घटना के हो ?मिक्लाजुङ गाउँपालिका मोरङको उत्तरी सिमाना । भौगोलिक रुपमा दुर्गम मानिएपनि प्राकृतिक रुपमा मिक्लाजुङ अत्यन्त सुन्दर छ । हरियाली जंगलले मिक्लाजुङको सुन्दरता बढाएको छ । बन्दै गरेका सडकले मिक्लाजुङवासीलाई सुविधा दिँदै छ । सुविधा खोज्दै मानिसहरु शहर प्रवेश गरिरहेका छन् । तर, यहाँका स्थानीयवासीले आफ्नै गाउँलाई सुविधासम्पन्न बनाउन लागि परेका छन् । कच्ची भएपनि सडक पुगेको छ । त्यसैमा स्थानीय खुशी छन् ।मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ मा राजेन्द्र श्रेष्ठको घर पर्छ । राजेन्द्रको घरलाई फेरि हेर्नुहोस् । यसरी हेरिसकेपछि तपाईँ थाहा पाउनुहुन्छ कि राजेन्द्र पक्कै पनि सामान्य मानिस हुन् । उनी कुनै साहु महाजन होइनन्, न त कुनै सामन्त । उनी गरिखाने मानिस हुन् । तर, राजेन्द्र यही सानो झुप्रोमा खुसीसाथ बसिरहेका थिए । उनले आफ्नो परिवारलाई यही झुप्रोमा खुशीसाथ राखिरहेका थिए ।पेशाले शिक्षक । नजिकैको सरस्वती आधारभूत प्राथमिक विद्यालयका शिक्षक राजेन्द्र । गाउँमा शिक्षाको ज्योति जलाउने व्यक्ति ।उनको परिचय यत्तिमा सिमित छैन । उनी मेहनेती किसान पनि थिए । दुई वटा गोठमा गाइवस्तु पालेका थिए । घर नजिकै गाइभैंसीको गोठ छ भने अलि पर बाख्राको खोर । पत्नी धनकुमारी र राजेन्द्रले पालैपालो गोठमा रहेका गाइवस्तुको स्याहार सुसार गर्थे ।राजेन्द्रको यो सुन्दर झुपडीमा अहिले बज्रपात परेको छ । भविष्य अन्धकार भएको छ । उनको परिवारमा आँशुको वर्र्षा भएको छ । मिक्लाजुङमा शिक्षाको ज्योति निभेको छ । गाउँमा शिक्षाको ज्योति बाल्ने राजेन्द्र सरको घाँटी रेटिएको छ । गाउँभर त्रास छाएको छ । राजेन्द्र सर गाउँभरका आशा गरिएका व्यक्ति थिए । ५२ वर्षको उमेरमा आफ्नै गाउँ नजिकैको जंगलमा घाँटी रेटिनुअघिसम्म राजेन्द्र सरले आफ्नो परिवार र गाउँलाई बराबरी माया गर्थे । त्यसैले त उनी गाउँलेका प्रिय राजेन्द्र सर थिए । तिनै प्रिय राजेन्द्र सरलाई बर्बर तरिकाले हत्या गरिएपछि गाउँलेहरु आत्तिएका छन्, डराएका छन् र गुहार मागेका छन् ।मंगलबार बिहान सूर्योदय हुँदै गर्दा राजेन्द्र सर अस्ताए । राजेन्द्र सर अस्ताउँदै गर्दा गाउँलेको आशा र भविष्य पनि अस्ताएका छन् । राजेन्द्र सरको परिवारमा त ग्रहण लाग्यो लाग्यो सिंगो मिक्लाजुङको आकाश पनि मडारिएको छ ।https://www.youtube.com/watch?v=tLam9BwkBK0&fbclid=IwAR3sfcE7QOyYppWLI2SoNty4a9ddAN1VmVzXdAzor7HPA8OaWPoFXsanOukघटना किन र कसरी भयो ?घटना २०७७ साल मंसिर २४ गते बिहान करिव सात बजेको हो । बिहानै उठेका राजेन्द्र श्रेष्ठ घरबाट केही पर कात्तिके भन्ने स्थानमा रहेको गोठतर्फ लागे भने उनकी श्रीमति धनकुमारी घरसँगैको गोठमा काम गर्न थालिन् । कात्तिकेमा रहेको गोठमा राजेन्द्रको बाख्राको खोर छ । खोरमा रहेका बाख्रा र खसीलाई घाँसपात दिनु उनको दैनिकी हो । तर, त्यही खोरमा पालिएका खसी बाख्रामा कसैको आँखा लाग्यो । उनले बिक्री गर्नका लागि त्यसरी पालेका खसी बाख्रा कसैले सित्तैमा माग्यो । धम्कीसहित मागिएकाले उनी एृृउटा बाख्रा त दिन तयार भए तर, खसी दिन राजी भएनन् । घटनाको मूल कारण यही थियो । यो कुरा राजेन्द्रकी श्रीमती र गाउँलेहरुलाई पनि थाहा थियो ।