नदिउँ। पार्टी एकता कायम राख्न आ आफ्नो ठाउँबाट सक्दो योगदान गरौ।’
चितवनमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर केही कार्यकर्ताको भीडले नाराबाजी तथा विरोध गर्दै पाण्डेमाथि दु्र्व्यवहार गरेको हो । संघीय सांसद समेत रहनुभएका पाण्डेका विरूद्द नारावाजी गर्ने क्रममा उनीहरुले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाएका थिए ।