कविता खड्काभाेजपुर । नेपाल सरकारको घुम्नैपर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल भोजपुरको 'मुन्दुम ट्रेल'को शिलान्यास गरिएको छ । पाँचधारेबाट सिलिचुङ डाँडासम्मको करीब ५८ किलोमिटर पदमार्ग मध्ये पहिलो चरणमा १२ किलोमिटरमा पदमार्ग निर्माणको काम थालनी गरिएको हो ।ट्रेलकाे शिलान्यास जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले सोमबार गर्नुभयाे । प्रदेश सरकारको ३५ प्रतिशत, स्वीस सरकारको ३५ प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत गरी ९९ लाख २२ हजार ७८४ लागतमा पहिलो चरणको पदमार्ग निर्माणको काम थालनी गरिएको गाउँपालिकाले जनाएको छ ।
छिमेकी जिल्ला खोटाङसँग जोडिएको मैयुङ क्षेत्र पर्यटकीय पदमार्ग ‘मुन्दुम ट्रेल’ का रुपमा विकास गर्न कामको थालनी गरिएको हो । पदमार्गमा जाने आन्तिरिक तथा वाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै संरचनाहरु निर्माण गरिने जनाइएको छ ।किराँत राईहरुको संस्कार,सस्कृतिसँग जोडिएका विभिन्न टिपिकल खानाको व्यवस्था गरिने जनाइएको छ । पर्यटकहरुको पदमार्गमा सहज यात्राका लागि विभिन्न जानकारी मुलक वोर्डहरुसमेत राखिने पदमार्ग निर्माण समितिका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयाे । आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि पदमार्ग निर्माणको काम थालनी गरेको बताउँदै निमार्ण समिति अध्यक्ष राईले प्राकृतिक स्वरुपलाई यथावत् राख्दै सिमेन्टको प्रयोग नगरी स्थानीय श्रोत साधनको प्रयोग गरेर पहिलो चरणको पदमार्गको निर्माणको काम शुरु गरेको बताउनुभयाे ।
पदमार्गका लागि दुई करोड रूपैयाँकाे लागतमध्ये पहिलो चरणमा ९९ लाख बराबरको हुनेछ भने दोश्रो चरणमा चिया घर निर्माण, खानेपानी, शौचालय, विश्राम स्थल निर्माणसँगै पर्यटकहरुका लागि खाना र बस्नका लागि अन्य संरचना निर्माण हुने अध्यक्ष राईले जानकारी दिनुभयो । 'मुन्दुम ट्रेल'को विकासले गाउँपालिकालाई आर्थिक विकासमा टेवा पुग्ने गाउँपालिकाले जनाएको छ । पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले प्राथमिकताका साथ काम अघि बढाएको गाउँपालिका उपाध्यक्ष इन्द्रवती राईले बताउनुभयाे ।सिलिचुङ डाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमश्रृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ । पदमार्ग निर्माणको काम डेढ वर्षमा सम्पन्न हुने मुन्दुम पदमार्गका टिम लिडर हिराबाबु थापाले जानकारी दिनुभयो ।