काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकामा लागू हुने लकडाउन तुलनात्मक रुपमा खुकुलो हुने जिल्ला प्रशासन कार्यालयहरुले संकेत गरेका छन् । पहिलो २ दिन विचार गर्नकै लागि केही खुकुलो बनाउने र त्यसपछि लापरबाही बढे कडा गर्ने प्रशासनको तयारी छ ।नागरिकले लकडाउनको कडाइका साथ पालना नगरे त्यसपछि लकडाउन कडा बनाउने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीकालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार बिहीबारबाट शुरु हुने लकडाउनमा अत्यावश्यकबाहेक सबै सेवा, व्यापार, सार्वजनिक र निजी सवारी, र हिडडुलमा समेत प्रतिबन्ध लगाइने छ । एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनका लागि खटिएका सवारी सञ्चालन हुन पाउँने छन् । खाद्य सामग्री पसलहरू दैनिक बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।त्यस्तै अस्पताल जानुपर्ने बिरामी, कुरुवा एवं मृत्यु संस्कारमा अनिवार्य जानुपर्ने एवम् अन्तर्राष्ट्रिय उडानका भिसा र टिकट हुनेहरूले अनुमति लिएर यात्रा गर्न पाउने छन् । जस्तो काठमाडौंमा रहेर कुनै त्यस्तो अत्यावश्यक काम परेको खण्डमा जिल्ला प्रशासनले अनुमति दिन सक्ने र सवारी साधनको लागि यातायात व्यावसायीहरुसंग सहकार्य गरेको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाई छ ।सरकारी कार्यलय, बैंक, वित्तिय संस्था, सरकारी कर्मचारी लगायतको हकमा भने अफिसको आइडीकार्डले आवतजावत गर्न पाइने छ । संचारकर्मीको हकमा पनि आफू कार्यरत मिडिया हाउसले जारी गरेको आइडी कार्डले आवतजावत गर्न दिने गरी व्यवस्था मिलाइएको छ । तर पत्रकारका नाममा नक्कली आइडी कार्ड बनाएर हिँडेको थापा पाए वा भेटेमा उनीहरुबारे पनि निगरानी र अनुगमन गर्ने र त्यस्तो थाहा पाए कारबाही गर्ने पनि पराजुलीले जानकारी दिनुभयो ।यस्तै विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीको साधानको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर सञ्चालन गर्न पाइनेछ । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने स्थानीय प्रशासनले जनाएको छ ।सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, चिडियाखाना आदि संचालन गर्न नपाइने समेत आदेशमा उल्लेख छ । विहे, ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासनबाट अनुमति लिएर मात्र गर्न पाउने भएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८ ११:५७