सिर्जना गुरागाइँकाठमाडौं । देशमा केही समय अघि आन्दोलनको महोल थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस पाँच गते गर्नुभएको संसद विघटनका विरुद्धमा देशैभर दैनिक विभिन्न आन्दोलनका कार्यक्रमहरु भए । कतिसम्म भने सरकारकै आयोजनामा ठाउँठाउँमा जनसभा गरिए । त्यसो त नेपाली राजनीतिक इतिहासले यी र यस्तै आन्दोलन वा जनसभा थुप्रै पटक देखिसकेका छन् । यस्ता जनआन्दोलन र जनसभाहरुमा प्रमुख आकर्षण हुन्थे प्रगतिशील जनवादी गीतसंगीत । चाहे पञ्चायतविरुद्धको आन्दोलन होस्, चाहे तत्कालीन माओवादी आन्दोलन अथवा २०६२/ ६३ को लोकतान्त्रिक आन्दोलन । हरेक आन्दोलनमा जनवादी गीत संगीत अर्थात जनताका गीतहरुको महत्व विशिष्ट थियो । देशको परिवर्तनमा रजनीतिक दल,तिनका नेता तथा कार्यकर्ताको जति भूमिका रहे राल्फा,इण्द्रेणी सांस्कृतिक समाज,जन सांस्कृतिक केन्द्र,आस्था लगायत रामेश,रायन,मञ्जुल, रामकृष्ण दुवाल, खुसीराम पाख्रिन,जेवी टुहुरे, जीवन शर्मा,माइला लामा र रुविन गन्धर्वहरुको भूमिका अझ बढी रहे भन्दा अतिसयुक्ति नहोला ।नेपाली गीत संगीतको विकास र विस्तारका लागि पनि जनवादी र प्रगतिशील गीत संगीतको योगदान अतुलनीय छ । वि.स.२०६२/०६३ सालको जनआन्दोलनलाई सफलताको शिखरमा पुर्याउने अनेकौं कारण मध्येमा आन्दोलनमा उर्जा प्रदान गर्न जनवादी गीतसंगीतले खेलेको भूमिकालाई हामी कसैले पनि नकार्नसक्दैनौं । ती आन्दोलनहरुमा जनवादी गीत संगीतका सर्जकहरुले सडकमा उत्रिएर गीत संगीत नगुञ्जाएको भए सायदै आन्दोलन ताका त्यतिविघ्न उर्जा आउने थिएन होला ।समाज रुपान्तरणमा जनवादी गीतसंगीत र संगीतकर्मीको योगदान उच्च छ । तर अहिलेसम्म केन्द्रीय नेतृत्वमा उनीहरुले पाएका अवसर न्यून छ । जनवादी गीत संगीत र साहित्यबाट राजनीतिमा उदाएका वर्तमान सरकारका खानेपानी मन्त्री मणि थापा प्रतिनिधि मात्र हुन् ।नेपालमा पटक पटक सामन्ती, निरङकुशतावादी र एकतन्त्रीय शासनव्यवस्थाका मतियारहरु सल्बलाए । तर प्रत्येक पटक जनवादी संगीतकर्मीहरुले तिनका विरुद्ध निशस्त्र युद्ध लडे र जिते पनि ।नेपाली गीत संगीतले रेडियो नेपालको स्थापनापछि गति लिएको इतिहास छ । शुरुवाती समयमा शासकवर्ग र शक्तिको भावना, विचार,मनोदशा र श्रृंगारयुक्त सिर्जनाकै बाहुल्यता हुन्थे । तर जब नेपाली जनतामा पञ्चायत विरोधी भावना सल्बलाउन थाले, त्यहीदेखि जनवादी गीत संगीतले नेपाली समाजलाई तरङ्गीत बनाउन थाल्यो ।नेपाली समाजले भोग्नुपरेका सामन्ती उत्पीडनविरुद्ध एकाध सर्जकले गीतसंगीतलाई माध्यम बनाएर मोर्चाबन्दी कसेपछि मात्रै जनवादी गीतसंगीतले आफ्नो धरातल टेक्न पाएको यथार्थ सबैसामु छर्लङ्ग छ । पञ्चायतदेखि बहुदल हुँदै गणतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्दा पनि जनवादी गीत संगीतले मूलधार समात्न सकेनन् । तर सिंगो नेपाली गीत संगीत जगत्को वृद्धि र विकासका लागि अतुलनीय योगदान भने पक्कै पुर्याएको छ ।नेपालको सामाजिक सांस्कृतिक जागरण र परिवर्तनमा जनवादी गीतसंगीतको भूमिका अतुलनीय रहे पनि केही दशकयता जनवादी प्रगतिशील गीत संगीत फाँटमा छाएको सुस्तता कारुणिक छ । गणतन्त्र ल्याउने बेलासम्म उत्साहित रहेका र जनतामा राजनीतिक चेतनाको आभार ल्याउने सर्जकहरु अचेल जनवादी संगीतको मैदानबाट ओझेलमा पर्नु दुःखदायी पक्ष मात्र होइन, यसले के अब जनवादी र प्रगतिशील संगीतको अन्त्येष्टि गर्न मात्र बाँकी रहेकै हो त ? भन्ने गम्भीर प्रश्नचिन्ह समेत उब्जाएको छ ।