काठमाडौं । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको समूहले उपत्यकाकेन्द्रित आन्दोलनमा जोड दिने भएको छ । संसद् पुन:स्थापनाका लागि व्यापक जनदबाब सिर्जना गर्न आन्दोलन चर्काउनुपर्ने निष्कर्ष नेकपाले निकालेको छ । नेकपाले ९ माघमा काठमाडौंमा बृहत् जनप्रदर्शन र सभा आयोजना गर्ने कार्यक्रम तय गरिसकेको छ । संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसका विरुद्ध राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा उत्रने घोषणा गरेको प्रचण्ड–नेपाल समूहले दबाब सिर्जनाका लागि उपत्यकाकेन्द्रित संघर्षमा जोड दिएको हो ।संसद् विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतमा आइतबारदेखि नियमित सुनुवाइ सुरु भएकै वेला सशक्त आन्दोलन अघि बढाउने शंखघोष गरिएकाे छ । पूर्वन्यायाधीश र नागरिक समाजकै अगुवाले समेत सडकबाट ‘कोर्स करेक्सन’ का लागि दबाब दिन सकिने अभिव्यक्ति दिँँदै आएका बेला नेकपाले राजधानी केन्द्रित संघर्षका कार्यक्रमलाई जोड दिएको हो ।केन्द्रीय संघर्ष समितिको पछिल्लो बैठकले ‘प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि’ ९ माघमा मुलुकको संघीय राजधानी काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिनुभयो । विरोध प्रदर्शनको तयारीकै सिलसिलामा ७ माघमा भृकुटीमण्डपबाट उपत्यकाव्यापी मोटरसाइकल र्याली आयोजना गर्ने नेकपाको तयारी छ ।उपत्यकाका विभिन्न स्थानबाट जुलुससहित अपराह्न १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गरिने पनि भट्टराईले बताउनुभयो । विरोध प्रदर्शनमा व्यापक जनसहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ-संगठन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा संघर्ष समितिका तर्फबाट अपिलसमेत गरिएको छ ।९ माघको कार्यक्रमलाई प्रभावकारी बनाउन नेकपाले राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि ४, ५ र ६ मााघमा प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देजन पनि गरेको छ । संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले ९ माघको विरोध सभाकै लागि ६, ७ र ८ माघमा पर्चा वितरण, कोणसभा, माइकिङ, सांस्कृतिक प्रचार सभासहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी र जनसंगठनहरूलाई निर्देशन गरिएको जानकारी दिनुभयो ।आइतबार नेकपाको प्रभावशाली जनवर्गीय संगठन अनेरास्ववियूले आयोजना गरेको उपत्यकास्तरिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलन चर्काउन अनेरास्ववियूलाई निर्देशन दिनुभएको छ । पार्टीले राजधानीकेन्द्रित आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेकोले त्यसमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ छ ।भेलामा प्रचण्डले भन्नुभयो, ‘हाम्रो आन्दोलन अब अलिकति आवेगमय हुनुपर्यो, अलिकति जुझारु हुनुपर्यो, अलि आक्रामक हुनुपर्यो । त्यो भिजिटारिएनजस्तो हुनुभएन, अलि आक्रामक सिंह गर्जिएजस्तो हुनुप-यो । त्यसबाट प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्यो । यस्तो आन्दोलन चाहिएको छ,’ अनेरास्ववियुको उपत्यकास्तरीय भेलामा आइतबार प्रचण्डले भने, ‘मैले अहिले युवाहरूलाई पनि भनेँ– तपाईंहरू आक्रामक ढंगले आउन जरुरी छ । तर, त्यसो भनेर हामी बुढाहरू बुढा भएका छैनौँ, अग्रपंक्तिमा हामी नै हुन्छौँ र हिजो गिरिजाबाबु अथवा माधव, झलनाथजीले लाठी खाएजस्तो मलाई किन हो खै टाउको चिलाएको छ, लाठी खान मन छ योपटक । लाठी हानेको हेर्न मन लागेको छ ।’९ माघको विरोधसभाका लागि नेकपाका सबै जनवर्गीय संगठनले आ आफ्ना भेला बैठक तथा प्रशिक्षण आयोजना गरेका छन् । अनेरास्ववियू, राष्ट्रिय युवा संघ र अनेमसंघ लगायतका जनसंगठनले स्वयंसेवकको भूमिका निर्वाह गर्ने र प्रेस संगठन नेपालले प्रचारप्रसारमाविशेष जोड दिने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७ १३:४७