युवा लेखक निरु त्रिपाठी धादिङकी हुन् । तर केही वर्ष यता उनी अष्ट्रेलियाको मेलबर्नमा बस्छिन् । डायस्पोरामा बसेर पनि नेपाली पत्रकारिता र लेखनमा उनको सक्रियता मात्र होइन सपर्मण नै छ ।
पेरिस्कानो निरुको पहिलो प्रकाशित उपन्यास हो । गत वर्षको माघ १७ गते लोकार्पण गरिएको पेरिस्कानो मार्फत निरुले नेपाल र डायस्पोरा दुवैलाई आफ्नो उम्दा लेखन मार्फत जोडेकी छिन् । विभिन्न उदेश्य लिएर डायस्पोरा पुग्ने नेपालीको मनोविज्ञान,पृष्ठ कथा र उनीहरुले बाँचिरहेका जीवनलाई पनि पेरिस्कानोमार्फत सर्भ गरेकी छिन्–निरुले । जुन केहीका लागि शुरुमा तीतो लाग्न सक्ला तर धेरैले चाहिं स्वादिलो नै मानिदिएका छन् । पेरिस्कानोको एक वर्ष पुग्नै लाग्दा यसपटक
जनता समाचार डट कमका लागि ग्रुप एडिटर
दीपेन्द्र दोङ तामाङले लेखक निरु त्रिपाठीसँग पेरिस्कानो संवाद गरेका छन् :
अष्ट्रेलियामा त अहिले गर्मी मौसम छ । अहिले पनि पेरिस्कानो लिनुहुन्छ ?पेरिस्कानो हरेक मौसममा लिन्छु । मौसम अनुसार पेरिस्कानोले मलाई साथ दिन्छ । यो गर्मीमा अहिले शितलता दिइरहेको छ ।
पेरिस्कानोको रेसेपी कहाँबाट पाउनुभयो ?यो मेरो आफ्नै रेसेपी हो । कपी राइट मेरो हो भनेर पनि भन्ने गर्छु । (हाँसोको इमोजी)
पेरिस्कानो उपन्यासभित्र लेखकलाई कुन पात्रमा भेट्टाउन सकिन्छ ?म हरेक पात्रमा छु । हरेक पात्रहरु मेरो मन र मस्तिष्कले जन्माएको हो । नौ रसले निर्मित मेरा पात्रहरु हुन् । म भित्र बग्ने सोंच, कति देखेका, सुनेका यथार्थको महसुस यो सबै मभित्र नै छन् । अनि त्यही महसुसको वीर्यबाट जन्मेको मेरो पहिलो सन्तान हो–पेरिस्कानो । त्यसैले पनि व्यक्ति निरु नभएपनि लेखक निरु हरेक पात्रमा छ ।
यति धेरै पात्रहरुलाई संयोजन गर्नु लेखकका रुपमा कतिको चुनौतिपूर्ण थियो ?चुनौति त धेरै नै थिए । भनिन्छ नि, लेखक एक पात्र अनेक । हरेकको भूमिकालाई न्याय गर्नुपर्यो । सशक्त भूमिका दिनुपर्यो । त्यो पात्रलाई गहिराइमा गएर बुझनु पर्यो । अर्कोकुरा, म एक नारी भएकीले कतै पुरुष पात्रलाई चित्रण गर्दा र उनीहरुको मनोविज्ञान भन्दा नितान्त मेरो बढी मनोविज्ञान मात्रै हाबी हुन्छ कि भन्ने डर हुने । हरेक पात्रहरुको बारेमा अध्ययन, रिसर्चदेखि, परामर्श पनि लेखकले गर्नुपर्छ । लेख्ने अनि फेरि मेट्ने, आफैले लेखेका कुराहरु पनि चित्त नबुझने । त्यस्तो धेरै हुन्छ । त्यसैले यो निकै चुनौतिपूर्ण छ ।
एक वर्षपछि मुल्यांकन गर्दा, सबै पात्रहरुप्रति कतिको न्याय गर्न सकेछु,भन्ने लागेको छ ?किताब प्रकाशित भएपछि मैले पुनः पढेँ पनि । सर्सती हेर्दा सबै पात्रलाई मेहनत र न्याय गरेको नै छु जस्तो लाग्यो । प्रेम, घृणा, रुने, हाँस्ने देखि छलकपट सबै पात्रहरुले खुलेर नै गरेका छन् । लेखनमा भएका त्रुटिहरुलाई पनि मनन गरेकी छु ।
