काठमाडौं । शुक्रबार जनतासमाचार डट्कम मा परराष्ट्रमन्त्री ज्ञवाली माघ १ मा किन भारत भ्रमणमा जाँदैछन् , के के छन् एजेण्डा ? राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बास्डरमा नम्रता श्रेष्ठ, कांग्रेसले देशलाई संवैधानिक संकटमा पर्न दिदैन: गगन थापा, प्रतिनिधिसभा विघटनको निर्णयमा राष्ट्रियसभाका सदस्यहरु विभाजित, नेकपाको आधिकारिकता दाबी गर्न दुवै समूहलाई निर्वाचन आयोगको पत्र र संसद विघटनविरूद्ध अनेरास्ववियूले बुझायो सिडियो कार्यालयमा ज्ञापन पत्र (फोटोफिचर) लगायत शीर्षकका समाचार तथा विचारहरुले मुख्य स्थान पाए ।शनिबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ प्रकाशन गरेका छन् । पत्रिकामा पूरा हुँदै धरहरा चढ्ने धोको, शनिबार पनि बैंक खुल्ला गर्न राष्ट्र बैंकको निर्देशन, हजारौं विघा सार्वजनिक जग्गा अझै व्यक्तिको नाममा, दुवै अध्यक्षलाई फेरि निर्वाचन आयोगको पत्र लगायत शीर्षकका समाचारहरुे प्राथमिकता पाएका छन् ।आजको नयाँ पत्रिका दैनिक ले 'संविधान रक्षार्थ पूर्वप्रधानन्यायाधीशहरूको वाणी' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा बहालवाला वा पूर्वप्रधानन्यायाधीश सरकारप्रति होइन, राज्यप्रति उत्तरदायी हुन्छन् । राज्यको कानुनले सरकारप्रति अविश्वास व्यक्त गर्न मिल्ने व्यवस्था गरेको छ, संविधानमाथि अविश्वास आउने परिकल्पना गरेको छैन । संविधानको रक्षाको पक्षमा पूर्वप्रधानन्यायाधीशको तर्फबाट जिम्मेवार र अपरिहार्य आवाज आएको समाचारमा उल्लेख छ ।समाचारअनुसार जननिर्वाचित प्रतिनिधिसभाको असामयिकको रूपमा अन्त गरिएको विरोधमा लेखक, साहित्यकार, कलाकार, नागरिक अगुवा र संविधानविद्हरू मात्र होइन, पूर्वप्रधानन्यायाधीश पनि अगाडि सरेर बसेका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय अहिले सदर हुने हो भने भविष्यमा कुनै पनि प्रधानमन्त्रीले संसद्को सामना गर्ने छैनन्, बरु सीधै जनादेशलाई खारेज गर्नेछन् भनेर चिन्तित समाजका सबै क्षेत्रजस्तै पूर्वप्रधानन्यायाधीश पनि विरोधमा अघि सरेका समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'धेरै कैदीलाई जेलमुक्त गर्न मन्त्रिपरिषद्बाटै नियमावली संशोधन' शीर्षकको अर्को समाचारलाई पनि मुख्य पृष्ठमै छापेको छ । समाचारमा अपराधीको मनोबल बढ्ने प्रहरीको चिन्ता, खराब चालचलन भएकालाई पनि छाड्ने तयारी उल्लेख छ ।समाचारअनुसार प्रहरी अधिकारीहरूको गुनासो छ– फितलो सजाय र कैद सजायमा छुटको प्रावधानले अपराधीहरूको मनोबल बढेको छ । तर, गृह मन्त्रालयको ध्यान भने कसरी धेरै अपराधी जेलबाट छुटाउने भन्नेमा छ । धेरै कैदी छाड्नकै लागि मन्त्रिपरिषद्ले हालै फौजदारी कसुर (कैद कट्टा) नियमावली नै संशोधन गरेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले धनगढी पुगेर पनि प्रधानमन्त्रीले निर्मलाको नाम लिएनन्, ‘निर्मलाका हत्यारा खोइ’ लेखिएको टिसर्ट लगाउँदा सात युवा गिरफ्तार, मकुनालाई बचाउन सकिन्छ कि ?, केका लागि कानुन तोड्न पनि पछि परिँदैन ? लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।कान्तिपुर दैनिक ले भने 'खोपको प्रि-अर्डर मै अलमल' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा सरकार कोभाक्स सुविधामै भरपर्दा कोरोनाविरूद्धको खोप ल्याउन अझै ढिलाइ हुने उल्लेख छ ।समाचारअनुसार अधिकांश देशले कोरोनाविरुद्धको खोप उत्पादक कम्पनीसँग ‘प्रि–अर्डर’ गरिसकेका छन् । कतिपयले त खोप लगाउनै सुरु गरिसके । नेपालले भने अझैसम्म प्रि–अर्डर नगर्दा समयमै खोप आउनेमा शंका उब्जिएको छ । नेपाल सरकार कोभाक्स सुविधाकै पर्खाइमा रहँदा खोप आउन ढिलाइ हुने देखिएको हो । कोरोनाको सम्भावित दोस्रो लहरसँग जुध्नसमेत खोप प्रमुख हतियारका रूपमा उपयोग गर्न सकिने भएकाले समयमै सुनिश्चित नगरे स्थिति जोखिमपूर्ण हुने विज्ञहरूले चेतावनी दिएका छन् । छिमेकी भारतमा बेलायतले स्वीकृति दिएको अक्सफोर्ड र अस्ट्राजेनिका खोप उत्पादन भए पनि नेपालले प्रि–अर्डर नगरेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'प्रतिनिधिसभा विघटन असंवैधानिक, ' विकल्प नभएपछि विघटन: ओली, निर्मलालाई न्याय माग्दा पक्राउ, कालो टोपी लगाउनेलाई रोक र दाहाल नेपाल समूहले ७७ जिल्लामै बुझायो विरोधपत्र लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले मातातीर्थ–कुलेखानी सडक निर्माण तीव्र शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी–मातातीर्थ सडक खण्डको स्तरोन्नति भइरहेको उल्लेख छ ।समाचारअनुसार हेटौँडा र काठमाडौँ जोड्ने सडकको कुलेखानी–देउराली–मातातीर्थ–सतुङ्गल सडक खण्डको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक चौडा गर्ने र आवश्यक संरचना निर्माण भइरहेको हो । हेटौँडालाई छोटो दूरीले काठमाडौँ जोड्ने यो सडक ६१ किलोमिटर लामो छ । यसमध्ये मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने महालक्ष्मी दोभानदेखि काठमाडौँ जिल्लाको सतुङ्गलसम्म १५ किलोमिटर दूरीको सडक खण्डको स्तरोन्नति लगायतको काम बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयबाट भइरहेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'निर्वाचन सुरक्षा योजनाको तयारी' शीर्षकको समाचारलाई मुख्य पृष्ठमै छापेको छ । समाचारमा राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका उल्लेख छ ।समाचारअनुसार गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको छ । मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक–एकजना उच्च अधिकारी प्रतिनिधिहरू सदस्य रहेका समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले मन्त्रिपरिषद्को निर्णय कुर्दै महानगर, माघको पहिलो हप्ताबाट खोल्ने तयारी, देशको लोकतन्त्रमा कुनै खतरा आउँदैनः प्रधानमन्त्री ओली, पाँच महिनामा सात अर्बको सुन आयात र पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार धनुर्मास पूजा गरिने लगायत शीर्षकका समाचार तथा विचारहरू महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: शनिबार, पुस २५, २०७७ १३:२९