खसी बाख्रा कहिले दिने वा नदिने भन्ने टुंगो लाग्नै थियो, राजेन्द्रको परिवारमा । तर, ती खसी बाख्रामा आँखा लगाउनेहरुले भने राजेन्द्र सरको घाँटीमा आँखा लगाए । गत मंगलबार तीनै खसी बाख्रालाई घाँस दिन गोठमा पुगेका राजेन्द्र श्रेष्ठलाई ६ जनाको समूहमा आएका मानिसहरुले च्याप्प समाते र जंगलतिर पुर्याए । धन्य देख्ने गाउँलेहरु पनि थिए । बाटोमा भेटिएका गाउँकै एक जना भाइलाई राजेन्द्रले भनेका थिए, भाइ मलाई त समातेर लगेका छन्, के हुन्छ थाहा छैन । केही बेरमै अलि पर देउढुंगे जंगलमा केही पड्केको आवाज सुनियो । त्रसित गाउँलेहरु जंगलतर्फ लागे । पहिले बन्दुकले गोली हानेर राजेन्द्रको हत्या गरिएको आशंका थियो । त्यहाँ पुगेर हेर्दा थाहा भयो, उनको घाँटी रेटिएको रहेछ, हात पछाडि लगेर बाँधिएको रहेछ ।बाख्रालाई घाँस हाल्न गएका राजेन्द्रको पानी पनि खान नपाई हत्या गरियो । घटनास्थलमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको पर्चा फेला पर्यो । त्यति मात्रै होइन, केही बेरमा उक्त पार्टीको मेची कोशी ब्यूरोले विज्ञप्ति जारी गरी सुराकी गरेकोले सफाया गरेको भन्दै राजेन्द्र हत्याको जिम्मेवारी लियो ।मिक्लाजुङ मोरङको उत्तरी सीमावर्ती क्षेत्र हो । मिक्लाजुङलाई विप्लब नेतृत्वको माओवादीले आफ्नो आधार क्षेत्र बनाएको छ । सदरमुकाम विराटनगरबाट निकै टाढा पर्ने यस क्षेत्रमा सुरक्षा निकायको उपस्थिति नै छैन । त्यसैले पनि यो क्षेत्र उनीहरुको खुला मैदान बनेको छ । मिक्लाजुङ क्षेत्रलाई आधार इलाका बनाई संगठन गर्दै आइरहेका माओवादीका कार्यकर्ताहरुले यसअघि पनि राजेन्द्रको खेतबारीबाट तरकारी र सागपात लैजाने गरेका थिए । उनीहरुले जे मागे पनि दिने गरेका थिए । तर, खसी र बाख्रा माग्दा नपाएको निहुँमा विप्लबका कार्यकर्ताले सुराकीको आरोप लगाएर उनको हत्या नै गरिदिए ।नेत्रविक्रम चन्द यसअघि बाह्र वर्षे सशस्त्र युद्ध गर्ने तत्कालिन नेकपा माओवादीका एक सैन्य कमाण्डर हुन् । वर्तमान सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक सशक्त सहयोगी हुन् । अहिले प्रचण्ड र विप्लब सँगै छैनन् । तर, विगतमा प्रचण्डले जुन राजनीतिको नेतृत्व गरे, अहिले विप्लबले त्यही पदचाप पछ्याइरहेका छन् । गृहमन्त्री छन् रामबहादुर थापा बादल । बादल र विप्लब मिलेर हिजो सँगै सशस्त्र युद्ध गरेका थिए । बादल अहिले सरकारी सुरक्षा निकायको कमाण्डर बनेका छन् भने विप्लव विद्रोहीको कमाण्डर । प्रचण्ड हुन् वा बादल अथवा विप्लव, अहिले मिक्लाजुङमा भएको घटना त्यति बेलाकै पुनरावृत्ति हो ।https://www.youtube.com/watch?v=tLam9BwkBK0&fbclid=IwAR3sfcE7QOyYppWLI2SoNty4a9ddAN1VmVzXdAzor7HPA8OaWPoFXsanOukयसको संकेत के हो ?नेपालमा नेकपा माओवादीको नाममा सशस्त्र युद्ध सुरु भएको २०५२ सालदेखि हो । १२ वर्ष चलेको सशस्त्र युद्धमा १७ हजारले ज्यान गुमाए । युद्धका क्रममा राजेन्द्र श्रेष्ठ जस्तै सयौं शिक्षकले सुराकीको निराधार आरोपमा ज्यान गुमाउनु पर्यो । लम्जुङका मुक्तिनाथ अधिकारीलाई विद्यालयबाटै अपहरणमा परी नजिकै सबैले देख्ने गरी झुण्ड्याएर हत्या गरिएको थियो । उक्त घटना नेपालमा मात्रै नभई विश्वभर एउटा विभत्स र दर्दनाथ घटनाको रुपमा परिचित छ । अहिले मिक्लाजुङमा त्यस्तै भएको छ । दिसेम्बर १० मा विश्वभर अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइएको छ । तर, त्यसको ठीक दुई दिनअघि नेपालको मिक्लाजुङमा राजेन्द्र श्रेष्ठको मानवअधिकारको चीरहरण गरियो, बर्बरतापूवर्क हत्या गरियो । यो घटना नेपाल र नेपालीका लागि नभई अन्तर्राष्ट्रिय चासोका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिक्लाजुङको घटनालाई हिंसाको राजनीतिले टाउको उठाउने प्रयास गर्न थालेको भन्दै टिप्पणी गरेका छन् ।