-मदन ढुङ्गानाकाठमाडौं । गएको मंसिर ३ गते गोकर्णेश्वर नगरपालिकामा पर्ने एक घरबाट चोरले २२ तोला सुनको गरगहना, ३ लाख नगद र एक लाख २० हजार पर्ने सिको फाइभ घडी चोरी गर्यो । दिउँसै अर्थात् अपरान्ह करिब ३ बजेको समयमा भएको चोरीमा संलग्न व्यक्ति को थिए भनेर पत्ता लगाउन प्रहरीले निकै मिहेनत गर्यो । घरको ठीक अघिल्लतिर रहेको सिसिटीभी फुटेजमा पहेँलो रङको ज्याकेट लगाएको एक व्यक्ति घरभित्र छिरेको त देखियो, तर त्यो व्यक्तिको पहिचान भने हुन सकेन ।मंसिरकै २३ गते पनि गोकर्णेश्वरको नेपाल मेडिकल कलेज नजिकै अर्को चोरी भयो । एक घरबाट अपरान्ह करिब १ बजेको समयमा १२ तोला सुनको गरगहना र २७ हजार नगद चोरी भयो । पहेंलो रङको हुडी लगाएको व्यक्ति घरबाट बाहिर निस्कँदै गरेको देखेपनि ती व्यक्ति को थिए भनेर त्यतिबेलासम्म थाहा भएन, जतिबेलासम्म जुन घरमा चोरी भएको थियो, ती घरमालिकले पत्ता पाएकी थिइनन् ।वौद्धमा दिउँसै हुने चोरीबाट प्रहरी सँधै तनाबमा थियो । यस वर्षको सुरुवातदेखि पुसको सुरुवातसम्म दिउँसै हुने चोरी र त्यसमा पनि सुनका गरगहना तथा बहुमूल्य सामान मात्रै हराउँदा प्रहरीमा बारम्बार गुनासो आउँथ्यो । चोरी नियन्त्रणका लागि प्रहरीले कुनै काम गर्न नसकेको भन्दै दैनिकजसो गुनासो आउँथ्यो ।तर जब केही दिनअघि वौद्ध गुम्बाको ठीक पछाडि पछाडि खिलबहादुर गुरुङ बस्ने गरेको डेरामा चोरी भयो, तब चोरको पहिचान गर्न प्रहरीलाई केही सहज भयो ।दिउँसो करिब ३ बजेको समयमा भएको चोरीमा चोरी भएको घर नजिकैको क्यामेरामा चोरको अनुहार र चोरले प्रयोग गर्ने गरेको स्कुटर पत्ता लाग्यो । घर नजिकै रहेको एक रेष्टुरेण्टको ठीक बाहिर राखिएको सिसिटीभी फुटेजमा पहेँलो रङको स्कुटरमा चोर गएको देखियो । बागमती ३ को २० लटको ६६१० नम्बरको स्कुटरमा चोर गएको देखियो ।त्यसपछि वौद्ध प्रहरीले उक्त स्कुटरको खोजी गर्न थाल्यो । तर जुन नम्बरको स्कुटर सिसिटीभीमा देखिएको थियो, त्यो स्कुटरका धनी अर्कै थिए । अर्थात चोरले नक्कली नम्बर प्रयोग गरेर चोरी गर्ने गरेका थिए ।तर प्रहरी त्यति सजिलै हार मान्ने अवस्थामा पुगेन । प्रहरीले त्यही लटको थप नम्बरहरुको खोजी सुरु गर्यो । प्रहरीले बागमती प्रदेश ०२–०२० लटको ६६११ तथा ६६१२ नम्बरको स्कुटर पनि खोजी गर्यो । यातायात व्यवस्था कार्यालयबाट जानकारी लिएपछि प्रहरीलाई शंकास्पद व्यक्तिको हुलियासँग मेल खाएको जस्तो लाग्यो । त्यसपछि प्रहरीले बागमती प्रदेश ०२–०२० लटको ६६११क नम्बरको खोजी गर्न थाल्यो ।
यही क्रममा स्वयम्भुमा बागमती प्रदेश ०२–०२० लटको ६६११ नम्बरको पहेँलो रङको स्कुटर फेला पर्यो । स्कुटरमा सवार व्यक्ति प्रहरीसँग भएको हुलिया र चोरी गरेर भाग्दा सिसिटीभीमा देखिएको दृश्यसँग मेल खायो । व्यक्ति पहिचान भएपनि प्रहरीले तत्कालै त्यो व्यक्तिलाई पक्राउ गरेन । बरु उक्त स्कुटरलाई पछ्याउँदै अर्को स्थानमा पुग्यो ।तर उक्त स्थान चोर बस्ने डेरा नभएर लागुऔषध कारोवारीको अड्डा थियो । जहाँबाट लागूऔषधको कारोबार हुन्थ्यो र उनीहरु प्रयोगकर्ता पनि थिए । प्रहरीले तत्कालै त्यहाँ रहेका ४ जना व्यक्तिलाई पक्राउ गर्यो । प्रहरीले स्वयम्भु क्षेत्रबाट सोनम लामा, संजिव तामाङ, सनम माझी र विजय लिम्बुलाई पक्राउ गर्यो । चोर पक्राउ गर्न हिँडेको प्रहरीले लागूऔषधका ४ जना कारोबारीलाई २६ ग्राम ब्राउन सुगरसहित पक्राउ गर्यो ।