-इन्दिरा प्रसाई‘आन्टी !’घर अघिल्तिरको गल्लीको पसलमा हरियो खुर्सानी किन्दै थिएँ । त्यसैबेला पछिल्तिरबाट मलाई कसैले ग्वाम्लाङ्ङ अँगालो हालेको थियो । तत्क्षण त्यस शारीरिक श्पर्षपछि भएको प्रिय अनुभूति र प्राप्त परिचित गन्ध र आवाजले समेत मेरो मुखबाट ‘सुनिती’ निस्केको थियो । साँच्चै, मेरा अघिल्तिर सुनिती उभिएकी थिई ।‘सुनिती’ मेरो छोराकी वाल सखी ! सुनितीलाई अचानक आफ्ना सामुन्ने देख्ता विदेशिएको छोरो अक्षतको आकृति मेरा आँखाभरी टाँसियो । हामी मानिस किन यति स्वार्थी हुन्छौँ कुन्नी ? कुनै पनि व्यक्ति वा बस्तुलाई सोही रुप वा अवस्थिति भन्दा पनि अरु कसैसँग गाँसेर सम्झनामा राख्छौँ । अनि त्यसै सम्झनाको झझल्कोमा कहिले रुन्छौँ त कहिले हाँस्छौँ । त्यसैले त्यसबेला पनि मेरा लागि सुनिती, सुनितीमात्र नभएर मेरो एकमात्र छोरो अक्षतकी वालसखी भएकीले प्यारी समेत भएकी थिई ।वस्तुवादी अर्थशास्त्रको प्रभाव अथवा भौतिकताको नसामा परेका विकाशोन्मुख मुलुकका अहिलेका अधिकांश हामी प्रौढहरु सन्तानको उर्जावान समय विदेशीलाई बेचिरहेका छौँ । मेरा पति र म पनि तिनै प्रौढकै समूहमा छौँ । त्यसैले उमेरदार छोरोको उपस्थितिको साटो उसको कमाईको एउटा अंश भोगेर छोराको सशरीर उपस्थितिको तिर्सनामा बाँचिरहेका छौँ । त्यतिबेला सुनिती झट्टै मेरा सामु परिदिँदा त्यसैले मेरो अक्षत नै मेरा सामुन्ने आए झैँ भएको थियो मलाई ।सुनितीको अपर्झटको उपस्थितिले ममा परेको प्रभावको प्रतिक्रिया स्वरुप मैले उसलाई मोहित भएर हेरिरहँदा सुनिती पनि अचम्म भएर मैतिर हेरिरहेकी थिई । एक महिनाजति अघिमात्र छुट्टिएकी सुनितीको तिर्सना पनि अचम्मले मौलाएछ मभित्र । मलाई आफैँसँगै पनि अलि अनौठो लागेको थियो ।उसका आँखासँग मेरा आँखा जुद्धामात्र मलाई यथास्थितिको वोध भएर लज्जाको समेत मैले अनुभूत गरेकी थिएँ ।मीठो सपना देखेर विउँझिँएसरी म झल्याँस्स भएकी थिएँ । विगतमा झैँ केहीबेर मसँग अँगालोमा गाँसिएर त्यसबेलासम्म सुनिती अलग्गिइसकेकी थिई ।‘कहिले आयौ नानू ?’ लामो सास फालेर सामान्य हुन खोज्दै सुनितीका कोमल हात सुम्सुम्याउँदै मैले सोधेकी थिएँ ।‘एक हप्ता भयो आन्टी ’ उसले सहज जवाफ फर्काएकी थिई ।पसलबाट सुनितीसँगै म पनि घरतिर लागेकी थिएँ । यसै गल्लीको माझमा पहिले मेरो घर र त्यसपछिको एकघर पर्तिर उसको घर अथवा अब उसको माइत थियो ।‘चिया खाएर जाऊ न है ?’ मैले उसको हात नछोडेकै अवस्थामा उसँग आग्रह गरेकी थिएँ । मलाई अझै अक्षतको न्यास्रो मेटिएकै थिएन । त्यसैले पनि हुनुपर्छ मैले आफ्नो घरको मूलढोकामा पुगेपछि सुनितीलाई आफूसँगै तानेकी थिएँ । त्यसबेला उसले पुलुक्क आफ्ना घरको कौशीतिर हेरेकी थिई । मेरो घर अगाडिको सडकबाट उसको चारतले घरको कौशी मज्जाले नै देखिन्थ्यो । त्यसबेला त्यस कौशीमा कोही थिएन ।‘हिँड न, म पनि तिमीसँगै चिया पिउने नि आज !’ फेरि दोहो¥याएर मैले आग्रह गर्दै उसलाई आफूसँगै भित्र पु¥याएकी थिएँ । ‘हो र आन्टी..... ऐले....।’ सुनिती केही अकमकाएर बोलेकी थिई ।त्यसपछि हामी दुई पहिले पहिलेजस्तै सरासर तेस्रो तलामा रहेको हाम्रो भान्सा कोठैमा पुग्यौँ । भान्सा अघिल्तिरको डाइनिङ रुममा बसेका मेरा पति अखबारमै मस्त थिए । हाम्रो पदचाप सुनेर उनले टाउको उठाएर हामीतिर हेरेका थिए ।‘दर्शन, अंकल’ सुनितीले उनका अघिल्तिर पुगेर शिर निहु¥याएकी थिई ।‘ओहो सुनिती बेटा, तिमी कहिले आयौ ? झन् राम्री पो भइछौ ! लण्डनको हावा पानी फापेछ नि ! अनि ज्वाईँ साहेब पनि सँगै हो ?वाल्यकालदेखि काखमा खेलेर हुर्केकी सुनितीलाई देखेपछि मेरा पति पनि जुरुक्क उठेका थिए र पहिले पहिलेजस्तै उनले सुनितीलाई आफ्नो छातीमै टाँसेर माया जनाएका थिए । साथसाथै उनले आफ्नो वकालत पेसा सम्बद्ध प्रश्न प्रतिप्रश्न पनि सुनितीका सामू वर्षाइरहेका थिए ।‘एक हप्ता भयो अंकल, म एक्लै आएकी ।’ सुनितीले सन्तुलित भएर जवाफ फर्काएकी थिई ।‘अस्तिसम्म सानी सुनिती बिहे हुने वित्तिकै कत्ति ठूली भएकी है !’ उनले सुनितीलाई गाढेर हेर्दै मतिर लक्षित भएर भनेका थिए । सुनिती लजाएकी थिई । त्यसपछि मैले सुनितीलाई तानेर आफैँसँग भान्सामा पु¥याएकी थिएँ ।‘तिम्रो अंकल त्यस्तै हुन क्या सुनिती, कठघरामा मान्छे राखेर दिनरात प्रश्न सोध्ने बानी भएको वकिल त हो नि !’ मैले ठट्यौली पाराले बूढाको मजाक उडाएकी थिएँ ।‘कथाकार महोदय, यो वकिलको घाँटी रसाउने उपाय गर्नु प¥यो ।’ उनको वकिल चेतमा पतिपारा मिसिएर मेरो लेखनप्रतिको रुचितिर लक्षित गर्दै मेरा पतिद्वारा तेस्रो कप कालो कफीको माग आएको थियो ।मैले पनि उनको सहज माग तुरुन्तै पुरा गरेर सुनिती र मेरा लागि दूध र चिया मसला हालेर नेपाली चिया बनाएकी थिएँ । सुनितीलाई मैले बनाएको यस्तो चिया खुबै मन पथ्र्यो ।‘उस्तै, एकदम उस्तै स्वाद छ आन्टी ! हजुरजस्तै, छ यो चिया पनि ! मैले लण्डनमा पनि हजुरको यो चिया सम्झेर बनाउन खोजेकी थिएँ । अहँ ? बन्दै बनेन् । हजुरको हातमा त जादू छ आन्टी जादू !’