गीता ज्ञवालीम र मेरी साथी सम्झना, हामी दुई बाल्यकाल देखिका असाध्य मिल्ने साथी ! बेलाबेलामा झगडा गर्ने, अनि एकछिन भेट्न नपाउँदा अत्तालिंदै एक अर्काको घर दौडिने र बाटोमा भेटेर खुसीले रमाउने हाम्रो दैनिकी । घाँस काट्न जाँदा होस् वा स्कुल जाँदा, हामी सधैंसँगै जान्थ्यौं र खाजा पनि सँगै खान्थ्यौं । ऊ र म अलग हुनुपर्ने रात किन आउँछ जस्तो लाग्थ्यो मलाई । उसलाई पनि त्यस्तै हुन्थ्यो । हामी क्रमशः ठुला हुँदै गयौं अनि पढ्दै र बढ्दै गयौं । हामी दुवैलाई यो संसार हाम्रो मात्र हो, जस्तो लाग्थ्यो, मानौं कि यो दुनियाँमा ऊ र म बाहेक कोही छैन र हुन सम्भव पनि छैन । हामीसँगै हिंड्दा कसैलाई गन्दैनथ्यौं र वरिपरि को छ भनेर पनि याद गर्दैनथ्यौं । अचम्मको र छुट्टै संसारमा रमे जस्तो लाग्थ्यो हामीलाई । हाम्रो गाउँ पनि छिमेकी गाउँ, हाम्रा आमाहरु पनि दमाली । सँगै बसेर उहाँहरुले गर्ने कुराको विषय भनेकै हामी हुन्थ्यौं । “यी केटीहरु यति मिल्छन् यिनीहरुको भाग्य कस्तो होला ? कहाँ र कस्तालाई पर्लान् ? पछि भेट्न पाउलान् कि नपाउलान् !” यस्तै यस्तै ....।एस.एल.सी.को परिक्षाको नतिजा प्रकाशित हुने दिन थियो । दुवै जना निकै उत्सुक र कौतुहलताले भरिएर अलि अत्तालिएझै भएका थियौं । कतिखेर कस्तो नतिजा आउँछ भन्ने कुरामा मात्र हाम्रो मन केन्द्रित थियो र हामी खाना पनि आज मेरै घरमा खाँदै रेडियोले कतिखेर नतिजा घोषणा गर्छ भनेर रेडियो अगाडि राखेर सुनिरहेका थियौं । मन हड्बडाइरहेको थियो । हुन त पास हुने कुरामा हामी ढुक्क थियौं किन कि हामी दुई नै कक्षाका प्रथम र द्वितीय छात्रा थियौं तर कुन श्रेणीमा पास भईएला भन्ने कौतुहलता भने तिब्र थियो । सम्झना सधैं प्रथम हुँन्थी र म द्वितीय । अन्ततः प्रतिक्षाको घडि सकियो । नतिजा प्रकाशित भयो ऊ प्रथम श्रेणीमा ७४ प्रतिशत अंक ल्याएर उत्तिर्ण भई भने म चाहिँ ६१ प्रतिशत मात्र । अनि उसले मलाई सधैं पढ्ने बेला गाली गर्दै पढाउँथी । म अलि पढ्न अल्छी गर्थें । परीक्षाका बेला हामी कहिले मेरै त कहिले उसैको घरमा सँगै बसेर पढेका थियौं । उसले राती नसुती पढ्थी र मलाई पनि पढ्न कर गर्थी । म भने ह्या भनेर झन मुख ढाकेर सुतीहाल्थें । उसलाई मेरो यो बानी पटक्कै मन पर्दैनथ्यो, अनि भन्ने गर्थी ! –“ए केटी तँ एस्ती अल्छी छेस् तेरो पोई कस्तो पर्ने हो, घरबाट खेद्ला बानी आजै सुधार है मैले भन्द्याछु ।”तर म केटी मान्छे हुँ मैले विहे गरेर अर्काको घर जानुपर्छ र अर्काको अधिनमा बस्नुपर्छ भन्ने कहिल्यै सोंचिन, घरको काममा केटीले गर्ने काम जस्तै घरसफा गर्ने, आमालाई किचनमा सघाउने, बुनतुन गर्ने जस्ता काम मलाई सधैं भिंmजो लाग्थ्यो, बरु बारीको काम, खेतीपातीको काम, गाईभैंसी चराउने काम, खनखोरस्को काम, हिंड्डुलको काम, बाहिरफेरको काम, बजार एवं खरिदबिक्रीको काम जस्ताकुरामा मात्र