भगीरथ भण्डारी इलाम । सूर्योदय नगरपालिकामा पर्ने अन्तुमा ५/६ वर्ष अघि रात भर स्याल कराएको सुन्न पाइन्थ्यो । जंगलसँगै पातलो बस्ती र मानिसको आवतजावत कम भएका कारणले स्याल कराएको आवाज सुन्न र बेलुका दश बजे पछि त देख्न पनि पाइन्थ्यो ।तर यतिबेले अन्तु पुग्ने जो कोहीको कानमा राति १२ बजेसम्म मनिसको आवाज सुन्न पाइन्छ । पर्यटन क्षेत्रको विकास सँगै बस्ति बाक्लिएको र मानिसको आवतजावत अत्याधिक बढेसँगै पर्यटकले मनोरञ्जन गर्ने गर्छन । मानिसको चाप नहुँदा अन्तुमा रँजाई गरेका स्याल मानिसको चाप बढेसँगै पलायन भएका हुन् ।
यतिबेला यहाँ स्याल नपाउने स्थानीय बताउँछन । यहाँका स्थानीय बासिन्दाले स्यालको रक्सी बनाएर बेच्ने गरेका छन् । मिठो बोली बोल्ने यहाँका पर्यटन व्यवसायीले यसलाई रक्सी नभनी ‘स्यालहुस्कि’ भन्ने गरेका छन् । बाथ रोगीहरुले स्यालको मासु खोजीखोजी खाने गरेकाले पनि स्यालको रक्सी मज्जाले बिक्ने गर्छ । पर्यटकले कोशेलीकै रुपमा स्यालको रक्सी अन्तुबाट लैजाने गरेको स्थानीय बताउँछन ।
अन्तुमा पर्यटकको भिड लामो समयसम्म कोरोना संक्रमणका कारण पर्यटक आवतजावत ठप्प रहेको अन्तुमा यतिबेला थामि नसक्नु भिड लाग्ने गरेको छ । शुक्रबार र शनिबारका लागि यहाँका होटलहरु एक हप्ता अघिनै बुक भइसकेका हुन्छन् । शुक्रबार आएका पर्यटकका लागि बास नपुगेका कारण अन्तु कटेजमा टेन्टमा समेत सुताइएको स्थानीय रुद्र घिमिरेले बताए ।पहिले सम्पर्क नगरी शुक्रबार बेलुका अन्तु आउने पर्यटकलाई बास पाउन मुस्किल रहेने सामुदायीक होमस्टे सञ्चालक समितिका अध्यक्ष धनकुमार आले बताउनुहुन्छ । प्रकृतिक सुन्दरताका कारण पनि अन्तुमा पर्यटक आउन थालेसँगै भिड लाग्न थालेको हो । पर्यटक आकर्षण गर्नेे इलाममा धेरै गन्तव्यहरु छन् तर श्रीअन्तुले जति अन्य पर्यटकीय स्थलले आकर्षण गर्न सकेको छैन । यहाँको मुख्य आकर्षण भनेको सूर्योदयको दृश्य नै हो । आकाश खुलेको बेला सूर्योदय देखिँदा टिष्टा नदी तिरको क्षितिजमा रेखा देखिन थाल्छ । त्यो रेखा चम्किलो हुँदै गएपछि रेखाको बीच भागमा टपरा, मयुर, थाल जस्तो देखिँदै देखिँदै अलिक मास्तिर गोलो रातो घाम देखिन्छ । पहिले रातो देखिएको घाम चम्किलो हुँदै केही बेरमा अन्यत्रबाट देखिएजस्तै हुन्छ ।यहाँ स–साना चिटिक्क परेका चिया बगान, चिया बगान भित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख र बिहानै उठेर सूर्योदय र साँझ सूर्यास्त हेर्न सकिन्छ । नेपालकै सुदुरपूर्वमा पर्ने इलामको श्री अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलाम सँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बङ्गालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् ।सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, गुफा पाताल, सिंहबाहिनी क्षेत्र, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण यहाँ त्यसको मज्जा लिन पनि पर्यटक बाक्लै आउने गरेका छन् ।
कोरोना संक्रमणको जोखिममा अन्तु सरकारले कोरोना संक्रमणबाट बँच्न भिडभाड नगर्नु र नगराउनु भने पनि भीडभाडका कारण यहाँ कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको छ । त्यहाँ पुग्ने जो कोही माक्स लगाएरनै पुगेको देखिन्छ तर अन्तु पुगेपछि न मक्स लगाउँछन् न सामाजिक दुरी कायम नै हुन्छ । बिहान सूर्योदय हेर्न जाँदा मुखमा माक्स र सामाजिक दूरीको वास्ता कसैले गरेको देखिँदैन । संक्रमण फैलिरहेका बेला स्वास्थ्य सुरक्षाका मापदण्ड न अपनाउने र हेल्चेक्रयाँईका कारणले पनि अन्तु कोरोनाको उच्च जोखिममा रहेको हो ।