हामी दुवै भान्सा कै सानो टेबलमा चिया राखेर त्यहीँको कुर्सीमा बसेर चिया पिउन लागेका थियौँ । सधैँ झैँ सुनिती बढो स्वाद लिएर चिया पिउँदै थिई । म पनि चिया पिउँदै, सुनितीले आफ्नो प्रशंसामा खर्चेका मीठा शब्दहरुमा रमाउँदै थिएँ । सन्तानको बहिर्गमनले निरस जीवन विताउन वाध्य मेरो समय त्यसबेला केहीवेरकै लागि नै भए पनि रसिलो हुन खोज्दै थियो । सुनितीका सामु बसेकी मैले यसबेला सुनितीको अनुहारमा पूर्वअवस्थाका तुलनामा निकै फरक चीज देखेकी थिएँ । किन होला उसका आँखा पनि सँधै झैँ चञ्चल र तेजिलो देखिइरहेको थिएन । ‘भरखरैमात्र गरिएको लामो हवाईजहाजको यात्राको कारण हुनुपर्छ ।’ मेरो आफ्नै मनले निक्र्यौल निकालेको थियो ।सुनितीले चिया सिध्याउनै लागेकी थिई, उसँग बिताउन पाएको समयको मोहमा परेर म भने समय लम्ब्याउने उपक्रमले पनि चिया सुस्त गतिमा पिइरहेकी थिएँ । सुनिती लामो समयसम्म बसोस् भन्ने मेरो आन्तरिक आग्रहलाई चिया ढिला गतिमा पिइनुले अभिव्यक्त गरिरहेको थियो ।चिया सिध्याएकी सुनितीले भित्ते घडीमा आँखा पु¥याएर कुर्सीबाट उठने उपक्रम गरेकी थिई ।‘अनि तिमी अलिदिन बस्छ्यौ नि ?’ अब शब्दजालमै भए पनि सुनितीलाई केहीबेर अल्मल्याउने मेरो अभिष्ट हुनुपर्छ । मेरो प्रश्नको उत्तर सुनितीले सहजै दिइन । केहीबेरसम्म ऊ केही बोलिन पनि ।‘आन्टी, अरुसँग बेग्लै कुरा हो तर हजुरसँग म झुठ बोल्न सक्तिन,... तर म अब लण्डन नजाने गरी आएकी छु ।’सुनितीले गहिरो आवाजमा मलाई जवाफ दिएकी थिई ।‘के भनेकी नानू तिमीले यस्तो कुरा ?’ सुनितीबाट आएको यो अप्रत्यासित जवाफले म आत्तिएकी थिएँ ।यस वीच सुनितीका आँखा भरिएर ढिक्का आँसुका दाना पनि वरर्र उसका सुकोमल र सुन्दर गालाको बाटो भएर जमिन तिर पलायन हुँदै थिए ।एक महिना अघिमात्र त्यस्तो भव्य विहे भएकी सुनितीले मेरो काल्पनिकतामा पनि उब्जिन नसक्ने त्यस्तो जवाफ दिएकी थिई । र उसको अवस्था देखेर त्यसबेला मलाई नै भाउन्न होलाजस्तो भएको थियो । म आफ्नो कुर्सीबाट जुरुक्क उठेर उसको अगाडी पुगिसकेकी थिएँ । उ अघि नै उसको कुर्सीबाट उठिसकेकी थिई । मैले सुनितीलाई अँगालोमा बेरेकी थिएँ । मेरो छातीमा टाउको राखेर सुनिती घुँक्क घुँक्क गर्दै रोएकी थिई । म चुपचाप उसको टाउकोमात्र मुसारीरहेकी थिएँ । मभित्रको आईमाई मनको कमलो बाँध पनि भत्किसकेको थियो । कारणै थाहा नपाउँदाको उसको रोदनले पनि मलाई भिजाइसकेको थियो ।