मूल लेखक : लू शुन नेपाली
बुबा एकदमै मुस्किलले मात्र सास फेरिरहनुभएको थियो । यहाँ सम्म कि मैले उहाँको मुटुको धड्कन पनि सुन्न सकिरहेको थिइनँ । अब सायदै कसैले उहाँको मद्दत गर्न सक्छ ।
म पटक–पटक यहि सोचिरहेको थिएँ कि ठिकै छ यसरी नै शान्तिपूर्ण तरिकाले उहाँ परलोक हुनुहोस् । फेरि अचानक मलाई मैले यस्तो सोच्नु हुँदैन भन्ने लाग्यो । मैले यस्तो सोचेर ठूलै अपराध गरे झैँ पनि लाग्यो । फेरि मैले मर्न लागेका आफ्ना बुबाको शान्तिपूर्ण मृत्युको कामना गर्नु कुनै गलत कुरा होइन भन्ने पनि लाग्यो । आज पनि मलाई त्यो कुरा सहि लाग्छ ।
त्यो दिन बिहानै हाम्रो घर नजिकै रहने येन हाम्रो घर आईन् र बुबाको अवस्था देखेर अब हामी केको प्रतीक्षा गरिरहेका छौँ भनेर सोधिन् । अब समय बर्बाद गरेर के फाइदा हुन्छ ? उनको कुरा सुनेर हामीले बुबाको कपडा फेरिदियौँ । त्यसपछि नोट र कायांग शूत्र जलाएर बुबाको आत्माको शान्तिको लागि कामना गर्यौँ । नोट र कायांग शूत्र जलेको खरानीलाई एउटाका कागजमा पोको पारेर उहाँको हातमा राखिदियौँ ।
'उहाँसँग केही कुरा गर, ' श्रीमती येनले भनिन्–तिम्रो बुबाको अन्तिम समय आयो । चाँडै उहाँसँग कुरा गर ।
'बुबा, बुबा,' मैले उहाँलाई बोलाएँ ।
'अलि जोडले बोलाउ । उहाँले तिम्रो कुरा सुनिरहनुभएको छैन । अरे भाइ चाँडो गर । तिमी ठूलो स्वरमा बोल्न सक्दैनौँ कि क्या हो ?'
'बुबा, बुबा' मैले फेरि बोलाएँ । यसपालि अझ बल लगाएर बोलाएँ ।
उहाँको अनुहारमा पहिले जुन शान्ति देखिएको थियो, अब त्यो हराईसकेको थियो । अब फेरि उहाँको अनुहारमा पीडा देखिन थालेको थियो । बेचैनीका साथ उहाँको आँखी भौँ थरथराउन थालेको थियो ।
'उहाँसँग कुरा गर,' श्रीमती येनले फेरि भनिन्–चाँडो गर । अब उहाँसँग समय छैन ।
'बुबा ।' मैले खुब डराएको आवाजमा बोलाएँ ।
'के भयो ? किन कराइरहेका छौ ?' यो उहाँको आवाज थियो । एकदमै सानो र ढिलो आवाजमा बुबाले यति भन्नुभयो । र, उहाँ फेरि छट्पटाउन लाग्नुभयो । उहाँ सास फेर्ने कोशिस गरिरहनुभएको थियो । केही समयपछि फेरि उहाँ पहिले जस्तै शान्त हुनुभयो ।
'बुबा...' यस पटक मैले उहाँलाई बोलाइरहेँ । उहाँले अन्तिम सास लिएसम्म नै मैले बोलाइरहेँ । आफ्नो डर भरिएको काँतर र मार्मिक आवाज आज पनि म उस्तै सुन्छु । जब म आफ्नो त्यो अवाज सुन्छु, तब मलाई लाग्छ की त्यो मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो ।
( लू शुन प्रसिद्ध चिनियाँ लेखक तथा साहित्यकार हुन् । २५ सेप्टेम्बर १८८१ मा जन्मेका लू शून लघुकथा लेखक, सम्पादक, अनुवादक, आलोचक, निबन्धकार र कवि पनि थिए । चिनियाँ साँस्कृतिक क्रान्तिका अगुवामध्ये एक उनको चीनको प्रगतिशील साहित्यमा उच्च स्थान रहेको छ । उनको लेखन विश्व प्रसिद्ध मानिन्छ । लू शुनको निधन १९ अक्टोबर १९३६ मा भयो । )