दिनेश रावल
दश बज्न दश मिनेट मात्र बाँकी थियो । परीक्षा शुरु हुन पनि दश मिनेट नै बाँकी थियो । म अझै त्रिपुरेश्वरको जाममा थिएँ । यो जाम छिचोलेर कहिले रत्नपार्क पुग्ने ? रत्नपार्कबाट शंकरदेव क्याम्पस (परीक्षा केन्द्र) पुग्न अर्को दश मिनेट लाग्छ ।
आज परीक्षा त जसरी पनि छुट्ने नै भयो । आत्तिएर पिसाब चुहिएला झैँ भइरहेको थियो । पसिनाले शरीर पूरै भिजिसकेको थियो । कहिले घडि, कहिले गाडीको झ्यालबाट बाटो हेर्दै थिएँ । कानैमा एउटा सँधै सुनिरहेको आवाज बज्यो, ‘हजार सपनाको माया लागेर आउँछ.........’ ।
म झसंग भएँ । निन्द्रा छताछुल्ल भयो । मोबाइलमा फोन आइरहेको रहेछ । उनको फोन । साँच्चै जोडले पिसाब लागिरहेको रहेछ । पसिनाले निथ्रुक्क भिजेछु ।
छ्या..कस्तो नराम्रो सपना, ठ्याक्कै भोगिरहेको विपना जस्तै ।
फोन उठाउन खोजेँ । पसिनाले भिजेको हातले फोन टच भएन । फोन कट्यो । एक पटकमै फोन उठेन भने कति रिसाउँछे मोरी । रिसाइहोली । अब दोहोर्याएर गर्न उसको घमण्डले दिँदैन । यस्तै सोच्दै थिएँ । फेरि मोबाइलमा उही आवाज बज्यो ‘हजार सपनाको माया लागेर आउँछ........’ उसैको फोन रहेछ ।
मैले सोचे जति घमण्डी पनि छैन ऊ । एक रिङमै उठाएँ । हेल्लो भन्न नपाउँदै ऊ पड्किन थालि, ‘के हो के पारा ? फोन उठाउन पनि कति गाह्रो ? अहिलेसम्म सुतिरहेका छौ ? म कति काम सकेर अफिस पुग्न लागिसकेँ तिमी भने दश बजेसम्म सुतिराख । के गरिखाने होला यो मान्छेले ।’
ऊ यस्तै हो सँधै कराइरहन्छे तर माया पनि औधि गर्छे । त्यसैले ऊ जति रिसाए पनि म हाँस्दै फकाउँछु, ‘नरिसाउन न प्यारी । म तिमीलाई अफिससम्म छोडिदिन आउँ ?’
ऊ अलि ठुस्किँदै भन्छे, ‘भयो पर्दैन दुःख नगर ।’ उसलाई थाहा छ मसँग उसलाई पुर्याइदिन सवारी साधन छैन । त्यसैले सँधै दुःख नगर म आफैँ जान्छु भन्छे । आज पनि त्यसै भनि ।
‘अरे मैले दुःख गर्ने तिम्रै लागि त हो । कुनै दिन हाम्रो पनि गाडी हुन्छ । म गाडी पार्किङबाट निकालेर हर्न बजाउँदै तिमीलाई पर्खिनेछु । तिमी कति हर्न बजाएको आउँदै त छु भन्दै रिसाउँदै आउँछौ । म तिमीलाई अफिससम्म पुर्याइदिन्छु । साँझ तिमीलाई लिन आउँछु ।’
मेरो कुरा सुनेर ऊ गिज्याएको हाँसो हाँस्छे र भन्छे, ‘धेरै सपना नदेखाउ । चाँडै उठेर समयमै खाना खाउ । म अफिस पुगेँ पछि कुरा गरौँला ।’
ऊ मेरो कुरा पत्याउँदिन । पत्याओस पनि कसरी । अहिलेसम्म बुबाको कमाइ खाएर बसिरहेको छु । यति दुःख गरेर पढाइ सकेँ अहिले भने जस्तो जागिर पाउन यति मुस्किल छ । दुई महिनादेखि सर्टिफिकेट बोकेर हिँडेको हिँड्यै छु । सबैलाई निकाल्दै देखाउँदै गर्दा सर्टिफिकेट मैलिसक्यो । म थाकिसँके । तर जागिर पाइएन । सबैलाई अनुभव चाहिने कसैले जागिर नदिए अनुभव कहाँबाट ल्याउने ? सबैले आफ्नै मान्छे राख्नुपर्ने, आफ्नै मान्छे छनौट गर्नुपर्ने अनि हामी कोही नहुनेले कसरी जागिर गर्ने ? केही दिनअघि अन्तर्वार्ता दिएको एउटा कम्पनीले नतिजा सार्वजनिक गर्यो ।
