काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको दर घटेको देखिएको छ तर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने दिन प्रतिदिन बढ्दै गएको छ । लामो समय लकडाउन खेपेका र कोरोनाको त्रास झेलेका मानिसहरु पनि अवस्था सामान्य झैँ पुरानै गतिविधिमा फर्किन थालेका छन् । राजधानीका बाटो, चोक, सार्वजनिक यातायात, बजार, पसल लगायतका स्थानलाई नियाल्दा कोरोना मानिसको हुल देखेरै तर्सिन थाल्यो कि झैँ लाग्छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नेपालमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ४ सय २३ थियो । हालसम्म देशमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ३३ हजार चार सय ५२ पुगिसकेको छ । कोरोना निको हुनेको संख्या पनि सोमबारसम्ममा दुई लाख १४ हजार पाँच सय ५१ पुगेको छ । कुनै बेला ४० हजारभन्दा बढी भएको सक्रिय संक्रमितको संख्या अहिले १७ हजारमा झरेको छ । यो तथ्यांक हेर्दा कोरोना संक्रमण घटेको देखिन्छ । तर वास्तविकतामा भने कोरोना परीक्षण कम भएका कारण नै संक्रमितको संख्या कम देखिएको हो । कोरोना संक्रमितको संख्या घट्दै गएको देखिए पनि संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने दिन प्रतिदिन बढ्दै गएको छ । मन्त्रालयका अनुसार सोमबार सम्ममा कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय आठ पुगेको छ । सोमबार मात्र २९ जनाको मृत्यु भएको थियो । आइतबार २५ जना संक्रमितले ज्यान गुमाएका थिए ।उपत्यकामा कोरोना काठमाडौं उपत्यका त कोरोना भाइरसको केन्द्र नै हो । सोमबारको तथ्यांकमा उपत्यकामा नौ हजार तीन सय ५३ जना सक्रिय संक्रमित रहेका छन् । यो तथ्यांक हेर्दा देशभरमध्ये उपत्यकामा ५० प्रतिशतभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकामा हालसम्म संक्रमित हुनेको संख्या एक लाख सात हजार एक सय २६ पुगेको छ भने निको हुनेको संख्या ९९ हजार एक सय ८५ छ । हाल काठमाडौंमा मात्र ७ हजार २ सय ६० जना संक्रमित छन् । भक्तपुरमा ६ सय ४१ र ललितपुरमा एक हजार ४ सय ५२ सक्रिय संक्रमित छन् । काठमाडौंमा ३७५, भक्तपुरमा ९१ र ललितपुरमा ११२ गरी उपत्यकामा सोमबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच सय ७८ छ ।प्रत्येक दिन स्वास्थ्य मन्त्रालयले कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्छ । समाचारमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको सुन्न पाइन्छ तर वातावरण भने कोरोनाबिहीन जस्तै देखिन्छ । यतिबेला काठमाडौं उपत्यकाका सबै सडक व्यस्त छन्, बजारमा भिडभाड छ । गल्लिका बाटो हिँड्दा मान्छे नठोक्कि हिँड्न सक्ने अवस्था छैन । चोकचोकमा सवारी जामको दृश्य पुरानै ढाँचामा फर्किसकेको देखिन्छ । लामो समय लकडाउनमा पर्दा रोगभन्दा पनि भोकको डर भएकाले जिविकोपार्जनका लागि नै जोखिम मोलेरै भएपनि काममा फर्किएको मानिसहरुको भनाइ छ । एक सार्वजनिक सवारी चालकले भन्नुभयो, ‘शुरुशुरुमा त डर लाग्यो तर रोगको डरले घर बसेर भएन, परिवार पाल्नै पर्यो, दैनिकी चलाउनै पर्यो । त्यसैले जोखिम मोलेरै गाडी चलाइरहेको छु ।’काठमाडौंका सडकमा हिँड्ने मानिसहरुले त लकडाउन हुँदा डर लाग्ने र खुलेपछि कोरोना पनि छैन होला जस्तै लागेर डर पनि हट्ने महसुस भएको बताए । कलंकी चोकमा भेटिएका एक पैदल यात्रुले भन्नुभयो, ‘लकडाउन हुँदा चाहिं ओहो ! अब त खतरा भएछ झैँ लाग्थ्यो र चुपचाप घर बसिन्थ्यो । अहिले लकडाउन खुल्यो, कोरोना नि सकिएछ झैँ लाग्दैछ ।’