ध्यान जान्थ्यो । म आफूलाई घरको मुली ठान्थें र बाबालाई पनि खर्च जुटाउने कुरामा ढाडस् दिन पुग्थें । तर आमा भने मेरो यस्तो कुरामा सधैं चिन्तित हुनुहुन्थ्यों र भन्नुहुन्थ्यो “यो केटी घरको काम जस्तै बत्ती कात्ने, टपरी खुट्ने, खाना बनाउने कुरामा मनै दिन्न पछि कसरी घर गरेर खाली छोरी भएर छोराको जस्तो बानी छ यसको, कसरी सुधारुँ यसलाई प्रभो ?” भनेर मेरै मात्र चिन्ता लिईरहनुहुन्थ्यो । बाबाले भने मेरो यस्तो कुरामा खासै ध्यान दिनु भएको थिएन । मलाई आज पनि संझना छ । मलाई छोटो कपाल मन पथ्र्यो र बढेर लामो भएको कपाल घरमा कोही नभएको बेला मैले आफै कैंचीले काट्दा बाबाले साह्रै मन दुखाउनु भएको थियो र गाली गर्नुभएको थियो मलाई । बाबालाई छोरीमान्छेले कपाल काट्नु हुन्न भन्ने लाग्थ्यो भने मलाई कपाल पालेको मन पर्दैनथ्यो । मेरो यो सबै व्यवहार आमालाई अस्वभाविक लाग्थ्यो र बेलाबेला सम्झाइरहनुहुन्थ्यो । मैले भने ह्या भनेर सुनेको नसुन्यै गरिदिन्थें ।यत्तिकैमा हाम्रो उच्चशिक्षाको पढाइ शुरु भयो । हामी क्याम्पस भर्ना भयौं, सम्झनाले साइन्स विषय लिएर पढ्ने निधो गरि भने मैले कमर्स विषय छानेँ । मलाई व्यापारव्यवसाय एवं लेखा सम्बन्धी कुरामा मेरो गहिरो रुचि थियो । हेर्दाहेर्दै हाम्रो स्नातकसम्मको अध्ययन सकिन लागेको थियो । क्याम्पसमा पढ्न शुरु भएदेखि कति धेरै नयाँ साथीहरु बनेका थिए र स्कुलकै साथिहरु नै पनि सँगै थिए, त्यसमध्ये केटाकेटी दुवै साथीहरु थिए । सबैसँग हामी दुवैको समान र सन्तुलित व्यवहार थियो । तर सम्झना र म भने अब झन छुट्टिनै नसक्ने गरी नजिकिएका थियौं ।स्नातक तहको अन्तिम परिक्षा दिएर हामी घर आएका थियौं । घरमा धेरैपछि छरछिमेक र दिदीबैनी एवं परिवारसँग रमाउने मौका मिलेको थियो । सबै जना हामी घर आएकोमा खुसी हुनुहुन्थ्यो घरको माहोल नै रमणीय भएको थियो । घरमा दाजुको बिहे आँटिएको रहेछ । हामी सबै बिहेको तयारीमा जुट्यौं । सम्झनाले कुराकुरामा भनी “ए केटी तैंले त केटा हुँ भन्छेस् नि ! लौ ! हामी पनि बिहे गरौं ।” अनि हामी दुवै गलल्ल हाँस्यौं । लौ के भन्छे यो । यस्तो पनि सम्भव छ र ? कुनै केटीले कुनै अर्को केटीसँग बिहे गरेको देखेकी छस् तैंले भन् त ?बिहे जस्तो कुरा पनि जिस्केर हुन्छ र ? मैले के यत्तिमात्र भन्न भ्याएकी थिएँ आमाले उताबाट सोध्नु भयो, कस्को बिहे के भन्छन् यिनीहरु, कुराभन्दा बढी हात चलाऊ, काम गर नचाहिने कुरा गरेर समय नकाट । आमाले यति भन्दाभन्दै हामीहरु आफूलाई जिम्मा दिएको काम तर्फ मोडियौं ।