–विजय पाण्डेआजको युगमा कल्पना पनि गर्न सकिदैन, मोबाइल विनाको जिन्दगी । सम्पर्कको पर्याय, दस्तावेज सुरक्षित गर्ने आपतकालीन कार्यालय, विधार्थीलाई किताब-कापी, सोधकर्ताको निम्ति एक श्रोत, मनोरन्न्जनको साधन, सामाजिक सञ्जालको ब्रह्माण्ड, जीवन जिउने तरिकाको एक साधन बनेको छ, व्यक्तिहरुको २४ घन्टा मोबाइलमा नै आश्रित बनेकोछ भन्दा फरक नपर्ला ।निन्द्रा लगाउन होस् या निदाएपछी जगाउन । व्यक्तिमा ब्याकुल र उद्वेलित दुवै निम्त्याउने साधन हो मोबाइल । खोजेको पाउँने र पाएको गुमाउँने कारण पनि हो मोबाइल । व्यक्तिले यसको उपयोग कसरि गर्छ, त्यसमा भर पर्छ ।कोभिड १९ को महामारीमा यसको उपयोग संवेदनशील भएको छ । यस्तो परिस्थितिमा मोबाइलको प्रयोगले निम्त्याउने परिणामको हरेक पक्षलाइ जिम्मेवारीपूर्वक विचार गर्न जरुरी छ । कसैको मोबाइलको घन्टी सहयोगको आह्वान हुन् सक्छ, हाम्रो सानो उत्तर पनि उसलाई ठूलो सहयोग हुन् सक्छ ।म कल्पना पनि गर्न सक्दिन । यदि उनले मेरो फोन नउठाएको भए त्यसको परिणाम के हुने थियो ? उनको त्यो २ शब्दको उत्तर छटपटाइरहेको पानी बिनाको माछालाई समुन्द्र मिले जस्तो भयो । यो पंक्तिकारले पछाडी फर्केर हेर्दा त्यो घटनाक्रम यस्तो थियो ।मेरो मोबाइलमा मामालाई सन्चो नभएको कल आयो । कोभिडको परिक्षणले पोजिटिभ देखियो । कोभिड उपचारका लागि स्थानीय सरकारी अस्पतालमा पुराइयो । अस्पतालमा बिरामीको चाप थियो । यत्तिकैमा शुभेच्छुकहरुले इमर्जेन्सी वार्ड अगाडी बरन्डामा अक्सिजन लगाएर राखेको अवस्थामा मोबाइलले तस्बिर लिए । सामाजिक सञ्जालमा त्यो तस्बिर छरियो । थुप्रै टिप्पणी आए । नगरपालिकाका वार्ड अध्यक्षले बेड नपाउने अवस्था भए आम नागरिकको के हुन्छ होला ?तर, एकछिनपछि बिरामी क्याबिनमा उपचार गराउदै थिए । अग्रपंक्तिमा जोखिम उठाएर कार्यरत नर्सहरु गुनासो गर्दै थिए, “त्यत्तिकै फेसबुकमा राखेर दवाब सिर्जना गराउनु भयो । ”म गुनासो सुनिरहेको थिएँ । वास्तविकता त अस्पतालमा बेड व्यवस्था भइरहेको नै थियो । उपचारमा डाक्टर, नर्सहरु इमान्दारीपूर्वक कार्यरत नै थिए ।बिरामीलाई अन्य मृगौला, रक्त चाप, मधुमेह जस्ता दीर्घ रोगहरु पनि थिए । भिम अस्पतालको ३ दिनको उपचारपछि चिकित्सकको सल्लाह अनुसार थप सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्नुपर्नेभयो । बैशाखको अन्तिम सातातिर कोभिड्को बिरामीकोलागि सरकारी होस् वा निजी अस्पतालमा बेड पाउन त्राहित्राही थियो । अक्सिजनको चरम अभाव थियो ।काठमाडाैं एक सरकारी अस्पतालमा बेड व्यवस्था भएको जानकारी आयो । वेडको समन्वय गरेका सहयोगीलाई सोधे, “हजुरले राम्रोसँग बुझ्नु भएको छ नि, ? वेड निश्चित भएन भने दु:ख पाइन्छ । “सहयोगीले विश्वस्त भएर भन्नुभयो -”उहाँले आफै मोबाइलमा कल गरेर बोलाउनुभएको हो, बरु बिरामीलाई चाँडै लैजाने व्यवस्था गरौँ ।” काठमान्डौमा बेडको व्यवस्था गर्ने व्यस्त जिम्वेवार व्यक्ति हुनुहुन्थ्यो । मैले आफैले कल गरेर थप बुझ्न जरुरी लागेन।चितवनको एक निजी अस्पतालमा पनि सम्पर्क भएको थियो,मेरो ।