भगीरथ भण्डारी इलाम । फाकफोकथुम गाउँपालिकाले मंसिर १४ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणका कारण गत चैत्र ११ गतेबाट बन्द रहेका विद्यालय १४ गतेबाट खुल्ने भएका हुन् ।पालिकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार सुरक्षाका उपाय अपनाएर मंसिर १४ गतेबाट पठनपाठन सञ्चालन गर्न विद्यालयलाई पत्र पठाइसकेको प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्टाफ, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला समेत राखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेर मंसिर १३ गतेभित्र गाउँपालिकामा पेश गर्नुपर्ने र १४ गतेबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।’
विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पठनपाठन गराउनु पर्ने, समूह खेल, दिउँसोको खाजा खाने ब्रेक नगर्ने, विद्यालयमा साबुनपानीले हात धुने व्यवस्था खनिवार्य गर्नुपर्ने र शिक्षक विद्यार्थिले अनिवार्य माक्सको प्रयोग गरी विद्यालय सञ्चालन गर्नुपर्ने छ ।यता सूयोदय नगरपालिकाले नगरभित्रको विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने बारेमा शिक्षाको अनुभवी व्यक्तित्व, प्रधानाध्यापक,शिक्षक, संघ र संगठनको प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिरिू, शिक्षक अभिभावक संघका प्रतिनिधि, समाजसेवी, सेवास्थ्यकर्मी, बाल क्लव प्रतिनिधि, मनोसामाजिक परार्मशदाता, सामाजिक परिचालक, निजी र सानुदायिक विद्यालयका प्रतिनिधिबीच छलफल गरी विद्यालय सञ्चालन गर्न चाहने विद्यालयले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाचा २०७७ वा आलोपालो सिफ्ट वा अन्य कनै विद्यालय र ठाउँ अनुसारको उपयुक्त मोडालिटी तयार गरी नगरपालिकाको शिक्षा शाखामा प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । उक्त प्रस्ताव अनुसार विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने निर्णय पालिकाले गर्ने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो ।उता जिल्ला कोविड १९ संकट व्यवस्थापन समिति इलामको बैठकले आलोपालो सिफ्टमार्फत विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम नै विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ को पूर्ण कार्यान्वयन गरी बालबालिकाको शिक्षण सिकाई र परीक्षा तथा मुल्यांकन सम्बन्धी प्रक्रियालाई सहज तथा निरन्तर बनाउन सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको छ । विद्यालयमा विशेष गरेर वैकल्पिक माध्यमबाट बालबालिकालाई अध्यापन गराउन जोड दिन समेत आग्रह गरिएको छ ।विद्यालय सञ्चालन गर्दा विद्यार्थी वा शिक्षक शिक्षिका संक्रमित फेला परे त्यसको जिम्मा को हुने भन्ने स्पष्ट नभएको निजि तथा आवाशिय विद्यालय प्याब्सन इलामका अध्यक्ष विकास कर्माचार्यले बताउनुभयो । त्यस्तै प्रदेश नम्बर एकका भूमि व्यवस्था, कृषि, सहकारी राज्य मन्त्री राम रानाले विद्यालय सञ्चालनमा अझै अन्योल कायम रहेको बताउनुभएको छ ।विद्यालय सञ्चालनमा विद्यालयले मापदण्ड पूरा गरी सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि कसरी सञ्चालन गर्ने भन्ने अन्योल नै छ । बढी विद्यार्थी हुने र शहरका विद्यालयहरुमा सम्बन्धित विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले स्थानीय तहको समन्वयमा महामारीबाट बच्ने गरी अघि बढ्न समेत बैठकले आग्रह गरेको छ । हाल कोरेन्टाइन रहेका विद्यालयलाई तत्काल हटाउने र विद्यालयलाई जिम्मा लगाउनु पर्ने निर्णय गरेको छ ।