-इन्दिरा प्रसाईहाम्रो जमानामा पनि केटा मानिसले त एकै पटकमा धेरै केटीसँग प्रेमसम्बन्ध राखेका घटनाहरु नसुनिने होइन । तर केटी मानिसले एकैपटकमा धेरैओटा केटासँग प्रेमसम्बन्ध राखेका कुरा त्यसबेलाका लागि अपत्यारिला वा काल्पनिक नै हुन्थे । त्यसैले आफ्नै आँखा अगाडि हुर्केकी आफ्नै छोरी सरहकी केटीको यसप्रकारको आचरणका कुरा आफुले सबैभन्दा बढी विश्वास गरिएको व्यक्तिबाट थाहा पाउँदा म गहिरै आश्चर्यमा परेकी थिएँ ।त्यसैदिन अक्षतले मेरा सामू आफूले प्रेमसम्बन्ध राखेकी केटीका बारे पनि खुलाशा गरेको थियो । दुईवर्षदेखि लीनासँग लिभिङ टुगेदरमा भएको कुरा पनि जनाउँदै अब उसैसँग बिहे गर्ने विचार उसले अभिव्यक्त गरेको थियो । यस सम्बन्धमा हाम्रो सहमती चाहेर चाँडै हामी अमेरिका पुगेर उनीहरुको बिहा गरिदिन पनि अनुरोध गरेको थियो । त्यसदिन मैले उसँग सहजरुपले केही उत्तरै दिन सकेकी थिइन् । उसका पितासँग सल्लाह गरेपछि भनौँला भनेर त्यसदिन हामी छुटेका थियौँ ।ऊ सहज रुपले सुनितीका बारे जानकारी गराउँदै आफ्नाबारेका पनि सबै यथार्थ प्रस्तुत गरेर विदा भएको थियो । तर मलाई भने उसका कुरा सुनेर निकै सकस भएको थियो ।छोराको अनुहार देखेपछि नै आफ्नै जातकी अनि संस्कारी बुहारी भित्र्याउने मेरो सपना त्यसदिन छोराको प्रेमकहानी सुनेपछि भत्याङ्भुतुङ भएको थियो । अक्षतका कुरा सुनेपछि जाडोको बेला पनि मलाई खल्खली पसिना नै आएको थियो । हुन त के अनौठो भएको थियो र ? उमेर पुगेको छोरोले आफ्नो जीवनसाथी छानेको थियो । धन्न त्यसदिन हामी भिडीयो च्याटमा थिएनौँ, नत्र उसले विदेशी बुहारी छानेको समाचार सुनेर आहात मेरो मानसको प्रतिच्छायाँ भरिँदाको परिवर्तित मेरो अनुहार देखेर मेरो छोरोले के ठान्थ्यो होला !हुन पनि त्यसदिन अक्षुका कुरा सुनेर म अलिबेर त अल्लालिए झैँ गरी बोल्नै सकेकी थिइन । उताबाट उसले निकैबेरसम्म ‘मम...मम... हेल्लो.. हेल्लो...’ गरेपछि मैले ‘हजुर’ भनेकी थिएँ ।‘ अक्षु, केटी त छानिछस्, तर हाम्रो देश, जात, धर्म संस्कार केही पनि हेरिनछस् नि त बाबू !’ मैले आफूभित्र फुटिसकेको बाँध पनि सम्हालेर भनेकी थिएँ ।