दाजुको बिहेमा धेरै रमाइलो भयो, केही दिनपछि अब कलेज फर्कने दिन आयो । म सम्झनालाई कलेज फर्कने दिन निधो गर्न उसका घरमा पुगें । कलेज हामीलाई अब दुई दिनमा पुग्नु थियो । सम्झनाले “म कलेज जाँदिन, तँ जा” भनेर एक्कासी भक्कानु छोडेर रुन थाली । उसले रुँदै भनी मेरो अब बिहे गर्ने रे । भोलि बिहान मलाई हेर्न केटा आउँदैछ रे ! म अब बिहेको टुङ्गो नलागुञ्जेल कतै नजानु रे केटी हेर् त ! यो सुनेर मेरा पनि आँखा रसाए । हामी दुवै रोयौं एकछिन । त्यसपछि हतार हतार आँसु पुछेर म उठेँ । मलाई एकछिन पनि त्यहाँ बस्न मन लागेन । मनमा अनेक तर्कहरु मडारिन थाले । बाटोभरि म धेरै कुरा सोच्दै सोच्दै आएँ । बेलाबेलामा मुटु भक्कानिएर आउँथ्यो । हामी एक अर्काको पुरक भएका थियौं र त्यस्तै अनुभव गथ्र्यौं । उसको बिहेको लागि केटा हेर्न मात्र आउने कुराले त हामी यत्ति विचलित भएका थियौं । त्यसपछिको घटना हामीले कल्पना गरेको परिस्थितिभन्दा बाहिरको थियो ।नभन्दै भोलिपल्ट केटा हेर्न आयो, राम्रो घराँनाको केटा, पढाइ, पेशा, रुपरंग सबै कुराले सम्झनाका बाबुआमाले उसलाई गुमाउन नहुने ठाने । त्यतिमात्र होइन जेजसरी हुन्छ अब सम्झनाको बिहे उसैसँग गरिदिने पारिवारिक निधो गरे । उताबाट पनि ओ के को जवाफ आएपछि उनीहरु दंग भएर विहेको तयारीमा जुटे । बिहे पाँचदिन पछि हुने निधो भयो । त्यसैदिन दही खुवाएर बिहे पक्का भएको घोषणा गरियो । तर सम्झनाको मुहारमा मुस्कान देख्न सकिएन, मलाई त झन यो बिहे नभए हुन्थ्यो जस्तो लागिरहेको थियो, भने उसले खुलेर प्रतिकृया जनाउने मुडमा नै थिइन । सम्झनालाई आफन्त, परिवार र मान्यजनले सम्झाइरहेका थिए । तर ऊ मौन थिई । अन्ततः आमाबुवाको भावनाको कदरस्वरुप उसले कुरा अस्विकार गर्न सकिन । बिहेको दिन आयो र आफ्नो भाग्यको खेल सम्झेर मौन रहि, बिहे भयो, उसलाई अन्माइयो, अगाडि पञ्चे बाजा, गाडि भरिभराऊ दाइजोको साथमा जन्तिहरु नाच्दै रमाउँदै ...। सम्झना अन्मिएर गई, मलाई उसको बिहेमा रमाउन मन लागेन, मैले छिमेकी घरको कौशीबाट उसलाई हेरिरहेँ । यसरी हेरिरहँदा म कतिखेर बेहोस भएछु मलाई पत्तै भएन । छिमेकी अंकलले मलाई नजिकैको स्वास्थ्य चौकीमा पु¥याउनु भएछ । भोलिपल्ट मात्र मेरो होस् खुलेछ । होस् खुल्दा म अस्पतालमा थिएँ । मेरो गोडामूनि बुबा र सीरानपट्टि आमा बसेर मलाई मसार्दै पिर मानिरहनु भएको थियो । आमा त झन रोइरहनु भएको थियो । यत्तिकैमा डाक्टर आएर बैनीलाई अब घरमा लैजाँदा हुन्छ भनेपछि बुबा निकै खुसी हुनुभएको थियो । हस्पिटलको डिस्चार्ज पेपर बुझिसकेपछि हामी पनि घर तर्फ लाग्यौं । घरपरिवार सबै घरमै हुँदा पनि घर शुन्य थियो । घरका चौकिल्ला रोइरहेको भान हँुन्थ्यो, आँखामा आँशु ओवाउन सकेका थिएनन्, मन निकै खिन्न थियो ।