बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटका ११ घर नदीको डुबानमा परेको छन् । इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर दोलालघाटको पुरानो बस्तीका ती घर डुबानमा परेको हुन् ।नदी छेउमा घर भएका कारण पानी पर्न थालेदेखि मानिस घर छाडेर बाहिरै बस्दै आएका र बुधबार राति आएको ठूलो बाढीले बस्ती नै डुबानमा परेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा सामान अन्यत्र सारेको पीडित स्थानीयको भनाई छ ।
दुवै नदीमा बाढी आएको र पछिल्लो समयमा इन्द्रावती नदीले बगर क्षेत्रलाई कटान गर्दै भोटेकोशी नदीलाई धकेलेपछि झन् बस्ती भएकोतिर बहाव बढेपछि घर एक तलासम्म पुरिएको गाउँपालिका अध्यक्ष गुमानध्यव कुँवरले बताउनु भयो ।
स्थनाीय विन्दा श्रेष्ठ, नानीबाबु मिजार, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, सुवास राय, रामप्यारी गिरी, दिलीप श्रेष्ठ, सुदर्शन राय, लोकदर्शन राय र श्याम बस्नेतलगायत ११ घरपरिवार सो ठाउँबाट अन्यत्र सारीएको र दोलालघाट पुरानो बजार क्षेत्रमा टहरा बनाएर बस्दै आएका माझी समुदायको टहरासमेत डुबानमा परेको उहाँले जानकारी दिनु भयो ।
घर डुबानमा परेपछि जनप्रतिनिधि, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै सामानसमेत निकालेर अन्यत्र सारिएको छ । डुबान क्षेत्रमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी डुबानबाट भएको भौतिक क्षतिको यकिन विवरण सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गर्न आग्रह गरेको छ ।