‘मम, लीना निकै फरासिली, इमान्दार र अनुशासित छ । उसले संघर्ष गरेर जीवन यहाँसम्म ल्याएकी हो । ऊ मिहेनती, लगनशील, राम्रो स्वास्थ्यका साथ मायाप्रेमले भरिएकी केटी हो । मैले चाहेको जीवनसाथीमा हुनुपर्ने सबै गुण उसमा मैले भेटेको छु । मम, तिमी चित्त नदुखाऊ है म र लीनाले दुईवर्षमा एकअर्कालाई राम्रोसँग चिन्ने मौका पायौँ । अब हामीले कानुनी रुपले बिहे गरेर बच्चाका लागि पनि योजना गर्ने समय भएको छ । मम मलाई विश्वास छ तिमी र पापाले लीनालाई रुचाउने छौ । किनभने लीनाले बुढाबुढी र असहायहरुलाई भुतुक्क भएर सेवा गरेको पनि मैले देखेको छु ।’ यसरी अक्षतले त्यसदिन हाम्रो परिवारमा लीनालाई अनौपचारिकरुपमा भए पनि मानसिकरुपले प्रवेश नै गराएको थियो ।‘मम, जीवन विताउनका लागि जातजाति र धर्मसंस्कार भन्दा पनि गतिलो जीवनसाथी हुनु आवश्यक छैन र ? मानिस असल हुने हो भने धर्मसंस्कार त संसारभरिका जुन सुकै जातजाति कै पनि राम्रो हुन्छ नि । पालनकर्ता गतिला नहुँदा नै सबै कुरा विग्रिने होइन र ?त्यसैले मलाई लाग्छ हामीले पहिले मानिस असल छान्नु पर्छ त्यसपछि मात्र जात, धर्म र संस्कार छान्नु पर्छ ।’ आफुले नै जन्माएर हुर्काएको छोरो अब मलाई उपदेश दिने भइसकेको थियो । म कुवाको व्याङ र उ समुद्रको माछो ! उसका तर्कलाई दिने किसिमको कुनै जवाफ पनि मसँग थिएन पनि ।अक्षुसँग त्यसदिन मैले कुनै जवाफ फर्काउन नसक्नुको अर्थ मेरो चित्त शान्त भएको थिएन । म त्यसदिन अक्षुका कुराले निकै उथलपुथल नै भएकी थिएँ । सुनितीका बारे शान्त हुन खोजेको मेरो मनस्थिति आफ्नै छोराको रोजाईप्रति पनि सकारात्मक थिएन । मलाई आफुले टेकेको धरती नै धसिएको झैँ लागेको थियो । आफ्ना यावत नाताकुटुम्ब र समग्र समाजका अघि एकमात्र छोरोले विदेशीबिहे गर्न लागेको समाचार सुनाउन पनि मलाई शरम लागेको थियो । त्यसै त्यसै शिर निहुरिएको अनुभूति भएको थियो मलाई ।‘भैगो नि, उसको जीन्दगी उसैको खुशी गरोस् । अब उमेर पुगेको छ, जे गर्छ उसैले भोग्छ । आजकल गर्छन् अरुले पनि । विश्व बजारीकरणको युगमा अब देश, जात, जाति, धर्मसंस्कार गरेर रुनु पनि व्यर्थ छ । संसारै एउटै घर भइसक्यो । तिमीले पिर गर्नु बेकार छ । अक्षुले भनेजस्तै केटी असल भए भै गयो नि त ।’ कति सहजै अक्षुका पिताले स्वीकार गरेका थिए । पितामन ! मलाई अचम्म लागेको थियो । तर मैले अमेरिका पुगेर लीनासँग साहचार्य नगरुञ्जेल लीनालाई बुहारीका रुपमा स्वीकार गर्न सकेकी थिइन् ।लीनाप्रतिको मेरो धमिलो र अमिलो मन कतिखेर सँग्लियो र मिठीयो मैले नै चाल पाइन । अमेरिकामा तीन महिनासम्म छोराबुहारीसँग विताएर हामी नेपाल फर्किएका थियौँ । त्यतिबेला लीनासँग छुट्टिनुको पीडामा म बुहारीसँग छुट्टिनुको होइन छोरीसँगको विछोडको अनुभूतिले दुखेकी थिएँ ।