काठमाडौं । सायद मुलुकमा कम्युनिष्ट पार्टीले दुई तिहाई नजिकको जनमत प्राप्त गरी सत्ताको साँचो समाउन पुग्दा सबैभन्दा धेरै खुशीयाली महोत्तरीको बर्दिवासस्थित ‘आधारशिला कम्युन’ मा छायो होला । १८ वर्ष अघिदेखि सामूहिकताका रमाइरहेको आधारशिला परिवारले सत्तामा कम्युनिष्ट पार्टीको हस्तक्षेपकारी भूमिका बढेकोले मुलुकभरी समानताको कल्पना गर्नु र आफैमा रमायो होला ।कम्युनिष्टको जगजगी अचानक बढेपछि आधारशिला परिवारले सिंगो देश नै अब सामूहिकताको बाटोमा हिंड्ने, उत्पादनका काममा सामूहिकता बढ्ने, व्यक्तिवादको अन्त्य हुँदै जाने र सर्वस्वीकार्य समान संस्कृतिको विकास हुने कल्पना गर्नु पनि स्वभाविक हुने नै भयो । तर कम्युनिष्ट पार्टीको सरकार निर्माणपछिका राजनीतिक उतारचढावले आम कम्युनिष्ट कार्यकर्ताको अपेक्षाजस्तै आधारशिलाको सपनासँग पार्टी, नेतृत्व र जारी गतिविधिले मेल खानै सकेनन् । बरु आधारशिलाको अपेक्षा विपरित कम्युनिष्टहरु नै क्रान्ति, सिद्धान्त र निष्ठामा दिनहुँ पलायन हुनुका साथै कम्युनिष्ट आचरण, आदर्श, जिवन पद्धति तथा सँस्कृतिबाट च्युत हुँदै जाने क्रमले तिव्रता पायो ।
मुलत: नेकपाको एकतापछि पार्टी कहिल्यै पनि नीति, विधि र पद्धतिमा चल्न खोजेन भने सरकारले कम्युनिष्ट पार्टीका मान्यता भन्दा नवउदारवादी र पुँजीवादी सँस्कृतिको विकासमा अहोरात्र सेवकको भूमिका निर्वाह गरिरह्यो । पार्टी र सरकार दुवै कम्युनिष्ट मार्गदर्शनबाट ‘वाइकट’ भइरहेको र सामूहिकताको अवसान भई व्यक्तिवाद हावी भइरहेको तथ्य अस्वीकार गर्न खोज्दा-खोज्दै पनि अन्तत: विभाजनको सत्य आधारशिला कम्युनका लागि पनि विवशता बन्न पुग्यो ।
छैन विचलनको प्रभाव, आफ्नै दृढतामा व्यस्तअधिकांश विश्लेषक, राजनीतिकर्मी तथा आम सर्वसाधारणले समेत आजको समयमा पनि कम्युनिष्ट पार्टीले आफ्नो आदर्शमा दृढता प्रदर्शन गर्न नसकेको भन्दै निराशा प्रकट गरिरहे पनि आधारशिला कम्युनलाई भने यसको खासै प्रवाह भएन । बरु स्थापनाकालिन आफ्ना उद्देश्यहरुमा यसका प्रतिबद्ध अभ्यास हेर्ने हो भने जो कोहीलाई ‘असम्भव रहेनछ’ भन्दै ‘कन्भिस’ गरिरहेको छ, यो कम्युनिष्ट कम्युनले ।
व्यक्तिवाद, स्वार्थ, जातिय विभेद तथा आत्मकेन्द्रीत चिन्तनलाई चटक्कै बिर्सेर नितान्त समूहमा कार्य गर्नु नै ‘कम्युन अभ्यास’ हो । यसरी आधारशिला कम्युनले जारी राखेको सामूहकिता र सहकार्यले मुलुकमा उत्पन्न उतारचढावलाई नियालेको त छ, तर प्रभावमा नपरी आफ्नो लय बिर्सेको छैन ।
बर्दिबास नगरपालिका वडानम्बर ३ मा सञ्चालित कम्युनको आफ्नै लय छ । यहाँ सामूहिक बसोबास गर्दै आइरहेका १४ परिवारले आफूहरुको खानपानदेखि खर्च व्यवस्थापन सामूहिक रुपमा गर्दै आइरहेका छन् । विभिन्न जात र समूदायका मानिसहरुको बसाइँ संयुक्त परिवारजस्तै देखिन्छ । कम्युनमा बसेर नजिकैको पब्लिक विद्यालयमा पढिरहेका विद्यार्थी पनि यहाँ रहँदा एक्लोपनको कुनै महशुस नहुने र सामूहिक क्रियाकलापमा रमाइरहेको बताउँछन् ।आधारशिलामा कम्युनमा देखिने हिमालदेखि तराईका ब्राह्मण, क्षेत्री, तामाङ, मधेशी तथा थारु थरका मानिसको सामूहिक बसोबासबाट जातिय असमानतामाथि कम्युनले हासिल गर्न खोजिरहेको विजय र दिन खोजिरहेको समानताको सन्देश पनि कम अर्थपूर्ण छैन । कम्युनमा हाल विभिन्न १४ परिवारका ४५ जनाको सामूहिक बसोबास छ ।