-मुना चौधरी
भोथालाई थाहा थियो उनले रातभरि उठेर गहौम (गहुँ) खेत पटाएन (पानी) हालेन भने यो पालि गहुँ सप्रिँदैन । पोहोरभन्दा यसपालिको गहुँका बोट ख्याउँटे र पहेंला थिए । पोहोर जस्तो हरिया र हलक्कै बढेका थिएनन् । उनले दिनभरि लगाएर खलियानमा तिलको झाङ्को बोझाहरुलाई लट्ठीले पिट्दै तिल र त्यसका खोस्टा झारिसकेका थिए ।
घाम ढल्किसकेको थियो । उनले हातको परेला बनाउँदै सूर्यतिर हेरे । उनको हातले सूर्यको घाम छेक्यो । सूर्य ढल्किसकेको थियो । उनलाई ज्ञात भयो, साँझ पर्दैछ । बेलुकी गहुँ खेतमा पानी हाल्न जानु छ । उनले झाङ्बाट झारिसकेका तिलका खोस्टाहरु खम्हालभरि फैलाएर सुक्न दिए । भोलिको घाममा दिनभरि सुकाएर खोस्टालाई मुङ्ग्रोले पिट्ने विचार गरे । तिल झार्ने बेलामा निस्केका धुँलाले उनका परेलाहरु पहेँला भइसकेका थिए । उनको नाकभित्र धुँलो छिरेर हाछ्यु आइरहेको थियो । उनले लगाएको धोतीको छेउले नाकको प्वाल पुछ्दै तीन, चार पटक हाछ्यु गरे । खम्हालको छेउमा सिसि गर्दै नाकको सिँगान फाले र अर्को पटक फेरि हाछ्यु गरे । उनले फेरि धोतीको छेउले सिंगान पुछ्दै आँगनतिर लागे ।
आँगनमा एक घाम सुकाएको उसिना धान भोलि अर्को घाम सुकाउनको लागि उनकी स्वास्नी सजनी धान छेउ लगाउँदै थिइन् । उनलाई थाहा थियो भोथा गहुँमा पानी हाल्न खेत जानुपर्ने छ । दिउँसो गहुँमा पानी हाल्ने काम गरेको भए घरमा तिल झार्ने काम बाँकी नै रहन्थ्यो । त्यसैले उनले राति गहुँ खेतमा पानी हाल्ने विचार गरे । सजनीले उनको लागि दिउँसोको भात राखिदिएकी थिइन् ।
उनी कलबाट हात, खुट्टा धोएर आए । सजनीले धान गोनैर (परालको गुन्द्री) ले छोपेर भान्सा घरभित्र छिरिन् । थालमा दिउँसोको भात, नून, प्याजको ढिको र बुकनी (धुलो खुर्सानी) ल्याएर ओसरामा राख्दै भनिन्, बेरहैट (बेलुकीको खाजा) खाएर, गहुँ खेतमा पानी हाल्न जानुस् ।
आँगनमा भएको पिर्का भात भएको थालको छेउमा राख्दै उनले भने, बेरहैट खाएर जान्छु । उनले कलबाट ल्याएको लोटाको पानी छेउमा राखे । पिर्कामा बसे । खाना खान थाले । भात चिसो थियो । उनलाई चिसो नून, भात खानै मन लागेन । उनले सजनीतिर हेर्दै भने, तरकारी छैन ?