जनवादी गीत संगीत क्षेत्रमा तीसको दशकमानै चम्किएका अग्रज पुस्ताबाट अब नयाँ र उर्जावान गीतको अपेक्षा नराख्दानै हुने अवस्था देखिन्छ । मञ्जुल, रायन , रामेश, रामकृष्ण दुवाल, खुसीराम पाख्रिन, जेवी टुहुरे र जीवन शर्मा जस्ता उर्जावान व्यक्तित्वहरुका नयाँ सिर्जना सुन्न छोडेको धेरै भयो ।मणि थापा, विजय सुब्बा,माइला लामाहरु जनवादी संगीत सिर्जनालाई चटक्कै छाडेर राजनीति कर्ममै व्यस्त र मस्त छन् । पछिल्लो समयमा छिटफुट आएका केही जनवादी गीत संगीतले केवल राजनीतिक अभियान र अभियोजनलाई मात्र पछ्याएका छन् ।वि.सं २०३१ सालबाटनै जनवादी गीतसंगीतको क्षेत्रमा क्रियाशील जनवादी गायक तथा संगीतकार माधव प्रधान आफूमा अहिले पहिले जस्तो जोश र उर्जा नरहेको स्वीकार्नुहुन्छ ।पूर्वी नेपालको ताप्लेजुङमा जन्मी, हुर्कनुभएका प्रधानले “फाटेको टोपी पसिना, कति बस्छौ आँसु पिएर” बोलको गीतबाट जनवादी संगीत यात्रा शुरु गर्नुभएको थियो । उहाँको प्रगतिशील जनवादी गीतसंगीतको यात्रा आजसम्म पनि निरन्तर छ । तर जति खुशी र सन्तुष्ट हुनुपथ्र्यो,त्यो भने देखिदैन उहाँको मुहारमा । उहाँ भन्नुहुन्छ “जनवादी गीत संगीतले मूलधार समात्नै सकेन । यसबाट आफ्नो गुजारा चलाउन सक्ने कोही देखिएनन् । जनवादी गीतमा भविष्य नदेखेरनै आज जनवादी गीत संगीतको अवस्था खस्किदै गएको हो ।”प्रधान थप्नुहुन्छ–पछिल्लो समय क्रान्तिका लागि भनेर कुनै जेनेरेशन जन्मिन सकेन, सबै गीत बजारमुखी भए, प्रगतिशील गीत संगीतलाई राज्यले पनि कुनै स्थान दिएन । त्यसैले जनवादी गीतसंगीत ओझेलमा पर्दै गयो ।गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट उठयो देशको मुहार फेर्नलाई उठ२०२३ सालदेखि संगीतकर्मममा लाग्नुभएका जनगायक तथा संगीतकार रामेश श्रेष्ठले २०३१–३२ सालतिर रेकर्ड गराउनुभएको यो गीत नेपाली जनवादी गीत संगीतको सिग्नेचर र कोसेढुँगा हो । अहिले पनि हरेक वामपन्थी कार्यक्रम र जनसभादेखि आन्दोलनका मोर्चाहरुमा यही गीत गुञ्जिन्छन् । श्याम तमोटद्वारा रचना तथा संगीत गरिएको यो गीत एक स्कूलको कार्यक्रमका लागि निर्माण गरिएको थियो । यो गीतको लोकप्रियता कतिसम्म रह्यो भने तामाङ, नेवारी र मैथिली लगायतका भाषामा पनि यो गीत गाइएको छ ।यी र यस्ता थुप्रै जनवादी गीतका गायक तथा संगीतकार रामेश पनि जनवादी गीत संगीतको ओरालो लाग्दो अवस्थाबाट दुखी हुनुहुन्छ ।यही गीतहरु बजाएर,गुञ्जाएर राजनीतिक अभीष्ट पूरा गरेकाहरुले जुन थालमा खाएको हो त्यहि थालमा फोहोर गरेजस्तै जनवादी गीत संगीतलाई अवहेलना गरेको उहाँ दुखेसो पोख्नुहुन्छ । “नेपालको राजनीतिक इतिहासमा जनवादी गीत संगीतको योगदान अतुलनीय रहेको छ । तर जसरी जनतालाई प्रयोग गरेर फालिएको छ, त्यसैगरी गरी प्रगतिशील गीतसंगीतलाई पनि प्रयोग मात्र गरियो ।”प्रगतिशील गीतसंगीत सुन्ने जमानानै हराएको छ । झन् पछिल्लो पुस्ता कतिपयलाई त प्रगतिशील गीतबारे जानकारीसम्म छैन । त्यसैले सिंगो इतिहास निर्माण र परिवर्तन ब्युँत्याउने जनवादी/प्रगतिशील गीतको प्रवर्धन र स्थायित्व हुन आवश्यक रहेको श्रेष्ठको अनुभवले बताउँछ ।सामाजिक विकास तथा प्रगतिशीलताको पूर्ण विराम लाग्नु उन्नति विरोधी हो । पछिल्लो पटक भएका जनसभा,आन्दोलन वा विरोधसभाहरु साक्षी छन् जनवादी गीतसंगीतको महत्व र यसप्रतिको जनमोहमा रत्तिभर कमी आएको छैन । मानव सभ्यता रहेसम्म निरन्तर प्रगतिशीलता आवश्यक देखिन्छ । तर सर्जकहरुमा देखिएको पलायनता भने साँच्चिकै गम्भीर छ ।
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७ ११:५०