काठमाडौं। उपत्यकाका तीन जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भएको छ। कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा गत वैशाख १६ देखि जारी निषेधाज्ञ पर्सी १३ गति सकिँदै छ।
संक्रमण जोखिम उच्च रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरेको स्रोतले बताएको छ। यो बारे मंगलबार दिउँसो बस्ने उपत्यकाका सीडीओहरुको संयुक्त बैठकले थप निर्णय गरिने भनिएको छ।
साथै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। आज (मंगलबार)देखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई अध्यादेश अनुसार कारबाही गरिने भएको हो।
निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताउनुभयाे ।
अध्यादेश बमोजिमको मापदण्ड पालना नगरेमा छ महिना कैद, तीन लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्ने जनाइएको छ ।
त्यस्तै यो अध्यादेश बमोजिम दिएको आदेशको उल्लङ्घन भएमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले व्यक्तिलाई एक लाख र संस्थालाई पाँच लाख तत्कालै जरिवाना गराउन सक्नेछन् । कुनै व्यवसाय वा संस्थालाई उक्त सजायका अतिरिक्त ६ महिनाका लागि बन्द गर्न आदेश दिन सक्नेछ ।