यो भरखरैको कुरा हो ।आज भन्दा एक महिना अघि हामी अमेरिकाबाट फर्किएको एक हप्तामात्र बितेको थियो । अचानक सुनिती हाम्रा घरमा आएकी थिई ।‘आन्टी....!’सधैँ झैँ सुनिती मसँग अँगालोमा टाँस्सिएकी थिई ।उसकाहातको रातो कार्ड उसले त्यहीँ टेबलमा राखिसकेकी थिई । केहीबेरपछि मेरो अँगालोबाट निस्किएकी सुनिती र म सोफामा बसेका थियौँ ।सुन्दरतामा उत्साहको रङ पोतिँदा सुनिती थप सुन्दरी देखिएकी थिई ।‘यो..’ आफ्ना अघिल्तिरको टेबुलमा भएको रातो कार्ड हातमा लिँदै मैले सुनितीका अनुहारमा हेरेकी थिएँ ।‘आन्टी, पर्सी मेरो बिहे नि, हजुरहरु अमेरिकाबाट नआइस्सेला भनेर मलाई कस्तो टेन्सन लागेको थियो । थ्याङ्क गड, आइस्यो । भन्न त अक्षुले भनेको थियो । तर पनि हजुरहरुलाई नदेखुञ्जेलसम्म मलाई टेन्सनै लागेको थियो ।’ उसले मैले समातेको कार्ड तिर हेर्दै भनेकी थिई ।‘ओहो, कस्तो राम्रो कार्ड रहेछ सुनिती !’ कार्ड साँच्चिकै भव्य थियो । आफूले एकमात्र छोरोको साधारण कार्ड समेत नछापी बिहे सकेर आएको पीडा पनि कता कता बल्झिन खोज्यो मभित्र । तर सुनितीको खुशीका अघिल्तिर आफूमा वितिसकेको पीडा बल्झेला भनेर सतर्क भएकी थिएँ म ।‘आन्टी, मैले अक्षत र लीनाको बिहेको भिडीओ र फोटोहरु फेसबुकमा हेरेँ नि ! एउटा कुरा भनौँ आन्टी, हाम्रो अक्षतजस्तो होइन है लीना, माइन्ड नगरिस्योस है ? हजुरलाई कस्ती लाग्यो ?’ सुनितीले लीनाको आवरणको कुरा गरेकी थिई ।‘ तिम्रो कुरा ठीक हो सुनिती, रुपमा त अक्षतकी जोडा हुँदै होइन लीना तर स्वभावमा झन्नै अक्षतलाई पनि जित्ने खालकी रहिछे त्यो केटी, हामी दुवैलाई अक्षतको रोजाई मन प¥यो सुनिती ! अनि तिमीले पनि आफैँ छानेकी होइन त केटो ?ज्वाईँ काठमाडौँ कै त हुनुहोला नि है ?’ कार्ड खामबाट झिकिनसकी मैले पनि सोधेकी थिएँ ।‘ होइन नि आन्टी, हजुरको ज्वाईँ त लण्डनको नि !’ सुनितीको कुरा सुनेपछि मैले हातको कार्डमा नभएर उसको अनुहारमा केही आश्चर्य मिसिएको दृष्टि पोखेकी थिएँ । मैतिर हेरिरहेकी सुनितीको अनुहारमा त्यसक्षण केही गर्वभाव देखेकी थिएँ मैले ।‘तिम्रो चिनापर्ची भएकै होला नि त, कस्तो हुनुहुन्छ उहाँ, तिमीजस्तै फर्साइलो ?’ मैले उसलाई उधिन्न खोजेकी थिएँ । शायद मेरो मानस केही समय अघि अक्षतबाट सुनितीबारे प्राप्त जानकारीकै पुष्टि खोज्न उद्यत भएको हुनुपर्छ ।यसवीच मैले कार्ड खोलिसकेकी थिएँ । कार्डमा वरवधुको नाउँ र उनीहरुका मातापिताको नाउँबाहेकका सामान्य औपचारिकता बाहेक अरु विशेष जानकारी केही थिएन ।