बन्दना पोखरेलपाल्पा । काम कहिले ठूलो सानो हुँदैन, काममा दिगोपन दिनु आवश्यक छ । पुर्णबहादुर पचभैयाको निरन्तरताले आज उनलाई एक सफल र मिहिनेति कृषक साबित गराएको छ । पचभैया निस्दी गाउँपालिका वडा नम्बर ५ ढुंगाना बेसीमा विगत १० वर्षदेखि निरन्तर च्याउ खेती गर्दै आईरहेका छन् ।३८ वर्षका पुर्णबहादुर कुनै बेला वैदेशिक रोगजारीमा आफ्नो देश छोडर सात समुद्रपारि गएका थिए । उनका पनि अन्य युवाको जस्तै वैदेशिक रोजगारमा ठूलो सपना थियो कमाउने, रमाउने र आफ्नो परिवारलाई पालन पोषण गर्ने तर समयले उनलाई त्यहाँ राम्रो हुन दिएन । उनी करिव २५ महिना बहराईमा बिताएर कार्पेन्टरको काममा सम्लग्न रहे । उनी त्यहाँ बस्दा आफ्नो गाउँको जंगल, खेतबारी, संस्कार, संस्कृति सम्झिरहे र उनले अठोट गरे कि म गाउँमै जान्छु र त्यहीँ काम गर्छु ।
पुर्णबहादुरलाई वैदेशिक रोजगार दिगोपन होईन भन्ने लाग्यो । उनी भन्छन्, 'म कति बस्नु विदेश ? अनी गाउँ गएपछि पनि काम गर्न पर्छ, अनि काममा दिगोपनका लागि आफ्नै गाउँमा गर्ने सोच बनाएँ र करिब २५ महिनाको बसाई पछि आफ्नै गाउँ फर्की आएँ ।'गाउँ फर्किएपछि उनले च्याउ खेती शुरु गरे, सानो क्षेत्रबाट शुरु गरेको च्याउखेती उनले १० वर्षअघि आफ्नै गाउँ निस्दी ५ विरुवामा उत्पादन शुरु गरे । उनले आफ्नो परिवारको सहयोगमा काम गर्न शुरू गरेका थिए । करिब २ वर्ष घि आएको वर्षातको पानीले उनको च्याउको टनेल सबै बगाई दियो तर पनि उनले हिम्मत हारेनन् । पुनः निस्दीको ढुंगानाबेसीमा काम शुरु गरे । हाल उनको फर्ममा ७ वटा टनेल रहेकाेछ ।च्याउ अहिले उनको फर्ममा बाह्रै महिना उत्पादन हुन्छ । शुरु शुरुमा उनले आफ्नो च्याउ बिक्रीका लागि मोटरसाईकलमा राखेर गाउँ गाउँ च्याउ आयो च्याउ आयो भन्दै बेच्ने गर्थे । हाल उनले २ जना काम गर्नका लागि कामदार राखेका छन् । उनको परिवारमा उनलाई उनको आमा बाबाले सघाउनु हुन्छ । उनको एक छोरी छिन् । उनकी श्रीमतीले भने काममा सहयोग गर्न दु:ख मानेर उनलाई छोडेको बताउछन् ।
उनको बारीमा अहिले च्याउसँगै हुर्किदै गरेको काक्रा, खुर्सानी, भन्टा जस्ता तरकारी पनि छन् । पुर्णबहादुरले गत वर्ष करिब एक सय क्विन्टल च्याउ बेचे यस वर्ष उनले करिव २ सय ५० क्विन्टल बेच्ने लक्ष्य रहेको बताउँछन् । च्याउका लागि उनको बजार रामपुर मिल्याल ढुंगानाबेसी बेलडाडा नै हुन् । च्याउबाट आफू सन्तुष्ट रहेको बताउछन् । उनी भन्छन्, 'वैदेशिक रोजगार तत्कालका लागि भए पनि दीर्घकालीन नहुने भएकाले सबै युवाले आफ्नै ठाउँमा सम्भापना खोज्नुपर्छ, सम्भावना धेरै छन् तर हामी कामलाई ठूलो र सानो भन्छौं त्यसैले हामी समृद्ध बन्न सकेका छैनौं ।'हाल निस्दी गाउँपालिकाले पनि कृषीलाई प्रवर्द्धन गर्नका लागि विभिन्न उपाए अपनाई रहेको छ । आफ्नो गाउँपालिकालाई कृषी पशु र पर्यटनमा राम्रो बनाउनका लागि कृषी शाखाले कृषकहरुलाई अनुदान सहयोग गर्दै आएको छ । जस अन्तर्गत पुर्णबहादुरलाई पनि विभिन्न शीर्षकमा अनुदान सहयोग प्राप्त भएको छ ।
प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना पकेट कार्यक्रम अन्तर्गत निस्दी अर्गानिक च्याउ पकेट सञ्चालक समितिमार्फत काम भएको छ। च्याउ पकेट कार्यक्रम गत आर्थीक वर्ष २०७६/०७७ बाट शुरु भएको हो । यस वर्ष गाउँपालिकाको सहयोग र पकेट समितिको लगानीमा २४ लाखको काम भइरहेको सञ्चालक समितिका अध्यक्ष शेरबहादुर सोतीले जानकारी दिनु भएको छ । अहिले गाउँपालिका भरिमा ३७ जना कृषकको ३७ डुम तयार भइसकेको छ ।