–स्वप्निल नीरवआमा भन्नुहुन्छ—तैंले अहिल्यै जिन्दगी बुझेको छैनस् । सायद त्यति नबुझेको हुँला । जति आमाले बुझ्नुभएको छ ।तर नबुझेको चाहिं छैन । आमालाई यो बताउन जरुरी छ कि, म जिन्दगी बुझ्दछु । एक्लोपनको गहिराइ त झन कति कति बुझ्दछु । उमेरले हैन मान्छेलाई जिन्दगीले परिपक्क बनाउछ । यो पनि बुझेको छु । सम्बन्धको गहिराइ थोरै थोरै बुझ्दछु । सबैभन्दा धेरै त एक्लोपनको छट्पटी बुझेको छु । के म यति सरल विषय पनि नबुझुँला त ? एक्लोपन भन्ने यो विषयमेरा लागि सबैभन्दा कठिन र सबैभन्दा मन नपर्ने विषय । तर कलेजको हरेक वार्षिकोत्वको निवन्ध लेखन प्रतियोगितामा यै विषयमा लेख्ने गर्छु ।केही महिना अघिसम्म म साह्रै गम्भीर रिलेशनसीपमा थिएँ । तर उसका लागि सम्बन्ध नामको डोरी मात्र डोरी थियो । जहाँ जोसँग पनि बाँटिन सक्ने डोरी । गल्ती उसको हैन । सबैको सोंच सबैसँग कहाँ मिल्छ र ? ठीकै भयो चुँडियो त्यो डोरी । किन कि गहिराइ नै थिएन त्यो सम्बन्धमा । मैले पो जबरजस्ती गहिराइ खोजेको थिएँ । केही दिन खुब रोएँ । तर अचेल आँसु झर्दैन । उमेर छ, वैंश छ । केही गर्ने जोश छ । अब केही वर्ष पढाइमा ध्यान दिन्छु । आमाको रङ्गहिन जिन्दगी रङ्कग्याउने कोशिस गर्नेछु ।मेरी आमा एउटा एनजिओमा काम गर्नुहुन्छ । कमाइ ठीक ठाक छ । पुख्र्यौली सम्पत्ति छ धेरै थोरै । माटाको पुख्र्यौली घर छ ।काकाहरुले छुट्टिदा दया गरेर दिनुभएको त्यो घरको चोटा कोठा बिहान बिहानै लिपेर चिल्लो पार्नुहुन्छ । हामीलाई आमा छोरी कम र दिदी बहिनी ज्यादा भन्दछन् । भर्खर पैंतिस पुग्नुभयो । चौध वर्षको हुँदा म जन्मिएँ रे । अठारको हुँदा बा कायरले आत्महत्या गरे रे । बा मरेपछि सुरु भएको आमाको संघर्ष अझै जारी छ ।सुत्ने बेला एउटै कथा सुनाउनुहुन्छ । कसरी बाले एक्लैे छाडेर गए । अनि कसरी स्कूल पूरा गर्नुभयो । अनि कसरी कलेज हुँदै जागिरे जीवन तय गर्नुभयो ।मेरी आमा कसैलाई प्रेम गर्नुहुन्छ । त्यो मान्छेको नाम हो विजय । तर अब केही दिनमा मेरी आमालाई भगाउने तयारी गरिरहेको छ । ऊ आमासँगै काम गर्छ दश वर्षदेखि । मान्छे ठीक ठाक छ । हेर्दा छिः भनिहाल्ने खालको छैन । राती राती आमा फोनमा कुरा गर्नुहुन्छ । म निदाए जस्तो गरिदिन्छु । अचम्म, पौने एक घण्टा कुरा गर्दा पनि कहिल्यै भन्नुहुन्न ‘म हजुरलाई माया गर्छु ।’एउटै कुरा भन्नुहुन्छ ‘सुत्नुहुन्न ? फोन राख्नु र सुत्नु ।’ फोन राखेपछि झुकेर मेरो निधारमा च्वाक्क म्वाइ खाएर भन्नुहुन्छ- ‘नानी तँ कहिले ठूली हुन्छेस् ?’ आमालाई कसरी भन्नु कि, म ठूली भइसके आमा ।एकदिन यसै कुरै कुरामा भनिदिएँ— आमा म त केही वर्षपछि बिहे गरेर जान्छु । हजुर एक्लै हुन्छ । कोही खोज्दै गर्नु ।