“ बीमारीको अक्सिजन स्यचुरेसन सन्तोषजनक भएकाले बिरामीलाई भर्ना गर्न सकिन्छ । तर, बिरामी हेरिरहेको त्यहाँको चिकित्सकसँग यहाँको बिरामी हेर्ने चिकित्सक बीच मोबाइलमा कुरा गराएर मात्र ल्याउनु होला ।” अस्पतालको जिम्वेवार व्यक्तिले मलाई भन्नुभएको थियो । हरेक दृष्टिले चितवन भन्दा पाटन अस्पताल नै सुबिधा हुने बुझेँ ।तयारी गर्दागर्दै साँझ ६ बज्यो । बिरामी मामा, कुरुवा माइजू र म एम्बुलेन्समा बस्यौं । म अगाडि बसेँ । आमाले आँशु झार्दै घरको छतबाट एम्बुलेन्सको झ्यालभित्र अक्सिजन लगाएर पल्टिएको भाइलाई नियाल्दै हुनुहुन्थ्यो ।एकातर्फ आफ्नै भाइ जोखिममा, अर्कोतर्फ कोभिड संसारको जोखिममा होमिन जान लागेको आफ्नो एक्लो छोरो । आमा र दिदीको भूमिकामा रहेकी तिनको कोमल मनलाई मैले राम्रैसंग पढेँ । आज धेरैका घरमा यस्ता अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ । कसैले निर्वाह गर्छन्, कसैले चाहेर पनि गर्न सक्दैनन् ।यस्तो यात्रामा मोबाइल दुरुस्त हुनुपर्छ । धेरै व्यस्त हुनु पनि हुदैन । यत्तिकैमा काठमान्डौवाट फोन आयो । “हजुरहरु कहाँ आइपुग्नुभयो ? राम्रोसँग आउनुहोला, बिरामीको लागि बेडको व्यवस्था भएकोछ ।एम्बुलेन्समा यात्रा गरे पनि म खुशी थिएँ । चालकले मलाई हिड्नु अगाडि भनेका थिएँ । बेडको निश्चिन्त गर्नु है ! मैले धेरै बिमारी अस्पताल पुराएर फर्काएको छु । उहाँको कल आएपछि मैले चालकलाइ सुनाएँ, “मेरो मान्छेको कल आएको हो , उहाँ झुठो बोल्नु हुदैन । नहुने कुरा पहिल्यै नै हुदैन भन्नु हुन्छ ।”भैरह्वावाट एकजना शुभेच्छुकको मोवाइलमा कल आयो । “बिमारीको लागि उहाँले वेडको व्यवस्था गरिसक्नु भएको छ, चिन्ता नगर्नु । म अझै ढुक्क भए, शिघ्र भन्दा शिघ्र अस्पताल पुरयाउन आतुर थिएँ । चालकलाइ अनुरोध गरें, “हजुरको मोवाइलमा धेरै कल आउदो रहेछ, जरुरी मात्र पिकअप गर्नु है । यसले अप्ठ्यारो हुन् सक्छ ।” त्यसपछि उनले जरुरी कल मात्र उठाए ।राती ११ बज्दै थियो । राजधानी प्रवेश गर्न उकालो चढ्दै थियौं । मोवाइलमा म्यासेज आयो, डाक्टरको नाम । एकैछिनमा कल पनि आयो । पाटन अस्पतालको इमर्जेन्सी ड्युटीमा रहेका डाक्टरसँग सम्पर्क गर्नुहोला ।आहा ! मोबाइल , तिमीले गर्दा कति सहज भएकोछ । मोबाइलमै कुरा भएर त बेडको सुबिधा मिल्यो होला । मोवाइल हुदैनथ्यो भने छिनछिनमा कसरी अवस्था बुझ्न सकिन्थ्यो र ! मनमनै मोबाइललाई धन्यवाद दिए । चालक पनि घरमा श्रीमतीलाई पुगेनपुगेको खबर दिदै थिए । म पनि उहाँसँग मोबाइलमा नियमित सम्पर्कमा थिएँ । उहाँले बिमारी अस्पताल भर्ना गरेर ढुक्क भएर मात्र सुत्ने सोच्नुभएको रहेछ ।उकालोमा जामका कारण १२.३० मा अस्पताल पुग्यौं । पाटन अस्पतालको गेटमा पालेले सोधे “ के बिमारी हो ?” चालकले कोभिड भने । मैले सोचें, इमर्जेन्सीमा लानु छ भन्नु पर्ने थियो कि ।सिमसिमे पानि परिरहेको थियो । चिसो थियो । अध्याँरो थियो । कतैकतै मात्र मन्द उज्यालो देखिन्थ्यो । अस्पतालमा कुनै चहलपहल थिएन । मैले कल्पना गरेको भन्दा फरक अवस्था देखेँ, अनुमान लगाउन सकिन , यस्तो महामारीमा यति शान्त, किन ? सायद रात्रि भएर होला । कोभिड विभागतर्फ गएर सोधेँ, उत्तरले म झंसङ्ग भएँ ।