‘काँ हुनु र आन्टी, हजुरलाई थाहा छ नि मेरो ममपापालाई त एकदम धनी केटो चाहिने नि ! ममको साथीको एकजना रिलेटिभ लण्डनमा रै‘छ । पन्ध्रदिन अघि ममीको त्यही साथीको घरमा ऋषभलाई र उसको ममीपापालाई नि मैले पनि भेटेको हो । त्यसपछि एकपटक फेरि उनीहरुकै घरमा हाम्रो परिवारै लञ्च पनि गएको हो । ‘मैले ममलाई भने पनि ‘ यो केटो त बोल्दो रैन छ ’,‘ तँजस्तो फतौरी हुन्छन् त इज्जतिला मानिस ! धनी मानिसको चालामाला पनि इज्जतिलो हुन्छ । किन बोलिरहनु प¥यो भन्या !’ ममले मेरो बोल्ती नै बन्द गर्दिस्यो ।’ हाम्रो घरमा पनि उनीहरुलाई डिनरमा बोलाएको हो । तर ऋषभ त त्यति धेरै बोल्दै बोल्दैन । सोधेको प्रश्नको यस, नो भन्छ । त्यति हो । हा..हा..हा.., मलाई पटरपटर गरिरहनु पर्छ, ऊ चाहिँ यस नो मात्र । हा..हा..हा.. !ऊ सधैँ झैँ मसँग टाँस्सिएरै मज्जाले हाँसिरही । म अचम्ममा परिरहेँ ।‘ कति पढेको रे ? हेर्दा कस्ता छन् नि ?’ मैले पनि कुतुहल भएरै सोधेकी थिएँ ।‘ हेर्दा त राम्रो छ आन्टी, कम्प्यूटर इञ्जिनीयर रे । उसको पापाको लण्डनमै ठूलो विजनेस छ रे । उनीहरु उहिल्यै उतैको सिटिजन पनि भइसकेको रे । ‘त्यस्तो धनीको एउटामात्र छोरो, त्यो पनि लण्डनको सिटीजन, केटो पढेलेखेको, ह्याण्डसम छ । ल भन, अब तँलाई के चाहियो ?माग्न आएको यस्तो राम्रो घरमा खुरुक्कन बिहे गर ! तेरै साथीहरु लण्डन जाने भीसाका लागि मरिहत्ते गर्छन् । यस्तो राम्रो केटो भेटे भने कुन केटीले नगर्लान् यस्तासँग बिहे !’ मेरो ममीले भनिस्यो । मलाई पनि ममीको कुरा नै ठीक लाग्यो । बिहे त कसै न कसैसँग गर्नै पर्छ नि आन्टी ! अब आपूmले खोजेको ठीकठीकैको केटोसँग बिहे गरौँ न त भने पनि जिन्दगीभरी पैसा कमाउनकै पछि लाग्दालाग्दै सारा एन्ज्वाई नै मर्ने ! आ बरु पैसावालसँग बिहे गरेपछि ढुक्क ! भोलि यत्तिको केटो अर्को नपाइएला, आ.. बरु बिहे गरिदियो, ममीको कचकच पनि सुन्नु परेन । ममीले भन्याजस्तै विदेश जाने भीसाको चक्करमा पनि पर्नु परेन । आखिर यहाँ सधैँ बस्ने कुरा पनि त भएन नि आन्टी, मेरा धेरैजसो साथीहरु सबै कता कता पुगी सके, मैमात्र सँधै यता के बस्नु त भनिस्योस् न हजुर पनि, मैले ठीक गरिन त आन्टी ?’‘आन्टी, हजुर त मेरो बिहे हुनलागेको सुनेर खुशी पनि भइस्सेन !’ त्यसबेला मेरा अनुहारमा नाचेका विचित्र भाव भेटेरै होला उसले मलाई अप्ठ्योरो प्रश्न गरेकी थिई ।