वास्तवमा कम्युन एउटा अभ्यास हो र जहाँ सामूहिकता र समान अवधारणालाई व्यवहारमा लागू गरिएको हुन्छ, भन्ने कुराको उदाहरण बनिरहेको छ, आधारशिला । व्यक्तिवाद, स्वार्थ, जातिय विभेद तथा आत्मकेन्द्रित चिन्तनलाई चटक्कै बिर्सेर नितान्त समूहमा कार्य गर्नु नै ‘कम्युन अभ्यास’ हो । यसरी आधारशिला कम्युनले जारी राखेको सामूहकिता र सहकार्यले मुलुकमा उत्पन्न उतारचढावलाई नियालेको त छ, तर प्रभावमा नपरी आफ्नो लय बिर्सेको छैन ।
सामूहिक श्रम, उत्पादन र प्रविधिको प्रयोगमा आधारशिलासमुहको बसाइँ, खानपान र खर्चको व्यवस्थापन जस्ता सामूहिक अभ्यासका क्रममा साम्यवादी विचारधारामा उल्लेख गरिएजस्तै आधारशिलाले आजको समयका उत्पादनका नयाँ शक्तिहरू विज्ञान र प्रविधिलाई पनि आत्मसात गरिरहेको छ । यसले आफ्ना लागि आफैँले निर्धारण गरेर लागू गर्ने सहभागितामुलक स्वामित्व बढाउने मामिलामा विशेष जोड नै दिएको देखिन्छ ।आम जनतासँग जोडिन रेडियो खोलिएको छ । जसको नाम रेडियो दर्पण राखिएको छ । आर्थिक क्रियाकलापका लागि समूदायमा आधारित सहकारी सञ्चालनमा छ । त्यस्तै अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान बनाइएको छ । यहाँ रहेका परिवार व्यवस्थापनका लागि जागिरमा संलग्न यहीँका सदस्यले निश्चित प्रतिशत दिनुपर्ने नियम बनाइएको छ । कम्युनमा आवश्यक खाद्यान्नको लागि विभिन्न स्थानमा गरी ३ बिघा जमिन भाडामा लिएर सामूहिक खेती गरिएको छ ।
कम्युनका संस्थापक अध्यक्षसमेत रहनुभएका पूर्व मन्त्री गिरिराजमणी पोख्रेलका अनुसार आर्थिक व्यवस्थापनकै लागि कम्युटर सेन्टर खोलिएको छ भने मसला उद्योग पनि सञ्चालनमा छ । कम्युनलाई थप व्यवस्थित गर्न यो पटक मनाइएको १८ औं स्थापना दिवशमा अध्ययनका लागि लाइब्रेरी र एक वेभसाइटको पनि उद्घाटन गरिएको छ । आगामी दिनमा उत्पादन कार्यमा अझै विशेष जोड दिने नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका कम्युनका अध्यक्ष दिप बहादुर योञ्जनको भनाइ छ ।
कसरी भयो आधारशिलाको स्थापना ?नेकपाका नेतासमेत समेत रहनुभएका पूर्व शिक्षामन्त्री गिरीराजमणी पोख्रेल कम्युन स्थापनाको उद्धेश्यमाथि प्रकाश पार्दै भन्नुहुन्छ, ‘भुमिगत कालमा पूर्णकालिन कार्यकर्ताका बालबच्चाको व्यवस्थापन, राज्यद्वारा मारिएका पार्टी सदस्यका परिवारको हेरचाह तथा अभिभावक नभएकाहरुलाई बैकल्पिक जिन्दगी ज्यून सजिलो बनाउन पार्टीको तत्कालीन महिला संगठनको व्यानरमा संस्था स्थापना गरेका हौं ।’ तर कम्युन खोल्नुको प्रमुख उद्धेश्य सामाजिक जागरण र रुपान्तरणका लागि नै थियो, उहाँले भन्नुभयो ।
'यसलाई हामी कम्युन नै त भन्दैनौं तर कम्युन उन्मुखता भन्छौं । विचारधारात्क रुपमा कम्युनिष्ट पार्टीलाई सहयोग पुर्याउने यसको मुख्य लक्ष्य हो'
कम्युनका वर्तमान अध्यक्ष दिपबहादुर योञ्जनका अनुसार यसरी एउटै छातामुनि एउटै भान्सामा सामूहिक खाना खान २०६० सालको माघ २५ बाट शुरु गरिएको र आज १७ वर्ष नाघेको छ । ‘यहाँ बसोबास गर्ने परिवारको हकमा सामूहिकता र वैयक्तिक स्वतन्त्रता लागू गरिएको छ । यसलाई हामी कम्युन नै त भन्दैनौं तर कम्युन उन्मुखता भन्छौं । विचारधारात्मक रुपमा कम्युनिष्ट पार्टीलाई सहयोग पुर्याउने कम्युनको मुख्य लक्ष्य हो’ योञ्जनले जनतासमाचारसँग भन्नुभयो ।