उहाँलाई मोबाइलमा कल गरे , कोभिड तर्फ हजुरले भनेको डाक्टरले केही भन्नुभएको रहेनछ, अक्सिजन पनि उपलब्ध छैन । अहिले भर्ना पनि हुन सक्दैन भन्छन त । उहाँले भन्नुभयो, ”इमेर्जेंसिमा सम्पर्क गर्नु , त्यहाँ भनेको हुनुपर्छ ।'एम्बुलेन्समा बिमारी राखेर म इमेर्जेम्सी वार्डभित्र पसेँ । सेवामा रहेका चिकित्सकलाई सोधेँ । फलाना डाक्टरले भैरहवाको बिरामीको बारेमा केही भन्नु भएको होला । उत्तरमा केही थाहा छैन भन्ने आयो ।अब मेरो होसहवास सबै उड्यो । तुरुन्त कल गरें । उहाँको कुरा सुनेपछि झनै स्तब्ध भएँ । म अवाक् भएँ । ति डाक्टरले मोवाइल उठाएका नै छैनन् , के गर्ने होला ? मैले के भनु ? यति मात्र जवाफ फर्काए । वरिपरि झनै अन्धकार देखेँ । फेरि कोसिस गर्छु भन्दै कल राख्नुभयो । म आत्तिएर, फेरि कल गरें । उहाँ भन्दै हुनुहुन्थ्यो । बिमारीलाई भोलि बिहानसम्म एम्बुलेन्समा नै राख्न सकिन्छ कि ? कोभिड नभनी इमेर्जेंसिमा सिधै लानुपर्ने थियो कि, तर उहाँलाई थाहा छ म झुटो बाेल्दैन मेरो ! जना बिमारीको कारण धेरैलाई जोखिम हुन् सक्छ भने म त्यसो गर्दिन । एम्बुलेन्समा ५/६ घन्टा कसरी राख्ने, यो सम्भव थिएन । एम्बुलेन्स चालक सिटमै निदाएका थिए । धेरै दिनबाट सुतेको छैन भन्दै पनि थिए । मामाले सोध्नुभयो, के भयो ? मसँग उत्तर थिएन ।उहाँले पुन: कल गर्नुभयो । “खोज बिन गर्दा पनि डाक्टर सम्पर्कमा आउन सकेनन । अघि ११ बजे सम्म तमोबाइलमै सम्पर्कमा थिए ,अहिले घन्टी जान्छ कल उठ्दैन ।” यो सुनाउनुभयो ।मेरो अगाडी सिनेमाको दृश्य जस्तो अवस्था आएको थियो । अस्पताल अगाडी सडकको बीचमा मध्यरातको सुनसान एकान्तमा बेसहारा भएर रुने ,चिच्याउने र गुहार माग्ने बाहेक केहि थिएन । सिनेमाको कथा जस्तो मेरो व्यथा थियो । सिनेमा र यथार्थ जीवन फरक हुन्छ ,त्यसो गर्न सक्दैनथें Ιहिम्मत हारेको थिइन ।रातिको १ वज्दै थियो । चितवनका आफन्त मित्रलाई मोबाइलमा कल गरें । जसले पुरानो चितवन मेडिकल कलेजमा बेडको व्यवस्था गराएका थिए । मोबाइलमा गएको हरेक घन्टीसँग मेरो श्वाशको गति बढ्दै थियो । कल उठ्छ या उठ्दैन ? कतै फोन साइलेन्स मोडमा त छैन ? फोन उठेपनि अस्पतालमा वेड पाउँछु या पाउदिन ? नभए म के गर्छु होला ? फोन मात्र उठोस् , मित्रले जसरि पनि गर्नुहुन्छ मलाई विश्वाश थियो, मित्रको क्षमतामा ।बर्षाको पानीले भिजेको मेरो अनुहारमा चिटचिट पसिना आएको थियो । पसिनाले निधार र हातका हत्केला र खुट्टाका पैताला भिजेका थिए । मेरा मन र शरीरका अंगअंगमा उठेका दु:खद समवेदना मैले अनुभूत गरिरहेको थिएँ । मुटुको धड्कनले गति लिदै थियो । खुट्टा लगलगी काँपिरहेको थियो । एम्बुलेन्स देखि अलि दुरीमा रुखको ओत लिएर घन्टी गएको हेरी रहेको छु । मोवाइलमा नाम देखेको छु , राम प्रसाद भट्ट चितवन ।जसै कल पिकअप भयो, त्यसै मेरो मुटुको धड्कन स्थिर भयो । मैले हेलो पनि गर्न सकिन । विजयजी..., के भयो?