रिस हामी मानव जातिको ठूलो शत्रु नै हो । समाजमा हुने साना झगडादेखि लिएर संसारमा भएका ठूला झगडासम्मको कारण मानिसको रिस नै हो । रिसले कसैको पनि कल्याण गरेको इतिहास छैन । त्यसैले समाजमा प्रसन्न भएर, सबैसँग मिलेर बाँच्न रिसाउने बानी त्याग्नै पर्दछ ।–ध्रुवनारायण जोन्छेव्यक्ति–व्यक्ति पिच्छे विचारधारा र सिद्घान्त पनि फरक–फरक भएअनुरूप मान्छे–मान्छे पिच्छे त्यसको बोलीचाली, बानी व्यहोरा पनि फरक–फरक हुन्छ नै । प्रत्येक व्यक्तिको आ–आफ्नो विचारधारा, बानी, व्यहोरा पनि फरक हुने भएकोले सबै मानिसको एउटै स्वभाव हुन्छ भन्न सकिन्न, बेग्लै हुन्छ नै ।मानिसका आन्तरिक तथा बाह्य गुणहरूमध्ये रिसाउने बानी पनि एक हो । अप्ठेरो समय र विषम परिस्थितिमा नपरिकन कोही पनि रिसाउँदैनन् । तर पनि सानोतिनो कुरै कुरामा वा खुशी भएको कुरा त्यसबेलाको अनुहार र बोलीचालीबाट थाहा भैहाल्छ । अक्सर गरेर रिसाएको अवस्थामा कुनै पनि व्यक्तिको आँखा ठूल्ठूला भई अनुहार पनि रन्केको हुन्छ, कालोनिलो भएको हुन्छ भने बोलीवचनमा पनि खस्रोपन आइहाल्छ ।यसरी कुनै पनि व्यक्तिको भित्री हृदयमा चोट परेर असह्य भएपछि मात्र रिसाउने गर्दछ । रिसाएको अवस्थामा त्यस व्यक्तिको मानसिक सन्तुलन पनि बिग्रिन पुग्छ । रिसले मानिसको आन्तरिक तथा बाह्य व्यवहारमा असन्तुलन ल्याइदिन्छ । जसको फलस्वरुप उसले के गर्न लागेको छ भन्ने कुरा नै बिर्सन्छ । यस प्रकार मानसिक तनाव तथा शारिरीक रूपमा पनि केही क्षण, केही मिनेट एवं घण्टाको लागि रिसले जनमानसमा भयावह दृश्य नै देखाइदिन्छ ।अतः रिसाउने गर्नाले ब्लड प्रेसर बढ्ने, मानसिक असन्तुलन भै स्वभावमा समेत परिवर्तन ल्याइदिने भएकोले सानोतिनो कुरामा वा क्षण–क्षणमा रिसाउने बानी राम्रो होइन । रिसाउने गर्नाले अनाहकमा कयौ मानिस चिढिन सक्छन् । रिसाउने बानी मानवीय स्वभाव र प्राकृतिक नियमको विपरीत पनि छ । प्रकृति रिसाएपछि पनि एउटा न एउटा अनर्थ भैहाल्छ । त्यस्तै तपाईं हाम्रो रिसाउने बानीले कसैको भलो गर्दैन । रिसले सम्बन्धहरू बिग्रिएका छन्, बनेका छैनन् । रिसको आगोमा माया, प्रेम, सद्भाव जलेर खरानी बन्न पुग्दछ । अतः हामीमा यदि आफ्नै स्वभाव त्यस्तो छ भने होसियारपूर्वक अरूप्रति असल व्यवहार गर्नु आवश्यक छ ।