भगीरथ भण्डारी इलाम । इलामको सूर्योदय नगरपालिका र माई नगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि एक करोड दुईलाख १६ हजार सातसय आठ रुपैयाँ खर्च भएको छ । सूर्योदय नगरपालिकामा ७५ लाख ६६ हजार ७ सय ८ रुपैयाँ र माई नगरपालिकामा ४८ लाख ५० हजार खर्च भएको हो ।सूर्योदय नगरपालिकाले पशुपतीनगर नाका प्रवेश गर्नेलाई सम्बन्धित क्षेत्रसम्म पुर्याउन, होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म ल्याउन, संक्रमितलाई आइसोलेसनसम्म पुर्याउनका लागि यातायातमा ५ लाख ३१ हजार ८ सय ७० रुपैयाँ खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख ५८ हजार ६ सय ८५ रुपैयाँ, स्वास्थ्य सामाग्री खरिदमा १२ लाख ८३ हजार ९ सय ९९, राहत वितरणमा २५ लाख २३ हजार ४ सय ३४ रुपैयाँ र क्वारेन्टाइनमा खाना र खाजाका लागि १६ लाख ६८ हजार ७ सय २० रुपैयाँ खर्च भएको हो । नगरले क्वारेन्टाइनमा बस्नेका लागि दैनिक ३८० रुपैयाँका दरले खर्च भएको जनाएको छ ।सूर्योदय नगरपालिकाले ५ स्थानमा क्वारेन्टाइन र होल्डिङ सेन्टर बनाएको छ । पशुपतीनगर क्वारेन्टाइनमा ३ लाख ६४ हजार ९ सय २७ रुपैयाँ, ५० बेडको सार्वजनिक आधारभुत विद्यालयको क्वारेन्टाइनमा २ लाख ४६ हजार ९ सय ५, बौद्धधाम माविको क्वारेन्टाइनमा २ लाख ७ हजार २ सय ५५ रुपैयाँ खर्च भएको नगरपालिकाको जिन्सी शाखाले जनाएको छ । त्यसैगरी करफोक र कन्याम क्वारेन्टाइनमा ११ लाख ८९ हजार ७ सय ४२ रुपैयाँ खर्च भएको छ । नगरपालिकाको विपद व्यवस्थापनको कोषमा रहेको १४ लाख ३४ हजार १ सय ९८ रुपैयाँ ३६ पैसा मौजदात रहेका थियो । नगरको कोषमा ७२ लाख ७४ हजार ८ सय २९ रुपैयाँ सहयोग प्राप्त भएको छ । नगरपालिकाको कोभिड कोषमा ८७ लाख ९ हजार २७ रुपैयाँ जम्मा भएकोमा कोषका लागि संघीय सरकारबाट १० लाख, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट ५ लाख, आन्तरिक मामिला मन्त्रालयबाट २० लाख, जिल्ला प्रशासन कार्यालयबाट ७ लाख र नगरपालिकाको १० लाख, पदाधिकारीबाट ७ लाख ७ सय १०, युके समाजबाट २ लाख ४५ हजार ५ सय ९०, नेकपा सूर्योदय कमिटिबाट २ लाख १ हजार, वडा नं १४ बाट १ लाख ४० हजार र अन्य दाताहरुबाट १६ लाख ८७ हजार २९ रुपैयाँ आम्दानी भएको आन्तरिक लेखा परीक्षण अधिकृत प्रदिप चापागाईले जानकारी दिनुभयो ।माई नगरपालिकामा क्वारेन्टाइनमा बस्ने र सुरक्षाका लागि खटिने सुरक्षाकर्मीलाई खाना र खाजा गरी ७ लाख खर्च भएको छ । बाहिरबाट आएकालाई नगरपालिकामा ल्याउन सवारी भाडाबापत ३ लाख खर्च भएको नगरपालिकाले जनाएको छ । प्रचार–प्रसार, मास्क वितरणमा १ लाख ५० हजार खर्चभएको लेखा अधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिनुभयो । विपद् व्यवस्थापन कोषको ५० लाख र प्रदेशबाट प्राप्त १० लाख खर्च गरेको छ । समस्यामा