शिब बोहोराम्याग्दी । बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित पर्यटकीय क्षेत्र केभहिल अर्थात् गुफाको डाँडो पर्यटकको पर्खाइमा रहेको छ । १६ हिमाल र ३६ वटा गाउँहरु प्रत्यक्ष रुपमा देख्न सकिने केभहिल अहिले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पर्खिरहेको छ ।गाजनेमा अवस्थित प्रसिद्ध जगन्नाथ मन्दिर नजिकै पर्ने केभहिलबाट मनोरम हिमश्रृङ्खलासहित विभिन्न ग्रामीण वस्तीको दृश्यावलोकन गर्न सकिन्छ । बेनीको शिरमा पर्ने केभहिलको डिलबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरी हिमालसहित अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, मानापाथी, गणेश, गूर्जा, पुथा, सीतालगायत हिमालहरु देखिन्छन् । धौलागिरी हिमालमा मात्रै विभिन्न ६ ओटा चुचुराहरु रहेका छन् भने अन्नपूर्णमा उत्तर, दक्षिणसहित ४ वटा चुचुरा छन् ।
यसैगरी केभहिलबाट म्याग्दी जिल्लाको साविक ४१ मध्ये ३६ ओटा गाविसहरु नाङ्गो आँखाले अवलोकन गर्न पाइन्छ । समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित केभहिलबाट धौलागिरी र अन्नपूर्ण रेञ्जका सबै हिमश्रृङखलाहरु देखिनुका साथै म्याग्दीको अधिकांश भू–भागसहित छिमेकी जिल्ला पर्वत, बागलुङ, मुस्ताङ, अर्घाखाँची र गुल्मीका डाँडाकाँडाहरु समेत देखिने स्थानीयवासी बताउँछन् । पछिल्लो समय केभहिलको प्रचारप्रसारसहित आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको स्थानीयवासी निलकण्ठ शर्माले जानकारी दिनुभयो ।
मनोरम हिमश्रृङ्खलाका साथै मानव वस्तीको प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिने यस डाँडाले पर्यटनको उच्च सम्भावना बोकेको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाइमा प्रसिद्ध जगन्नाथ मन्दिर र गुफाको डाँडो पर्न थालेको छ । गाजनेमा अवस्थित ऐतिहासिक महत्व बोकेको जगन्नाथ मन्दिर तथा गुफाको डाँडो पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्दै जान थालेको हो । पुलाचौरको विभिन्न ठाउँमा आयोजना गरिने कार्यक्रमको अवसरमा मानिसहरु जगन्नाथ मन्दिरको दर्शन गर्न र गुफाको डाँडामा जाने गर्दछन् । जगन्नाथ मन्दिरको दर्शन गरी केभहिलमा पुगेर रमाउन पाउँदा आनन्दको अनुभूति मिलेको आन्तरिक पर्यटक नारायण पौडेलले अनुभव सुनाउनुभयो ।
शाकाहारी भोजनका लागि उपयुक्त गाउँका रुपमा मानिने गाजनेको सुन्दरता, स्थानीयको रहनसहन, विभिन्न स्थानको अवलोकनका लागि जगन्नाथ मन्दिर प्रसिद्ध मानिन्छ । जगन्नाथ मन्दिरकै कारण गाजनेमा अवैध घरेलु मदिरा उत्पादन र कुखुरापालन गर्न मिल्दैन । जगन्नाथ, गाजनेको विकासका लागि केभहिलमा भ्यू–टावर निर्माणकार्य अन्तिम चरणमा पुर्याइएको छ । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले नगरपालिकामार्फत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास एवं प्रवर्द्धन गर्न जोड दिइएको बताउनुभयो ।