‘तिमीजस्ती पढेलेखेकी, टाठीबाठी केटीले अहिलेको जमाना अनुसार आफैँले रोजेको, सङ्गत गरेको केटोसँग पो बिहे गर्नु पथ्र्यो कि ? अनि तिमीजस्ती मायालू छोरी टाढा जाँदा यो टोलै शुन्य हुने भो नि नानू !’मैले शब्दतः उसलाई जवाफ दिँदा नदिँदै अब ऊ पुरै मसँग लपेसिइसकेकी थिई ।‘आन्टी मेरो सङ्गतीका बरा यहाँका ठिटाहरु रमाइलो गर्ने खालका मात्र हुन् क्या । तिनीहरुसँग न रुप, न रङ, न त धन ! ऋषभजस्तो बिहे नै गर्न लायक मेरा नजिकमा यहाँ कोही छैनन् । हजुरले देखिस्यो भने हजुरले पनि ऋषभमा केही खोट देखिस्सिन्न आन्टी ! ऋषभका अगाडि यहाँका सब खाते छन्, आन्टी खाते ! एउटा कुरा भनौँआन्टी, हाम्रो अक्षुभन्दा पनि पो ह्याण्डसम पो छ त ऋषभ त ! नत्र म पनि त ममलाई प्रेसर गर्थेँ नि ।’ उसले मसँग लपेसिएर खुलेरै भनेकी थिई ।उसका सबै कुरा सुनेर मलाई खुशी पनि लागेको थियो । तर नजिकै भएकी एउटी मायालू केटी, जोसँग यदाकदा मैले पनि मातृत्वभाव पोख्दै आएकी थिएँ,त्यो टाढा हुने भई भन्ने पिरलो पनि मेरा मनमा उम्रेको थियो । आफूसँग टाँस्सिएकी सुनितीको टाउकोमा हात पु¥याएर म यसै सम्वेदनामा गह रसाउन पुगेकी थिएँ । म नबोलेपछि मेरा आँखामा हात पु¥याउँदै मेरो आँसु पुछेको हात आफ्नो ओठमा पु¥याएर उसलेचुमेकी थिई ।‘मेरी प्यारी आन्टी, हजुरका यी अमूल्य आँसु भुईँमा खस्नु हुन्न ।’ हामी दुई भलाकुशारी गरेका बेला भावावेशमा मेरा गह रसाएका बेला प्रायः उ यसरी नै मेरा आँखा पुछेर चुम्दै आफ्नो मायामा मलाई थप भिजाउने गर्थी । उसको यही मायालुपनले मलाई उसँग थप गाँसेर लैजाने गथ्र्यो ।त्यसदिनकार्ड बन्द गरेपछि मनभरि अक्षतले सुनितीका बारे सुनाएका जानकारीहरु हुँडल्दै फेरि सुनितीतिरैलक्षित म उसका कुराले थप हुँडलिएकी थिएँ । तर सुनितीका अनुहारमा त्यसरी उसकी ममीका इच्छाले बिहे गर्नु परेको पीडा भन्दा पनि गतिलै वरसँग बिहे गर्न पाएको गौरवी भाव नै छाएको थियो । त्यसैले यस विषयमा थप चिन्तन गर्न मलाई पनि त्यसबेला उपयुक्त लागेको थिएन । यत्ति चाहिँ हो, मैले आफूले भोगिआएको युगका तुलनामा अहिलेका युगका नारीले पाएको असीमित स्वतन्त्रता बारेका आश्चर्य र रोमाञ्चकता मिस्रित रङ्गीविरङ्गीपूmलहरु मेरा मानसमापनि फुलेका थिए । तर त्यसबेला मेरा लागि अरु सबै कुरा गौण भएका थिए रआफ्नै काखमा हुर्किएकी आफ्नै सन्तान सरहकी सुनितीले जसरी पनि सुख पाओस्, खुशी रहोस् भन्ने मेरो उप्रतिको समग्र कामना प्रवलरहेको थियो ।