अब साँची नै साथीसँग सदाका लागि टाढिएको महशुस हुन्थ्यो । यस्तो दःुखी बनेको देखेर आमाले निकै सम्झाउनु हुन्थ्यो । सबैले एकदिन अर्काको घरमा जानुपर्छ भन्ने कुराले बेलाबेला झसङ्झसङ् गराइरहन्थ्यो । कहिले मेरो त कहिले उसको पढ्ने कोठामा बसेर कहिले मुरली त कहिले गीतार बजाएर मैले गीत गाउदा ऊ मेरो काखमा निदाउँथी, र भन्थी सधैं भरि यसैगरी तँ र म सँगै बस्न पाए ? हाम्रो छुट्टै संसार बसाउन पाए हुन्थ्यो, अनि मनमनै रिस उठ्थ्यो कि एक पटक पनि बिहे गर्दिन, मन छैन, भन्न सकिन खुरुक्क बिहे गरेर गई मलाई एक्लो पारेर । उसले त मैले जस्तो सोचेकै रहिनछ । म मात्र के सोच्नु भनेर आफूलाई धिक्कार्थें भने उत्तिबेलै होइन यो सबै परिस्थितिको खेल हो भनेर चित्त बुझाउँथँे । यस्ता फरक फरक विचार दिमागमा खेलिरहँदा मन शान्त पार्ने कुनै बाहाना मिलिरहको थिएन । यत्तिकै छिमेकी आन्टी चिच्याउँदै हाम्रो घर आएर भन्नु भयो सम्झनाले आत्महत्या गरिछ । उसको सिरानीमा एउटा चिठी भेटिएको छ रे ! मेरो दिमागले काम गरेन म दौडिंदै अन्टी छेउ पुगेँ । के भएको रहेछ ? अनि आन्टिले बिस्तारमा भन्नु भयो, उसलाई बिहे गर्ने मन थिएन, उसले सपनालाई निकै माया गर्छे रे ! “म सपनाबाहेक अरुसँगको जीवन सोच्न पनि सक्दिनँ, आमाबुबाको कुरा टार्न नसके पनि म अब आफ्नो जिवनलाई यहाँभन्दा लम्ब्याउन सकिनँ, समाज र परिवारले स्वीकार गर्न नसक्ने हाम्रो नाताबाट टाढा रहनु भन्दा जीवन त्याग्नु नै उपयुक्त ठानेर आज यो निर्णय लिन बाध्य भएँ, बुबाआमा मलाई माफ गरिदिनु होला, सपना तैंले यो निर्णयलाई बुझेर माफ गरिदेलिस् भन्ने विश्वासमा छु । सपना मैले तँ विनाको संसार अँध्यारो र अधुरो महशुस गरि यो निर्णय लिन बाध्य भएँ, मलाई माफ गरिदे है !” भन्ने चिठी लेखेर यस्तो गरिछ ।सम्झनाको लाश पोष्टमार्टमको लागि काठमाडौं लगेको छ रे ! भन्ने थाहा पाएपछि म दौडिहालेँ । नाइटको टिकट लिएर काठमाडौंको यात्रा शुरु गरेँ यो कुरा घरमा भन्न भ्याइन, काठमाडौं पुग्दा झुल्मुलो मात्र के भएको थियो । म टिचि∙ हस्पिटल पुग्दा सम्झनालाई ठिक्क बाहिर निकालेको देखेँ, त्यसपछि खुट्टाले टेकेन, जिउले थात छोड्यो, आँखा धमिला भएँ र म थचक्कै बस्न पुगेछु । सबैले मलाई उठाए र मलाई ऊ भए नेर पु¥याइयो, उसलाई हेर्न सक्ने अवस्थामा म थिइनँ, मलाई उठाइयो, उसले चिठीमा आफ्नो अन्तिम इच्छा प्रकट गरे बमोजिम, मेरो हातबाट उसको सिँउदो रंगाउनु पर्ने थियो । मेरो हातको अबिरले उसलाई रंगाइयो र उसलाई घाटतिर लैजाने तयारी गरियो । म विक्षिप्त थिएँ । म कोमामा गएछु । म होस्मा आउँदा महिनौं बितिसकेको थियो र पूर्ण प्यारालाइसिस् भएकोले चेतना भएपनि हातगोडा नचल्ने, बोल्न नसक्ने अवस्थाको भएँ । आज एउटा अपाङ्ग जीवन बिताइरहेको छु । तर सम्झनाप्रतिको प्रेम जीउँदै र सपाङ्ग छ । न जिवनप्रति रसरंग छ । न त परिवारप्रति कुनै चासो न कुनै आफ्नो शारिरीक अवस्थाप्रति चिन्ता । केवल उसैको यादमा दिनहरु काटीरहेको छु । उसैको वियोगका आँशु बग्छन्, उसैसँग हाँसेका र रमाइलो गरेका दिनहरु सम्झेर हाँस्छु । दाँयाबाँया को को छन् ? के भनिरहेका छन् ? केही थाहा हुँदैन मलाई । केवल उसैको गहिरो भावनामा बगिरहेको छु म ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७ १२:०७