परेका २३ सय घरपरिवारलाई २५ लाख बराबरको राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । विपन्न नगरवासीलाई दैनिक उपभोग्य सामग्री दाल, चामल, तेल, नुन, साबुन र चिनी बाँडिएको थियो । नगरपालिकाले बाहिरबाट आउनेलाई राख्ने क्वारेन्टाइनमा ६५ वटा शैया खरिद गर्न १२ लाख खर्च गरेको छ । अहिले अस्थायी शैया थपेर नगरपालिकामा एक शैयाको क्वारेन्टाइन तयारी अवस्थामा रहेको छ ।इलाम नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म ९३ लाख ५८ हजार ७ सय ५२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । यो खर्च स्थानीय तह आकस्मिक कोषबाट कोभिडका लागि छुट्याएको कुल रकमको ९४ दशमलव शून्य ३ प्रतिशत रहेको नगरपालिकाले बताएको छ ।नगरपालिकाको आकस्मिक कोषमा ५ लाख ९४ हजार ३ सय १० रुपैयाँ बचत छ । उक्त रकमबाट अहिले कोरोना नियन्त्रण व्यवस्थापनको काम भइरहेको नगरपालिकाको भनाइ छ । नगरको १२ वटै वडामा बन्दाबन्दीको समय समस्यामा परेका २ हजार ५ सय घरपरिवारलाई ५६ लाख ८७ हजार १ सय ८३ रुपैयाँ बराबरको राहत वितरण गरिएको छ । विपन्न नगरबासीलाई दैनिक उपभोग्य सामग्री दाल, चामल, नुन, तेल, साबुन र चिनी उपलब्ध गराइएको नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहले जानकारी दिनुभयो । नगरपालिकाले क्वारेन्टाइन निर्माण, व्यवस्थापनसँगै त्यहाँ बस्नेलाई खाना, खाजा, शैया, औषधी र स्वाब संकलन किटको एकमुष्ट २४ लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ । ‘क्वारेन्टाइन व्यवस्थापन गर्न ४० थान शैया खरिद गरेका हौं’, नगरपालिकाकी स्वाथ्य शाखा प्रमुख रमन्ता पौडेलले भन्नुभयो । १८ लाख ४ सय २४ कोरोना बिमामा खर्च भएको उहाँले बताउनुभयो ।कार्यालयमा दैनिक काम गर्ने नगरपालिकाका ३ सय ७ कर्मचारीको कोरोना बिमा गरिएको छ । महामारी नियन्त्रणसँगै नागरिकको स्वाथ्यलाई ध्यानमा राखेर एम्बुलेन्स खरिद गर्न १० लाख ४० हजार ३ सय १७ खर्च छुट्याएको छ । नगरपालिकाले कोरोना भाइरस नियन्त्रण गर्न विभिन्न क्षेत्र तथा विषयको रकम, अनुदानसँगै दाताबाट ९९ लाख ५३ हजार ६२ रुपैयाँ स्थानीय तह आकस्मिक कोषमा संकलन गरेको छ । कोषमा प्रकोप व्यवस्थापनको १९ लाख ४५ हजार, नगरपालिकाका पदाधिकारी, कर्मचारी र शिक्षकका तर्फबाट १४ लाख ३८ हजार ७ सय ६३ रुपैयाँ जम्मा भएको छ । नगरपालिकाले १२ वटै वडाको लक्षित कार्यक्रम खर्च कटौती गरेर २ लाख ५० हजारको दरले ३० लाख रकम जम्मा गरेको थियो । यस्तै, नगरपालिकाका लागि छुट्याइएको कार्यक्रम खर्चबाट १० लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान १० लाखसँगै विभिन्न दाता तथा संघसंस्था, निर्माण व्यवसायीका तर्फबाट १५ लाख ६९ हजार २ सय ९९ रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७ २२:४१