उनको कुरा सुनेर सजनीले भनिन्, छैन । सबै सकिसक्यो ।
तरकारी नभएको सुनेर उनलाई रिस उठ्यो । उनी रिसाउँदै सजनीतिर हेर्दै भने, दिनभरि काम गर्ने मान्छेलाई नून, भात खान दिन्छेस् ? घरमा लक्ष्मी छैन । कुलछिनी ।
उनको कुरा सुनेर सजनीलाई पनि रिस उठ्यो । उनले हातमा लिएको कुच्चो आँगनमा फाल्दै भनिन्, खाने मन छैन भने नखानुस् तर मलाई नानाभाँति नभन्नुस् । तरकारी किनेर ल्याइदिनुभाथ्यो र ? तरकारी किनेर नल्याउनेले तरकारी खोज्नु उचित होइन ।
उनलाई दिनभरि त्यत्रो काम गरेर नून, भात खाने मन थिएन । माथिबाट झन् स्वास्नीको खरीखोटी सुनेर उनी दुई गाँस भात खाएर थालमै हात चुठेर उठे । सबै भात खाएनन् ।
स्वास्नीको कुरा सुनेर उनले भने, साला, तँ जस्तो स्वास्नी जसको घरमा हुन्छे, उसको टुप्पी बेचिदिन्छे । भकारीमा धान भए आइमाईले आफूलाई लक्ष्मी ठान्छे । यति भन्दै आँगनको कुनामा भएको कोदालो लिएर उनी आँगनबाट निस्के ।
उनको कुरा सुनेर सजनी उनलाई रिसाउँदै भनिन्, यस्तो भन्ने लोग्नेलाई त कुच्चोले हान्नुपर्ने ।
उनको कुरा सुनेर भोथाले भने, कोदालोले काट्छु तँलाई । यति भनेर उनी खम्हालतिर निस्किसकेका थिए ।
उनी खम्हाल गइसकेपछि सजनीले सुन्ने गरी जोरले भनिन्, दुई सय रुपियाँ दिएर जानुस् । घुरना माग्न आएको थियो । सजनीको कुरा सुनेर उनले खलियानबाटै जवाफ फर्काए, म कुन बाउको घरबाट पैसा दिऊँ तँलाई, हँ ? दे या न दे । घुरनालाई भन्दे, तिल बेचेपछि पैसा दिन्छु ।
आँगनमा फालिएको कुँचो समात्दै सजनी निरास भइन् । दुई महिना अगाडि गोरु बिरामी पर्दा गाउँकै भेटनरी डाक्टर घुरनले गोरुलाई सुई लगाएर उपचार गरेका थिए । त्यही पैसा अझसम्म तिरेका थिएनन् । धेरैपटक उनी पैसा माग्न आइसकेका थिए तर पैसा नभएर भोथा आलटाल गरेर बसेका थिए । माघी आउँदै थियो । माघीमा तिलको लड्डु बनाउन तिल राम्ररी बिक्री हुन्थ्यो । माघीमा तिल बेचेर घुरनको पैसा तिर्ने विचार उनले गरेका थिए । तिल सिमित थियो तर भोथा र सजनीका सपनाहरु असिमित । सजनीले जाडोको लागि सिरक सिलाउने, माघीमा मिठा, मिठा परिकारहरु खाने सपना देखेकी थिइन् । तिल बेचेर घुरनको उधारो पैसा तिर्ने कुरा सुनेर सजनीको सबै सपना चकनाचुर भयो ।
खेत पुग्दा छिमेकीहरु भुलुवा, मैहता, मेघुवा गहुँमा पानी हालेर फर्किरहेका थिए । चिसो हावा चलिरहेको थियो । पुस महिना थियो । सबेरै घाम अस्ताइसकेको थियो । चिसो हावा चलेर कोही घरबाट निस्केका थिएनन् । चिसोले आलीका घाँसहरु सुकिसकेका थिए । उनी दिउँसो पानी हाल्न गएको भए तिल झार्ने काम ठप्प हुन्थ्यो । उनको छेउमा खेत भएको रविया गहुँमा पानी हाल्दै थियो । रविया पछि बल्ल उनको पानी हाल्ने पालो थियो । त्यतिबेलासम्म उनले कुर्नुपथ्र्याे । कोदालो काँधमा बोकेर उनी खेतको आली हुँदै चारै कुनामा डुल्न थाले । पानी हाल्ने बेलामा पानी अरुको खेतमा बगेर जालान् भनेर आली छेउमा भएका ससाना प्वालहरु कोदालोले माटो टाल्दै बन्द गरे । कुलोमा भएका माटाका डल्लाहरु उनले सफा गरे । खेतको आली काट्दै उनले खोरा (आली काटेर दुलो बनाउनु) काटे । रवियाको खेतमा पानी हाल्न सकिन लागेको थियो ।
साँझ पर्न लागेको थियो । चिसो हावा चल्दै थियो । उनले ल्याएको पुरानो स्वेटर आलीमा राखेका थिए । त्यो स्वेटर सहरमा बस्ने उनका भिनाजुले चार वर्ष अगाडि दिएका थिए । त्यही स्वेटर उनले अहिलेसम्म लगाइरहेका थिए । उनी आलीमा गएर स्वेटर लगाए । उनले कराउँदै रवियालाई भने, पानी हाल्न सक्यो रविया ? उनको कुरा सुनेर रवियाले भने, एउटा कुना बाँकी छ, काका । ल, छिटो गर् । भन्दै उनी आलीमा बसे ।