यदि तपाईमा त्यस्तो रिसाउने बानी छ भने त्यसलाई तुरून्तै हटाउने कोशिस गर्नुहोस् । छिन–छिन वा पटक–पटक नचाहिँदो काममा पनि रिसाउने गर्नाले कसैको भलो गर्दैन । त्यसकारण त्यस्तो बानी तुरून्तै हटाउनैपर्छ किनभने जहाँ रिस उत्पन्न हुन्छ, त्यहाँ बिनासको कारणले ठाउँ ओगटिहाल्छ । जहाँ विनास हुन्छ, त्यहाँ अवश्य पनि नराम्रो नतिजा निस्कन्छ । यसैले रिसाउनु वास्तबिक जीवनको लक्ष्य वा उद्देश्य पनि होइन । बरू वास्तबिक जीवनको लक्ष्य भनेको संयम हो । संयमले जीवनलाई सही गोरेटोमा, सही मार्गदर्शन प्रकट गराइदिन्छ । जीवनको मोडमा आइपर्ने उकाली, ओराली, गोरेटाहरू संयमी भै पार गर्दै आफ्नो लक्ष्यमा पुग्न सक्नु नै मानव जीवनको मूल मन्त्र हो । यसैले भनिएको पनि छ, “संयम नै जीवन हो ।” (संयमः खलु जीवनम् !)आजकाल कुनै व्यक्ति होस् वा मुलुक नै किन नहोस् सबै क्षेत्रमा आत्मनिर्भर हुन सकेको छैन र सक्दैन पनि । हरेक व्यक्ति सबै क्षेत्रमा उत्तिकै निपूण पनि हुँदैन । यस उसले आफूले जानेका र सिकेका कुरा, अरूलाई सिकाउनैपर्छ र आफूले पनि नजानेका तथा नबुझेका कुराहरू अरुबाट सिक्न जरुरी छ तब मात्र वास्तबिक जीवनमा ज्ञानगुण तथा अन्य कार्यको आदानप्रदान राम्रै तवरले हुन्छ । रिसाउने बानीले गर्दा त्यस्तो आदानप्रदानको सम्बन्ध एक किसिमले बिग्रिहाल्छ ।बढी रिसाउने बानीले आफू घमण्डी र जिद्दी स्वभावको हुनजान्छ जसले गर्दा अरू व्यक्तिले पनि फलानो मान्छे तः ज्यादै छुच्चो र घमण्डी रहेछ भनेर टिकाटिप्पणी गर्न थाल्दछन् । राम्रो व्यक्ति भए पनि एक छिन वा एक मिनेटको रिसले गर्दा नराम्रो बन्न पुग्छ । रिसाउने बानीलाई घटाउनको निम्ति संयमी हुनु अत्यावश्यक छ । कथंकदाचित त्यस्तै रिसाउनुपर्ने परिस्थिति तथा अवस्था नै आइपर्यो भने एक छिनको लागि त्यस ठाउँबाट अन्तै गैदिनु बेश हुन्छ ।असह्य बेदनाले रिस उठेको बेला मनमनै एकदेखि सयसम्म गन्नु (गन्ती गर्नु) हितकर हुन्छ अथवा मुखमा कुनै चिज (खानेकुरा जस्तै : चकलेट, चुइगम, सुपारी, ल्वाङ्) सुकुमेल राखिहाल्नु आवश्यक हुन्छ किनभने मुखमा केही चीज पर्नाले कुनै पनि व्यक्तिको ध्यान आफ्नो मुखमा भएको चीज पर्छ । ऊ चपाउनमा व्यस्त हुन्छ जसको फलस्वरुप सिर्जना हुन लागेको अप्रिय एवं उत्तेजित वाताबरण शान्त भैदिन्छ ।यस कारण उत्तेजित वाताबरण तथा परिस्थितिमा सकेसम्म सबैले वा आफूलाई संयममा राख्न प्रयास गर्नुपर्छ र जतिसुकै आफ्नोलाई कुभलो चिताउने तथा बिगार्न खोज्ने व्यक्तिसित पनि मित्र बनेर आफूलाई कुभलो गर्ने व्यक्तिसित समेत अनुहारमा प्रसन्नता ल्याई राम्रो व्यवहार गरेमा त्यस व्यक्तिको हृदयमा अवश्य पनि त्यसको प्रतिफल परिहाल्छ र ऊ सोच्न बाध्य हुन्छ ।