‘आन्टी, ममीले सपिङ जाने कुरा गरिस्सेको थियो । म त एकै छिनको लागि हजुरकोमाआएकी थिएँ । हजुरसँग भेटेपछि समय बितेको पनि पत्तो हुँदैन मलाई । हजुर म टाढा हुने पीर नगरिस्योस न , हामी सञ्जालमा दिनदिनै भिडीयो च्याट गरौँला । यता भन्दा पनि धेरै भेटिन्छ सञ्जालमा । म पछि हजुरहरुलाई पनि लण्डन बोलाउँछु नि ! पखिस्योस न ! म त हजुरकी छोरी हुँ नि !आज मार्छ ममले, ‘लक्षुमनेले कार्ड पु¥याउँछ, तँ जानु पर्दैन’ ममले भन्या हो, ‘होइन, आन्टीअङ्कललाई म आफ्नै हातले दिन्छु, तुरुन्तै आँउछु भनेको थिएँ । हेरिस्योस् न ममको कत्ति मिसकल !’टेबलमा राखेको साइलेन्ट मोडमा भएको मोबाइल टिपेर हेर्दै जान बेलामा फेरि मसँग लपक्कै टाँस्सिएर मेरा गालामा सुनितीले तातो चुम्वन पस्केकी थिई । मैले पनि उसका निधारमा चुमेकी थिएँ ।कार्ड अनुरुपकै सुनितीको बिहे पनि भव्य रुपले सम्पन्न भएको थियो ।उसको बिहे भएको एक महिना पनि नपुग्दै अचानक उसलाई आज भेट्दा मलाई आश्चर्यजनक खुशी लागेको थियो ।तीनदिन अघि मसँग केही बेर कुरा गरेर, मलाई आन्दोलित पारेर गएकी सुनिती त्यसदिन मध्यान्नमा मेरा घरमा आएकी थिई । त्यसदिन मैले सुनितीको उज्यालो अनुहार धुमधामको कालोवादलले छोपेको देखेँ । उसका चञ्चल मृगनयन सुन्निएका र उदास थिए । आँखा मुन्तिर गहिरो खाडल र कालो छायाँ परिसकेको थियो । एकमहिना अघि मसँग टाँसिएर विदा भएकी सुनिती र आज यहाँ मेरा सामुन्ने भएकी सुनिती एउटै हो भन्न पनि नहुने गरी परिवर्तित थिई ऊ । तीनदिन अघि मैले उसमा देखेको परिवर्तनमा पनि अझै थपिएको अकल्पनीय परिवर्तनले मलाई निकै आश्चर्यमा पार्दै, दुखी समेत पारेको थियो ।म सुनितीलाई लिएर आफ्नो शयनकक्षमै पुगेँ । त्यसो त घरमा यसबेला अरु कोही थिएनन् पनि । अक्षुका बाबा अदालततिर गएका थिए । तर पनि सुनितीसँग म प्रायःजसो शयनकक्ष मै गफिने गरेका कारण पनि हामी उतै पुगेका थियौँ । शयनकक्षको ढोका पनि मैले भित्रबाट बन्द गरेँ । पहिले पहिलेजस्तै सुनिती मेरो विछ्यौनामै ढल्केकी थिई । म तकिया पेटमा अढ्याएर उसको सामुन्नेमा बसेकी थिएँ ।‘आन्टी, मलाई जिन्दगीले नराम्रोसँग ठग्यो ।’ केहीबेर चुपचाप ढल्केकी ऊ यति बोलिसकेर रुन थालेकी थिई । मैले आफ्नो दाहिने हातले उसको गाला थप्थपाएकी थिएँ । उसको अवस्था देखेर नै संवेदना रसाएको मेरो मानस गहबाट बग्न उद्यत थियो । त्यसैले मेरो पनि केही बोल्ने अवस्था थिएन । ऊ केहीबेरसम्म त्यसरी नै रोइरही । म चुपचाप उसका आँसुमा आफ्नो पनि आँसु मिसाउने उपक्रममा मात्र रहेँ ।