तर वौद्ध प्रहरीको खोजी चोरको थियो र चोरीमा संलग्न व्यक्ति नै पक्राउ परेको कारण वौद्धक्षेत्रमा हुने चोरीको सिलसिला खोतल्नु थियो ।प्रहरीको लिष्टमा रहेका झापा जिल्ला साविकको सरनमती गाविस वडा नं ५ घर भई हाल काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं ६ आरुवारी बस्ने २७ वर्षीय सोनम लामा नै दिउँसै हुने चोरीमा संलग्न हो भन्ने प्रहरीको एकिन थियो । र, यही आधारमा उनीमाथि केरकार हुँदा उनले वौद्ध, जोरपाटी, गोकर्ण लगायत क्षेत्रका घरबाट दिउँसै चोरी गरेको स्वीकार गर्यो । यी विभिन्न क्षेत्रबाट उसले करिब ८० तोला सुन चोरी गरेको वौद्ध प्रहरीको भनाइ छ । यद्यपि हालसम्म प्रहरीले करिब ६० तोला सुन, ५ किलो ६ सय २८ ग्राम चाँदी, केही मोबाइल, १ लाखभन्दा बढी पर्ने सिको फाइभ घडी, मुगा लगायतका बहुमुल्य वस्तुहरु बरामद गरेको महानगरीय प्रहरी वृत्त वौद्धका डिएसपी नवीन कार्कीले बताउनुभयो ।
भारतमा शरणार्थी जीवन बाँचिरहेका सोनम लामा खासमा तिब्बतियन शरणार्थी रहेको वौद्ध प्रहरीको भनाइ छ । यद्यपि सोनमले झापाबाट नागरिकता समेत लिइसकेको बताएका छन् । तर प्रहरीले हालसम्म उनको नागरिकता भने फेला पारेको छैन ।विगत १३ वर्षदेखि काठमाडौंमा बस्दै आएका सोनमको अरु कुनै कानुनी पेसा र व्यवसाय छैन । तर उनको जीवनशैली भने भव्य रहेको छ । आरुबारीमा श्रीमतीसँगै बस्दै आएका सोनमले महङ्गा फर्निचर, महङ्गा मदिरा र सजावटका सामग्रीहरु किन्ने गरेका छन् । यतिसम्म कि भाडामा बस्ने सोनमले घरमा महङ्गो कुकुरसमेत पालेर राखेका छन् । उनले केही दिन अगाडिमात्रै बाथरुममा इलेक्ट्रिक गिजरसमेत जडान गरेका थिए ।
यसअघि लागूऔषधको मुद्दामा पक्राउदशैंको ठीक अगाडि लागूऔषधको मुद्दामा पक्राउ परेका उनी तिहारलगत्तै धरौटीमा छुटेका थिए । त्यसपछि उनले आफ्नो चोरी पेसालाई झनै तीब्रता दिएका थिए । र, सोनम आँफैले ९ वटा घर नै देखाएर चोरी गरेको स्वीकार गरिसकेको डिएसपी नवीन कार्कीले बताउनुभयो ।सोनमको चोरी गर्ने शैली पनि अचम्मको थियो । उनी चोरी गर्नका लागि प्राय एक्लै जाने गर्दथे र चोरी पनि दिउँसोको समयमा मात्रै गर्थे । उनी पहिले केही समय घरको रेकी गर्दथे । त्यसपछि घरमा कोही छैन भन्ने निश्चित गरेपछि ढोका फोरेर घरभित्र छिर्थे र दराज फोरेर सुनका गरगहान झिक्थे । सुन राख्ने बट्टासमेत फालेर उनी सुन र नगद मात्रै बोकेर त्यहाँबाट फरार हुन्थे ।सोनमले प्रयोग गर्ने स्कुटरको नम्बर बागमती प्रदेश ०२–०२० लटको ६६११ हो । तर जब उनी चोरी गर्न जान्थे त्यो बेला ६६११ नम्बरको अन्तिममा रहेको ११ लाई एउटा स्टिकर टाँसेर ६६१० बनाउथे । अनि चोरी गर्दै हिँड्थे। तर जब आफ्नो काम सकिन्थ्यो, उनी स्टिकर निकालेर ६६११ नै देखाउने गर्दथे । र, त्यही सातिर चोर अर्थात् सोनम लामा यतिबेला वौद्ध प्रहरीको नियन्त्रणमा छ र वौछ प्रहरीले पनि चैनको स्वास फेरेको छ ।https://www.youtube.com/watch?v=vH3DOwkUTS8