काठमाडौँ । मुलुकभर सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजना भइरहेको हो ।गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्योल हुने जनाइएको छ । यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना रहेको र मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने गृहप्रवक्ता जनकराज दाहालले जानकारी दिनुभयो ।हाल जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको र केही सहजीकरण भने पक्कै हुनेमा आफुहरु विश्वस्त रहेको उहाँको भनाई छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्ने दाहालको भनाई छ । मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने गृहको योजना रहेको उहाँको भनाई छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ ।कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपाली भने त्यो गल्ती नदोहोरिने स्पष्ट पार्नुभयो । उहाँका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८ ००:२५