बाँकी समय मौन बितिरह्यो ।‘ बिहे गरेको तीनदिनपछि ऋषभ र उसको ममपापासँग लण्डनको उनीहरुको घरमा म पुगेकी थिएँ । साँच्चै लण्डनमा उनीहरुको सुन्दर बङ्लो, कार र ठाँटवाट देख्दा म त छक्कै परेकी थिएँ । अझ घरमा काम गर्ने बेलायती न्यानी पनि देखेर म अर्को आश्चर्यमा परेकी थिएँ ।दुई दिन आराम गरेपछि ऋषभको ममले मलाई सपिङ लगिन् र मलाई जेजे चाहियो त्यही त्यही किनिदिइन् । उनले मेरो हरेक सानो सानो कुरा पनि याद गरेको देख्ता मलाई धेरै खुशी र अचम्म पनि लागेको थियो । मेरो आफ्नो ममले पनि मलाई त्यति धेरै खोजि र वास्ता गरेको मलाई थाहा थिएन । सासू भनेको त दुष्ट हुन्छन् भन्ने सुन्दै आएकी मलाई यस्ती माया गर्ने सासू पाएकोमा आफूलाई मैले भाग्यमानी ठानेकी थिएँ । ऋषभका पापा बिहान हामी उठ्नु अघि नै आफ्नो व्यापारमा गइसकेका हुन्थे । उनी बेलुकी निकै अबेरमात्र घर फर्किन्थे । घरमा ऋषभकी मम, ऋषभ र म हुन्थ्यौँ । मम र न्यानी भएर किचन र घरको सारा काम गर्थे । मलाई ममले भरखरै रिलिज भएका हिन्दी फिल्मका क्यासेट दिन्थिन् र हेरेर बस भन्थिन् । ऋषभ त जतिखेर पनि कम्प्यूटरमा हुन्थे । बेलुकी पनि अबेरसम्म उनी कम्प्यूटरमा मात्रै हुन्थे ।म उनीसँग कुरा गर्न चाहान्थेँ । तर उनी मुसुक्क हाँसेर मेरो प्रश्नको यस नो बाहेक कुनै जवाफ दिँदैनथे । पन्ध्रदिनसम्म पनि मैले ती सब कुरालाई सहज रुप मै लिएँ । म पनि लण्डन, नयाँ परिवार, खानपीन, रहनसहन आदिमा परिचित हुने कोशिशमा थिएँ ।म दिनदिनै ऋषभसँग एकान्तमा वातमार्न, रमाइलो गर्न उत्साही हुँदै गएकी थिएँ । तर ऊ भने मसँग एकैनासको व्यवहारमा थियो ।‘ कस्तो केटो होला, चासै छैन’मलाई लाग्न थालेको थियो । नेपालमा मसँग हुरुक्क हुने र मेरो रुप र वैँसको बयान गरेर नथाक्ने मेरा केटासाथीहरु सम्झन्थेँ ।‘यस केटाको अर्को केटी छ भनौँ भने पनि यो कतै गएको पनि देखेको छैन । खाली कम्प्यूटर मै मात्र बसेको देखिन्छ ।’मेरो मनमा खुल्दुली भएको थियो । राति पनि जहिले पनि म सुतेपछि कुन बेला कोठामा आउँछ मलाई थाहै हुँदैन, बिहान निकै बेर सुत्छ । त्यसैले त्यसदिन मैले अठोट गरेँ । यसरी भएन । अब मैले नै खोजि गर्नु पर्ने भो । आज राति ऋषभ नआउञ्जेल म नै पर्खेर बस्नु प¥यो । भरखर बिहे गरेका लोग्ने स्वास्नीको जीवन पनि कहिँ यस्तो हुन्छ र ? साथीहरुले‘हनिमुनमा कता गयौ, कता जान्छौ, ल केटी मोज गर,’ के के लेख्छन् के के ?