‘तिमी त ज्ञानी केटी, यसरी पिर गर्नु हुन्न सुनिती बेटा, के भयो ? नयाँनयाँहुँदा कहिले काहीँ पतिपत्नी वीच मीस अण्डरस्ट्याण्डिङ पनि हुन जान्छ । सम्हाल्नु पर्छ, कुरा बुझ्नु पर्छ । आवेशमा निर्णय गर्नु हुन्न नानू ! ज्वाईँ साहेब त निकै भलादमी देखिनु हुन्थ्यो । त्यत्रो सम्पन्न परिवारको एउटामात्र छोरो !’मैले उसको ढाड सुम्सुम्याउँदै भनेकी थिएँ ।‘होइन आन्टी, यो नमिल्ने कुरा हो । मिल्नै सक्तैन । मैले ठूलो धोका पाएँ आन्टी !’ हजुरको फुर्सत् भएको बेला पारेर आउँछु । त्यतिबेला सबै कुरा भन्ने छु । अहिले जान्छु ल ?’भन्दा नभन्दै मेरो अँगालोबाट फुत्किएर उसले टिस्युपेपरले आँसु र सिँगान पुछेकी थिई । मेरा मनमा आफ्नो सिँगो कथाको बिऊ रोपेर सुनितीले मसँग विदा मागेकी थिई । मैले चाहेर पनि उसलाई यसबेला रोक्न सक्तिनथेँ । किनभने मेरो विहानको घरधन्धा पनि असरल्ल परेर हाँस्दै मलाई गिज्याइरहेको थियो ।सुनिती त हिँडी, तर मेरो मनमा उसका बारेको आँधी तुफानको शुरुवात गराइदिएर ऊ गएकी थिई । ऊ हिँडेपछि शरीरले त मैले गृहस्थीका यावत दैनिक कार्यहरु गरिरहेँ तर मेरो मानसले भने एकैपल पनि सुनितीलाई आफूबाट बाहिर निकाल्न मानेको थिएन ।अक्षतभन्दा सुनिती एकवर्ष ठूली हो । त्यसबेलाकोघट्टेकुलोमा बस्ती नै कति थियो र ? सिंहदरबारको पूर्वी पर्खालछेउको सडक भनेको खेतको आली नै थियो । त्यसबेला अनामनगरको नामनामेसी नै थिएन । धोबीखोलामा पनि सफा पानी बग्थ्यो । छेउछाउमा बाक्लै झाडी थियो । कहिलेकाँही त दिउँसै श्याल कराउँथ्यो ।हामीले घर बनाइसक्ता नसक्तै मालपोत कार्यालयका नापीका अमीनले पनि घर बनाउन थालेका थिए । हामी पुराना र उनीहरु नयाँ । त्यसैले त्यसबेला हामीले हाम्रा नयाँ छिमेकी हुन आएका सुनितीका बुवाआमालाई सकेको सहयोग गरेका थियौँ । हाम्रो घडेरी आठआना, उनीहरुको चारआना ।‘अमीन साहेब, पछि किन्छु भन्दा पनि पाइँदैन, जमीन त अलिकति थप्नुहोस’ मेरा पतिले सुनितीका पितालाई सुझाएका थिए ।‘वकिलसाहेब, अहिले यसभन्दा धेरको औकात मसँग भएन हजुर !’ फिस्स हाँसेर उनले जवाफ फर्काएका थिए । तर त्यसको पाँचवर्षभित्रमा उनले ओरिपरिवाट जमीन थपेर उनको घडेरी एक रोपनी बढी पु¥याएका थिए । हाम्रो भने आठआना मास्तिरको औकात कहिल्यै भएन ।सुनितीकी आमाको भनाई अनुरुप उनकै माइतीले दिएको दाइजोस्वरुप काठमाडौँका अरु दुईचार ठाउँमा पनि उनीहरुले बिस्तारै घडेरी किन्दै गएका थिए ।