खेम बम काठमाडौं । सुन्दा अपत्यारिलो लाग्ने एक घटना । काठमाडौंको बालाजु निवासी एक महिला कैंयौ पटक प्रहरीको फन्दामा परिसकेकी छन् । तर, उनको धन्दा अझै छुटेको छैन् ।
देख्दा सामान्य लाग्ने ती महिला असामान्य काममा सक्रिय बनेकी छन् । एउटा महिलाले दिनदेहारै शसस्त्र प्रहरीको सहायक निरीक्षक हुँ भनि कैंयौ मानिसलाई जागिर लगाइदिने बाचा गर्छिन् र पेश्की बापत केहि रकम लिन्छिन् ।
शसस्त्र प्रहरीको पोशाकमा सजिएकी ती महिलालाई एक सर्वसाधारणले कसरी विश्वास नगरुन् । यतिसम्मकी काठमाडौंको तिनकुनेस्थित प्रहरी कार्यालयमा गएर उनले नेपाल प्रहरीका जवानहरुबाट सलामी समेत खाइसकेको भेद खुलेको छ ।
विभिन्न किसिमका मुद्धाहरुलाई आफु मिलाउने भन्दै माटो रकम लिने र प्रहरी कार्यालयमा पोशाकसहित गएर भित्र रहेका थुनिएका व्याक्तिलाई ती महिलाले बाहिर ल्याएर भगाउने गरेको समेत पीडितहरुले बताएका छन् ।
नामः कोपिला बोहराउपनामः मन्जु बुढाथोकीस्थायी ठेगानाः सिन्धुपाल्चोकहाल बस्नेः बालाजुपेशाः ठग धन्दामहानगरीय प्रहरी वृत्त बालाजुले नक्कली सशस्त्र प्रहरी बनेर ठगी गरेको आरोपमा कोपिललाई पक्राउ ग¥यो ।
वृत्तले सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग लाखौँ ठगी गरेका आरोपमा उनलाई सोमबार बालाजुबाट नियन्त्रणमा लिएको छ ।
वृत्तका प्रमुख विश्वराज खड्काका अनुसार बोहराले सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक हुँ भनी सशस्त्र प्रहरीको पोशाक लगाई फोटो देखाएर ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ । बोहराले झण्डै सात लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।
कोपिलाले दैलेख घर भएका राधा शाहीसँग एक लाख ४५ हजार रुपैयाँ, सिन्धुपाल्चोकका रेणुका भण्डारीसँग ५० हजार रुपैयाँ, विमला खड्कासँग १५ हजार रुपैयाँ, जुनाकुमारी खड्कासँग १२ हजार रुपैयाँ, मीना सुनुवारसँग १९ हजार रुपैयाँ ठगेकी छन् । यस्तै, अन्य व्यक्ति सम्पर्कमा आउने क्रम जारी रहेको छ ।
कोपिलाले कति जनालाई ठगेकी छन् भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एउटा महिला प्रहरी हुँ भनेर सर्वसाधारणलाई ठग्ने, दुई पटकसम्म प्रहरीको नियन्त्रणमा रहेरपनि अझै यस धन्दामा संलग्न भइरहने यो गम्भीर बिषय बनेको छ ।
सोमबार प्रहरी वृत्त बालाजुमा जनता टेलिभिजनको संवाददाताको टिम पुग्यो । त्यहाँ ती महिलालाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको थियो । बारम्बार ती महिलासँग पत्रकारले केही बुझ्न खोजे तर कोपिला बोल्नै मानिनन् । उनले आफुले गरेका कर्तुत त के भन्थिन्, एकोहोरो मुखदर्शक नै बनिन् ।
तिनीबाट ठगिएकी राधा शाहीका दाजुले आफुलाई शंका लागेपछि पिछा गर्न शुरु गरे र अन्नतः कोपिला एक ठग भएको खुलिसकेपछि उनले प्रहरीमा उजुरी दिए र प्रहरीले मन्जु भनेर चिनिएकी कोपिलालाई पक्राउ गर्यो । उनका एकपछि अर्का भेद खुल्दै गएका छन् ।
उनीबाट ठगिएकी राधा मात्रै होईन्, अन्य व्याक्तिहरु समेत रहेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । र प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।