एकछिनपछि रवियाले ठूलो आवाज दिदै भने, काका मेरो खेतमा पानी हालेको पुग्यो । तपाईको खेतमा पठाउँदै छु । हुन्छ पठा । भन्दै उनी धोती सम्याउँदै कोदालो छेउमा राख्दै खोराको छेउमा बसे । कलकल गर्दै कुलोमा पानी आयो । कुलो हुँदै उनको खेतमा पानी पस्यो । उनको मन शान्त र खुसी भयो । गहुँमा पानी हालेर घर पर्किने विचार उनले गरे ।
रवियाले खेतमा पानी हालिसकेकाले रविया घर फर्के । यो पल्टको गहुँ नराम्रो भएकोले उनी उदास थिए । तैपनि उनले मनमनै सोचिरहे, पानी हालेर गहुँमा झोली (परालको खरानी) र युरिया मल चाँडै हाल्नुपर्छ अनि मात्र गहुँ हलक्कै बढ्छ । उनले रवियाको गहुँ खेततिर हेरे । रवियाको खेतमा हलक्क बढेका गहुँका हरिया बोट देखेर आफ्नो गहुँको बोटसँग तुलना गर्दै बसिरहे । जहिल्यै उनकै बाली नराम्रो हुनुपर्ने । रवियाको गहुँ कति फस्टाएको थियो । बाटामा हिँड्ने मान्छे जो कोही पनि उनको गहुँ खेतमा आँखा अगाडि बढ्दैनथे । उनले आफ्नो खेततिर हेर्दै सोचे, गोबरको मल नपुगेर यस्तो भएको हो गहुँ । उनी तुरुन्तै स्वास्नीलाई सम्झेर रिसाए, एक्लै मैले कति काम गर्नु ? उसलाई मैले भनेकै थिएँ गोबर मल हाल । उसले मेरो कुरा सुन्दै सुनिन । घरकाले साथ नदिए यस्तै हुन्छ । अलछिनी ।
कलकल बग्दै आएको पानी अचानक पातलिँदै गयो । उनले कुलोतिर हेरे । कुलो सुक्दै गइरहेको थियो । पानी आउनै बन्द भयो । खेतको एउटा कुनामा मात्र पानी पसेको थियो । अचानक पानी आउन बन्द भएपछि बाटोमा पानी कसैले थुनेको हुनुपर्छ भनेर उनी अनुमान लगाए । कोदालो काँधमा बोकेर पानी आउने कुलोको आली हुँदै पानी खोज्न नदीतिर लागे । झमक्क साँझ परिसकेको थियो । चिसोले उनका कुर्कुच्चा र तलुवा महिनौँदेखि च्यातिएका थिए । कठ्याङ्ग्रिएको हात, खुट्टा र च्यातिएको कुर्कुच्चा लिएर उनी हिँडिरहेका थिए । चिसोले उनको जिउ थरथर कामिरहेको थियो । उनको तल र माथिको दाँत ठोक्किएर कटकटकटकट बोलिरहेको थियो । उनका ओठहरु कामिरहेका थिए । उनको मन शान्त थिएन । गहूँ खेतमा पानी हालेर मात्र घर फर्किने उनको अदम्य सहास देखेर प्रकृति उनीप्रति झन निष्ठुर बनिन् । उनी एउटा भद्र किसानको कथा बोकेर पुसको रातमा पानी खोज्न एक्लै भौतारिरहेका थिए । उनको मनमा भय थिएन । थियो त केवल पानी खेतमा हालेरै छोड्ने आहटको स्पन्दन । उनको कुर्कुच्चा दुखिरहेको थियो तर उनी सबै व्यथालाई सर्लप्प निलेर पानीको खोजीमा लागे । उनको लागि कुर्कुच्चाको पीडा केही थिएन । खेतमा पानी हाल्न नपाएर उनी जति दुःखी थिए त्यति नै सहासका साथ उनी अगाडि बढिरहेका थिए ।
उनी कोदालो अर्को काँधमा बोके । उनलाई भोक लगेको अनुभव भइरहेको थियो । भोकले पेट तल धसेकाले उनको धोती खुकुलो भएर तल झरिरहेको थियो । बाँया हातले धोती माथि सारे । कोदालो भुइँमा राखेर दुबै हातले धोती कसेर बाँधे । फेरि कोदालो बोके । भात नखाएर हिँडेकाले उनलाई पछुतो लागिरहेको थियो । नुन, भात बेरहैट भए पनि भरपेट खाँदा हुन्थ्यो । व्यर्थमा बेरहैट खान छोडेर हिँडे भन्दै उनी आफूलाई दोष थुपारिरहेका थिए ।
उनी आधा घन्टा हिँडेर नदीकै मुहान नजिक आइपुगे । नदीको मुहान नजिकै एकजना स्वास्नी मानछे सारीको फेर पल्टाएर घुँडाभन्दा माथि टाँगेर काँधमा कोदालो बोकी आलीमा डुलिरहेकी थिइन् । त्यही स्वास्नी मान्छेले पानी थुनेर आफ्नो खेतमा पानी हालिरहेकी थिइन् । त्यो स्वास्नी मान्छेले पानी थुनेको देखेर उनी रिसाउँदै भने, त्यस्तो गर्न मिल्छ ? मैले पानी लगेको थिएँ । पानी बाटामै छेकेर के गर्नुभएको हँ ?