आमाले आँखा चिम्लेर थप्पड हान्नुभयो । एक डेढ घण्टा त गाला सुन्निएर रातो भइरह्यो । फेरि फेरि दोहो¥याएर आमासँग त्यस्तो कुरा गर्ने हिम्मत पनि आएन । तर आमा यसरी एक्लै छट्पटाएको, उमेरमै रंगहीन भएर बाँचेको देख्न म सक्दिनँ ।पहाड जस्तो जिन्दगी चढेर छोरीलाई माथि उठाउने हिम्मत छ आमासँग । तर आफ्नो जिन्दगीको बारेमा सोंचेर एउटा निर्णय लिन सक्ने क्षमता छैन । आमा त्यही फूलमा पर्नुहुन्छ जो फुल्ने हिम्मत त गर्छ । तर भमराको नजिक गएर साउती मार्दै भन्न सक्दैन— अनुमति बिना रस चुस्ने कोशिस नगर । मलाई फुलिरहनुछ । र, मेरो सौन्दर्य अनि वैंश जोगाएर राख्ने भमराको लागि तिमी जस्ता हजार भमरासँग लड्नुछ ।फिल्डमा जाँदा विजयसँग कतै एकान्तमा झोला बिसाएर गफिन आमालाई पनि त मन लाग्दो हो । त्यो गण्डकी पारिको खुल्ला चौरमा बसेर भन्न मन लाग्दो हो— विजय हजुर हुनुहुन्छ र पो यो प्रकृति मौसम प्यारो छ । त कहिले रातीमा साउती मात्रै तातो तातो स्वास छाडेर भन्न मन लाग्दो हो—धन्यवाद मेरो जिन्दगीमा सामेल हुनुभएकोमा ।एकरात म साथीकोमा गएको थिएँ । साथीको दिदीको बिहे थियो । आउन अबेर भयो । राती नौ बजेतिर फर्कदा आमालाई बार्दलीमा भक्कानिएर रोएको पाएँ । राती आमा सुतेपछि मोबाइलमा एउटा म्यासेज देखेँ विजयको । लेखिएको थियो, अब त केही सोंच्ने बेला भएको छ । बाले अब यसपालि पनि बिहे नगरे घर बस्न दिनुहुन्न । मलाई केटी खोजिदेऊ ।मैले जवाफ पठाएँ, ‘‘हजुर मसँग बिहे गर्नुहुन्छ ? म तयार छु ।’तत्काल फोन आयो । आमा ब्युँझनुभयो । र, फोन उठाउनु भयो । के के कुरा भयो म जान्दिनँ । तर फोन राखिसकेपछि आमाले मलाई गाली गर्दै भन्नुभयो— बाठो हुन्छेस् ? के म्यासेज लेखेर पठाको तैंले ? के हो त्यो बिहे भनेको ? कसरी हुन्छ बिहे ? कोसँग हुन्छ ? अनि कतिखेर गरिन्छ बिहे ?मैले भनेँ— सारा दुनियाँलाई थाहा छ त हजुर र विजय अंकलबच िकति गहिरो सम्बन्ध छ भनेर । यो भनिराख्नुपर्ने कुरा हो र ? अनि त्यो अंकलले कसरी भन्न सकेको त केटी खोज्न भनेर ।विवाद अरु लम्ब्याउनु भएन । तर त्यसदिनबाट विजयको कुरा आउनासाथ आमा भन्नुहुन्छ— तैंले अहिल्यै जिन्दगी बुझेको छैनस् ।सम्बन्धका तीता टर्रा नमिठा मेल अमेल त भन्न सक्दिन । तर सम्बन्धको आवश्यकतालाई नकार्न म कहाँ सक्छु ? उमेरमै वैंश त्यसै ओइलाएर मर्दै मर्दै बाँचेको देख्न म कसरी सक्छु ? मेरो हरेक पीडा हाँसो आँसुमा आमा मेरो साथ रहनुहुन्छ । म कसैसँग गहिरो प्रेममा परुँ । जोसँग मेरो सम्बन्ध गाँसिन्छ ऊसँग विचार भावना मिलोस् भनेर आमा प्रार्थना गर्नुहुन्छ । त म यो कामना किन नगरुँ कि, मेरो आमाको जिन्दगीमा पनि साँचो प्रेम होस् । ठान्नेहरु ठान्लान् मायाकी आमाले आफ्नो यौवन लोग्नेको नाममा साँचेर बाँच्न सकिन । या यसो पनि भन्लान् छोरीको बिहे गर्ने बेलामा तरुनी भई । भन्नेको मुखमा बुजो लाउन सकिन्न क्यारे ।