-धुव्रचन्द्र गौतम
माथ्लो तलाकी एउटी केटी एक्कासी नजर निहुराएर र बाँकी भाग उचालेर हिँड्न थालेकी थिई । त्यसले दायाँ –बाँयाबाट हेर्ने जसरी र जस्तो अभ्यास गरेकी थिई त्यसलाई कविहरू प्राचीनकालमा नै धनुष–वाणको उपमा दिन बाध्य भएका थिए । स्पष्ट छ, जसको उपनाम नै मुटु हुन्छ, त्यो त्यस बाणबाट बढी बिध्द हुन बाध्य हुन्छ । त यो हाम्रो विनयकुमारको ध्यान यसैले भङ्क गरिरहेको थियो । ऊ अध्यात्मिक विषयबाट, क्रमशः के दौडादौड गरेर प्रेम र ह्दयहीनता विषयतिर लम्केको थियो । उसलाई लाग्यो आध्यात्मिक विषयका लागि अहिले उसको उमेर पुगेको छैन । प्रेम कवितामा ऊ बढी सशक्त किसिमले आफ्नो जीवनका ऐयाआत्थुहरू पोख्न सक्छ ।
तीन वर्ष अगिसम्म केटी र ऊ निक्कै कुराकानी गर्ने गर्थे । त्यसपछि ऊ कतै मामाघर गएकी थिई । अब फर्केकी थी, कुमारी ज्योति अधिकारी बनेर, क्याम्पस पढ्न । केटी जस्तरी फस्टाएकी थिई त्यसले भन्न सकिन्थ्यो, किशोरावस्था छुनासाथ त्यो ओभरटाइम गरेर यौवनको खुड्किला उक्लिन थाली । फलतः षोडषी भएतापनि उसमा कुनै किसिमको कोपिला–ग्रन्थि थिएन, मस्तिष्क एउटालाई छोडेर । बुद्धिमा त्यसलाई खास रूचि थिएन र बुद्धिको मेकअप पनि हुन सक्तैनथ्यो, त्यसकारण त्यसले खुल्ला छाडिदिएकी थिई । त्यसकारण उसको बुद्धि, त्यो जति पनि हुँदो हो । कतै कुनामा टुक्रुक्क बसेर सधैं उम्कने तयारीमा हुन्थ्यो । त्यसकारण ज्योतिलाई धेरै वस्तुहरू एकपटक सहृमाल्न परिरहेको थियो र गाह्रो परिरहेको थियो । तर त्यसका दिदीहरू, जसको पूर्ण संख्या दुई थियो, यस परिस्थितिलाई अझै अगिदेखि झेलिरहेकाले, त्यसलाई एक्लोपन भने महसूस हुँदैन थियो ।
विवाह तीनैको भएको थिएन । यौवन तीनैको कायम थियो । तीनैमाथि पृथकपृथक ज्यान तेज्नेहरूको संख्या बाँडिएको थियो र निरन्तर वृद्धिमा थियो । लाग्दथ्यो, सारा टोल तीन भागमा बाँडिएको छ, अर्थात् तीन दिदी बहिनीमा बाँडिएको छ । मूर्ख नै होलान् जो त्यस घरको कुनै अन्य परिवार तिर आँखा डुलाउलान् जब कि त्यहाँ बसीबसी एकै ठाउँमा तीन बगैंचा भेटिन्थ्यो । तर यसरी मूर्ख भन्दाभन्दै पनि, केही मूर्ख भेटिन्थे अवश्य, जसबाट प्रमाणित हुन्थ्यो, यो संसारमा मूर्खहरूको अभाव कहिल्यै रहेन । अब पनि छैन । विनय स्वयंलाई पनि यिनै मूर्खहरूको लाममा राख्न रुचाउँथ्यो । यसबाट उसलाई तत्काल फाइदा के थियो भने, ऊ विधिपूर्वक दुई–चार अरु केटीको नाउँमा समेत उच्छ्वास झिकेर काव्य–रचना गर्न सक्थ्यो । र, त्यो उसले गरेको पनि थियो । बरु अत्याधिक सृजनशीलताले गर्दा जसलाई यो हेक्का भने थिएन, कुनचाहिं कविताकी वास्तविक नायिका को थिई ? तर अहिले त पटनायिका ज्योति नै थिई, कुमारी ज्योति अधिकारी, जसको नङ पनि उसले देख्यो भने, १२ः१४ घण्टा आरामले छट्पट गर्दै ध्यानमग्न रहन्थ्यो ।
केटीको बाबुलाई अनुशासन र प्रकाश दुवै प्रिय थिए । त्यसकारण, उसले आफ्ना छोरीहरूको नाउँ राखेको थियो, ज्योति, रश्मी र किरण । अनुशासनका लागि घरमा साइलेन्सर त लगाउन सक्तैन थियो । तैपनि छोरीहरूले बाबुको रूचि थाहा पाएर कदर गर्न सिकिसकेका थिए । तिनीहरू बडो निर्धो आवाजमा, अमिताभ बच्चनलाई सम्झेर आँसु बगाउने गर्थे र लुकेर भिडियो हेर्न जान्थे र आफ्नो चित्त शान्त पार्थे ।
तिनको बाबु केही दिनदेखि घरमा थिएन, त्यसकारण केही उच्छृत्रलता घरमा भित्रियो भने पनि हानि छैन भन्ने विचार तिनीहरूले राखेका थिए । आमालाई तिनीहरूले बाल्यकालदेखि नै नटेर्ने चलन थियो । तिनीहरू त्यो घर र टोल र क्याम्पसका केटाहरूलाई कुनै न कुनै फिल्मी नायकसँग दाँजेर हेर्थे र अलिकति पनि समानता भेट्टाए भने आफ्नो आविष्कारमा धेरै खुशी हुने गर्दथे । बाबु राम्रो र इज्जतदार नोकरी गथ्र्यो, त्यसकारण लक्ष्मी केवल महीना महीना तलबजस्तो अनुहारका साथ आएर थामिन्न थिइन् । त्यसै कारण घरमा पनि सबको अनुहारमा प्याट्रोमेक्सको चहक हुने गथ्र्यो । त्यो त ऊ यो डेरा तीन कारणले छोड्दैनथ्यो ।
–डेरा सस्तो थियो ।
–डेरा लच्छिनको थियो । हुन सक्छ आफ्नो घर बनाउनासाथ लच्छिन भत्किन थालोस् ।
–मान्छेलाई आँखी हुन सक्छ र जमाना सारै खराब छ र असहनशील छ, अर्काको देख्न सक्दैन, इत्यादि । त्यसकारण, उसका छोरीहरू थोरबहुत साज–सस्जा गरेर आफ्नो पिताको वैभवलाई सन्तुलित गर्ने गर्थे । अनि उता पिता, विपुल कंजूसीले गर्दा सकेसम्म गरीबीमा दिन बिताउन बाध्य गथ्र्यो ।