उनको कुरा सुनेर त्यो स्वास्नी मान्छेले भनिन्, मेरा लोग्ने बिरामी हुनुहुन्छ । मेरा सबै छिमेकीले खेतमा पानी हालिसके । मेरो खेतमा पानी हाल्न मात्र बाँकी थियो । कृपया, पहिला मलाई खेतमा पानी हाल्न दिनुहोस् ?
त्यो स्वास्नी मान्छेको कुरा सुनेर उनको मनमा दया जाग्यो । कस्ती सहासी स्वास्नी मान्छे । लोग्ने बिरामी पर्दा खेतको काम आफैंले गर्ने कस्ती आटिली । उनले आफ्नी स्वास्नीलाई सम्झेर मनमै भने, एउटी मेरो घरमा छे । जसलाई घरको कामबाट कहिले फुर्सद हुँदैन ।
उनले त्यो स्वास्नी मान्छेको सहास देखेर भने, ‘तपाई आफ्नो खेतमा पहिला पानी हाल्नुस् । त्यसपछि मेरो खेततिर पठाइदिनुस् है । म खेतमा बसिराख्ने छु । चाँडै पानी पठाइदिनुस् ।’
उनको कुरा सुनेर त्यो स्वास्नी मान्छेले भनिन्, ‘हवस् । जति सक्दो चाँडो म पानी पठाउँछु ।’
उनी कोदालो काँधमा बोकेर आधा घन्टा हिँडेर खेत फर्के । जाडोले कामिरहेका थिए । उनलाई घर फर्केर जान मन लाग्यो तर उनी आज खेतमा पानी नहालेको भए भोलि तिल झार्ने काम गर्न भ्याउँदैनथे । तिल बेचेर उधारो चुक्ता गर्नु थियो । यो कुरा सम्झेर उनी खुसी भएर आलीमा बसे । आकाश कुहिरोले ढाकिसकेको थियो । निस्पट्ट अँध्यारो थियो । शीत आकाशबाट तपतप झरिरहेको थियो । उनले सोचेका थिएनन् यति धेरै चिसो हुन्छ भन्ने कुरा नत्र गुन्द्री बोकेर आउँथे । रवियाको खेतमा छाप्रो थियो । उनी जाडो सहन नसकेर रवियाको छाप्रोमा गए । छाप्रोमा पनि त्यस्तै चिसो थियो । उनको हात, खुट्टा कठ्याङ्ग्रिएर चिसो भइसकेका थिए । जिउको रगत बरफजस्तै चिसो भइसकेको उनले अनुभव गरे । हात र खुट्टा चिसोले लाटो भइसकेका थिए । उनको नाकबाट चिसो सास निस्किरहेको थियो । उनी जाडो सहन सकेनन् । थरथर काम्दै छेउको आलसको खेतमा गए । जहाँ मसिना आलसका झाङ्हरु थिए । त्यही खेतमा धानको बोटका जराहरु थिए । ती जराहरु दुइटै हातले उखेले । मसिना आलसका झाङ्हरु पनि उखेलिएका थिए धानका जरासँगै ।
छाप्रोको छेउमा दिउँसै रवियाले आगो सल्काएर राखेको गुइँठा थियो । उनले धानको बुट्टी (धानको सुकेको जरा) एक ठाउँमा जम्मा गरेर फुफु गर्दै बुट्टीमा आगो सल्काइरहेका थिए । शीत झरेर बुटी ओइसिसकेको थियो । आगो सल्केन । आगोको सट्टा धुँवा धेरै भयो । त्यही धुँवामा उनले हात, खुट्टा सेक्न थाले । उनले घुर (बुट्टीमा आगो बाल्नु) बाल्न खोजेका थिए । आगो सल्केन तैपनि उनी थाकेनन् । उनले फुपु गर्दै घुर बाल्ने प्रयास गरिरहे । आखिरमा घुर बलेरै छोड्यो । उनी आगो ताप्न थाले । घुर तापुन्जेल जिउ तातो हुन्थ्यो । घुर ताप्न छोडे जिउ नै चल्न बन्द हुन्थ्यो ।
