काठमाडौं । मंसिर २१ गते आइतबार एकाएक ठमेलक्षेत्रका केही दोहोरी साँझ, केही डान्स क्लब, केही नाइट क्लबहरु खुले । कोरोना भाइरसको जोखिम बढेसँगै गत वर्षको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बन्द भएको रात्रीकालीन व्यवसाय आइतबार सरकारको अनुमति बिना नै खोलियो ।कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसीको सिफारिशमा सरकारले चैत ११ गतेदेखि नै रात्रीकालीन व्यवसाय बन्द गराउने निर्णय गरेको थियो । त्यसपछि बन्द भएको दोहोरी क्लब, डान्स बार, क्लब आदि ९ महिना पूरा हुँदा पनि अझै खुल्न सकेका छैनन् ।सरकारले बिस्तारै बिस्तारै रेष्टुरेन्ट, साना व्यवसाय आदि खोल्दै गएको भएपनि रात्रीकालीन व्यवसाय, सिनेमा हल, जिमखाना, स्वीमिङ पुल आदि अझै बन्द नै गर्ने निर्णय गरेको छ ।विवाहको सिजन भएको कारण अधिकतम २५ जनासम्म राखेर पार्टी प्यालेस सञ्चालन गर्न दिने भनेपनि पार्टी प्यालेसमा त्यस्तो गणना भने भएको छैन । पार्टी प्यालेस पूर्ण क्षमतामै चलिरहेका छन् । रेष्टुरेन्ट व्यवसाय पनि बिस्तारै बिस्तारै चलिरहेका छन् र राती १० बजेसम्म खुल्ला गर्न दिइएको छ । सुरक्षा मापदण्ड पूरा गर्छु भनेपनि रात्रीकालीन व्यवसाय भने अझै पनि सञ्चालन गर्न दिइएको छैन ।मुख्यतः रातको १० बजेपछि सुरु हुने रात्रीकालीन व्यवसायलाई सरकारले पूर्णरुपमा रोक लगाउँदा यसका सञ्चालक, घरधनी, कर्मचारी आदि सबै मारमा परेको भन्दै उनीहरुले अब बिद्रोह गर्न थालेको भान भएको छ ।गएको बुधबार रात्रीकालीन व्यवसायीले ठमेलमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै सभ्य आन्दोलन गरे । हातमा ब्यानर लिएर ‘रोगभन्दा भोक ठूलो’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’ भन्ने ब्यानरसहित सडकमा उत्रिए । त्यतिबेला नै उनीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र पनि बुझाए । तर पनि उनीहरुको माग पूरा नभएपछि उनीहरुले आइतबार एकाएक ठमेलका रात्रीकालीन व्यवसाय सुरु गरे ।आइतबारदेखि ठमेलका केही दोहोरी साँझ, केही डान्सबार, केही डिस्को र क्लबहरु खुला भएका छन् । ठमेल खुलेसँगै ग्राहकहरुको चहलपहल बढ्न थालेको छ ।ठमेल क्षेत्रको विशेषता भनेकै नै रात्रीकालीन व्यवसाय र विदेशी पर्यटक नै हुन् । ठमेल क्षेत्रका दोहोरी, डान्स क्लब, डिस्को आदिमा नेपाली ग्राहक झुम्मिन्छन् भने पब, क्लब आदिमा स्वदेशी तथा विदेशी ग्राहकको भीड लाग्छ । तर अन्तर्राष्ट्रिय उडान पूर्णरुपमा सुचारु हुन नसकेको र नेपाली ग्राहकका लागि पनि दोहोरीहरु नखुलेको कारण ठमेल सुनसान नै छ । जसको कारण ठमेलको रौनकता फर्काउन पनि व्यवसाय सुचारु गर्नुको विकल्प नभएको व्यवसायीको भनाई छ ।
ठमेल पर्यटन विकास परिषद्का पूर्व अध्यक्ष रामशरण थपलिया सरकारले रात्रीकालीन व्यवसायीलाई हेपेको आरोप लगाउँछन् । अन्य सबै क्षेत्रको व्यवसाय खुलेको तर रात्रीकालीन व्यवसाय मात्रै बन्द गराएको भन्दै कोरोना राति मात्रै सर्ने हो भनेर प्रश्न गर्छन् ।लामो समयदेखि व्यवसाय बन्द गर्दा व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगिसकेको भन्दै अब व्यवसाय सञ्चालन गर्नुको विकल्प नरहेको ठमेलमै सञ्चालित लाउञ्ज बारका सञ्चालक दाबाङ तामाङले बताए ।पहिलो चरणमा सरकारलाई दबाव दिनका लागि ब्यानरमा नारा लेखेर भद्र आन्दोलन गरेका व्यवसायीले आइतबारबाट व्यवसाय सञ्चालनको सुरुवात गरे । अब बिस्तारै ठमेलक्षेत्र लगायत अन्य स्थानको रात्रीकालीन व्यवसाय पनि खोल्दै जाने उनीहरुको तयारी छ ।पहिलो चरणमा ‘काम छैन, दाम छैन’, ‘जनता कोरोनाले होइन, लापरवाहीले मर्दैछन्’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने ?’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लगायतका विषय समेटिएको ब्यानर लिएर व्यवसायीहरु आफ्नो व्यवसायको अगाडि उभिएका थिए ।मंसिर १७ गते बुधबार गरिएको यस्तो भद्र आन्दोलनपछि आइतबारबाट उनीहरुले व्यवसाय सञ्चालन सुरु गरेका छन् । अहिले स्थानीय प्रशासनले राती १० बजेसम्म खोल्नलाई सहजता दिएको भएपनि रात्रीकालीन व्यवसाय त्यसपछि मात्रै सुरु हुने भएकाले अब पूर्णरुपमा खोल्न पाउनुपर्ने उनीहरुको माग छ । यदि व्यवसाय खोल्दा सरकारले धरपकड गरेमा थप आन्दोलनमा उत्रिने परिषद्का पूर्व अध्यक्ष थपलिया बताउँछन् ।https://www.youtube.com/watch?v=vrAX-dGcDUo