सोल । विश्व शान्तिका अभियान्तहरुले विश्वका धर्मका कारण भैरहेका द्धन्दहरुको छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
विश्वशान्तिकालागि क्रियाशील संस्था हेभेन्ली पिस रेस्टोरेशन अफ लाइट एचडब्लुपीएलले बुधवार दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले विश्वका धेरै मुलुकहरुमा शान्तिको पुनःस्थापन हुँदै गएकोमा प्रसन्नता व्यक्त गरेका हुन् ।
कार्यक्रममा एचडब्लुपीएलका अध्यक्ष मान ही लीले विश्वमा द्धन्द्धबाट प्रभावित नभएको कुनै मुलुक नभएको दाबी गरे । तर शान्तिप्रतिको चाहना र विश्वासले धेरै मुलुकमा शान्ति पुनस्थापना भएको उनले बताए । यसमा एचडब्लुपीएलले सन् २०१४ मा प्रतिपादित गरेको शान्तिस्थापना र द्वन्द्वको अन्त्यघोषणा पत्र डिपीसीडब्लुले महत्वपूर्ण भूमिका खेलेको दाबी गरे ।
संयुक्त राष्ट्र संघ अन्तर्गतका अधिकांश मुलुकहरुले डिपीसीडब्लुको पूर्ण कार्यान्वयनकालागि प्रतिवद्दता जनाएको स्मरण गराउदै अध्यक्ष लीले त्यसको नतिजास्वरुप धेरै मुलुकहरुमा शान्ति र स्थिरिताको वातावरण बन्दै गएको उल्लेख गरे । बालबालिकाहरु सबैको भविष्य भएकोले उनीहरुलाई सबैखाले द्धन्द्धबाट अछुतो राख्नुपर्ने उनले औंल्याए ।
अध्यक्ष हीले विश्व शान्तिको लागि एकीकृत आवाज सम्प्रेण गरिरहेको कोरियाली भूमिकै शान्तिको अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले दुवै देशका नेताहरुलाई जर्मनीबाट सकरात्मक पाठ सिक्न आग्रह गरे । शान्तिप्रेमी नेतृत्व र जनताहरुको संयुक्त पहलमा जर्मनीमा शान्तिको पुनस्थापना प्रयास पूर्ण रुपमा सफल भएको उनले बताए ।
दुवै कोरियाबीच भाषिक र सांस्कृतिक समानता मात्र नभएर दुवै देशका नागरिकहरुको शान्तिप्रतिको चाहना र भावना एउटै रहेकोप्रति गम्भीर बन्न दुवै कोरियाका नेतृत्वलाई उनले आह्वान गरे । शान्तिप्रतिको आफ्नो सन्देश सुनिदिए शान्तिपूर्ण समाधान निस्किने दाबी गर्दै अध्यक्ष लीले विभाजित कोरियाको नभई एकीकृत कोरियाद्धीपको नेता बन्न आग्रह गरे ।
विश्वमा बढ्दै गएको हतियार शान्तिको सबैभन्दा ठूलो समस्या रहेको उनले बताए । विश्वमा रहेका ती हतियारहरु एकैपटक विस्फोट भए पृथ्वी भन्ने ग्रहकै अस्तित्व सकिने उनको तर्क थियो ।
कार्यक्रममा एचडब्लुपीएलका महिला निर्देशक ह्युन सुक उनले धार्मिक अतिवादका कारण दक्षिण कोरियामै समेत थुप्रै दुखद घट्नाहरु घटिरहेकोप्रति चिन्ता व्यक्त गरिन् । विश्वमा शान्ति सम्भव छ र ? भन्नेहरुकालागि डिपिसीडब्लु सबैभन्दा गतिलो जवाफ रहेको उनले बताइन् ।
विश्व शान्तिप्रतिको आफूहरुको अभियान फैलिएर विश्वका सबै मुलुकहरुले ग्रहण गरिसकेको दाबी गर्दै शान्तिप्रतिको सबैको चाहना,विश्वाससँगै डिपीसीडब्लुको पूर्ण कार्यान्वयनले हाम्रै जीवनमा विश्व शान्ति सम्भव हुने उनको विश्वास थियो ।
डिपीसीडब्लु घोषणाको दोस्रो वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा विश्वका विभिन्न मुलुकका पत्रकार,नेता र कानूनविदहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रको हैसियतमा नेपालले पनि डिपीसीडब्लुको कार्यान्वयनप्रति प्रतिवद्धता जनाइसकेको छ ।
अध्यक्ष लीलाई कोरिया पिस अवार्ड
विश्वशान्तिकालागि प्रभावकारी अभियानको नेतृत्व गरे वापत एचडब्लुपीएलका अध्यक्ष मानहीलीलाई सन् २०१८ को कोरिया पिस अवार्ड प्रदान गरिएको छ ।
कोरियन नोबल फाउन्डेशनले हरेक वर्ष विश्व शान्तिकालागि उल्लेखनीय योगदान पुर्याउने विश्वका विभिन्न व्यक्तिहरुलाई यो अवार्डबाट सम्मानित गर्दै आएको छ । कोरिया पिस अवार्ड पाउने अध्यक्ष ली दोस्रो कोरियन नागरिक हुन् ।
शान्तिको माध्यमबाट विश्वका धेरै शान्तिप्रेमीहरुमा वास्तविक खुशी भरिदिने कार्य गरेकोमा अध्यक्ष लीलाई कोरिया पिस अवार्डकालागि योग्य ठहर्याइएको फाउन्डेशनले प्रष्ट पारेको छ ।