खेम बमकाठमाडौं । यतिबेला सिन्धुपाल्चोक शोकमा डुबेको छ । मेलम्ची नदीमा आएको बाढीका कारण त्यहाँको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अति प्रभावित भएका छन् । बाढी र पहिरोका कारण त्यहाँका धेरैजसो जनताको घरबास उजाड भएका छ । त्यहाँका जनताको अनुभवमा यो बाढी अहिलेसम्मकै ठूलो हो ।यसरी विनासकारी रुपमा बाढी यसअघि आएको थिएन । बाढीले सडक र बाटो भत्काएको छ । विद्युत अवरुद्ध भएको छ । हेलम्बुमा फोन सम्पर्क समेत हुनसक्ने स्थिति छैन । हेलम्बुको चनौटे, रातोपूल पनि बाढीका कारण जीर्ण भएको छ । अझै केही दिन पानी लगातार आएमा पुलपनि भत्काउने खतरा रहेको छ । हेलम्बुका नागरिकले अहिलेसम्म राहत समेत पाएका छैनन् ।https://www.youtube.com/watch?v=rJKjGic5eDcबिहीवार जनता टेलिभिजन र शान्ती सेवा गृहको टोलीले हेलम्बु पुगेर त्यहाँका नागरिकको घाउमा मल्हम लगाएको छ । खाद्यान्न, त्रिपाल, स्लिपीङ ब्याक, मेडिकल सामग्री र फिल्टर बोकेर टोली हेलम्बुमा पुगेको थियो ।हेलम्बुमा बाढीपछि पहिलो पटक जनता टेलिभिजन र शान्ती सेवागृहको टोली पुगेको थियो । अब भने बिस्तारै अन्य सहयोगी टोली पनि हेलम्बु पुगेका छन् । बत्तीमूनिको अध्यारो सिन्धुपाल्चोक काठमाडौंदेखि धेरै टाढा पनि होइन । मेलम्ची जम्मा ७४ किलोमिटरमात्रै हो ।
काठमाडौंबाट त्यहाँ पुग्दा भने निकै जोखिमपूर्ण यात्रा गर्नुपर्दछ । लगातारको वर्षात्ले बगाएको सडक र पहिरोको सामना गर्दै त्यहाँसम्मको यात्रा तय गर्नुपर्छ । जनता टेलिभिजन र शान्ती सेवा गृहको टोली पनि निकै जोखिम मोलेर हेलम्बु पुगेको थियो । यो टोलीसँगै पूर्व खेलकुद मन्त्री दाबा तामाङ पनि हेलम्बु पुग्नुभएको थियो ।
काठमाडौंबाट नजिकै रहेको सिन्धुपाल्चोकले राज्यको महत्वपूर्ण निकायमा पुगेका व्यक्तिलाई नजन्माएको पनि होइन, तर विकास नाममा त्यहाँका सडक पूर्वाधारहरु निकै जोखिममा छन् । त्यो सडकको प्रकृति हेर्दा पहाडको उकालो जस्तै पैदल हिड्नेलाई समेत असहज हुने खाले छ । ठाडो उकालोमा सवारीका साधन चढ्नै समेत मुस्किल हुन्छ ।
भौगोलिक रुपमा समेत सिन्धुपाल्चोक प्रकृतिबाट ठगिएको छ । त्यहाँको भौगोलिक बनावट निकै कठिन रहेको छ । मानिसहरु पनि खोला नजिक बस्ती बनाएर बसेका छन् । बस्ती नै खोलामा पसेपछि बाढीको बितण्डा सहन गर्नु बाध्यता छ । अहिले त्यहाँको अवस्था हेर्दा निकै दयनीय र दु:खदायी छ । कतिपय नागरिकलाई बाढीले सुकुम्बासी बनाएको छ ।
न खानलाई गाँस छ, न बस्नलाई बास । लगातारको पानीले ओत लाग्ने ठाउँनै नभएपछि त्यहाँका नागरिक प्रताडित बनेका छन् । त्यहाँका नागरिकको जीवनलाई पुनर्स्थापित गर्दै पहिलेकै अवस्थाको हेलम्बु बनाउनु अहिले स्थानीय तह र जनप्रतिनिधिको जिम्मेवारी हो ।
*पुनः सम्पादित