कम्पन सहितको मधुरो स्वरमा भने “सर ! मलाई आपत परयो , मामालाई दिउँस कुरा गरेको अस्पतालमा भर्ना गराइदिनुहोस् प्लिज । अस्पतालले ल्याउनु भनेको थियो, मैले काठमान्डौ लिएर आएँ तर यहाँ डाक्टर बिहान मात्र आउछन र भर्ना हुन्छ, यहाँ अक्सिजन पनि अभाव हुन् सक्छ, म जोखिम लिन सक्दिन । यो अवधिमा जे दुर्घटना पनि हुन् सक्छ । एम्बुलेन्सको अक्सिजन पनि धेरै छैन ।”एकछिन म अस्पतालमा कल गर्छु र भन्छु भन्नुभयो । मलाई केही राहत भएको महसुस भयो । केही आशा जाग्यो । अस्पतालको बेन्चमा थचक्क बसेँ र आखाँ बन्द गरेर आफ्नो श्वाश हेरेँ ,विपश्यनामा यो बिद्या सिकेको थिएँ । हरेक कुरा अनित्य छ । सधैं पीडा रहदैनΙ मेरो मोवाइलमा घन्टी आयो, मैले तुरुन्त उठाएँ “विजयजी अस्पतालको मानिसको कल उठेन , तर हजुर मामालाई लिएर तुरुन्त हिड्नु । चिन्ता नगर्नुहोस् , भर्ना जसरि पनि हुन्छ ।”अबमेरा लागि एम्बुलेन्स चालक सबकुछ थिए । मैले बिनम्र अनुरोध गरे । उनले स्वीकारेΙ काठमाडाैंका सहयोगी उहाँलाई कल गरे र भनें ” बिमारीलाई लिएर चितवन फर्कदैछु , मैले एउटा निर्णय लिनुपर्छ । ठिक गरें या बेठिक मलाई थाहा छैन ” उहाँ धेरै चिन्तित हुनुभयो तर बोल्ने शब्द थिएन उहाँसँग । एम्बुलेन्सले २ बजे राति कलंकी छोडीसकेको थियो । चालकलाइ नमन गरें ।म त्यो पल सम्झन्छु, यदि त्यो मध्यरातमा मेरो कल पिकअप नभएको भए मेरो के हुने थियो होला ! त्यो कल पिकअप मेरा लागि संजीवनी बुटी थियो, कल्याणकारी थियो । उनी मोबाइल साइलेन्स गरेर पनि सुत्न साक्थे नि , त्यसो गरेनन । धम्म बुझेका विपस्वीसाधक राम प्रसादजीको मानवप्रतिको मैत्री साम्झिएँ ।मेरा आशु झरें । मन हल्का, शान्त भयो केही क्षणलाई ।चालकले बिश्राम गर्दै, सुरक्षित ढंगले चितवन पुर्याए । ४.३० बजे कल गरें, कल उठेन शायद निदाउनुभयो होला । २ बजेसम्म मसँग बार्तालाप भइरहेको नै थियो । मलाई हौसला दिनुभएको थियो , आउनुहोस् व्यवस्था हुन्छ, मेरो कुरा भइसकेकोछ । तब म झनै ढुक्क भएको थिएँ । ५ बजे बिहान मलाई कल आयो, अस्पतालको सम्पर्क व्यक्तिको मोबाइल नम्बर दिनु भयो । अन्तत: मेरो बिमारी अस्पताल भर्ना भए । एक हफ्ता सघन कक्षमा उपचार भयो । कोभिड निको भयो, अक्सिजन जरुरी छैन, आज घरमा आराम गरिरहेका छन ।भर्ना भएको २ दिनमा अस्पतालका डाक्टर आशा रामले कल गरेर बिरामीको हालखबर सोधे र भने केही परे भन्नु होला, यो नम्बर मेरो हो । यो फोनले मात्र पनि मलाई उर्जा थप्ने काम गरेको थियो ।मैले अनुभूत गरें आपतको समयमा मोबाइल दुरुस्त राखनुपर्छ । सामान्य अवस्थामा पनि बन्द गर्नुहुँदैन । मोबाइलले लिने तस्बिरहरु सामाजिक सञ्जालमा राख्दा त्यसको संवेदनशीलतामाथि ध्यान दिन जरुरीछ । आफूलाई आवश्यक हुदाँ खोल्ने र आवश्यक नहुँदा बन्द गर्नेले बुझ्नुपर्छ, आफूलाई जस्तै आवश्यक अरुलाई पनि हुन्सक्छ । मोबाइलको सदुपयोग र यसको महत्वलाई बुझेर अरुको मङ्गल गर्न सकियोस् । सबैको कल्याण होस् । मोबाइल कल्याणकारी कार्यको माध्यम बनोस् । मङ्गलम ।
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८ १५:५८