खेतमा पानी आयो कि आएन उनी हेर्न जान सकेनन् । उनलाई घुर नै प्यारो लाग्यो । छाप्रोमा पराल थियो । घुरमा आगो त्यति धेरै नबलेकोले उनी चिसो अनुभव गरिरहेका थिए । उनको हात, खुट्टा अलि तातो भएपछि उनी छाप्रोभित्र छिरे । छाप्रोमा पराल ओछ्याइएको थियो । छाप्रोमा ओछ्याइएको पराल ओढे । परालमा गुटमुटिएर बसे । पराल ओढेर बसेकाले उनको जिउ न्यानो हुँदै गयो । उनलाई उठ्नै मन लागेन । जिउ न्यानो भएपछि उनी निदाउन थाले । गहुँ खेतमा पानी हाल्ने कुरा सम्झेर उनी हतपत आँखा खोले ।
उठेर आफ्नो खेतमा आए । कलकल गर्दै कुलोमा पानी आउँदै थियो । आधा खेतमा पानी पसिसकेको थियो । उनलाई फेरि जाडोको अनुभव भयो । शीत आकाशबाट अघिको भन्दा बढी तपतप झरिरहेको थियो । उनी फेरि छाप्रोमा आए । छाप्रोमा आएर मनमनै भने, जति काम गरे पनि राम्ररी न खान पुग्छ । न लाउन पुग्छ । कति दुःख गर्ने हामी गाउँले । उनले फेरि जिउमा पराल ओढे । भोक लागेर उनको पेट गुरगुर गुरगुर बोलिरहेको थियो तर जाडोले उनलाई घर जाने सहास भएन । उनी फेरि छाप्रोभित्र छिरे । जिउमा पराल ओढे । पराल ओढेर उनको जिउ न्यानो भयो । उनी छाप्रोमा निदाए । दिनभरि काम गरेको मान्छे थकाइले भुसुक्कै निदाए ।
खेतको एउटा कुनामा पानी पुगेको थिएन तर फेरि पानी आउन बन्द भइसकेको थियो । तर उनी निदाइसकेकाले उनलाई केही थाहा भएन । उनलाई खेतको कामभन्दा निद्रा र परालको न्यानो प्यारो लाग्यो । उनी घ्वारघ्वार गर्दै निदाए ।
बिहान उठ्दा उनकी स्वास्नी ढाकीभरि झोली आली छेउमा राखेर छाप्रोको छेउमा कराइरहेकी थिइन्, सुतिराख्नुस् । त्यहाँ साढेले सबै गहुँ खाइसक्यो । उनले स्वास्नीको आवाज सुनेर आँखा खोले । आङ् तन्काए । बिहान भइसकेको थियो तर घाम लागेको थिएन । कुहिरोले आकाश ढाकिरहेको थियो । स्वास्नीको कुरा सुनेर उनी छाप्रो बाहिर आए । आफ्नो खेततिर हेरे । ठूलो सेतो साँढे उनको गहुँ खेतमा चरिरहेको थियो । साँढे चर्दै गर्दा गहुँको बोट खाइरहेको चरचर आवाज आइरहेको थियो । उनी खेतको आलीमा आए । साढेले पूरै खेतको गहुँ खाइसकेको थियो । खेतको पूरै गहुँको बोट खाइसकेको देखेर उनी, लौन सबै बर्बाद भयो । यो साढेलाई के गर्ने ? माटाको डल्लाले साँढेलाई हिर्काउँदै भाग, भाग भन्दै साँढेलाई धपाउन थाले । माटाको डल्ला हानेर साँढेलाई धपाइरहँदा उनकी स्वास्नीले भनिरहेकी थिइन्–अरुलाई कुलछिनी भन्ने मान्छे आफू चाहिं खूब लक्षिणको हुनुहुन्छ ?