भगीरथ भण्डारी इलाम । रासायनिक विषादीको विकल्पमा प्रयोग गरेको जिवातु नामको जैविक झोलले कतै बाली सप्रिएको छ भने कतै सखाप भएको छ । जिवातुको प्रयोगले जिल्लाका इलाम नगरपालिकामा बाली सखाप भयाे भने सूर्योदय नगरपालिकामा बाली सप्रिएको हो ।दुई पालिकाले आठ लाख आर्थिक लगानी गर्दै जिवातु नामको जैविक झोल बनाउने तालिम सञ्चालन गरेको पालिकाले जनाएको छ । इलाम नगरपालिकाले पाँच र सूर्योदय नगरपालिकाले तीन लाख रुपैयाँ गरी आठ लाख रुपैयाँमा किसानलाई एक महिना तालिम दिएको थियो । सिङ्गो पालिका र वडालाई नै अर्गानिक बनाउन दुई पालिकाका किसानलाई पहिलो पटक नयाँ प्रविधि प्रवर्द्धन गर्दै जैविक झोल बनाउन र यसको प्रयोग गर्न तालिमको आयोजना गरिएको हो । विषादी मुक्त नगरपालिका घोषित यस पालिकाले २०७५ चैतमा पहिलो पटक नयाँ प्रविधि प्रवर्द्धन गर्दै जैविक झोलको प्रयोग गरेको थियो ।यसपछि इलाम नगरपालिकाको वडा नम्बर ५ ले पनि तालिमकै आयोजना गरी झोल उत्पादन र प्रयोगलाई महत्वका साथ अघि बढाएको हो । इलाम नगरपालिका-५ मा भने वडाका सबै किसानलाई १४ सेन्टरमा विभाजन गर्दै तालिम दिइएको थियो । प्रति सेन्टरमा ३० जना किसान सहभागी भएका थिए । रासायनिक विषादीको प्रयोगलाई हटाउँदै सिंगाे वडा नै अर्गानिक बनाउने योजना हो तर प्रभावकारी नभएपछि अभ्यासमै सिमित भएको वडाका वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले बताउँछन् । ‘एक त यसको प्रयोग झन्झटिलो छ, किसानबाट काँक्रा सबै मर्यो भन्ने गुनासो आए । यसैले गर्दा अभ्यास मात्रै भयो । दीर्घकालीन भने बनाउन नसकेको उनको गुनासो छ ।’तालिमबाट सिकेको जैविक झोल आफैँ बनाएर सुन्तला, मकै, काँक्रा अलैँची लगायतका बालीमा प्रयोग गरेको इलाम नगरपालिका – ५ का किसान साम्वेद चापागाईँको काँक्रा भने सखाब नै भएकोे गुनासो छ ।सूर्योदयमा नगरपालिकामा भने पालिकाको १४ वटै वडाका किसानलाई स्थलगत अभ्यास गराएको नगरपालिकाले जनाएको छ । सूर्योदयका २ सय ५२ वटा टोल विकास संस्थामा नार्कका पूर्व वरिष्ठ कृषि वैज्ञानिक खड्गभक्त पौड्यालको टोली नै लगेर तालिम दिइएको थियो । सूर्योदयका ११ र १२ वडाले भने पूर्णरुपमा यही जैविक झोलको प्रयोग गरेरै व्यावसायिक खेती गरिरहेका छन् । अन्य वडाका किसानले भने आंशिक रुपमा मात्रै प्रयोगमा ल्याइरहेको नगरपालिकाको आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको भनाइ छ । प्रयोगको मात्रा र मिसावटको मात्रा नमिलेमा खेती सप्रिने नभएर मर्ने समस्या हुने गरेको जानकार बताउँछन् ।‘आठघरे नमुना कृषि फार्म’ का प्रोप्राइटर मिलन राईका अनुसार, नगदेबाली काँक्रा, खोर्सानी, फलफूल, तरकारी र मकैमा प्रयोगमा ल्याएकोमा सबैभन्दा राम्रो खोर्सानी र काँक्रालाई भएको छ । राईले यो जैविक झोलको प्रयोग गर्न थालेको साढे दुई वर्षभन्दा बढी भएको छ । रासायनिक मलखादको माध्यमबाट अर्बौं रुपैयाँ विदेशिनबाट रोक्न यो नयाँ प्रविधि उपयोगी हुने विज्ञहरु बताउँछन् । विज्ञहरुको टोलीले ३० वर्षको अनुसन्धानपछि जिवातु लाभदायक प्रमाणित भएको पत्ता लगाएको थियो । बाली लगाउने समयमा रासायनिक मल नपाउने समस्या, रासायनिक मलका कारण माटोमा बढी रहेको अम्लियपन, रासायनिक मल र विषादीले ल्याएका स्वास्थ्य समस्या, उत्पादन र उत्पादकत्वमा भइरहेको ह्रास घटाउनुका साथै तरकारी उत्पादनमा वृद्धि ल्याउने पौड्यालको भनाइ छ ।जिवातु (जैविक झोल मल) कसरी बनाउने ?झोलमल ११७ किलो गोठमल, १६ लिटर गाईभैँसीको मुत्र, १६ लिटर पानी र १ लिटर जिवातुको मिश्रण बनाउने । यसले माटोमुनीको किरा नियन्त्रण र मलको काम गर्छ ।झोलमल २२४.५ लिटर मुत्र, २४.५ लिटर पानी, १ लिटर जिवातुको मिश्रण । यो जाडोमा १५ दिन र गर्मीको बेला एक हप्तामा तयार हुन्छ । यसले ढुसी, विभिन्न रोग र किरा नियन्त्रण गर्छ ।झोलमल ३सिस्नु, तीतेपाती, वनमारा, खिरो, मेवाको पात जस्ता पिरो, टर्रो खालका विरुवाको पात तथा डाँठहरू, १ लिटर जिवातु, गाईभैँसीको मुत्र र पानी एक ड्रम गरी मिश्रण बनाउने ।यसको प्रयोगले किरा, झुसिलकिरा, पात खाने किरा नियन्त्रण गर्न सकिन्छ ।
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७ २२:३१