अम्बिका खड्काभित्ताको घडिमा ब्याट्रि नहालेको वर्षौँ भइसक्यो । समय हेर्न भित्तामा आँखा जान छोडेको पनि वर्षौ नै भयो क्यार । ब्याट्रि नहालेपछि घडिका तीनसुइको भेट भएकै छैन । उनीहरुको भेट गराउने मलाई फुर्सदै छैन । कहिल्यै आवश्यकता महसुस पनि भएन । सिंगै दुई महिनाको तलब खर्चिएर किनेको मोबाइलको के काम ?विहान निन्द्राबाट बिउँझिएसँगै आँखा नखुलि हातले सिरानीमा मोबाइल छाम्छ । समय हेर्न । शुरु त समय हेर्नबाट हुन्छ तर हेर्दा हेर्दै समय नै घण्टाैं बितिदिन्छ । एकछिन समाचार हेर्नै पर्यो । हेर्दाहेर्दै एउटाको म्यासेज आउँछ । नबोले ठूली भइ भन्छ । प्रतिक्रिया दिनै पर्यो । म्यासेन्जर, भाइबर, मेल चेक गर्यो, युट्युवमा भिडियो हेर्यो जे गरे पनि मोबाइलको स्क्रिनबाट आँखा हट्न भएन । दिनभर कम्प्युटरमा काम झन दायाँबायाँ गर्ने कुरै भएन ।साँझ त्यहि मोबाइल हुन्छ साथी, जीवनसाथी जे भनेपनि । एउटा अन्तरवार्ता हेर्यो, साथीहरुले हेर भनेर भिडियो पठाएका हुन्छन् हेरिदियो, अनलाइन देखेपछि कसैन कसैले भिडियो कल गर्छ बोल्नै पर्यो । भिडियो कलमा बोल्न थाल्दा यता म्यासेजको ओइरो लाग्छ । दिउँसो फेसबुकमा राखेको फोटोको लाइक कमेन्ट पनि हेर्नै पर्यो । कुनै राम्रो आर्टिकल देखिन्छ, भेटिन्छ या साथीहरुले पठाउँछन् पढ्न मन लाग्छ, पढ्यो । यतिकैमा रातको १२ बजेको पत्तै हुँदैन । बिहान चाँडै उठ्नुपर्ने बाध्यताले मात्र मोबाइल बन्द गरेर सुत्न कर लाग्छ ।यो मेरो मात्र दैनिकी कहाँ हो र । म अनलाइन हुँदा त मेरा साथीलाई पनि म अन नै देख्छु । सहकर्मीहरु पनि म घर पुगेर मोबाइल खोल्दा अनलाइनमै हुन्छन् । बाटोमा यात्रा गर्दा पनि गाडिमा बसेका यात्रुहरुको हातमा मोबाइल र मोबाइलमा आँखा नै हुन्छ । मेरी घरभेटी आन्टी बिगबोस र सिरियल हेरेरै दिन मात्र हैन रात पनि बिताइदिनुहुन्छ । घरबेटी आन्टिको छोरो स्कूल जान बाहेकको अधिकांश समय ट्याबमा कार्टुन हेरेर बिताउँछ । बहिनीलाई टिकटक बनाउन र टिकटक हेरेर मसँग बोल्ने फुर्सदै हुन्न । हुन त मलाई पो उसँग बोल्ने फुर्सद कहाँ हुन्छ र । भाइ कि त पब्जि कि त कपिल शर्मा शो हेरेर दिन बिताउँछ । पढ्नै परेपनि किताब खोल्दैन गुगल सर्च गर्न लाग्छ ।बिदाको दिन । सँधै झै मोबाइल चलाउन खोजेको वाइफाइ कनेक्ट भएन । एकछिन छटपटि भयो । डाटा लिन खोजेको ब्यालेन्स पुगेन । छट्पटिले सीमा नाघ्यो । के गरौँ र कसो गरौँ भयो । धेरै भएको थियो डायरीमा केही नकोरेको । बिहानै लेखेँ फेसबुकका भित्तामा आजसम्म लेख्न नसकेका धेरै कुराहरु । मन हलुका भयो । वाइफाइ नभएपछि भाइ पनि फुर्सदिलो थियोे । गफगर्दै खाना बनायौँ । आज बल्ल खानाको स्वाद जिब्रोले पायो । मोबाइल हेर्दै पकाएको र मोबाइल हेर्दै खाएको खानाको के स्वाद थियो र अरु दिन ? घरमा फोन गरेर कुरा गरेँ । आज केही हतार थिएन, सबैसँग पालैपालो बोलें । भाइ पनि बोल्यो । लामो कुरा भयो । रमाइलो भयो । दिउँसो किताब पढेँ । पल्लो कोठामा आएका नयाँ मान्छेसँग चिनजान नै भएको थिएन, गएर गफ गरें । साह्रै रमाइला अनि मिलनसार रैछन् । साँझ भाइ र म सानो हुँदाका कुराहरु सम्झँदै गफ गर्यौँ । खुब रमाइलो भयो आज ।आज सँधै झैँ साँझ भएसी दुख्ने मेरो टाउको दुखेन । आज घरमा कुरा गर्दा झर्को लागेन, सँधै कोठा पुग्नसाथ भाइले सोध्ने प्रश्नले दिक्क मान्ने म आज त्यहि समयमा भाइले जे भने पनि दिक्क लागेन । अझ रमाइलो मान्दै गफ गरेँ । बिहानदेखि साँझसम्मको मोबाइल र कम्प्युटर हेराईले दुख्ने रहेछ टाउको र आँखा, दिक्क लगाउने, झर्को लाग्ने कारण पनि सायद त्यहि थियो ।