केही महिना अघिको कुरा हो । काकाको घरमा हामी आमा छोरीलाई खान बोलाइएको थियो । खास कुरा गर्न परे काका यसै गर्नुहुन्थ्यो । खाना खाने बाहनामा मनको कुरा राख्नुहुन्थ्यो । आमा र मलाई संस्कार र रीतिरिवाजका थुप्रा कुरा सुनाउनुहुन्थ्यो । कहिले काँही त चेतावनी पनि दिनुहुन्थ्यो कि, म आमाकी छोरी हैन बाले पालेको संस्कारी छोरी बनुँ । मलाई काकासँग सोध्न मन थियो— बाले मलाई पाल्नुभएको भए म कस्ती हुन्थेँ हुँला काका ? तर कहिल्यै सोध्ने हिम्मत भएन ।आठ बजेतिर काकाको घरमा पुग्यौं । काका पर्नुभयो लाहुरे । गाउँभरिको सुब्दार बा । घरको भित्तादेखि लिएर आँगन, पिंढी सबै एकदमै ब्यवस्थित ढंगले सिंगारिएको । ब्यवस्थित गरी पूmलहरु रोपिएका । खानाको टेबल भान्छा सबै उस्तै ब्यवस्थित । यवस्थित त हाम्रो भान्छा पनि हुँदैन । आमा दिनहुँ चुल्हो लिप्नुहुन्छ । साह्रै आकर्षक ढंगले सामानहरु सजाएर राख्नुभएको छ । तर काकाको भान्छाको अगाडि हाम्रो माटाको घरको भान्छा तुलना हुन सक्दैनथ्यो ।काकाले लाहुरे रम गिलासमा खन्याउनुभयो । काकी आमा र काकाले पिउदै गफ गर्न थाल्नुभयो । कुरा घुम्दै फिर्दै विजयसम्म पुग्यो । आमाको अनुहारको रङ उड्यो । शिर निहुराएर काकाको कुरा सुनी बस्नुभयो । कुरा खास नयाँ थिएन । कुरा त्यै पुरानै हो । गाउँभरि मायाकी आमा र विजयको प्रेमको खुब चर्चा छ । अब बुढी भइस् थपक्क छोरीको बिहे गरिदे । र, नातिनातिना खेलाएर बस् ।हैन मान्छेलाई यति धेरै चासो किन ? कसैको निजी जिन्दगीमा कसले के गर्दैछ भनेर किन यति निगरानी गर्नुपरेको ? हाम्रो घरमा भरे खाने चामल छ छैन पत्तो नहुनेहरु पनि मेरी आमा र विजयको सम्बन्ध पत्तो कसरी लगाउछन् ? मेरी आमाले त भन्नुभएकै छ वहाँहरु बीच त्यस्तो सम्बन्ध छैन भनेर । ठीक छ प्रेम गर्नुहुन्छ । यो कुरा मलाई राम्रोसँग थाहा छ । तर यो गाउँ अनि काकाहरुले भन्नुभए जस्तो गलत भएकै के छ ? घर बिगारेर छोरीको भविष्य डामाडोल पारेर विजयको पछि लाग्नु भएको छैन । फिजिकल भइहाल्नु भएको छैन । भइहाल्यो भने पनि मेरो नजरमा त त्यो गलत छैन ।मैले भनेँ— काका त्यसो हो भने आमा र विजय अंकलको बिहे गरिदिनुस् ।काकाको रमले रात्तिएका आँखा अझ राता भए । आमाको आँखा पनि उस्तै । मलाई खाउँला भैm गरेर हेर्दै भन्नुभयो—चुप लाग ।काका रिसाउदै बोल्नुभयो—यस्तै हुन्छ बिना बाउ हुर्र्किएको छोरी ।अब जवाफ दिने पालो मेरो थियो । भनेँ— काका हजुरको दाइ मलाई पाल्न सक्ने भए झुण्डेर मर्ने थिएन । मेरो र मेरी आमाको बारेमा सोंचेको भए एउटी ठकुर्नी केटीले धोका दिएको निहुँमा आत्महत्या गर्ने थिएन । यस्तो काँतर बा ज्युँदो रहेको भए पनि मलाई पाल्नु त मेरै आमाले पथ्र्याे ।आमा चिच्याउनुभयो— चुप लाग् ।