कम्युनसँग लामो समयदेखि प्रत्यक्ष जोडिँदै यसको विकास तथा विस्तारमा गहिरो चासो राख्दै आउनुभएका नेता गिरिराजमणी पोख्रेलले स्थापनाकालदेखि आजसम्म कम्युनले अरुको सहयोग नलिएको, नलिने र बरु आत्मनिर्भताका लागि नयाँ-नयाँ विकल्प अपनाउने बताउनुभयो । ‘यो आफैमा निश्चित राजनीतिक उद्धेश्यद्वारा स्थापित संस्था हो, त्यसैले कहिल्यै आफ्नो आदर्शबाट टाढा गएर अघि बढ्नेछैन्’ उहाँको भनाइ छ ।
उपभोक्तावाद र पूँजीवादको घेराबन्दीमा ‘आधारशिला’आफ्नो उद्देश्यमा चट्टानका साथ उभिँदै र कम्युनिज्म आदर्श पछ्याउँदै व्यवहारमा अभ्यास जारी राखे पनि आधारशिलाले आजको चरम उपभोक्तावाद र पुँजीवादको नांगो प्रदर्शनसँग वैचारिक र व्यवहारिक लडाइँको सामना गर्नु परिरहेको छ । पूजिँवादी समाज र त्यसको संरचनामा खडा भइरहन वा बाँचिरहनका लागि त्यससँग लड्न तयार रहेको सन्देश त यो कम्युनले दिन्छ, तर यसको संरक्षक मानिने कम्युनिष्ट पार्टी, नेतृत्व र कार्यकर्तामा बढेको पूँजिवादी प्रभावले यसलाई बेलाबखत निराश पनि तुल्याउने गर्छ ।आधारशिलाका संरक्षक तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ विद्यमान समयमा कम्युनिष्ट पार्टीभित्र जनवादको प्रयोग र राज्य सञ्चालनका क्रममा हुने कमजोरी सुधार्न वैचारिक र सांस्कृतिक रुपान्तरणको अभियान बढाउनुपर्ने र त्यसका लागि यस्ता कम्युन उन्मुख संस्थाहरु आवश्यक पर्ने बताउनुहुन्छ । कम्युनिष्ट पार्टी वैचारिक समूह हुनुपर्नेमा ट्रेडमार्कजस्तो हुन थालेकोले आजको समयमा कम्युन उन्मुख सामूहिक संस्थाको आवश्यकता झन बढिरहेको उहाँको भनाइ छ ।आधारशिला कम्युन आफूलाई वास्तविक कम्युनिष्ट बनाउने प्रक्रिया अन्तर्गत गरिएको एक प्रयत्न भएकोे उल्लेख गर्नुहुँदै नेता श्रेष्ठ कम्युनको सदस्य बन्न चाहने जोकोहीले केही खास मान्यता पूरा गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार व्यक्तिमा क्रान्ति र सिद्धान्त निष्ठता यसको सदस्य बन्न चाहनेका लागि पहिलो शर्त हो । त्यस्तै, कम्युनिष्ट आन्दोलनको सक्रिय सदस्य मात्रै कम्युनको सदस्य बन्न सक्छ । भौतिक सम्पत्ति सामूहिकतामा बदलेको व्यक्ति मात्रै कम्युनको सदस्य बन्न योग्य हुन्छ । आर्थिक उत्पादनका लागि श्रम गर्न तयार मानिसहरु मात्रै कम्युनमा बस्न सक्छन् ।अझ सबैभन्दा महत्वपूर्ण विषय त आफ्नो जीवन, आचरण र संस्कृति कम्युनिष्ट आदर्शसँग जोड्नसक्ने मानिस मात्रै कम्युनको सदस्य बन्न सक्छन् । तर आजको पूँजीवाद र नवउदारवादले गिँजोलेको समाजमा यस्तो त्याग, समर्पण, निष्ठा र आदर्श विरलै भेटिने अवस्था छ ।
क्रान्ति र सिद्धान्त निष्ठता यसको सदस्य बन्न चाहनेका लागि पहिलो शर्त हो । त्यस्तै, कम्युनिष्ट आन्दोलनको सक्रिय सदस्य मात्रै कम्युनको सदस्य बन्न सक्छ । भौतिक सम्पत्ति सामूहिकतामा बदलेको व्यक्ति मात्रै कम्युनको सदस्य बन्न योग्य हुन्छ । आर्थिक उत्पादनका लागि श्रम गर्न तयार मानिसहरु मात्रै कम्युनमा बस्न सक्छन् ।