काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो । सो अवसरमा उहाँले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमश: सहसेनानी प्रवेश खड्का र उपसेनानी दिपीन थापा तथा शाे जम्पमा प्रथम भएका सिपाही ओमप्रकाश यादव र द्वितीय जमदार जगदीश घिसिङलाई पुरस्कार प्रदान गर्नुभयो ।
उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मञ्च टुँडिखेल पुगेर सेनाले त्यहाँ आयोजना गरेको अश्वकला र साइकल खेललगायतका प्रदर्शनी अवलोकन गर्नुभयो । सो अवसरमा अश्वकलाका विविध रोचक कार्यक्रम राईड पास, ब्यानर डिस्प्ले, टांगन र चार्जर घोडा दौड, साईकल रेश, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, सुईरो, स्वर्ड एण्ड वाटर मेलन र रिङ्ग एण्ड लान्स, एक्रोब्याटिस, घोडा लडाउने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हंगेरियन पोष्ट र कम्बाइन्ड फायर जम्प प्रदर्शन गरिएकाे थियाे ।
कार्यक्रममा कुकुरको कौशल अन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिएको थियो । कुकुर इमान्दार र आज्ञापालक जनावरका रुपमा लिने गरिन्छ । घोडेजात्रा अवलोकनका लागि प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख एवं समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल पुग्नुभएको थियो ।