सुनितीपछि सुनितीकी आमाले लगालग दुई छोरा जन्माइन् । हाम्रो अक्षतमात्र सन्तान भयो ।टुकुटुकु हिँड्न थालेपछि नै सुनितीले हाम्रा घरमै धेरजसो समय बिताउने गर्थी । सुनितीकी आमाले अरु सन्तान जन्माउँदै गएपछि म नै सुनितीकी अघोषित आमा झैँ भएकी थिएँ ।अक्षत पनि सुनिती भएपछि धुमधामै रमाउँथ्यो । खानाखान होस वा खेल्न होस अक्षतलाई सुनिती नै चाहिन्थ्यो । सुनिती त्यसबेला अक्षतका लागि हिँडडुल गर्ने खेलौना झैँ थिई । छोराका खुशीका लागि म पनि दुई सन्तान सरह नै सुनितीलाई रुचाउँथेँ । त्यसबेला सुनिती नआएको बेला हाम्रो घर अनौठो र चकमन्नजस्तै हुनेगथ्र्यो ।‘छोरा, तँ कोसँग बिहे गर्छस् ?’ एकदिन मेरा पतिले सुनितीसँग खेलिरहेको छोरोसँग रमाइलो गर्न सोधेका थिए ।‘म त तुनितीसँग बिहे दर्ने हो ।’ तोते बोलीमा अक्षतले भनेको थियो ।‘ सुनिती ! तँ कोसँग बिहे गर्छेस् ?’ मेरा पतिले भुकुल्ल परेकी डल्ली सुनितीलाई काखमा बोकेर सोधेका थिए । सुनितीले अक्षत पट्टि औँलाले देखाएर मेरा पतिको छातीमा टाउको लुकाएकी थिई ।शिशु खेलमा रमेका बेला हामी दुवै पतिपत्नी खुब मज्जाले हाँसेका थियौँ ।‘के केटाकेटीसँग यस्तो मजाक ग¥या होला ।’ लिनु आनन्द लिइसकेपछि मैले पनि बुढालाई नियन्त्रण गर्ने हिसाबले भनेकी थिएँ ।‘मजाक होइन, म त अमीन साहेबसँग कुरा चलाएर यिनीहरुको बिहे नै गर्दिने सोचमा पो छु त । तिमीले के ठानेको ?’ मेरा पति फुर्किँदै बोलेका थिए ।‘हेर हेर, ‘बालविवाह’, आफैँ कानूनी मानिस भएर कानून उलंघनको कुरा कसरी गर्न सक्या होला ।’ मैले होच्याएरै भनेकी थिएँ ।‘ ए लाटी मान्छे, कानूनको उलंघन गर्ने भनेकै कानूनी मान्छेले नै हो । हा..हा..हा..’ उनी पनि स्वादलिएरै हाँसेका थिए ।समय बित्दै गयो । वर्षदिन पछिको पुस महिनाको एकदिन, जाडोको विदाका कारण गाउँभरिका केटाकेटी यताउति दौडिने खेल्ने गरिरहेथे । बाहिर न्यानो घाम लागेको थियो ।‘मम्मी ! मम्मी !...’ अक्षत चिच्याउँदै आएको थियो । घाम तापेर स्वेटर बुनिरहेकी म छोराको आवाजले झस्केकी थिएँ ।‘के भो छोरा ?’ दौडेर मतिर आएको अक्षतलाई च्याप्प समातेर मैले सोधेकी थिएँ । मेरो काखमा टाँसिएको ऊ रुन थाल्यो ।‘तुनितीले मसँग बिहे गल्दिन ले ।’ उसले रुँदै भनेको थियो । मलाई उसको कुरा सुनेर हाँस उठे पनि ऊ रोएको बेला म हाँस्न सकिन । हाँसो राक्दै उसको आँसु पुछि दिएँ ।‘बाबुले सुनितीलाई पिट्यो ?’ मैले सोधेकी थिएँ । उसले रुँदै टाउको हल्लायो र पिटेको छैन भन्ने जनायो । धेरै अघि उसले सुनितिबारे भनेको कुरा मैले झन्नै विर्सिसकेकै रहिछु । विगत सम्झिँदै, मनमनमा हाँस उठे पनि गम्भिर भएरै अलि पर्तिर खेलिरहेकी सुनितीलाई मैले त्यहीँबाट डाकेकी थिएँ ।‘हजुर आन्टी’ सुनिती म नजिकै आएर मैसँग टाँसिएकी थिई । अक्षत भन्दा एकवर्षमात्रै ठूली भए पनि सुनिती अक्षत भन्दानिकै ठूलीजस्ती देखिन्थी र बाठी पनि थिई ।अक्षत पनि मेरो काखमा बसेर छातीमै टाँसिँदै भरखरै आँसु ओबाएका आँखालेसुनितीको अनुहारमा हेर्दैे थियो ।‘तिमीले अक्षुसँग बिहे गर्दिन भनेको रे हो ?’ मैले छोरो फकाउने उपक्रम गरेकी थिएँ । कताकता मलाई पनि कुतुहल भने नभएको होइन ।‘ हो नि, आन्टी, अनि के.. त.. मम्मीले भनिस्सेको कि, अक्षतसँग मैले बिहे गर्न हुँदैन रे । बिहे भनेको त धनी मानिससँग गर्नु पर्छ रे, धेरै मोटर, ठूलो घर, सुन चाँदी, हीरामोती केक्के हो केक्के हुने मानिससँग बिहे गर्नु पर्छ रे । अक्षुसँग त केही छैन । ‘म त तिमीसँग बिहे नगर्ने’ मैले भनेको थिएँ अनि ऊ त मसँग नखेलेर रोएको पो त । आऊ हामी खेल्न जाने । ’ सुनितीले मच्चिँदै मच्चिँदै मेरो प्रश्नले खोजेभन्दा धेरै उत्तर दिएपछि अक्षतलाई आफूसँग लैजान खोजेकी थिई । तर अक्षत सुनितीसँग ठुस्किएर अझै मसँगै टाँस्सिदै थियो ।‘ल,ल, सुनिती, तिमी अक्षतसँग बिहे नगर्ने तर साथी हुने है ?’ मैले सुनितीलाई अक्षतका लागि फकाइदिएकी थिएँ ।‘ साथी भनेको के हो आन्टी ?’ सुनितीले सोधेकी थिई ।‘तिमी र अक्षत खेल्ने भनेको क्या ...’ मैले हतारिएर अथ्र्याइदिएकी थिएँ ।‘हस् आन्टी, आऊ अक्षु मैले खेल्ने त भनेको नि, अक्षु नै नमानेर आएको त हो नि !’ सुनितीले मसँग अझै टाँस्सिरहेको अक्षतलाई तानेरै लगेकी थिई ।त्यसपछिनिर्दोष र निष्छल वालापनमा भएका उनीहरु त सरक्कै खेल्न गएका थिए । तर त्यसबेला उनीहरु गएपछिको रिक्त समयमाट्वाल्ल पर्ने पालो भने मेरो थियो । सुनितीलाईवाल्यकाल मै त्यस्तो कुरा सिकाउने उसकी आमाका विचारले मेरो मानसमा घन ठोकिरहेको थियो । त्यसपछि बुनिरहेको सुइटर बुन्न पनि मैले सकेकी थिइन् ।‘सुख प्राप्तिका लागि के पैसा नै सबैभन्दा ठूलो साधन हो ?’ कैयौँ दिनसम्म यसै प्रश्नले मभित्र उथलपुथल मच्चाएको थियो ।त्यसपछिको समयमा भने मैले सुनितीकी मम्मीका गतिविधिमा पनि ध्यान पुर्याएकी थिएँ । एउटा सामान्य कर्मचारीको परिवारका रुपमा चिनिएका उनीहरु रातारात नवधनाढ्यमा परिवर्तित भइसकेका रहेछन् । सुनितीकी मम्मीको पहिरन, फेसन र सङ्गत अर्कै किसिमको भइसकेको रहेछ ।