मलाई भने तिनीहरुलाई केमात्र भनेर जवाफ दिनु पनि भएको थियो ।सासूसँग पनि मलाई झोँक चल्न थालेको थियो । यति धनी मानिसले छोराबुहारीलाई हनिमुन पठाउनु पदैन । कुरै गर्दिनन् । खालि तिमीलाई के चाहिएको छ ? कुन सिनेमा हेछ्यौ ? भन्छिन् । म के यहाँ सिनेमा हेर्न आएकी हुँ र ? अब मैले नै ‘हामीलाई हनिमुन पठाउनुस’ पनि भन्नु भएन । अझ भएन छोरो पनि ममा चासै नराख्ने ! यिनीहरु कस्ता खाले मानिस हुन कुन्नि !ऋषभलाई पर्खिएर बसेका बेला मेरा मनभरि यस्ता कुरा पनि त्यसरात आएका थिए । तर म त्यसरात सबै कुरा बिर्सिएर ऋषभको प्रतिक्षामा थिएँ र त्यसरात ऋषभसँग रमाइलो गरिछोड्ने मनस्थितिमा उत्साह सँगालेर बसेकी थिएँ ।अन्ततः सँधै झैँ रात निकै बितेपछि उनी आएर वासरुम पसे र नाइट गाउन लगाएर फर्के । सधैँजस्तै मेरो अनुहारमा एकपटक हेरेर मुसुक्क हाँसे अनि ठूलो पलङको एकापट्टि लम्पसार परे । मेरो मादक शरीर पट्टि उनले खासै ध्यानै दिएनन् ।‘अब भएन, आज मै पहल गर्छु !’यिनले किन मेरो वेवास्ता गर्छन् । म त भरखरै बिवाह गरेर आएकी स्वास्नी पो हुँ त ! मैले दृढ निश्चय गरिसकेकी थिएँ । ढोकाको साँचो भित्रबाट लगाएँ । वल्भ पहिले नै मधुरो थियो ।उनको छेउ मै गएर टाँस्सिएर सुतेँ र उनलाई अँगालो हालेँ । उनले कुनै प्रतिक्रिया जनाएनन् । आज मैले आफ्नो उद्येश्य पुरा गर्नु नै थियो । त्यसैले मैले उनको सर्टको वटन खोलेँ । नाङ्गो उनको छातीमा एकैरत्ति पनि रौँ थिएन । केटीको गालाजस्तै केटाको चिल्लो छाती देखेर मलाई अचम्म लागेको थियो । मलाई केटाको छातीमा भएको राँैसँग खेल्न असाध्य मन पथ्र्यो । तर मैले त्यसबेला त्यतातिर पनि त्यति ध्यानै दिइन ।उनी निष्क्रिय थिए । मैले नै वाध्य भएर उनको पाइजामा पनि तलतिर सारी दिँदै खोलिदिएँ । उनमा कुनै हलचल थिएन । उनको ओठमा भने यथावत मुस्कान थियो । पाइजामा खोलेपछि मेरा दृष्टि उनको अण्डरवेयरको अघिल्लो पाटोमा अडियो । त्यहाँ मैले पुरुषहरुको देखिने पुरुषत्वको उँचाई देखिन । त्यतिबेलै अलि अचम्ममा पनि म परेकी थिएँ । त्यसपछि मैले उनको अण्डरवेयर पनि तलतिर तानेँ ।त्यतिबेला भने उनले आफ्नो हातले अण्डरवेयरलाई माथितिर तानेर सामान्य विरोध जनाउन खोजेका थिए । त्यसबेला उनको विरोधको मलाई कुनै अर्थ थिएन । म उत्तेजनाको प्रखरावस्थामा पुगिसकेकी थिएँ । तर उनको अनुहारमा यथावत मुस्कान बाहेक अरु कुनै प्रतिक्रिया थिएन ।क्रमशः
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७ २२:२३