आज मैले हिसाब गरेँ । ओ हो ! दिनको १५ घण्टा भन्दा बढी समय त यी आँखाले मोबाइल र कम्प्युटर मात्र हेर्दारहेछन् । २४ घण्टामा १५ घण्टा भन्दाबढी समय त यसैमा लगाउँदिरहेछु । एकदिन होइन, एक महिना होइन, वर्षौँ देखि यहि रुटिङ चलिरहेको छ । अनलाइनमा व्यस्त हुँदा आफ्नासँगको सामीप्यता, सामाजिक भावना, सृजनात्मक काम सबै लोप भएझैँ भएका रहेछन् ।यस वर्षको भाइको जन्मदिन मलाई फेसबुकले सम्झायो । म पहिलोपटक राजधानी आएको मिति मलाई याद नै छैन । अलिअलि चिसाे हुँदै थियो सायद मंसिर लागेको थियो होला भन्ने लाग्छ । साल चाहिं मेरो १२ कक्षाको रिजल्ट आएको साल हो । त्यो थाहा पाउन सर्टिफिकेट नै खोज्नुपर्छ । बिहान अलराम नबजेर क्याम्पस नगएका दिनहरु धेरै छन् । यी सबै मोबाइलले बिगारेका मेरा बानी हुन् । मेरा मात्र हैनन् आज भोलि अधिकांशका बानी मोबाइलले बिगारेका छन् ।सँगै बसेकासँग कुरै हुँदैन, दुखसुख साँटासँट हुँदैन । छिमेकीसँग कुराकानी नभएको महिनौं बित्छ । अलराम नबजेसम्म बिहान भएको थाहा हुँदैन । लेख्न मन लाग्न छोड्यो, पुस्तक पढ्ने बानी हरायो । बिहान उठेदेखि राति नसुतेसम्म मोबाइल या कम्प्युटर मात्र साथमा हुन्छ । अरु साथमा भएकाहरु हप्तौँ लाग्ने दुरीमा होलान झैँ लाग्छ । यो दुरी मोबाइलले, कम्प्युटरले अनलाइनले नै बढाएको त हो ।आफू केही बेर अनलाइन नहुँदा त संसार धेरै अघि बढ्यो र म धेरै पछि छुटे झैँ भान हुन्थ्यो । तर समयसँगै अघि बढ्न खोज्दा हामीले कतै आफैँलाई छोडेर दौडिरहेका त छैनौँ ? भन्ने महसुस हुन थालेको छ अहिले । तर बिदाको त्यो दिन वाइफाइबिना बितेको त्यो समय साँच्चै मिठो थियो । आनन्ददायी थियो । संसार धेरै अघि बढेर म धेरै पछि छुटेपनि मसँग मेरा आफन्त थिए, साथीभाइ थिए, छिमेकी दिदी थिइन्, पुस्तक थियो, मेरो आफ्नै सृजनात्मक क्षमता थियो । सारमा म एक्लो थिइनँ । बरु सँधै संसार दौडिएसँगै दौडन्छु सोचेर २४ सै घण्टा अनलाइन बस्दा पो यी सब कुरासँग म छुटिरहेकी थिएँ ।त्यसैले मैले आज एउटा निर्णय गरेँ–अनलाइन व्रत बस्ने निर्णय । खाना नखाने व्रत, मौन व्रत लगायत धेरै व्रत सुनिएको थियो र बसिएको पनि थियो । तर पहिलो पटक अनलाइन व्रत बस्ने सोच्दै छु । हप्ताको एक दिन अनलाइन नै नआउने ।हामी सँधै भात, दाल, तरकारी खाएर वाक्क मानेर समयसमयमा मुख फेर्न भन्दै अरु नै केही खानेकुरा खान्छौँ । सँधै खाना खाँदा पाचन प्रणालीले आराम पाएन भनेर हप्तामा एक दिन व्रत बस्नु पर्छ भनेर विज्ञानले नै भनेको छ । आज अनलाइन व्रत पनि आवश्यकता भएको हो कि भन्ने लागिरहेको छ । प्रविधिको युग छ, अनलाइन धेरै महत्वपूर्ण छ । मानिसका कामहरु अनलाइनबाटै हुन्छन् । त्यसैले अनलाइन जरुरी छ । तर सँधै अनलाईन बस्दा टाउको दुख्ने, आँखा दुख्ने, मस्तिष्क लगायतमा असर त पर्छ नै सामाजिक, भावनात्मक, मनोवैज्ञानिक, सृजनात्मक क्षमतामा पनि कति असर पुगिरहेको छ भन्ने कुरा आजको पुस्ताले गम्भीर भएर सोच्ने बेला आएको छ ।त्यसैले समय मिलाएर आफ्नो अनुकुलमा अनलाइन व्रत (अनलाइन नआउने ) बस्नु अहिलेको जरुरी देखिएको छ । जसरी हामी हप्तामा एक दिन व्रत बसेर (खाना नखाएर) पाचन प्रणालीलाई आराम मिल्ने मान्यता राख्छौँ त्यसैगरी अनलाइन व्रतको पनि एउटा कन्सेप्ट विकास गर्नुपर्ने देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७ ०१:५०