यति हुँदाहुँदै पनि सुनिती भने स्कूल पढुञ्जेल हरेक लामो विदामा अक्षतसँग खेल्ने निउँमा अथवा यसै पनि मेरा सम्पर्कमा आइ रही ।अक्षत प्लस टु पछि बाहिरै पढ्न जान्छु भनेर विदेश तिरै उड्यो । सुनितीले यतै पढी । तर पनि फेसबुकका माध्यमले अक्षत र सुनिती पनि साथी नै थिए ।‘छोरा, अब त जागीर पनि खान थालिस, बिहे गर्नु पर्छ । तेरी केटी छ कि खोजौँ ?’ वाट्ससफमा कुरा गरिरहेको एकदिन मैले अक्षतसँग सोधेकी थिएँ ।‘छैन हौ मम, खोज न त’, उसले हाँसेर जवाफ दिएको थियो।‘खोई अब कता खोज्ने हो । तैले रोजेकी सुनिती...’ मैले पुरानो कुरा उप्काएर एकैछिन रमाउन खोजेकी थिएँ ।‘त्यसबेला ‘सुनितीले मसँग बिहे गर्दिन भनी’ भनेर म रोएको थिएँ रे हैन ? तर मम अब म उसँग बिहे गर्दिन नि !’ उसले मेरो कुरा वीचैमा काटेर भनेको थियो ।‘किन र अक्षु ? सुनिती त राम्री पनि छे , पढेकी छे, तेरी वाल सखी पनि हो ।’ मैले सुनितीप्रतिको उसको नकारात्मकता बुझ्न खोजेकी थिएँ ।‘वाफ रे मम, तिमी त छक्कै पर्छौ । त्यो सुनितीको त कतिजना व्वाइफ्रेण्ड छन् कतिजना ? मेरा नै दुइटा साथीसँग सुनिती डेटिङ गएको मलाई थाहा छ । अहिले एउटा अर्कै केटोसँग सुनितीको एकदम डीपलभ छ भनेर त सुनितीले नै मलाई भनेकी हो । उसको फेसबुकमा गएर हेर न, उनीहरुको फोटो पनि छ, सुनिती इज जस्ट ओन्ली फ्रेण्ड मम, नेभर वाइफ !’अक्षतले एकै सासमा सुनिती बारेका कुरा सुनाउँदा म त अचम्मै परेकी थिएँ ।सुनितीका बारेमा अरुले यस्ता कुरा भनेको भए त म पत्याउने पनि थिइन होला । किन भने मैले जाने बुझेकी सुनिती त एकदमै सुशील, मायालु, राम्री र बुहारी बनाउनका लागिलोभलाग्दी नै थिई । तर अक्षुले भनेको कुरा नपत्याउन पनि म सक्तिन, किनभने उसले कहिल्यै कसैका बारेमा वाहियात कुरा गर्दैगर्दैन र अरुले फाल्टु कुरा गरेको पनि उसले मन पराउँदैन । तुलनात्मक रुपमा बरु अक्षतका बुवाले कहिलेकाँही उडन्ते वा तथ्यहीन कुरा पनि गरिदिन्छन् ।‘आफ्ना कुरालाई पुष्टि गर्न वकिल धर्म निर्वाह गर्छन्’ भनेर हामी आमाछोरा बुढाका कति कुरा पत्याउँदैन पनि थियौँ । तर हामी आमाछोरा भने एकअर्काका लागि अत्यन्त विश्वसनीय थियौँ ।त्यसैले मैले अक्षुले सुनितीका बारेमा दिएको जानकारीलाई पनि सहजै पत्याएकी थिएँ ।क्रमश :
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८ १४:१०