उपन्यासमा सेक्सलाई किन प्रिफर गर्नुभयो ? सेक्सविनाको सिक्वेन्स सम्भव थिएन ?सम्भव र असम्भव भन्दा पनि सेक्स सिक्वेन्स आवश्यकता थियो । यो एउटा प्रेम कथा हो । कसै न कसैको जीवनमा घटेको यथार्थ पनि हो । सेक्सलाई भद्दा रुपमा भन्दा पनि कलात्मक रुपमा प्रस्तुत गरेको छु । अनि एउटा टिनएजरमा हुने सेक्स र परिपक्व हुँदा हुने सेक्स र यसको दृष्टिकोण पनि फरक देखाएकी छु । सेक्स, प्रेम, आकर्षण, मोह, क्रोध, मूड यी सबै हार्मोन सम्बन्धित चीजहरू हरेक मानिसमा हुन्छन् । मानिसहरूले यो बुझ्नु आवश्यक छ ।
पेरिसप्रतिको आशक्ति अलि बढी नै देखिन्छ । यसमा लेखकीय दृष्टिकोणचाहिं के हो त ?पेरिसप्रतिको आशक्ति भन्दा पनि प्रेम हो । लेखकीय आशक्ति त समीरसँग देखिन्छ । पेरिस र समिर पात्र कोरेर लेखकले प्रेम र आशक्तिपनमा भिन्नता देखाउन खोजेको छ ।
पेरिससँग मेरो भेट अवश्य हुनेछ, आइलभ पेरिस । अन्त्यमा यो उद्गार राखेर पाठकलाई सिक्वेलको प्रलोभन देखाउनुभएको हो ? यदि पेरिससँग पुनः भेट भए, कुन रुप र अवस्थामा हुनेछ त ?सिक्वेलको प्रलोभन त देखाएको होइन । मनुको लागि अब पेरिस एक अलौकिक आभाष भईसक्यो । तर मैले त्यहाँ बोरिष पात्रलाई छोटकरीमा परिचय गराएकी छु । धेरैजनालाई त्यो पात्रले पनि सोच्न बाध्य बनाएको छ । मेरो अवचेतन मनले निम्त्यएको पात्र हो बोरिष । त्यसैले म आफैंलाई यकीन छैन पेरिससँग पुनः भेट भए, कुन रुप र अवस्थामा हुनेछ ।
यो एउटा प्रेम कथा हो । कसै न कसैको जीवनमा घटेको यथार्थ पनि हो । सेक्सलाई भद्दा रुपमा भन्दा पनि कलात्मक रुपमा प्रस्तुत गरेको छु । अनि एउटा टिनएजरमा हुने सेक्स र परिपक्व हुँदा हुने सेक्स र यसको दृष्टिकोण पनि फरक देखाएकी छु ।
अब प्रसँग बदलौं । डायस्पोरामा बसेर लेख्नुको चुनौति र मज्जा कस्तो हुँदोरहेछ ?समयको अभाव सधैं खट्किरहन्छ । म समुदायका काममा स्वयंसेवीका रुपमा पनि संलग्न छु । त्यसैले पनि लेखनका लागि समय निकाल्न निकै गाह्रो छ । तर यहाँ अर्काको देशमा बसेर आफ्नो भाषा र साहित्यको प्रवद्र्धनमा जोडिन पाउँदा निकै गर्व महसुस हुन्छ ।
के कुराले लेख्नुपर्छ भनेर घच्घच्याउछ ?कहिलेकाहीं म आफैंलाई लेख्नकै लागि जन्मेछु कि जस्तो लाग्छ । सबै व्यक्ति आ आफ्नो गुण र विशेषता लिएर जन्मेका हुन्छन् । मलाई लाग्छ, मैले जानेकै लेख्न हो । यदि कसैले मलाई इञ्जिनियर र डाक्टर बन अथवा पाइलट बनेर विमान उडाउ भनेको भए शायद म तयार हुँदिनथें । मलाई लाग्छ,ती सबै अरुकै विभाग हुन् । मेरो कार्यक्षेत्र भनेको यही लेखन हो,साहित्य हो ।
लेखकले आफ्नो लागि लेख्छ कि पाठकका लागि ?पात्रको लागि ।
लेख्न चाहेर पनि आँट नआएको अथवा लेख्न नसकिरहेका कुनै विषय छन् ?छ, धेरै पटक र थुप्रै विषय । लेखनको पनि आफ्नो विधा हुन्छ । कहिलेकाहीं मेरो क्षमता र विज्ञताबाहिरको कुरामा पनि लेखूँ लेखूँ लाग्छ । तर सबै कुरा रहर र इच्छाले मात्र त हुँदैन नि, होइन ?