काठमाडौं । बुधवार जनतासमाचार डट्कम मा थप १२५ जनामा कोरोना संक्रमण, मृतक संख्या शून्य, भारतीय गृहमन्त्री शाहको अभिव्यक्तिप्रति नेकपा आन्दोलनरत पक्षको गम्भीर आपत्ति, शान्तिबाटिकामा प्रतिगमनविरुद्ध एकोहोरो शंखनाद (फोटोफिचर), भारतमा स्वतन्त्र भएपछि पहिलोपटक महिलालाई फाँसी र एमिकस क्युरीका खरेल र मैनालीको बहसपछि सकियो आजको सुनुवाइ लगायतका मुख्यमुख्य शीर्षकमा समाचार प्रकाशित गरिए।बिहीवार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमले देशमा राजनीतिक संकट गहिरिएको भन्दै असन्तुष्टि जनाएको विषयसहित सर्वोच्च अदालतमा जारी एमिकस क्युरीका दुई वरिष्ठ अधिवक्ताको दुईथरी मत, ५ विकल्पमा छलफल गर्दै निर्वाचन आयोग र प्रहरीले सार्वजनिक गर्यो भागरथी हत्याका आरोपित लगायतका शीर्षकमा प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमले देशमा राजनीतिक संकट गहिरिएको भन्दै असन्तुष्टि जनाएको विषयलाई प्राथमिकताका साथ छापिएको छ । ५ पुसमा संसद् विघटनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बुधबार उपराष्ट्रपति पुनले प्रधानमन्त्री ओलीको कदमप्रति असन्तुष्टि जनाउनुभएको हो । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशन उद्घाटनका क्रममा उपराष्ट्रपति पुनले संसद् विघटनपछि जनतामा निराशा र आक्रोश छाइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि मौन रहँदै आएका उपराष्ट्रपति पुनले दुई महिनापछि त्यसप्रति सार्वजनिक कार्यक्रममा खुलेरै असन्तुष्टि पोख्नुभएको समाचारमा उल्लेख छ ।‘देश अहिले राजनीतिक संकटको भुमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ । यसको विरोध र समर्थनमा प्रदर्शन भइरहेका छन् । नागरिकस्तरबाट गणतन्त्रको प्रस्ताव गर्ने पहिलो संस्था नेपाल पत्रकार महासंघको तर्फबाट तपाईंहरूले प्रतिनिधिसभा विघटन भएकै दिन यसलाई ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानको संवैधानिक व्यवस्थाविरुद्ध’ भन्नुभएको छ । पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू, संविधानविद्हरू, नागरिक समाज, प्रायः राजनीतिक पार्टीहरू, संघसंस्थाहरूका साथै अधिकांश तपाईं पत्रकार मित्रहरूले पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिरहनुभएको छ,’ उपराष्ट्रपति पुनले भन्नुभयो, ‘नेपाली जनता राजनीतिक स्थायित्व, समृद्धि, विकास निर्माण, आर्थिक–सामाजिक जीवनमा परिवर्तनका साथै संविधानको पालन, संरक्षण र संविधानप्रदत्त अधिकार प्रयोग गर्न चाहन्छन् । प्रतिनिधिसभा विघटनपछि गहिरिँदो राजनीतिक संकटबाट जनतामा निराशा र आक्रोश छाएको छ ।’पत्रिकामा जघन्य अपराधमा नाबालक शीर्षकको अर्को समाचारलाई प्रमुख समाचार बनाइएको छ । जसमा अपराधमा संलग्न १८ वर्षमुनिका सात सय ७४ बालबालिका सुधारगृहमा रहेको तथ्यसहितको विश्लेषण गरिएको छ । त्यस्तै, राजधानीमै दलितमाथि विभेद, कानुनमा स्नातक गरिरहेका विद्यार्थीलाई समेत डेरा दिन इन्कार शीर्षकको समाचारलाई विषेश प्राथमिकताका साथ स्थान दिइएको छ ।नागरिक दैनिक मा निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको विषयलाई प्रमुख समाचार बनाइएको छ । प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच देखिएको पार्टी आधिकारिकता विवाद झनै पेचिलो बन्दै गएपछि आयोगले विभिन्न पाँच विकल्पमा छलफल थालेको एक आयुक्तले बताएको समाचारमा लेखिएको छ ।आयोगले अघि सारेका विकल्पहरुमा यसअघि आयोगले नेकपा कानुनी रुपमा एक रहेको निर्णय गरिसकेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार तोकिएको ३० दिनभित्र दुवै पक्षले आधिकारिकता दाबी नगरेकाले त्यसैमा आधारित रहेर निर्णय लिन सकिने, कम्तीमा निर्वाचनसम्म नेकपाको विवाद तामेलीमा राख्न सकिने, नेकपाको नाम र चिह्नमा विवाद देखिएकाले आयोगले दुवैलाई फ्रिज गर्न सक्ने, आधिकारिकता विवादको विषयमा कुनै निर्णय गरी निर्वाचन कार्यक्रममा प्रवेश गर्न सकिने र नेकपाको विवादलाई नयाँ शिराबाट सुरु गर्ने रहेको र जसअनुसार दुवै पक्षले यसअघि गरेका निर्णय एवं गतिविधिलाई पुनः छलफलमा ल्याउने र आधिकारिकता निरुपणको प्रक्रिया सुरु गर्ने रहेको समाचारमा जनाइएको छ । पत्रिकामा संसद पुन:स्थापनाबारे सर्वोच्च अदालतमा भइरहेको बहसबारे एमिकस क्युरी सदस्यबीच राय बाझिएको विषयमा पनि पहिलो पृष्ठमै समाचार छापिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७ १३:१५