काठमाडौं । चर्चित गीत 'मबिना कसै कसैलाई मुस्किल छ पोखरामा' को स्वामित्व विवादको मुद्दामा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लेना शर्मा रेग्मी प्रक्राउ परेका छन् ।प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा प्रहरीले रेग्मीलाई प्रक्राउ गरेको हो । गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिकले आफ्नो प्रतिलिपि अधिकार हनन् गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका थिए ।प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा रेग्मीलाई पक्राउ गरिएको बताउदै महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टले थप अनुसन्धान सुरु भएको जानकारी दिनुभयो ।गीतको कपिराइटका विषयमा विवाद हुँदा विन्ध्यवासिनी म्युजिकका सञ्चालकले आफूलाई गालीगलौज गरेको गायक खरेलले बताउनुभयो । त्यही विवादमा विन्ध्यवासिनी म्युजिकका सञ्चालकलाई कारबाहीको माग गर्दै ५७ जना गायक गायिकाले हस्ताक्षर गरेर महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा निवेदन दिएका थिए । गायक खरेलले आफ्नै लगानीमा तयार परेको एल्वम ‘प्रणय’ विन्ध्यवासिनी म्युजिकले बजार व्यवस्थापन गरेको थियो । आफ्नै लगानी रहेको गीतको कपीराइट फिर्ता माग्दा म्युजिक कम्पनीले उल्टै गालीगलौज गरेको निवेदनमा उल्लेख छ ।कारबाहीको माग गर्दै हस्ताक्षर गर्नेमा प्रमोद खरेलसहित लक्ष्मण शेष, राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरुपराज आचार्य, इन्दिरा जोशी, धीरज राई, उदेश श्रेष्ठ, अर्जुन पोखरेल, कमल खत्री, तुलसी पराजुली, कालीप्रसाद बासकोटा, चेतन सापकोटा, वसन्त सापकोटा, उदय सोताङ, अञ्जु पन्त, रामकृष्ण ढकाल, अनन्द कार्की, दीपक वज्राचार्य, सन्तोष लामा, जेम्स प्रधान, राज सिग्देल, निशान भट्टराईलगायत छन् ।प्रतिलिपि अधिकार हनन्को विषयमा प्रहरीले आरोपीलाई पक्राउ गरेको यो पहिलो घटना भएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७ ०१:३९