दुई दिनदेखि लगातार भैरहेको भारी वर्षाका कारण देशका बिभिन्न जिल्लाको जनजीवन गम्भीर रुपमा प्रभावित भएको छ । अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी देशभर ठूलो धनजनको क्षति हुनु दुखद हो । सिन्धुपाल्चोक, मनाङ, लमजुङ, अर्घाखाँची, पाल्पा गुल्मी, मकवानपुर, चितवन, नवलपुर र बाजुरा सहित दश जिल्लाका केही स्थानहरुमा गएको पहिरोका कारण सडक,राजमार्ग समेत अबरुद्ध भएको छ भने विभिन्न बस्ती र बजार डुबानमा परेका छन् ।भारी वर्षाले गर्दा सिन्धुपाल्चोकमा मात्रै ८ जनाको मृत्यु भैसकेको छ भने केही नागरिक बेपत्ता भएका छन् । धनजनको क्षति धेरै भएको छ । जनधनको कति क्षति भएको छ भन्ने कुरा अझै यकीन भैसकेको छैन । वर्षा नरोकिएको र बाढी पहिरो जाने क्रम जारी रहेकोले पनि क्षतिको यकिन विवरण हुन नसकेको गृह मन्त्रालयका अधिकारी बताउछन् । विगतको तुलनामा यसपटक दुई दिन अगाडि नै मनसुन शुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले यसपटकको मनसुनमा विगतमा भन्दा धेरै क्षति गर्नसक्ने भन्दै दुई हप्ता अगाडि नै सतर्क र सचेत हुन आग्रह गरेको थियो । तर राज्यले समयमा त्यसतर्फ कुनै ध्यान दिएन ।सरकारले आवश्यक ध्यान नदिएको कारण समयमा राहत र उद्धार प्रभावकारी ढंगबाट हुन सकेको छैन । जब बाढी पहिरोले गम्भीर क्षति पु¥यायो, त्यसपछि मात्रै गृह मन्त्रालयमा बैठक बसेर राहत र उद्धारको कार्ययोजना पारित गरिएको छ । पाँच दिन अगाडिबाट प्रारम्भ भएको मनसुनले धेरै वर्षा हुँदा सिन्धुपाल्चोक , गुल्मी , पाल्पा , नवलपरासी , मनाङ, नवलपुर , चितवन , मकवानपुर , बाजुरा , अर्घाखाची लगायतका जिल्लामा ठुलो जनधनको क्षति भैसकेको छ । अन्य जिल्लामा पनि क्षति हुने क्रम जारी नै रहेको छ ।बर्षा लाग्ना साथ बर्षेनी नागरिकहरुले निकै दुख र सास्ती भोग्नुपरेको छ । तर हरेक वर्ष नै विभिन्न जिल्लामा भारी बर्षा र बाढी पहिरोले क्षति पु¥याउन थालेपछि बल्ल सरकार सचेत हुने गरेको छ । हाम्रो जस्तो पहाड हिमाल र तराइ भएको मुलुकका लागि बाढी पहिरो र भूकम्प जस्ता घटनाले प्रभाव पारिरहन्छ । त्यसैले राज्यले सोही अनुसार दीर्घकालीन खालको नीति तय गर्नुपर्छ । जसले गर्दा जहिले अप्ठ्यारो पर्छ त्योबेला तत्काल एक्सनमा जान सजिलो होस् ।बाढी पहिरोले गम्भीर क्षति पु¥याएपछि राज्यले आफै निकै सक्रियाता देखाउनुपर्नेमा देशका प्रमुख राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुले राहत र उद्धारका लागि बिशेष आग्रह गर्नुपर्ने अवस्था आफैमा बिडम्वनापूर्ण हो ।राज्यलाई सबद्ध पक्षले समयमा नै ध्यानाकर्षण गराउदा पनि राज्यका जिम्मेवार निकाय, राजनीतिक खिचातानी , सत्ता स्वार्थले गर्दा यसतर्फ ध्यान नपुगेको हो कि भन्ने प्रश्न उठ्ने गरेको छ । मनसुन प्रारम्भ भएको एक हप्तामै केही जिल्लामा क्षति भैसकेको छ । अझै तीन महिना मनसुन बाँकी नै रहेकोले सरकार अब निकै सचेत र गम्भीर हुनुपर्ने खाँचो छ ।जहाँ खतराको घण्टी बज्छ त्यहाँ ठूलो जनधनको क्षति हुनुभन्दा अघि नै उचित व्यवस्थापन गर्नुपर्छ । राज्यका जिम्मेवार संयन्त्रलाई सतर्क अवस्थामा राख्ने काम, सम्भावित जोखिमका बारेमा स्थानीयसम्म सावधानीका सूचनाहरु पुर्याउने काम गर्नुपर्छ । त्यति मात्र होइन कुनै विपद आइपरे क्वीक रेस्पोन्स टिम परिचालन गरेर धेरै क्षति हुनबाट रोक्ने र आपतमा परेकाको उदार, राहतलाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ सरकारले ध्यान दिन आवश्यक छ ।
प्रकाशित मिति: बिहीबार, असार ३, २०७८ ०२:०२