काठमाडाैं । एमालेको संस्थापन पक्षले झलनाथ खनाल र माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता पार्टीमै रहने सम्भावना कमजोर बनेको निष्कर्ष निकालेको छ । वरिष्ठ नेता माधव नेपालले आइतबार आफ्नो समूहनिकट अनेरास्ववियु केन्द्रीय कमिटीको भर्चुअल बैठकमा ओलीसँग सहमतिको सम्भावना कमजोर रहेको भन्दै क्रान्तिकारी पार्टी गठनको विकल्प नरहेको बताएका दुई दिनपछि संस्थापन पक्षको यस्तो निष्कर्ष आएको हो ।पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न भइरहेका छलफललाई विवेचना गरेर नेतृत्वका तर्फबाट एकताका निम्ति अन्तिमसम्म पनि प्रयत्न जारी राख्ने निष्कर्ष निकालेका छौँ । हामी एकता सकेसम्म जोगाउन सकियोस् भनेरै छलफल गरिरहेका छौँ, धेरैभन्दा धेरै साथीहरू मूल धारमा रहनुहोस् भनेर हाम्रो प्रयास अझै जारी छ ।वरिष्ठ नेता नेपालसहितका केही नेताले प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कामको नेतृत्व गरेकाले उनीहरू पार्टीमै रहने सम्भावना कमजोर बनेको संस्थापन पक्षको आन्तरिक विश्लेषण छ । ‘बडो गर्वका साथ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टीको उम्मेदवारलाई हराउने कुरालाई महिमामण्डन गरिराख्नुभएको छ । ती साथीहरू फर्किनुभयो भने त राम्रै होला, तर एकताको प्रयास र चाहनाका बीचमा कहीँकतै तालमेल मिल्दैन, तैपनि हाम्रो कोसिस जारी छ,’ स्थायी कमिटीको मंगलबारको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने ।स्थायी कमिटीको बैठकले कारबाहीमा परेका वरिष्ठ नेता नेपाल, खनाल र भीम रावललगायत केही नेताले पार्टी फुटाउने प्रयास जारी राखेको पनि निष्कर्ष निकालेको छ । संस्थापन पक्षले अधिकतम नेता–कार्यकर्तालाई पार्टीको मूल धारमै राख्ने गरी अन्तिमसम्म पार्टी एकताका लागि प्रयास गर्ने भएको छ । खनाल–नेपाल समूहमा अर्को समूहमा रहेका दोस्रो तहका नेता र माथिदेखि तलसम्मको दुईतिहाईभन्दा धेरै ठूलो पंक्ति एकताकै पक्षमा रहेको बैठकको समीक्षा छ ।‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न भइरहेका छलफललाई विवेचना गरेर नेतृत्वका तर्फबाट एकताका निम्ति अन्तिमसम्म पनि प्रयत्न जारी राख्ने निष्कर्ष निकालेका छौँ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘हामी एकता सकेसम्म जोगाउन सकियोस् भनेरै छलफल गरिरहेका छौँ, धेरैभन्दा धेरै साथीहरू मूल धारमा रहनुहोस् भनेर हाम्रो प्रयास अझै जारी छ ।’एमालेको संस्थापन पक्षले वरिष्ठ नेता नेपाल, खनाल, भीम रावलसहित ११ जना तत्कालीन सांसदहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ । तर, दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसालसहित १२ जना तत्कालीन सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको पाँच दिन बितिसक्दा पनि कारबाही गरेको छैन ।पाण्डे, विष्ट, भुसाल र योगेश भट्टराईसँग संस्थापन पक्षका नेताहरू विष्णु पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु रिमाललगायतले सोमबार होटेल याक एन्ड यतीमा पाँच घन्टाभन्दा बढी छलफल गरेका थिए । तर, संस्थापन पक्ष २ जेठ ०७५ को सांगठनिक संरचनामा फर्कन तयार भए पनि वरिष्ठ नेता खनाल, नेपाल र रावलसहितका नेताहरूमाथि कारबाही फिर्ता गर्ने र उनीहरूलाई पार्टीभित्रै राख्ने पक्षमा नरहेको स्रोतले जनाएको छ । ‘म यो पार्टीको संस्थापकमध्येकै एक हुँ, पार्टी हामीले स्थापना गरेको हो, पार्टीप्रति मलाईजत्तिको माया अरू कसलाई होला १ त्यसैले अझै एकता बचाउनुपर्ने पक्षमै छु, तर मसहित वार्ता टोलीका संयोजक भीम रावललाई नै कारबाही गरेर निकालेपछि ओलीले पार्टी एकता बचाउने स्थिति अब देखिएन,’ आइतबार नेपालको भनाइ थियो ।उता, एकताको प्रयासलाई सार्थक निष्कर्षमा पुर्याउन समस्या समाधानका लागि गठित कार्यदललाई आवश्यकताअनुसार पुनर्गठन गर्न सकिने र तत्कालका लागि बेग्लै तरिकाबाट छलफल भइरहेको प्रवक्ता ज्ञवालीले बताए । एमालेको संस्थापन पक्षले नेपालसहितका केही नेताले छिट्टै माओवादीसँग कार्यगत एकता गरेर पार्टी नै मिलाउने सम्भावना रहे पनि माओवादीतर्फबाट पनि यताबाट गएकोभन्दा ठूलो पंक्ति एमालेमा आउने विश्लेषण गरेको छ । याे समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८ १३:५५