मिक्लाजुङ घटनालाई राष्ट्रिय मानवअधिकार आयोगले जघन्य अपराध भनेको छ । आयोगको केन्द्र र विराटनगरस्थित प्रदेश कार्यालयमार्फत अनुसन्धान गरिरहेको आयोगले नेकपा माओवादीको नाममा भएको भनिएको यो घटना राजनीतिक हुनै नसक्ने भन्दै अपराधमा संलग्न जो सुकैलाई पनि तत्काल पक्राउ गरी कानुन अनुसार कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।घटनाको अनुसन्धान गरिरहेको गृहमन्त्रालय र नेपाल प्रहरीले अहिलेसम्म कसैलाई कसैलाई पक्राउ गरेको छैन । भन्छ त केबल अनुसन्धान भइरहेको छ ।विप्लव नेतृत्वको नेकपा माअोवादीले यसअघि नैै चार वटा हत्याका घटना गराइसकेको छ । आगजनी र तोडफोड पनि गरिसकेको छ । राजनीतिको नाममा हत्या, हिंसा र आतंकको बाटोमा लागेपछि सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएको छ । २०७५ फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएको हो । हत्या, हिंसा र आतंक मच्याउने विप्लबका १ सय ३८ जना कार्यकर्ता अहिले पनि थुनामा छन् । थुनामा परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै विप्लवका कार्यकर्ताले थप आतंक मच्चाउँदै आएका छन् । मिक्लाजुङ घटनापछि सरकारले थप सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । तीन दिनअघि गृहमन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले देशैभर सुरक्षा सतर्कता बढाउने निर्णय गरेको गृहप्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । सोही निर्णय अनुसार नै नेपाल प्रहरीले काम गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।प्रचण्ड र बादलले हिजो जुन बाटो समाते, अहिले विप्लबले त्यसको सिको गरेका हुन् । हिजोका सहयात्रीमध्ये आज कोही सरकारमा छन् त कोही जंगलमा । तर, पनि नियन्त्रणको दिशा पत्ता लागेको छैन । गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई विप्लव समूहका गतिविधिलाई नियन्त्रणमा लिन सुरक्षा योजना नै परिवर्तन गर्नुपर्ने भन्दै गृहमन्त्रालयले त्यसको गृहकार्य गरिरहेको बताउँछन् ।लोकतन्त्रमा हत्या र हिंसाको राजनीति पटक्कै सुहाउँदैन । यसमा निषेधको राजनीति पनि अटाउँदैन । आतंक मच्चाउने विप्लवको राजनीति र निषेध गर्ने सरकारको रणनीति दुवै लोकतन्त्रका लागि घातक छन् । १७ हजारको मृत्युपछि शान्ति प्रक्रियामा प्रवेश गरेर नयाँ राजनीतिक व्यवस्थामा अगाडि बढेको मुलुकले फेरि पनि त्यस्तै आतंक सहन सक्दैन । मिक्लाजुङका राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नले तत्काल सजाय पाउनुपर्छ । यो आतंक हो, जघन्य अपराध हो । यस्ता अपराधमा संलग्नलाई तत्कालै कारबाही गर्न सकिएन भने अपराधको राजनीतिले प्रश्रय पाउने छ भने शान्तिको बाटोमा लागेको मुलुक फेरि द्वन्द्वको भुंग्रोमा फस्ने छ ।https://www.youtube.com/watch?v=tLam9BwkBK0&fbclid=IwAR3sfcE7QOyYppWLI2SoNty4a9ddAN1VmVzXdAzor7HPA8OaWPoFXsanOuk
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७ ०१:४७