अन्तर्वार्ता राम्रो भएको थियो । छनौट भइहाल्छु कि भन्ने आशा थियो । तर नतिजा विल्कुलै सोचेभन्दा फरक अयो । नतिजा देखेर अब अरु ठाउँ कोशिस गर्ने जाँगर पनि मर्यो । अन्तर्वार्ताको दिन सयौँ मान्छेमध्ये मेरो छेउमा एउटा मेरै उमेरको केटा पनि थियो । खुब बोलिरहेको थियो । त्यो कम्पनीको ‘डिजिएम’ आफ्नै मामा भएको र आफ्नो जागिर पक्का भएको सुनाउँदै थियो । नभन्दै आजको नतिजामा उसकै नाम पहिलो नम्बरमा रहेछ । मेरो नाम मैले यहाँ पनि भेटिनँ ।
साँझ पर्न लागिसक्यो । मलाई आज खाना पनि खान मन छैन । मन भुलाउन बाहिर निस्कनु पर्यो भनेर नयाँबजारसम्म पुगेको थिएँ । मितकाका भेटिनुभयो । भएभरका गाउँका मान्छे आफन्त कीर्तिपुरमै बसेका छन् । यो कीर्तिपुर पनि आफ्नै गाउँजस्तो लाग्छ मलाई त । बाहिर निस्कियो कि कोही न कोही गाउँले वा आफन्त प्राय भेटिन्छन् ।
मित काकालाई ढोग मात्र गरेको थिएँ सन्चो–बिसन्चोको खबर सोध्नुभन्दा पहिले , ‘के गर्दै छौ बाबु आजभोलि ? जागिर कता गर्न थाल्यौ ? लौ अझै बुबाको कमाइ खाएर बसिरहेको छौ ? यस्तो त भएन है अब त यसो घरतिर पनि हेर्ने बेला भयो बुबाआमा बुढा भए ।’
काकाको प्रश्नको ओइरो लाग्न थाल्यो । यी प्रश्न मेरा लागि नौलो होइनन् । घरबाट आमाबुबा, दिदी, काकाकाकीले फोन गर्दैपिच्छे सोध्ने प्रश्न यी नै हुन् । आफन्त साथीभाइ भेटिँदा गर्ने कुरा यी नै हुन् । हरेक दिन सुन्दा पनि मलाई यी प्रश्न पचाउन निकै मुस्किल लाग्छ ।
मित काकालाई ‘केही गर्दै छु काका हुँदैछ ’भनेर टारिदिएँ र कोठा फर्किँए । अब त कहीँ निस्किन, पारिवारिक कार्यक्रममा जान, साथीभाइ भेट्न पनि डर लाग्छ किनकी मसँग यी काँडा जस्ता मनमै बिज्ने प्रश्नको सामना गर्ने सामथ्र्य नै छैन ।
बुबाको कमाइ खाएर यो उमेरसम्म बस्नु एउटा अपराध नै रहेछ । मलाई अपराधी महसुस हुन थालिसक्यो अब त । यति मेहनत गरेर पढेको छु केही त पक्कै गर्छु भन्ने आत्मविश्वास पनि गुमिसक्यो । साथदिने, हौसला दिने भन्दा ‘तनाव’ दिने मात्र भेट्छु ।
घरबाट आउने फोन उठाउन डर लाग्छ । बुबाले त्यही प्रश्न गर्नुहुन्छ सँधै, ‘जागिर भेटिस केटा ?’ आमा भन्नुहुन्छ, ‘ब्या हर्न माठा भयो । के सुत्तोछै तँ ? ठूलो भै भन्या फलेउटि पाइनिन् हेर लाटा । पढि पनि सकेली अब ब्या हर र नौकरी हर ।’
जिस्किएरै सहि कहिलेकाँही ऊ पनि आफ्नो मनको कुरा पोख्छे, ‘कुन दिन अर्को गतिलो केटो खोजेर पोइला गइदिन्छु अनि थाहा पाउँछौ ।’
सबैलाई आखिर चाहिने धनसम्पत्ति नै रहेछ । धेरै सोचेँ र आफ्नै सिद्धान्त विपरित एउटा निर्णय गरेँ सबैको खुसीका निम्ति । यति बेला अन्य सयौँ युवाहरु झैँ म पनि लैनचौरस्थित राहदानी विभागमा लाइन लागिरहेको छु । पासपोर्ट बनाउन ।