–हनिशराज पन्त/फोटो पत्रकार६ वर्षअघि २०७२ साल वैशाख १२ गते शनिबार विहान ११ बजेर ५६ मिनेट जाँदा गएको भूकम्पको त्रास नेपालीले अझै विर्सन सकेका छैनन् । गोरखाको बार्पाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पले राजधानीको शान धरहरा ढल्यो, ठूलाठूला महलहरु ढले, पुरातात्विक सांस्कृतिक सम्पदाहरु भत्काए । ढलेका संरचनाभित्र पुरिएर झण्डै नौहजार जनाले ज्यान गुमाए । बाँचेका धेरैले मृत्युलाई नजिकबाट नियाल्न पाए ।वैशाख १२ को भूकम्पले नेपालका १४ जिल्लाका धेरै संरचना ध्वस्त भए । बाँकी ४१ जिल्लामा आंशिक प्रभाव प¥यो । भूकम्पले काठमाडौं उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरु भत्किए । काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, बौदनाथ स्तूप, स्वयम्भूनाथ स्तुप लगायत सयौँ वर्ष पुराना ऐतिहासिक धरोहरहरू आंशिक रूपमा र केही पूर्ण रूपमा ध्वस्त भए ।भूकम्प गएको ६ वर्ष पुग्दा भूकम्पका कारण मानवीय, भौतिक र मानसिक रुपमा समेत भत्किएको नेपाल विस्तारै तंग्रीन थालेको छ । घरसँगसँगै भत्किएका मनहरु विस्तारै सम्हालिन थालेका छन् । ढलेका पौराणिक तथा ऐतिहासिक धरोहरहरुमध्ये केही उठाइए र केही उठाउने क्रममा छन् ।भूकम्पपछिको यो ६ वर्षको अवधिमा काठमाडौं उपत्यकाका वौद्ध स्तूपा, दरबार हाइस्कुल, रानी पोखरी, वसन्तपुर दरबार स्क्वायर क्षेत्र, धरहरा, काठमाडौं दरबार, भक्तपुर दरबार स्क्वायरको पुननिर्माण सम्पन्न भइसकेका छन् भने अन्य थुप्रै सम्पदाहरुको निर्माण कार्य जारी छ ।
ढलेर फेरि ठडिएका धरोहरहरुरानीपोखरी२०७२ सालको भूकम्पले रानीपोखरीमा क्षति पुर्यायो । २०७२ सालकै २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलन्यास गरेर पुननिर्माणको शुरुवात रानीपोखरीबाटै गर्नुभयो । शिलन्यास भएको ५ वर्षपछि २०७७ साल कात्तिक ५ गते निर्माण सम्पन्न भई राष्ट्रपति भण्डारीले नै उद्घाटन गर्नुभयो । पुननिर्माण गरिएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरलाई यसको पूरानै मौलिक शैलीमा बनाइएको छ ।
दरबार हाइस्कूल२०७२ को भूकम्पले क्षति पुर्याएका सम्पदामध्ये दरबार हाइस्कूल पनि एक हो । पुनर्निर्माण गरिएको दरबार हाइस्कूलको गत २०७७ साल कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । दरबार हाइस्कूल अन्तर्गत भूकम्पबाट क्षति भएका भानू मावि र संस्कृत माविको भवन निर्माणका लागि चीन सरकारले ८५ करोड अनुदान सहयोग दिएको थियो । चार तला रहेको विद्यालय भवनमा ४२ कोठा रहेका छन् । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सनले लिएको थियो ।
बौद्ध स्तूप२०७२ सालको भूकम्पले क्षतिग्रस्त वौद्ध स्तूपाको पुनर्निर्माण कार्य तीन वर्ष अघि नै सम्पन्न भएको छ । भूकम्पबाट क्षतिग्रस्त भएपछि बौद्धनाथ क्षेत्र विकास समितिको संयोजन, पुरातत्व विभागको प्राविधिक सहयोग, विभिन्न संघसंस्था तथा निकायको आर्थिक सहयोगमा २०७२ साल मंसिरबाटै पुनःनिर्माण शुरु गरिएको थियो । २०७३ कात्तिकमा पुनःनिर्माण सम्पन्न भइ तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको थियो । सरकारको कुनै आर्थिक लगानी बिना स्थानीय समुदाय र विभिन्न बौद्ध धर्म सम्बन्धी अगुवाहरूको चन्दा लगायत आर्थिक सहयोगबाट बौद्ध स्तुपको पुनर्निर्माणको काम पूरा भएको थियो ।
धरहरा२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण करिब-करिब सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ पुस १२ गते शिलान्यास गर्नुभएको धरहराको लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते शनिबार उद्घाटन गर्नुभयाे । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जीआई ईटीसी र रमन कन्सट्रक्सनबीच १३ सेप्टेम्बर २०१८ मा सम्झौता भएको थियो । सम्झौता अनुसार सन् २०२० अक्टोबरभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो तर कोरोना महामारीका कारण सम्झौता भएको समयभन्दा केही ढिलो निर्माण सम्पन्न भएको छ । २२ तले धरहराको पुननिर्माणले काठमाडौंबासीले आफ्नो पूरानो शान फर्किएको अनुभूति गर्न थालेका छन् ।
सिंहदरबार२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पनि पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल फागुन ३ गते उ्दघाटन गर्नुभयो ।यीदेखि वाहेक पाटनको कृष्ण मन्दिर,दरबार क्षेत्र, काष्ठमण्डप, वसन्तपुर दरवार,तलेजु मन्दिर लगायतका सम्पदास्थलहरुको पुननिर्माण लगभग अन्तिम चरणमा पुगेको छ । यी सबैको पुननिर्माण सम्पन्न भएपछि काठमाडौं उपत्यकाको शान र महिमा साँच्चिकै लोभलाग्दो हुनेछ।