मानिसहरु सबै आआफ्नो पेशा व्यवसायमा फर्किरहेका छन् । यतिबेला कक्षा १२ को परीक्षा चलिरहेको छ । कक्षा ११ को पनि विद्यालयहरुले आफ्नै तरिकाले परीक्षा गराइरहेका छन् । दशैं, तिहार, छठ जस्ता पर्व र तुरुन्तै शुरु भएको प्लस टुको परीक्षाका कारण पनि उपत्यकाबाट बाहिरिने र भित्रिनेको चहलपहल बढेसँगै कोरोनाको जोखिम बढिरहेको स्पष्ट छ । सरकारले कोरोना परीक्षणको संख्या घटाउनु र नागरिकमा कोरोनाको त्रास नदेखिनु चरम लापरबाही त हो नै, यसबाट सम्भावित ठूलो दुर्घटनाको त्रास बढेको छ ।जनजीवन र जनताको दैनिकी सामान्य बन्दै जानु त ठिकै हो तर कोरोना संक्रमण यथावत रहेको अवस्थामा समेत सरकारले वेवास्ता गर्न थाल्नु र नागरिकले लापरवाही गर्न थाल्नु पक्कै राम्रो होइन । परीक्षण कम गरेर संक्रमण कम भयो त भन्न सकिएला तर आँखा अगाडिको मृत्युलाई कसैले छल्न सक्दैन । दैनिक बढिरहेको कोरोना संक्रमितको मृत्यु संख्या कतै यहि लापरवाहीको परिणाम त हैन ? भन्ने प्रश्न समेत उठ्छ ।किन कम गरियो पीसीआर परीक्षण ?कुनै समय दैनिक २० हजारको हाराहारीमा हुने पीसीआर परीक्षण यति बेला १० हजारको सेरोफेरोमा छ । सरकारले पीसीआर परीक्षण कम गरेर संक्रमितको संख्या घटिरहेको प्रमाणित गर्न खोजेको देखिन्छ । यसैबारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले लक्षण देखिने, कन्ट्याक ट्रेसिङमा पर्ने कम भएका कारण पीसीआर परीक्षण कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसको पायो उसकै पीसीआर गर्न नसकिने र त्यसको औचित्य समेत नभएकोले पीसीआर परीक्षण पनि कम भएको हो । लक्षण देखिएर आउनेको त परीक्षण भइरहेकै छन् । ’ तर अहिले लक्षण देखिएर परीक्षण गर्न आउनेको संख्या पनि कम रहेको उहाँले बताउनुभयो । यसरी लक्षण देखिएर परीक्षण गराउन आउने मानिस कम हुनु भनेकै कोरोना संक्रमण घट्दै गएको बुझ्नुपर्ने प्रवक्ता डा. गौतमको भनाइ छ ।जाडोमा कोरोना प्रभाव अझ बढ्ने सम्भावना !कोरोनाको भाइरस चिसो मौसममा बढी बाँच्ने र हुर्कने विज्ञहरुको भनाइ छ । त्यसैले जाडो मौसम लागेपछि चिसोका कारण कोरोना भाइरस झन बढ्ने खतरा हुने आम बुझाइ छ । यस विषयमा डा. जागेश्वर गौतमले भने यसमा वैज्ञानिक सत्यता नभएको बताउनुभयो । डा.गौतमले भन्नुभयो, ‘चिसोका कारण रुघाखोकि लाग्ने, ज्वरो आउने हुन सक्छ । यसले गर्दा मानिसलाई कोरोना हो कि भन्ने शंका लाग्न सक्छ तर जाडोकै कारण कोरोना खतरा हुने, बढ्ने भन्ने कुरामा कुनै पनि वैज्ञानिक सत्यता छैन । कोरोना त गर्मीमा पनि फैलिएकै थियो नि ।’कोरोना नियन्त्रणका लागि तत्काल के गर्दै छ सरकार ?कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले कुनै प्रभावकारी कदम नचालेको आरोप लाग्दै आएको छ । सर्वसाधारण मानिसहरु नै सरकारले प्रत्येक दिन प्रेस ब्रिफिङ गरेर कोरोनासम्बन्धी सुचना दिनुबाहेक कुनै काम नगरेको आरोप लगाउँदै आएका थिए । तर यस विषयका खण्डन गर्दै प्रवक्ता डा. गौतमले सरकारले कोरोना नियन्त्रणका लागि सयभन्दा बढी काम गरिरहेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘भर्खर मात्र देशभर ३९६ वटा अस्पताल शिलन्यास भयो, कोभिड अस्पताल बनिरहेका छन्, कोरोना बिरामीका लागि आइसियू बेड थपिइरहेका छन् । सरुवा रोग अस्पताल बनिरहेका छन्, टोलटोलमा पुगेर सचेतनाका साथै सेवा दिने काम भइरहेको छ, कोरोना नियन्त्रणका लागि सरकारले सय भन्दा बढी काम गरेको छ ।’ उहाँले थप्नुभयो–'परिवर्तन भन्ने कुरा एकै दिन एकै रातमा हुँदैन । त्यसैले सरकारले बिस्तारै काम गर्दै जाने र नागरिकमा पनि चेतना फैलिँदै जाने शिलशिला पछिसम्म चलिनै रहनेछ ।'
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७ २१:१९