तर म खुब तातिएको थिएँ । बोल्दै रहेँ— मलाई बासँग खुब धेरै गुनासो छ । मेरी आमा हुँदा हुँदै त्यो ठकुर्नीसँग जोडिने हिम्मत कहाँबाट आयो । ठीक छ, आमा बाबीच राम्रो तालमेल थिएन होला । तर सम्बन्ध पुरै तोडेर, मेरी आमालाई त्यागेर ठकुर्नीलाई अंगाल्न सक्नुपथ्र्याे नि । घर की श्रीमती छाडेर प्रेम गर्ने हिम्मत गर्नेले ठकुर्नीका लागि केही गर्ने हिम्मत त गर्नुपथ्र्यो नि ।आमाले मेरो ढाडमा हान्नुभयो । र, हातमा समाएर घरमा ल्याउनु भयो । घरमा आएर फेरि भनेँ— हजुर बिहे गर्नुस् विजयसँग । दिनरात रोएर वैंश त्यसै खेर फालेर हुनेवाला केही पनि छैन । जिन्दगीमा अरुलाई पनि नरुवाउनु । आपूm पनि खुसी रहनु । दुःखी रहेर सँधै टाउको समाएर बसेर केही हुनेवाला छैन ।आमा मलाई गर्लम्म अंगालो हालेर रुँदै बोल्नुभयो— यस्तो कुरा नगर नानी । तँ भएर मात्र बाँचेको हूँ । नत्र म पनि तेरै बा जस्तो झुण्डेर मर्थेँ । तँ छस् मलाई यति भए पुग्छ । तँ माया गर कसैलाई । ऊसँग तेरो साह्रै गहिरो प्रेम होस् । यति भए मलाई पुग्छ ।तँ जति माथि उड्छस् उड् । म थाम्छु तँलाई । तर मेरो र विजयको कुरा नगर् । मलाई यत्तिकै मर्न मञ्जुर छ ।‘यस्तो कुरा नगर्नु आमा । यस्तो चालले त हजुर अघि पनि बढ्नुहुन्न । उल्टो आफूलाई गलाउने र दुखाउने काम मात्र हुन्छ । एकचोटि विजयसँग कुरा गरेर हेर्नु । उहाँले के भन्नुहुन्छ उहाँको मनसाय बुझौं । ठीक छ उहाँलाई हजुर मनपर्दैन भने म हजुरलाई कहिल्यै बिहे गर्ने दबाब दिन्न ।’भोलिपल्ट विजयसँग भेटेर भनेँ— के हजुर मेरी आमासँग बिहे गर्नुहुन्न ?मेरो ठाडो प्रश्न सुनेर विजय हाँस्यो मात्रै । मैले भनेँ— ‘मेरी आमाको बारेमा हजुरको के विचार छ ?‘तिम्रो आमालाई म मन पर्दैन त ।’म चौपट्ट खुसी भएँ । घर आएर आमासँग भनेँ— हामी केही दिनका लागि पोखरा जाऔं ।आमाले स्वकृतिमा टाउको हल्लाउनुभयो । तर जब मैले विजयलाई पनि लिएर जाऔं भने । तब भने आमाले महाभारत सिर्जना गर्नु भयो । मैले आमासँग भनेँ— ‘आमा हजुर आफ्ना लागि बाँच्ने हो । मेरो बारेमा सोचेर बस्नु जरुरी छैन । बिहे गर्नुस् । दुईचार महिना या वर्ष मान्छेहरु कुरा काट्लान् । पछि यही गाउँलेले हजुर र विजयको प्रेमलाई उदाहरणको रुपमा पेश गरेर भन्नेछन् ‘माया गर्ने भए विजय र ममताले जस्तो नछुट्ने र नदुख्ने माया गर’ ।विजयले फकाओस् अनि मेरी आमाले इन्कार गरोस् यस्तो पनि हुन्छ ? हामी पोखरा जाने भयौं । आमाले स्विकृति जनाउनु भएको त्यो रात हामी पटक्क निदाएनौ । आमाले भन्नुभयो— माया तँ जान्ने भइस् । तर तैंले अहिल्यै जिन्दगी बुझेको छैनस् । जिन्दगीमा धेरै उतारचढावहरु ऋाउन बाँकी नै छ । यसका लागि तँ अब तयार हुनुपर्छ । म बिहे गरेर विजयसँग जान्छु । तँलाई सँगै लैजान सक्दिनँ ।आमाले यसो भनिरहँदा मन अमिलो भयो । एक मन त लाग्यो— आमासँग टाढिएर बाँच्न सक्दिन । बरु आमालाई बिहे गर्नदेखि रोकूँ । मन त हो । आमाको जिन्दगी प्रेमले रङ्याउने सोंच एकाएक धरासयी भएर गए । तर म यति स्वार्थी बन्न सक्दिनथेँ । सुस्तरी भनेँ— आमा हजुरको जिन्दगी प्रेमले रङिनुपर्छ । हजुर खुसी रहनुभयो भने पो अरुलाई खुसी पार्न सक्नुहुन्छ ।