-दीपक मशाल
यहाँबाट बाहिर निस्किहाल, फटाहा... वर्षाको फोहोर पानीमा भिजेको चप्पल लगाएको कल्लु आफ्नो घरभित्र पसेको देखेपछि शोभा आन्टीले अचानक कालीको रुप धारण गरिन् र उसको कान नजिक एक झापड हानेर घरबाट निकालिदिइन् ।
'रमा तिमीलाई कति पटक भनिसकेँ कि तिम्रा सन्तानलाई यहाँ नलेउ भनेर । सारा घर जंगलजस्तो फोहोर बनाउँछन् ... ' आन्टीले आफ्नो घरमा काम गर्ने दिदीलाई कराइन् ।
‘म त ल्याउँदिन तर यो सानो छोरो मेरो पछिपछि लागिहाल्छ । अबदेखि ल्याउँदिन म्याम् ।’
आँखाभरि आएका आँसुलाई रोक्दै कान छामेर घर बाहिर उभिरहेको छोरोलाई हेर्दै रमाले भनिन् ।
त्यसपछि रमाले चुपचाप पुछ्ने कपडा लिएर कल्लु भित्र पस्दा बनेको खुट्टाको छाप सफा गरिन् । केही समयपछि आन्टीको छोरो प्रसून स्कूल बसबाट ओर्लिएर हिलो पानीमा जुत्ता डुबाउँदै आयो । रुझदै ऊ घरभित्र पसेको देखेपछि आन्टीको मनमा वात्सल्यको सागर फुट्यो ।
‘कति बद्मास भएको मेरो छोरो’ भन्दै आन्टीले छोरोलाई आफ्नो छातिमा टाँसिन् ।
‘सरी मम्मी भुँइमा हिलोको दाग लाग्यो’, प्रसून आफ्नो कोठासम्म हिलो खुट्टा लिएर पुगेपछि भन्यो ।
शोभा आन्टीले प्रसूनको कपडा खोल्दै भनिन्, ‘केही छैन छोरा, दाग त राम्रो छ नि हैन ? काम गर्ने रमा आन्टीले सफा गरिहाल्छिन् नि अब ।’
बाहिर कल्लु आफ्नो फोहोर पानीले भिजेको चप्पल र प्रसुनको जुत्ता मिलाउँदै थियो ।