भगीरथ भण्डारीइलाम । गुणस्तरीय चिया उत्पादनको लागि १२ जिल्लामा दक्ष जनशक्ति उत्पादन गर्न तीनकरोड रुपैयाँको सिप विकास तालिम सञ्चालन हुने भएको छ । चिया उत्पादन हुने इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग, मोरङ्ग, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, संखुवासभा, रामेछाप, ललितपुरमा दक्ष जनशक्ति उत्पादन गरि सीप सिकाउने केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले बताए ।सिप विकास तालिममा इलाममा पाँच स्थान, पाँचथर दुई/दुई स्थान र झापा, धनकुटा, तेह्रथुम, ललितपुर, संखुवासभामा एक/एक वटा तालिम हुने बताईएको छ । तालिममा नयाँ चियाखेती विस्तार हुदै गरेको क्षेत्रका चिया किसान, सहकारी सदस्य, चिया कामदार, चिया उद्योगीलाई सीप विकास गरेर गुणस्तरीय चिया उत्पादन गर्ने दक्ष जनशक्ति उत्पादन गरी परिचालन गरिनेछ ।तालिम १५ महिना अवधिको रहनेछ । सीप विकास तालिमबाट तीन सय जना दक्ष युवा जनशक्ति उत्पादन गरिनेछ । गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने जीवन उपयोगी व्यवसायिक सीप, वृत्तिविकास सम्बन्धी परामर्श तथा उद्दमशीलता, प्राविधिक सहायक (तह १) को सीप तालिममा सिकाइनेछ । तालिमका लागि आवेदनको सूचना निकाल्ने र आवेदन पेस गरेकाहरुबाट छनोट गरि तालिम तीन सय ९० घण्टाको हुनेछ ।छनोटमा परेका सबैलाई स्थानीय साझेदार रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मापदण्डको तालिम गराउने राईले बताए । उनले भने, ‘२० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक रुपमा तालिम दिइने र तालिमबाट व्यवाहारिक सीप सिकाई गुणस्तरीय चिया उत्पादनमा दक्ष बनाई कृषि पर्यटन तथा निर्माणको क्षेत्रमा परिचालन गरिने बताईएको छ । चिया विस्तार हुँदै गरेका १२ जिल्लाका तीनसय जनालाई तालिम दिइने छ ।'एक पटक २० जनालाई तालिम सहभागी गराइनेछ भने विभिन्न ठाउँमा गरेर एकै समयमा पाँच वटासम्म समूहलाई तालिम गराउने तयारी छ । यस अन्तर्गत तीन करोड ११ लाख ५६ हजार चार सय ६३ रुपैयाँ खर्च गरिनेछ । कुल लागतमा दुई करोड १५ लाख ५० हजार तीन सय रुपैयाँ कार्यक्रममा खर्च गरिनेछ । यस्तै, पाँच लाख १० हजार छ सय रुपैयाँ सञ्चालन खर्च गरिनेछ । १८ लाख ६५ हजार पाँच सय ६३ रुपैयाँ प्रत्यक्ष खर्चमा खर्च गरिने बताइएकाे छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७ १४:०६