अर्काको कुभलो चाहने व्यक्तिले मनमनै सोचिहाल्छ, “मैले अनाहकमा त्यस व्यक्तिको कुभलो चिताएछु । मैले उसलाई व्यर्थैमा गाली गरेछु, निच देखाउने कार्य गरेछुँ । मैले उसको कुभलो गर्दागर्दै पनि उसले मसित त झन् राम्रो पो व्यवहार गर्न थालेछ । आखिर किन ? आखिर किन मेरो मन अरूलाई निच देखाउने कुरामा लाग्यो । मानिस भएर मैले मानवताको पाठ सिक्न सकिनँ । मानवलाई मानवीय तवरले व्यवहार गर्न सकिन । यस कारण आफैलाई धिक्कार छ । मैले पनि अर्काको कुभलो चिताउन र गर्न नहुने बेठीक हुने काम गर्नुछैन । अन्ततोगत्वा अबदेखि बिना अर्थ नै रिसाउनु हुन्न भन्ने कुराको बारेमा सोच्न मलाई बाध्य बनाइदियो ।”अर्कोलाई निच र कुभलो चिताउने व्यक्तिको मगज हरहमेशा नचाहिँदो कुरामै केन्द्रित हुन गई त्यस व्यक्तिलाई बाहिरबाट हेर्दा प्रसन्न देखिए तापनि वास्तबमा मानसिक तथा आन्तरिक पक्षबाट सँधै असन्तुष्ट भइ शान्ति भनेको कहिल्यै हुँदैन । आफ्नै संकुचित सोचविचारमा अल्झिन पुगिन्छ । यसको ठीक विपरित अर्काको सँधै भलो चिताउने र नयाँ नयाँ कुरा सिक्नमा तन, मन, समय र चित्त लगाउने व्यक्तिको ध्यान हरदम सृजनात्मक कार्य तथा प्रतिभातर्फ लम्किरहेको हुन्छ ।अतः जसरी ‘मनले चिताएको काम, वचनले पोख्दा र अर्काले लक्षित गरिएको कामको जुन सिद्घी हुँदैन ।’ (मनसा चिन्तितं कार्य वचना न प्रकाशयेत्, अन्य अक्षित कार्यस्य यतः सिद्घिर्न जायते) ठीक त्यसै गरी रिसाएर थालनी गरिएको कार्यबाट पनि सिद्घी प्राप्ति हुँदैन । यसैले आफूले थालनी गर्न लागेको कार्य पूरा नहोउन्जेल प्रकासमा नल्याए जस्तै रिसाउने बानीको बदला मिठास र हंशमुख भै गरिएको व्यवहार तथा कार्यबाट पनि सिद्घी प्राप्ति हुन्छ ।अतः तपाई, हामी, सबैले एकचोटी आफैले आफैलाई नियालेर हेरौं र यदि हाम्रो विचार तथा कार्यक्षेत्र अनावश्यक विषयमा केन्द्रित भएको रहेछ भने तुरून्तै आजैदेखि सिर्जनात्मक कार्यमा आफूलाई मोडौ । यसको अलवा पटक्कै पिच्छे तथा स–साना कुरामा तुरून्तै रिसाइहाल्ने बानीलाई पनि आजैबाट चटक्कै छोडिहालौं किनभने रिसाउने बानी राम्रो होइन । रिसले आपसमा वैमनश्यता बढाउने काम कात्र गर्दछ । यसले झगडाको बिउ रोप्दछ, त्यही झगडालाई मलजल पनि गर्दछ । घृणाको ठूलो वृक्ष बनाउँछ रिसले ।रिस हामी मानव जातिको ठूलो शत्रु नै हो । समाजमा हुने साना झगडादेखि लिएर संसारमा भएका ठूला झगडासम्मको कारण मानिसको रिस नै हो । रिसले कसैको पनि कल्याण गरेको इतिहास छैन । त्यसैले समाजमा प्रसन्न भएर, सबैसँग मिलेर बाँच्न रिसाउने बानी त्याग्नै पर्दछ ।
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८ १६:१३