त्यसो भनेर म बिछ्यौनामा पल्टिएँ । आमा झ्यालैनेर बसेर विजयसँग कुरा गर्दै भन्नुभयो— मलाई मायाको साह्रै चिन्ता छ विजय । म यसलाई छोडेर गएको दिन यो हावा कता कता जान्छे होला । साह्रै चञ्चल छे । यो नगर त्यो नगर भनेर सम्झाइरहनुपर्छ । कतै गहिरो खाल्डोमा गएर खस्छे कि भन्ने डर लाग्छ ।मेरा आँखाबाट टुर्लुक्क आँसु खसे । आमाहरु यस्ता किन हुन्छन् ? आफू रोएरै जीवन काट्न तयार । तर छोराछोरीलाई हँसाउन पाए हुन्थ्यो भनेर सोंच्छन् । आमाहरु यति त्यागी किन हुन्छन् ? छोराछोरीसँग अलग्गिन नसक्ने गरी किन जोडिन्छन् ?पर्सिपल्ट पोखरा पुग्यौं । सिमसिम पानी, पोखराको प्रकृति र मेरी आमाको आँखामा देखिएको सन्तुष्टिले मलाई साह्रै तृप्त बनायो ।हप्तादिनको पोखरा बसाइपछि घर फर्कियौं । गाउँले छिमेकी काका कसैलाई पनि हामीसँगै विजय पनि पोखरा गएको कुरा पत्तो भएन । आमा भर्खर झरीमा निथ्रुक्क भिजेको पहाड जस्तै साह्रै सुन्दर देखिनु भएको थियो । यो त विजयको प्रेमको असर थियो । आमाको सन्तुष्टि देखेर म साह्रै पुलकित भएँ । पतझड आमाको जिन्दगीमा हरियाली वसन्त देख्ने म कम भाग्यमानी हुँला र ?अचेल गाउँ सुनसान छ । कारण, आमा र विजयको चर्चा छैन । तर एकदिन आमा र विजय भागेको दिन यो गाउँ अनि काकाहरु उर्लनेछन् साउनको काली बनेर । त्यतिबेला म अक्करे पहाड बनेर भन्नेछु— काका बाउ बिना पालिएकी यो केटीको दम देख्नुभयो ? बाले पालेको भए ममा यति हिम्मत आउँथ्यो होला र ?हो, काकाहरुको स्वाभिमानमा चोट पुग्ला । तर ती दुईलाई मिलाउनु नै छ । श्रीमान मरेकी युवती पलपल रुखिदै बस्नुपर्छ भन्ने के छ ? मेरी आमाको पनि मन छ । फूल बनेर मुस्कुराउने चाह छ । अब कसैले तँ तेरो छातीमा फुलेको सयपत्री हेर्दै चित्त बुझा भनेर आमाको निर्णय बदल्न खोज्ला । तर म त्यसो हुन दिने छैन । म भन्नेछु— आमा हजुर बगान हुनुहुन्छ । अब विजय माली बनेर आओस् र हजुरको जिन्दगीमा एउटा सुन्दर गुराँस रोपोस् । तब हजुर पूर्ण देखिनु हुनेछ ।कसैले ठानुन्, माया पागल भई । ठूला ठूला आदर्शका कुरा गरी । ठान्नेहरु ठानी रहुन् । कसैलाई रुवाउनु पनि छैन । रोइ रोइ बाँच्नु पनि छैन । मलाई हाँस्नुछ, मेरी आमालाई हँसाउनु छ । मलाई यो पनि थाहा छ, अब म सक्षम हुनुपर्छ । परिपक्का भएर देखाउनुपर्छ । ताकि आमाको ध्यान विजय र आफ्नो भविष्य भन्दा ज्यादा मतिर नमोडियोस् । आमाको खुसीको ख्याल गर्नु मेरो कर्तब्य हो । यतिञ्जेल म भनेर पूरै जिन्दगी समपर्ण गर्न सक्ने आमाका लागि यति त गर्नसक्छु नि । यो समाज आफन्तले के भन्छन् भनेर किन डराऊँ म ? आमाको खुसीको कुरा छ यहाँ । डराएर भाग्न कहाँ सक्छु ?
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८ १५:४०